गर्जमान गुरुङः एक ठिकादारको प्रसिद्धि

 

भक्त घिमिरे-पेन्सिलभेनिया/अमेरिका

(इतिहासको एकटुक्रा)

  • ‘श्री ३’ उपाधि लिएर गुरुङ फिर्ता भएपछि पारो पेन्लपले सो दर्जा-प्राप्तिमा उनलाई सम्मानपूर्वक सलामी दिने बहाना गरी पारोमा निम्ता गरे । यसरी पारो पेन्लपको निम्ता मानेर सलामी थाप्न पारो जोङभित्र पसेका गर्जमान गुरुङ कहिल्यै बाहिर निस्केनन् ।

 

गर्भमा रहेका गर्जमान जन्मिन अगावै उनकी आमा गायत्रीदेवीले एउटा अनौठो सपना देखिन् जसमा उनले सूर्य निलेकी थिइन् । सपनाको परिभाषा बताउँदै पुरोहितले गर्जमान एकदिन सत्ताशक्ति प्राप्त गरी मुखिया बन्ने जनाएका थिए ।

भनेजस्तै गरी सामचीमा सबैभन्दा ख्यातिप्राप्त ठिकादार तथा जनप्रिय समाजसेवी बनेर उनले पुरोहितको भविष्यवाणी चरितार्थ गरिदिए । तर, उनको यो यश देखेर पारो पेन्लप छिरिङ पेञ्जोरलाई सह्य भएन । छिरिङ पेञ्जोरले गर्जमानको ख्यातिलाई आफ्नो वर्चस्वमा चुनौतीका रूपमा लिए र उनलाई एकदिन पारोमा ल्याएर मारी दिए ।

प्रतापी गर्जमानको जन्म दालचन गुरुङ र गायत्रीदेवीको कोखबाट सन् १८६१, त्योबालेको कालेबुङमा भएको थियो । इतिहासका केही तथ्याङ्कहरुले जनाए अनुसार दालचन गुरुङ सन् १८६३  मा भूटानको चमर्चीस्थित द्वारपानीमा पाइला राख्ने पहिलो नेपालीभाषी थिए । अति महत्वाकांक्षी तथा चतुर दालचनले छोटै समयमा आफूलाई त्यहाँ शक्तिशाली व्यक्तित्वको रूपमा स्थापित गराए ।

सन् १९०७ को दिसम्बरमा राजगद्दी आरोहण गर्न लागेका उगेन वाङ्चुकको राज्याभिषेक र सम्पूर्ण वाङ्चुकवंशको पुस्तैनी शासनलाई नेपाल सरकारको तर्फबाट समर्थन माग गर्ने उद्देश्यमा सोहीवर्षको फेब्रुवरीमा काठमाडौं गएको भूटानी प्रतिनिधि मण्डलमा दालचनका छोरा गर्जमान पनि एक सदस्य थिए ।

पछि गर्जमानले आफ्नो परिवारलाई पौरख उपहार दिने लक्ष्यमा डाँडाबाट पूरै सामची देखिने हिसाबले सौरेनीमा  ५२ ढोके दरवार बनाए । यसलाई ५२ ढोके दरवार वा सौरेनी कोठी, दुवै नामले चिनिन्छ । सो कोठीका भग्नावशेषहरु अझै पनि देख्न सकिन्छ । बाबु दालचनले द्वारपानी कोठी बनाएको १० वर्षपछि सौरेनी कोठी बनेको थियो । दालचन निर्मित द्वारपानी कोठी भारतीय सिमाना नजिकै, सामचीमा अझै पनि दुरुस्त खडा देख्न सकिन्छ ।

गुरुङ परिवारका उत्तराधिकारी सदस्यहरुले बताए अनुसार पारोबाट आउने सरकारी पाहुनाहरुलाई गर्जमानले आफ्ना पिताले बनाएको दशकोठे दरवार अर्थात् द्वारपानी कोठीमा राख्थे । सौरेनी कोठीचाहिं आफ्नो निजी निवास र प्रशासनिक भवनका रूपमा गर्जमानले प्रयोग गर्दथे ।

गर्जमानका तीनजना श्रीमतीहरु थिए । निजी चिया बगान थियो । उनी शिकार खेल्न मन पराउँथे । लण्डनमा बनेको पियानो बजाएर संगीत साधना पनि गर्दथे । उनी वरपर हिँड्दा सुनको पत्तीले मोहोरेको लौरो टेक्थे ! गर्जमानको सवारी साधनका रूपमा रतन नाम गरेको एउटा हात्ती र प्रताप नाम गरेको एउटा घोडा थिए ।

तत्कालीन भारतमा शासन गरिरहेका अंग्रेज शासकहरुले गर्जमानलाई ‘बहादुर’ उपाधि प्रदान गरेका थिए । ब्रिटिश इण्डियासित गुरुङको प्रगाढ सम्बन्ध थियो भन्ने यहाँ बताइरहन आवश्यक नै भएन । गुरुङका चारजना छोराहरु सबै दार्जीलिङको सेन्ट पल विद्यालयमा पढ्ने अवसर पाउनुको रहस्य पनि उनको ब्रिटिशकालीन भारतसितको निकटता नै थियो ।

अधिकांश स्रोतहरुले गर्जमान गुरुङलाई पारो जोङमा मारिएको उल्लेख गरेका छन् । विभिन्न स्रोतहरुमा विभिन्न प्रसंग समेटिएका छन् । यद्यपि, प्रसंगहरुको केन्द्रमा तत्कालीन पारो पेन्लप छिरिङ पेञ्जोरद्वारा नै उनी मारिएका थिए भन्नेचाहिं स्थापित समष्टिगत मान्यता हो । केही दुर्लभ स्रोतहरुले उल्लेख गरे अनुसार गर्जमानले पारो पेन्लपलाई उपेक्षा गरी (अनुमती नलिई) राजकीय दरवारबाट ‘श्री ३ सरकार’ को पद्वी लिएका थिए । यसरी ‘श्री ३’ उपाधि लिएर गुरुङ फिर्ता भएपछि पारो पेन्लपले सो दर्जा-प्राप्तिमा उनलाई सम्मानपूर्वक सलामी दिने बहाना गरी पारोमा निम्ता गरे । यसरी पारो पेन्लपको निम्ता मानेर सलामी थाप्न पारो जोङभित्र पसेका गर्जमान गुरुङ कहिल्यै बाहिर निस्केनन् ।

(यो सामग्री एकताका भूटानमा प्रकाशित खबरकागज ‘भूटान टाइम्स’ सित निकट श्री ताण्डिन दोर्जीद्वारा भूटान देशनिर्माणको सिलसिलामा योगदान पुऱ्याउने विभिन्न व्यक्तित्वहरुको ‘जीवनी’ संकलन –  अंग्रेजी भाषामा सम्पादित/प्रकाशित ‘Trailblazers, from the pages of history’ मा समेटिएको अंशबाट लिइएको हो । यो पुस्तक बजारमा उपलब्ध भएजस्तो लाग्दैन । पंक्तिकार स्वयंले खोजी गर्दा नभेटेर वासिङ्टन डिसीस्थित लाइब्रेरी अफ् कंग्रेसबाट फेला पारेको हो । लाइब्रेरी अफ् कंग्रेसका अतिरिक्त यो पुस्तक न्यूयोर्कस्थित ‘कोलम्बिया यूनिभर्सिटी’ र सिङ्गापुरको ‘नेशनल लाइब्रेरी बोर्ड’मा पनि उपलब्ध छ । यो सामग्री भूटानमा कार्यरत एजना पत्रकार गोपीलाल आचार्यले पनि सार्वजनिक गरेका छन् ।)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *