गाउँको अनुहार

  • छेवाङ योञ्जन / दार्जीलिङ     Chhewang Yonjan

 

बेला बेला गाउँको अनुहारले पनि दिक्क बनाउँछ

सिरूघारीभित्रै हराएको गाउँको अनुहार

चर्को घाममा छरप् छरप् बज्ने पत्करदेखि डराउँछ !

कुलेंसोमा तप् तप् चुहुने पानीको थोपादेखि

लगलग् काम्छ गाउँ !

आधा रातमा कुकुर भुक्दा

धुझै-धुझा परेको कम्बल ओढेर कान थुन्छ गाउँ

तर, चुइँ बोल्दैन,

प्रतिक्रिया गर्दैन,

उहिले नै ठूलो सास फेर्न छोडेको मेरो गाउँ

आफ्नै अनुहारदेखि डराउँछ !

 

गाउँको यसै कायर अनुहारमाथि

बिमल गुरूङले राज गर्छ

अशोक गरले चाट्छ गाउँको निधारमा उम्रेको

कायर पसिनाको स्वाद

त्यसैमाथि रमेश लामाको बांगो गर्धनले धम्क्की दिन्छ

लगलग् कामीरहने गाउँलाई-

तर पनि चुपचाप् बस्छ गाउँ

तोर्मे गोलाईको ढुंगा जस्तै !

 

कुनै युवकले नडराउने कुरा गरिदिँदा

गाउँलाई रिस उठ्छ र युवकको पछि लाग्छ

कुनै युवकले सचेत हुने सन्देश दिँदा

गाउँको इज्जतमा चोट पुग्छ र,

समाज निकालाको नारा लगाउँछ…

 

ट्यांकी डाँडाको मुकुट ओढेको मेरो गाउँ

कहिले डाँडा जत्रो हुनसकेन

कहिले पहाडजस्तो सोच्न सकेन

कहिले हिमाल जस्तो अटल हुन सकेन ।

 

टिस्टाजस्तै जमेको मेरो गाउँको अनुहारले

बेला बेला यसरी दिक्क बनाउँछ !

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *