गजल
टेक भण्डारी
अस्ट्रेलिया
(बुबाको मुख हेर्ने दिन विशेषकालागि)
आफू दुखेर अरूलाई हँसाउने तिमी नै हौ महान् बा
सत्कर्मको मीठो पाठ सिकाउने तिमी नै हौ महान् बा ।
ढुङ्गा माटो चट्टान फोड्दै पौरखी तिम्रा हातहरूले
सन्तानकैलागि अन्न फलाउने तिमी नै हौ महान् बा ।
गाई भैँसी भेडा बाख्रा चराउँदै वन पाखाहरूमा
काँधमा बोकेर गीत सुनाउने तिमी नै हौ महान् बा ।
आमाले धान रोप्दा मलाई मीठो मीठो जाउलो खुवाई
कोक्रोमा सुताउँदै मादल बजाउने तिमी नै हौ महान् बा ।
दिनमा बेठी लगाई रातमा भजन कीर्तन गाउँदै
गाउँ बस्तीमा सद्भाव जगाउने तिमी नै हौ महान् बा ।