आज भोलि मलाई कुन्नि के भा’छ

पशुपति तिमसिना/ एट्लान्टा, अमेरिका

आज भोलि मलाई कुन्नि के भा’छ ।
दिनभर भावनाले ठोक्छ ।
रातभर कल्पनाले टोक्छ ।
मलाई कुन्नि के ले खूब सताउँछ ।

आज भोलि मलाई कुन्नि के भा’छ ।
न त विपनीमा जम्न सक्छु ।
न त सपनीमा रम्न सक्छु ।
विपनीमा कोलाहलताको रास छ ।
सपनीमा अन्धकारको भास छ ।
दिनभर टोलाई रहन्छु ।
रातभर लोलाई रहन्छु ।
सबै आएर सम्झाउँछन् ।
जीवन एकलो पाउँछु ।
प्रश्नका शूलैशूल पाउँछु ।
उत्तर कतै पाउँदिन ।
अनायासै भनि पठाउँछु ।
“मलाई कुन्नि के ले खूब सताउँछ ।”

आज भोलि मलाई कुन्नि के भा’छ ।
मलाई जीवनदेखि डर लाग्छ ।
र पनि जीउन कर लागेको छ ।
न त जीवनदेखि भाग्न सक्छु ।
न त  यहाँ मिलेर बाँच्न सक्छु ।
जीवनका दुःख सम्झेर कहिले रुन मन लाग्छ ।
आफ्नो अवस्था देखेर कहिले हाँस्न मन लाग्छ ।
“ए, म पागल त हुँदै छैन?”
आफैं सम्हालिन खोज्छु ।
आफ्नो हाल अरुलाई सोध्छु ।
तर चिन्ता र पीढाले हरेश खान्छु ।
सबै मलाई सम्झाउन थाल्छन् ।
उत्तरमा भनिदिन्छु –“मलाई कुन्नि के ले खूब सताउँछ ।”

लेखन मितिः ०३/०१/१९९५

Leave a Reply

Your email address will not be published. Required fields are marked *