गजल ५२६
अबिबाबु अधिकारी
अमेरिका
मन दुखी सके पछि कुण्ठा पोख्नुको विकल्प हुँदैन,
शरीर गली सके पछि भारी बोक्नुको विकल्प हुँदैन॥
मन र शरीर उस्तै उस्तै हो जता छोए पनि दुख्छ,
मुटु फुटी सके पछि आँसु रोक्नुको विकल्प हुँदैन॥
नेता आउँछन् सधैँ भोट माग्छन् र सहर फर्कन्छन्,
सभा उठी सके पछि ताली ठोक्नुको विकल्प हुँदैन॥
मन गाऊँ घरमै छ शरीर सहर सहर डुलाए पनि,
परदेशीलाई दिन रात पिडा भोग्नुको विकल्प हुँदैन॥
दिन माया मारेर कथा प्रवचन सुनी सके पछि,
दोबाटोमा लम्पसार परेर ढोग्नुको विकल्प हुँदैन ॥