गजल – ४००
टेक भण्डारी
एडिलेड, साउथ अस्ट्रेलिया
बिछोडको टिका सिरमा लगाई छोडे थेँ मैले देश
बलेँसीमा तप्प आँशु खसाई छोडे थेँ मैले देश।
अन्धकार रात चिर्दै टुटेको भाग्य बोकेर झोलामा
बाबा आमाको हात समाई छोडे थेँ मैले देश।
पहिचानको कुरा गर्दा जब गोली चल्यो गाउँमा
आफ्नै घरको धुरी जलाई छोडे थेँ मैले देश।
कान्ला, गल्ली ती चौतारीले शून्यताको सङ्ख फुकी रहँदा
आफ्नै छाती आफैले अठ्ठयाई छोडे थेँ मैले देश।