गाउँ र केही दृश्यहरु

बटुवा

झमक्क साँझ प-यो । बिहान स्कुल गएकी कमला अझ घर आइपुगिन् । रत्नेलाई सुर्ता लाग्न थाल्यो । भएकी यौटै बहिनी, कहाँ गई? कता लागी होली? कुनै अकल्पनीय दुर्घटनामा पो परी कि? अथवा दाजुकै कोत्रे अनुहारमा झन् कालो मोसो दल्ने काम पो गरी कि? हुन त उसलाई आफ्नी बहिनीको व्यवहार राम्ररी थाहा छ । ऊ आफूलाई आफ्नो ठाउँमा राख्न जान्दछे । आफूलाई आफ्नो बाटोमा हिँडाउन जान्दछे । तैपनि ….तैपनि दिनदशा भनेको मोबाइल बजाएर आउँदैन । फेरि मान्छेको बुद्धिको प्रत्याभूति कसले दिने? दिन बिग्रिएर दशा लागेपछि मान्छेको बुद्धि बिग्रिन्छ । विवेक निख्रिन्छ । दिनदशाकै कारण कमलाले पनि घरमा, गाउँमा वा समाजमा दुर्गन्ध फैलने काम पो गरी कि? रत्नेको मनमा बहिनीप्रति यी र यस्तै शंकाउपशंकाको कालो धमिलो बादल एकतमासले मडारिन थाल्यो । फेरि गाउँमा घटेका विभिन्न घटनाहरु पनि उसले यतिखेर नै सम्झयो ।
उसले सम्झ्यो ।
सातादिन अघिमात्र पल्लाघरे जेठाकी कुमारी छोरी साबित्राले बच्चा पाई जसको बाबु को हो भन्ने कुरा उसैलाई बाहेक अरु कसैलाई थाहापत्तो छैन । अर्काको विषयमा हदैसम्म चियोचर्चो गर्ने र चासो राख्ने प्रवृत्तिले अन्तरहृदयदेखि नै पूर्ण अभिप्रेरित भएर सोधे । सबैले सोधे बच्चाको बाबु को हो? को हो बच्चाको बाबु? तर साबित्रा बोलिन । जति नै सोधे पनि र नरम–खस्रो वा सानोठूलो जस्तै स्वरले सोधे पनि ऊ चुई गरेकी होइन । दुनियाँमा सबै कुरा भन्नै पर्ने वाध्यता र आवश्यकता नरहेको सत्य सम्भवतः उसले बुझेकी थिई । यसैले ऊ बोलिन र नबोलेरै जिती |
रत्नेले फेरि अर्को घटना सम्झ्यो । दुई महिना अघि गाउँमा घटेको अर्को सत्य घटना थियो यो । यो घटनामा गोप्लेले सिरुपाते खुकुरी लिएर धनेलाई नराम्ररी लखेटेको थियो । भर्खरै नौमती र डेक बजाएर, दुनियाँलाई देखाएर बिहे गर्दा हत्तपत्त नउक्सिने गरी ऋणमा डुबेको गोप्ले हर्के साहुको ट्याक्टर हाक्थ्यो । नव दुलही गोप्लेनी घरैमा रक्सी पार्थी । धने चाही त्यही रक्सी खान आउ“थ्यो । त्यसदिन त गोप्लेनीलाई पनि खाँदै रहेछ मोराले । आफनी स्वास्नी र धनेलाई खेल मैदानमा खेल खेलिरहेकै अवस्थामा भेटेको गोप्लेले कुर्कुच्चाले चाक छोउन्जेल कुदे पनि धनेलाई छप्काउन भेटेको होइन । अन्ततः ऊ निराश र लखतरान भयो । तर रिस मरेन । रिस नमरेपछि ऊ सिधै आफनै घरतिर दगु-यो – स्वास्नीको घुच्चुक ताकेर । तर घर पुगेर हेर्दा थाहा भयो स्वास्नी पनि फरार भइछे ।
यो घटना सम्झी सकेपछि रत्नेले बाहिर हे-यो । रात छिप्पिएर झन् विकराल हुदैछ बाहिर । अब उसले पुनः अर्को घटना झल्याँस्स सम्झयो । धर्मदेव दाईले पुराण लाएताका घटित यो सत्य घटना पनि बिर्सन लायक कहाँ छ र? अँ त धार्मिक आस्थाले लपक्कै भिजेका धर्मदेव दाइले श्रीमद्भागवत महापुराण लाए । उक्त सप्ताह ज्ञानमहायज्ञमा दिउँसोको तुलनामा सन्ध्याकालीन कार्यक्रम विशेष उल्लेखनीय रह्यो । दिउँसो वृद्धवृद्धा मात्र भेला हुन्थे । न्यून उपस्थिति रहन्थ्यो । तर साँझ छः बजेदेखि शुभारम्भ भएर राती दश बजे समापन हुने सन्ध्याकालीन कार्यक्रममा भने गाउँका सबै युवायुवती भेलिन्थे, व्यासाचार्यजीको संगीतमय अमृतमय महापुराण महात्म्य श्रवण गर्न । महात्म्य सुन्ने त नाम र निहुँ मात्र हुन्थ्यो । पुराण परिसरमा प्रवेश हुनसाथ भागवतमय बातावरणको प्रभावले गर्दा होला उनीहरु त गोपगोपिनी पो भइ हाल्थे । अनि त महात्म्य सुन्न भन्दा पनि बरु रासलीला रच्नतिर पो लागिहाल्थे, दिलोज्यान दिएर । उनीहरुको यो सद्प्रयासलाई चुक पोखिए झैं कालो रातले झन् मनग्गे साथ दिएकै थियो । त्यसमा अझ केराघारी, बाँसधारी र खेतका डिल अनि झाडीहरुको सहयोग त प्रशंसनीय नै थियो । पुराणको समापनपछि थाहा भयो, बोल्न र सुन्न नसक्ने दुई दिदी–बहिनी पनि गोपहरुको रासलीलाको शिकार भएछन् । पछि सोधखोजको क्रममा पत्तो लाग्यो, ती अपा¨ दिदी–बहिनीसंग बलजफती राशलीला रच्ने गोपहरु त ग्रामीण अपा¨ बाल बालिका विकाश तथा संरक्षण समितिका संस्थापक सदस्यहरु पो रहेछन् ।
अब भने रत्नेले आफ्नो सम्झने क्रम बन्द ग-यो र घडी हे-यो–रातको ठ्यँक्कै बाह्र बजेछ । तर बहिनीको चिन्ताले ग्रासित उसले निन्द्रा भनेको कुन चरीको नाम हो, थाहा पाएन । आँखा आँखामानै रात चिप्ली रह्यो । एक बज्यो । दुई बज्यो । भाले बास्यो । फेरि तीन चार हुँदै पाँच पनि बज्यो । उज्यालो भयो । अनि ऊ बहिनी खोज्न घरदेखि निस्कियो ।
ऊ घरमास्तिरको खेतआलीको बाटो भएर माथि चौतारामा पुग्दा बिहानको नौ बजिसकेको थियो । चौतारामा बसेर ऊ खैनी माड्न थाल्यो । खैनी माड्न मात्र होइन, कोही आइहाले कमलाबारे, सोध्न पनि एकछिन ऊ त्यहाँ बसेको थियो ।
“कता हिंड्यौ रत्ने, काम नपाएर?”
साच्चै एकजना त आइ पो हाले । बोल्दा जहिले, काम नपाएर थेगो मिसाएर बोल्ने यी मान्छे भागिमान दाइ नै थिए ।
“हिजो स्कूल गएकी कमला घरै आइ पुगिन दाइ, त्यसैलाई खोज्न हिंडेको । तपाँईले त कतै देख्नु भएन नि उसलाई ।” खैनी मुखमा हालेर रत्नेले यति भन्यो ।
“खै देखिएन त रत्ने । कता लागी त? पोइल त हिंडिन केटासंग, काम नपाएर?”
केटी मान्छे कमला, पोइल जाने त केटासंग नै हो ।
तर रत्नेले भन्यो “त्यसले अहिले नै त्यसो गर्ली जस्तो लाग्दैन दाइ, मलाई ।”
“तिमीलाई नलागेर हुन्छ, काम नपाएर । मेरी छोरी पनि त कमलासंगै पढ्दापढ्दै हिंडेकी होइन?”
होत साँच्चै । बिचरा भागिमान दाइकी एक्ली छोरी अनिता त्यसरी हिंडी । पढाईमा भन्दा व्युटीपार्लरमा बढी समय खर्चिने ऊ यत्ति साहसी थिई कि जहिले आफ्नो उत्तु¨ वक्ष देखाएर हिंड्थी । माकुरी जाले लुगा उसको पहिरन थियो । कम्मरमुनि झन्झन्डै पेन्टी देखिने डेढबित्ते मिनिस्कर्ट झुन्ड्याउँथी । ऊ बाटोमा हिंड्दा के बृद्ध के युवा सबैको आँखा उसको छाती र मिनिस्कर्टमा टाँसिन्थे । ऊ भने आफूलाई पुरुषआँखाले त्यसरी पच्छएकोमा आनन्दमग्न हुन्थी । मख्ख पर्थी । उसलाई लाग्थ्यो – संसार उसको मुठ्ठीमा छ । आफ्नो एक मुस्कानले दुनियाँलाई नत गर्न सक्छे–यस्तो लाग्थ्यो उसलाई । अर्को कुरा, उसले पढाईमा ध्यान नदिए पनि स्कूलका सरहरुलाई आफ्नो यौवनको चक्रव्यूहमा फँसाइराख्न शतप्रतिशत सफल भएकीले खुरुखुरु पास हुन्थी । कति सरहरुले त उसलाई बाह्रै मास ट्यूसन पनि पढाए । एकल र फ्रि ट्यूसन । भन्नै पर्दा ऊ गाउँकी जुलियट नै थिई । उसका असंख्या रोमियोहरु थिए । मुन्द्रे रोमियोहरु । ती मुन्द्रे रोमियोहरु उसका अघिपछि लागेर हिंड्थे । उसलाई चट्पटे खुवाउँथे । नजिकैको सहरमा सिनेमा हेराउन लान्थे । सिनेमा हेराउन लाँदा होटल–रेष्टुराँमा समोसा, जेरी, चाउमिन, चाट, छोयला, भात खुवाउँथे । एकदिन त बियर पनि खुवाएछन् । त्यसपछि त खै के–के खुवाए कुन्नि? शनैः शनैः उसको पोल्टो पो बढ्न थाल्यो । निक्कै अस्वाभाविक देखिन थाल्यो उसको पोल्टो । अन्ततः उसका मुन्द्रे रोमियोहरु पनि एकाएक सबै गायब भए । रही ऊ आफू एक्लै । अनि पानी धारामा, चोकमा, चौतारामा, खेतालामा, पशलमा अर्थात् जहींतही उसकै पोल्टोको प्रसंग उप्किन थालेपछि ऊ पनि हराई । आफ्ना रोमियोहरु झैं गायब भई । आफ्नो पोल्टोसंगै बेपत्ता भई । बिचारा भागिमान दाइले धेरै दिनसम्म रुँदै छोरी खोजिहिंडे तर भेट्टाएनन् ।
यस्ता टिठलाग्दो भागिमान दाइले अहिले चुरोट सल्काएर भने – “चाँडै खोज रत्ने बहिनीलाई, नत्र मेरै नियति होला नि ।”
प्रतिउत्तरमा रत्नेले टाउको हल्लायो । भागिमान दाइ बुङ्बुङ धुवाउँदै गन्तव्यतिर लागे ।
अब रत्ने गाउँको एकदुई घरमा पसेर कमला बारे सोध्यो । तर कसैले देखेको कुरा गरेनन् । त्यसपछि ऊ स्कूलमा गएर सोधपुछ गर्ने बिचारले त्यसै लाग्यो । निक्कै बेर हिंडेपछि ऊ स्कुल पुग्न अघि पुग्नै पर्ने भट्टीपसलमा आइ पुग्यो । उसले देख्यो भट्टीपसल भित्र त टन्न विद्यार्थीहरु पो रहेछन् । विद्यार्थीहरु अर्थात निर्माताहरु । भविष्य निर्माताहरु । आफ्नो भविष्यको निर्माताहरु । आफ्नो गाउँ र समाजको भविष्यको निर्माताहरु । आफ्नो देश र राष्ट्रको भविष्यको निर्माताहरु । समग्रमा भन्नु पर्दा विश्वकै भविष्यको निर्माताहरु । पाठ्यपुस्तक एकातिर असरल्ल फालेर “हार्डड्रिङ्क” को चुस्कीसंगै रमिरहेका, झुमिरहेका । अर्थात भविष्य निर्माणको अभ्यास गरिरहेका । यी नवनिर्माताहरुलाई यो निर्माणशैलीको मार्ग निर्देशन गर्ने श्रेय यिनै निर्माताहरुका अग्रजहरुलाई जान्छ । यस कुरामा कसैको दुई मत त के डेढ मत पनि हुन सक्दैन । भट्टी पसल भित्र निर्माता विद्यार्थीहरुको यो अति वाञ्छनीय दृश्यपान गरिसकेपछि अब रत्नेको बुद्धि बिग्रियो । उसको घाँटी खस्खसायो । ऊ उनीहरुलाई दुई–चार शब्दसुमन अर्पण गर्ने महान्, उदेश्य लिएर पसलभित्र छि-यो । हिजोआजका विद्यार्थीसंग कडा, रुखो र खस्रो भाषा त्यो पनि भट्टीपसल भित्र बोल्दा हुन सक्ने अनर्थको राम्रो अड्कल गरेरै उसले बिनम्र स्वरमा भन्यो ।
उसले भन्यो – “मेरा भाइ बहिनीहरु, यो पढ्ने उमेरमा किन यस्तो सेवन गरेको ……?”
बिचारा उसले यतिमात्र भन्न भ्यायो । त्यसपछि भाइ बहिनीहरुले केही भन्नै परेन । पर कुनामा बसेर तेजिला आँखाले विद्यार्थी ग्राहकहरुको बोतल, गिलास र सिकुटीको पिलेट गनेर बसेकी अधवैशे मोटी साहुनीले भनिहाली ।
उसले पान चपाउँदै भनी – “आफूले क्यै खानु–पिउनु छैन भने गइहाल रत्ने । अरुको शुभकार्यमा बाधक नबन ।”
साहुनीको कुरा सुनेर विद्यार्थीहरु गलल्ल हा“से । निर्माताहरु गलल्ल हाँसे । भाई बहिनीहरु गलल्ल हाँसे । जिल्लराम चङ्खे भएको ऊ त्यहाँबाट चुपचाप निस्केर हिड्यो ।
अब ऊ सरासर स्कूलतिर कदम बढाउन थाल्यो । बिस्तारै घाम चर्कन थालेको छ । घाम चर्के पनि मन्दमन्द हावा बहेकै छ ।
“दाज्यु!“
रत्ने स्कूल पुग्नै लागेको थियो । उसले अनायस कमलाको यो स्वर सुन्यो ।
“कमला ! कहाँ गएकी थियौ बहिनी तिमी?”
बहिनीलाई कहिल्यै “तँ” शब्दले सम्बोधन नगर्ने, कहिल्यै रिसाएर ठूलो स्वरले गाली नगर्ने रत्नेले रिसाएर होइन, झर्किएर होइन, मीठो स्वरमा नै यति भन्यो, आफू अगाडि ठिङ उभिएकी कमलालाई ।
अनि कमलाले पनि आफ्नो प्यारो दाजुलाई सविस्तार सबै कुरा भनी ।
“दाज्यु हिजोबिहान म स्कुल जाँदै थिएँ । बाटोमा पारिगाउँको ठुले साहुको छोरो हरिकृष्णेले मलाई एक्लै देखेर हातपात गर्न खोज्यो, अनि… ।” कमलाले शिरनत गरी ।
“अनि के भो?” रत्नेको मुटु ढुकढुक गर्न थाल्यो । उसलाई लाग्यो उसको शंकाउपशंकाले साकार रुप लिँदै छ । अर्थात उसको अनुहारमा कालो मोसो लागिसकेको छ ।
तर कमलाले भनी– “अनि मैले पनि उसलाई धेरै सम्झाएँ बुझाएँ तर नसम्झे नबुझेपछि………। “ऊ फेरि यहाँनिर आइ पुग्दा अड्किई ।
“नबुझेपछि………….?” बहिनीको वाक्यको अन्तिम शब्द दोहो-याउँदै रत्नेले निधार खुम्च्यायो ।
कमलाले भनी “नसम्झे नबुझेपछि मैले त्यसलाई सक्दो चुटें । र ठानामा पु-याएँ ।
“हँ??” रत्ने वाल्ल प-यो अहिले, बहिनीको कुरा सुनेर ।
कमलाले फेरि भनी – “घर आउन अबेर भएपछि गए राती त्यतै साथी निकिताकहाँ बसेर अहिले बिहानै घर आइ पुगेकी तपाईँलाई लिन । जाउँ दाइ, ठानामा अहिले नै जानु पर्ने भएको छ ।
हो, साँच्चै काइदासाथ चुटेकी थिई कमलाले हरिकृष्णलाई । दश–दश वर्ष लगनशीलताका साथ सिकेकी कुङफुको सम्पूर्ण कला प्रदर्शन गरेकी थिई । गाउँमा दादा देखाएर हिंड्ने, गाउँले सोझा युवतीहरुको अस्तित्व जोखिममा पार्ने हरिकृष्णलाई अहिलेसम्म कसैले यसरी बनाउन सकेको थिएन । बल्ल कमलाको फेरा प-यो । त्यसको शिर अब कहिल्यै नउठ्ने गरी ढलेको हुनु पर्छ ।
“कमला” – रत्ने हर्षमिश्रित मुस्कान सहित मुखर भयो –“मलाई थाहा थिएन, मेरी बहिनी यत्तिकी आँटिली छिन् – आफ्नो रक्षा पनि आफै गर्न सक्छिन् भन्ने कुरा । मलाई खुशी लाग्यो बहिनी, गर्व लाग्यो तिमीदेखि ।”
“खुशी त हामीलाई पनि लागेको छ रत्ने, कमला देखि ।”
अनायसै यो समवेत स्वर ध्वनित भयो । अनि दाजु बहिनीले देखे डाक्टर शर्मालाई । उनीसंगै थिए भीम देवजी, भोलानाथ ठकुरी, श्रीमती मीना राई, एक्लो बटुवा अनि तपाईसंगै म पनि त्यही थिएँ ।
“कमला, हामी तिम्रो पक्षमा बोल्न तिमीहरुसंगै ठानामा जानलाई आएका हौं ।
डाक्टर शर्माले यसै भने ।
“हो छोरी” – श्रीमती मीना राईले थप्नु भयो ।
“त्यसो भए जाउँ ।” कमलाले भनी ।
अनि सबै ठानातिर लागे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *