गुमाने र म -२

bp (1)
कथाकार

भक्त घिमिरे
अमेरिका

गुमानेले आफ्नै जिन्दगीको संगीतमा रसिलो धून भर्न सक्यो कि सकेन, यो कुराको मूल्यांकन गर्ने सबै पाठकहरुको जिम्मा हो । तर, गुमानेले चाहिं एक्रोनमा फरवरी २८ का दिन आयोजित “आत्महत्या नगरौं ” भन्ने सन्देशमूलक सांगीतिक कार्यक्रमबाट फिरेर घर पुगी आमाको चाहना पूरा गर्ने कामलाई आफ्नो प्रथम जिम्मेवारी सम्झिएछ;  ऊ हतारियो । कार्यक्रमकक्षबाट दुवै बाहिर निस्केर सामान्य कुराकानी गऱ्यौं । “भर्खरै एउटा गाडीको मर्मत गर्ने ‘मेकानिकल वर्कशप’मा काम गर्न थालेको छु । गाडी चलाउने तालिम सकेर लाइसेन्स (चालक अनुमति पत्र) पनि निकालीसकें”, गुमानेले भन्यो । ठूलो उद्देश्य र जीवनमूल्यको कार्यक्रमबारे सुनेर आफू भरखर लाइसेन्स पाएको नयाँ ड्राइभर भए पनि एक्लै गाडी कुदाउँदै कार्यक्रमस्थलसम्म आएको कुरा पनि उसले हिँड्नेबेला मलाई बतायो । उसँग सामाजिक दायित्व र भाषा-संस्कृतिको रक्षाबारे केही कुराहरु गरें, हाम्रो पूर्वेली सभ्यतामा अमेरिकी समाजलाई समेत गतिवान् बनाउनसक्ने खूबी भएको, उन्नतिको दिशामा लानसक्ने सूत्रहरु भएको तर, यसको संरक्षणको सट्टामा हाम्रै समाजमा हुने आत्महत्या प्रकरणले ठूलो बेइज्जती भइरहेको र गलत अर्थमा हामीलाई स्थानीय समाजले बुझ्नथालेको तर्क पनि मैले गरें । जुन उल्लिखित कार्यक्रमको मूल विचार र लक्ष्य पनि थियो । गुमाने मेरा कुरामा नबोली टाउको मात्र हल्लाइरह्यो । यसरी कानुनी प्रक्रिया र अमेरिकी समाजव्यवस्थाबारे आफूले बुझेजति बताएर उसलाई मैले विदा गरें । गुमानेले आफैं गाडी हाँकेर अघि बढेको हेर्दै म मुस्कुराएँ, अनि सम्झिएँ- यो समय भन्ने चीज पानीजस्तो पारदर्शी हुँदो हो त हामी आफ्नो भविष्य पहिले नै देख्न सक्थ्यौं; आफ्नै अनुहार ऐनामा हेरेर प्रतिविम्बमा सुखद भविष्य देखिन्थ्यो भने को आत्महत्या गर्न तम्सिन्थ्यो होला र …!

यद्धपि, गुमानेलाई विदा गरेपछि मलाई ठूलो ग्लानि भयो । ऊ त्यत्रो परिश्रम गरेर अर्को राज्यबाट कार्यक्रममा उपस्थित भई आफ्नै कथा सुनाएर समाजलाई सचेत गराउने अठोटमा आएको थियो; उसको कथा पनि स्टेजबाट उसैले सुनाउन पाएको भए कार्यक्रमको रूपरंग नै अर्कै हुन्थ्यो ! ‘सुनमा सुगन्ध’ यसैलाई भने शायद बुढापाकाले ! हुन त कार्यक्रममा समयको पावन्दी थियो, समयाभावकै कारण धेरैको प्रस्तुतीमा कटौती गरिएको आयोजकहरुबाट सूचना आइरहेकै थियो । तर कार्यक्रमको सान्दर्भिकता जोडिने गुमानेको कथाबारे जानकारी गराउन पाएको भए उसलाई समय मिल्थ्यो कि ! समाजलाई आत्महत्याबारे डाक्टरहरुको सल्लाह, विवेचना र समीक्षाभन्दा पनि आत्महत्याकै मोडबाट फर्किएको सजीव पात्रको कथा औधि चासोको विषय बन्थ्यो । यस मानसिकताबाट बिथोलिएकाहरुलाई गुमानेको कथाले मह्लमपट्टिको काम गर्नेथ्यो’ । तर, कार्यक्रमका आयोजकहरुले उसलाई चिन्न पाएनन्, उसले पनि आयोजकहरुलाई चिन्न सकेन । कम से कम म आफूले त आयोजकमध्ये केहीलाई चिनेको थिएँ । यति कुरा चट्ट कुनै एकजनालाई भन्दिएको भए उनीहरुले गुमानेलाई समय दिँदा हुन्…त्यो कुरो हुन नसकेकोमा मलाई धेरै खिन्नता भो’ ।

आज मार्च महिनाको दोस्रो साता पनि बितिसक्यो, घर पुगेपछि कल गर्ने वचन दिएर गएको गुमानेले मलाई अझै कल गरेको छैन; के भो, कुन अवस्थामा छ ! सोचिरहेको थिएँ, एक्कासी उसको कल आयो । फोन उठाएँ र भने, किन धेरै दिनसम्म कल गरेनौ त भाइ ? उसको जवाफ थियो,“दाजै, यस्तै हो हतारै हतारको अमेरिकी जीवन । तपाईंसँग छुटेपछि आमालाई काका घर पुऱ्याएर आ’को, थिएँ, राति सारै बिरामी पर्नुभएछ, उतैबाट अस्पताल पुऱ्याएछन् । विभिन्नकारणले लामो समय उताको अस्पतालमा राख्न नमिल्ने भएर आफ्नै सिटी अस्पतालमा हिँजो ल्याइपुऱ्यायौं । अहिले अलिकति आराम पनि हुनु भा’ छ । र, दाजै एउटा जरुरी काम परेर सहयोग माग्न पनि हिम्मत गरें ।” मैले के सहयोग गर्नुपर्ने धक नमानी भन्नलाई अनुरोध गरें । ओहायोमै उसकी काकाकी छोरी बहिनी रहेकी र उनकी छोरी (गुमानेकी भाञ्जी)-को उपचार भइरहेको तर, त्यहाँ अंग्रेजी नबुझ्नेलाई दोभाषेको सुविधा नभएको जनाएर मलाई सहयोग गरिदिन आग्रह गऱ्यो गुमानेले । मैले ‘हुन्छ’ भन्दिएँ । त्यसपछि भलाकुसारी भए हाम्रा विगत र वर्तमानका । ओहायोतिर घर किन्न अलकति सरल भएको सुनेर बसाईँ सर्ने विचार गरेको तर, सानो भाइको पढाइले रोकिएको पनि उसले मलाई बतायो । मैले सरदर सबैतिर उस्तै हो, जीवनस्तरका कुरा, बजारभाउ, रोजगार र पारिश्रमिक, स्वास्थ्यसेवा-सुविधा र बालबालिकाको शिक्षा व्यवस्थाबारे बुझेरमात्र कतै बसाईँ सर्ने कुराको निधो गर्नु भन्ने सुझाव दिँदै फोन राखिदिएँ ।

भोलिपल्ट बिहानै चिया पिएर हतारिँदै तोकिएको समयमा ओहायोकै एउटा अस्पतालको उपचार कक्षमा पुगें । एउटी सानी बच्ची काखमा लिएर उपचार कक्षभन्दा बाहिरको बेञ्चमा  निन्याउरो अनुहार लिई बसिरहेकी एउटी नारी थिइन् । म पुगेपछि उनी अलिकति कौतुहल दर्शाउँदै उठिन् तर, बोलिनन् । मैले लख काटें उनकै निम्ति मलाई गुमानेले दोभाषे जाइदिनँ बोलाएको हो । उपचारकक्षमा बोलाएर बच्चीको वजन, उच्चाइ आदिको प्रारम्भिक नापतौल गरेपछि, “प्लिज व्हेट फर अ ह्वाइल; द डक्टर ह्वील सी यू सर्टली”, भन्दै नर्श निस्केर गइन् । नर्श जानासाथ उनी मलाई केही भन्न खोजेझैं गर्थिन् तर, फेरि रोकिन्थिइन् । नेपालीभाषी हुनुको निकटता र अपनत्वलाई कसैले छेकेर छेकिन्न, रोकेर रोकिन्न । संसारको जुनकुनै कुनामा पुगेर पनि एउटा नेपालीभाषीले अर्कोलाई भेटेपछि यसै अत्मीयता बढ्नु सामान्य कुरा हो । हुन त आजभोलि अमेरिकामा धेरै नेपालीभाषीको अनुहार देखिने गरेकाले यो कुरो सामान्य बन्नथालेको छ । तैपनि सामाजिक सरोकारमा चासो राख्नेहरुका लागि सधैं केही न केही नयाँ विषय फेला परिहाल्छ ।

दोभाषेको प्रयोजनका लागि अस्पतालले बोलाएर नभई व्यक्तिगत सहयोगीको रूपमा म त्यहाँ गएको थिएँ । अस्पतालले नै व्यवसायिक तौरमा दोभाषे बोलाइदिएको भए मैले यी सब कुरा गर्न पाउने थिइनँ । गुमानेले सहयोगको आग्रह नगरिदिएको भए पनि यो अवसर मेरो हातमा आउने नै थिएन । अस्पतालले बोलाएर म आफैं गएको भए पनि मैले यो अवसर गुमाउनुपर्ने थियो । किनभने ‘इथिक्स’ (व्यावसायिक दायित्व)-ले दोभाषेहरुलाई सेवाग्राहीसँग व्यक्तिगत कुराकानी गर्नु गैरकानुनी हुन्छ । व्यावसायिक हिसाबमा म त्यहाँ गएको भए आज यी कुरा म यसरी बाहिर ल्याउन पनि सक्ने थिइनँ शायद ।  धन्य सम्झिएँ मैले पहिले गुमाने र दोस्रोमा अस्पताललाई र यस पर्खाइको अवसरलाई प्रयोग गरी ती नारी र उनको पारिवारिक वर्तमान, विगत सबै जान्ने उत्सुकता जनाएँ । कुरैकुरामा उनले नेपालको शिविरबाट केही वर्षअघि अमेरिका आएकी बताएपछि भूटानको कुन इलाकाबाट कुन कारणले कुन साल नेपालको शिविरमा आएकी हुन् भन्ने बुझ्न चाहें । मेरो प्रश्नको उत्तर नै नदीई उनी घोरिइन् । उनको मुद्रामा एकाएक परिवर्तन आयो । अनुहार रातो भएर आयो । मैले यस्तो प्रश्न गरी केही बिराएँ भन्ने मलाई पनि लाग्यो । धेरैबेर मैले फेरि कुरा थप्ने हिम्मत गरिनँ । यतिकैमा डाक्टर आएर बच्चीको स्वास्थ्य जाँचमा लागे । डाक्टर जानासाथ मेरो काम सकियो; म जानलाई विदा माग्दै थिएँ, ती नारी एकाएक बोलिन्,“दाइ, एकक्षण है, केही भन्नु छ ।” मैले पार्कीङ लटमा पर्खिने बताएर बाहिर निस्किएँ ।  केहीबेरमा सानी बच्चीलाई एउटा हातले डोऱ्याउँदै अर्को हातमा कारसीट झुण्डाएर तिनी आइपुगिन्  र भनिन्, “दाइ, हेर्नु निः आज हाम्रो गाडी थिएन, वहाँले ड्यूटीमा लिएर जानु भो । अघि पनि एउटी साथीलाई यहाँसम्म ल्याइमागेर आएँ । सक्नुहुन्छ भने मलाई घरसम्म पुऱ्याइदिनु नः ।” सामान्यतः‘इथिक्स’ले नदिने भए पनि पारिवारिक हिसाबमा म त्यहाँ गएकोले सामाजिक दायित्वको एउटा अवसर गुमाउन चाहिनँ । ‘हुन्छ’को संकेतमा शिर हल्लाएँ र गाडीभित्र पस्न भने । बच्चीको कारसीट पछाडीको सीटमा राखेर त्यसकै छेउमा उनी बसिन् ।

गाडी स्टार्ट गर्नासाथ मैले सोधें, “तपाईंको नाम के, घर कहाँ ? भाडामा बस्नुहुन्छ कि घर किनीसक्नु भो ?” आदि आदि । “तुलसा”, उनले छोटो शब्दमा आफ्नो नाम बताइन् । सस्तो दाममा घर किन्न पाइने सुनेर केही महिना अघिमात्र अर्को स्टेटबाट ओहायो सरेको तर, अहिले आएर सुनेको कुरा सत्य नपाएको पनि उनले बताइन् ।

यति कुरा हुँदाहुँदै उनी भक्कानिएर रोदनमिश्रित स्वरमा बोल्न थालिन्,“खै दाइ, भन्न पनि के भन्नु, नभनौं भन्दा पीरका कुराहरु अरुलाई सुनायो भने पीडा हलौं हुन्छ भन्ने सुनेकी थिएँ । फेरि हाम्रो समाजमा दुःख, कष्ट परिआएको बेला सघाउने भन्दा बढी कुरा काट्ने, आफ्नोभन्दा अर्काकै बारेमा धेरै जान्ने मान्छेहरुको कमी छैन ।” यति बोलिसकेर उनी निकैबेर अक्मक गरिरहिन् । मैले भने, तपाईंको विचार हो, भन्न सजिलो कुरा भए भन्नुस, नत्र ठिकै छ । त्यसपछि उनी बोल्न थालिन् खरर…“तर, खै किन किन तपाईंलाई देखेपछि यी कुरा भनौं भनौं लाग्यो र भन्ने आँट गरें । भूटानबाट सारा सम्पत्ति र अस्मिता लुटाएर नेपालमा आइयो । नेपालमा आएर पनि बचाउन त केही सकेनौं । नेपालबाट फेरि दोस्रोपल्ट शरणार्थी भएर अमेरिका आइयो । तर, मलाई भूटानमा हुँदाका  र नेपालमै पनि शुरुका दिनहरु कसरी बिताइयो भन्ने सबै कुराको राम्रो ज्ञान छैन, किनभने म सानै उमेरकी थिएँ । तर, यति कुरा मलाई याद छ, हामीले हाम्रा बा’, आमालाई शिविरमा गुमायौं । मेरा दुई भाइ थिन् । बढी आमाले स्याहार चाकर गरी हामी सबैलाई आमाको माया दिनु भो । म अहिले पनि जीवनमा फूल फुलाउँछु, बढी आमा र भाइहरुको अनुहारमा पनि खुशी फुलेको हेर्न पाउँछु भन्ने आशा लिएरै बाँचेकी छु । मैले बिहे गरेर आफ्नै घरतिर रहे पनि दुई भाइहरु अहिले पनि बढी आमा र दाइसँगै छन् । मैले पनि बा’, आमा र भाइहरुसँगै अमेरिका आउन पाएकी भए कस्तो हुन्थ्यो भन्ने सोचाइ आउँछ । आमा, बा’ नभए पनि भाइहरुको लागि म अभिभावक छु, केही गरौंला भनेर अनेक सपनाहरु बुन्छु अनि फेरि आफैं च्यातेर फाल्छु । हाम्रो समाजको चलन, छोरीको जात अर्काको घर पसेपछि माइतीको धेरै लेखाजोखा पनि गर्न नमिल्दो र’छ । जे भए पनि दाइ र बढी आमाले भाइहरुलाई अभिभावकको कमी महसूस हुन दिनुभा’ छैन । यसैमा ढुक्क छु । ठूलो दाइको भर्खरै बिहे भएको छ । एकपटक दाइलाई पनि के भो के भो, जीवनको संघर्षबाट हरेश खाएर हामी सबैलाई रुवाउने अठोट लिनुभएछ । धन्न, दिदीले दाइको लुगा धुने तरखरमा गोजीमा खै के भेटिन् रे ! दिदीले गर्दा दाइले गर्नलागेको गलत काम रोकियो । धन्न, हाम्री देबीजस्ती दिदी । दुनियाँ गाउँ-घरकाहरुले ‘बहुलाई’ भन्थे तर, उनै आज हाम्रो परिवारको लागि देबी बनेर ‘रच्छे’ गरिन् । अब त दाइले पनि उनको पारिवारिक जीवन खुशीपूर्ण राखेर बुढी भ’की आमालाई सेवा पुऱ्याउलान् भन्ने आशा गरेकी छु । साना भाइमध्ये पनि एउटाले त राम्रै पढिरहेको छ ।” तुलसाको यो वाक्य टुंगिदासम्म उनले बताएको ठेगानामा पुगेर मैले गाडी रोकिसकेको थिएँ । गाडीबाट ओर्लिँदै उनले एकैछिन बसेर चिया पिउने आग्रह गरिन् । मैले आफूलाई समयाभाव बताएर जाने जिकिर गरें । उनको गुनासोको सिलसिला सकिएकै थिएन । बढी आमाको शिथिल अवस्थाबारे उनी कुरा गर्दै थिइन् । धेरै दिनदेखि अस्पतालमा राखिएको बताउँदै थिइन् । फेरि कुनै समय फुर्सदमा भेट्न आउने र अझ धेरै कुरा बुझ्ने जनाएर म बाटो लागें । गुमानेकी दिदीलाई भेटेर उनले गुमानेको आत्महत्याबारे पत्र गोजीमा फेला पारेको दिन के अनुभव गरिन् र किन गाउँघरमा हारगुहार गर्नुभन्दा पनि उसकै गोजीमा अर्को चिट्ठी राखेर चुप लागिन् भन्ने बुझ्न म धेरै उत्सुक थिएँ । यसो गर्दा गुमानेले आत्महत्या गर्नबाट रोकिन्छ भन्ने के पक्का भरोसा थियो… आदि कुराबारे बुझ्न अझै मन छ । मेरो यो इच्छा त अझै पूरा भएको छैन । तैपनि, गुमानेलाई भेटेको केही दिन नबित्तै उसकी बहिनी तुलसासँग भेटेर म निकै खुशी भएँ । तर, फेरि मलाई तुलसाको घरमा पुगेर गुमाने र उसका परिवारको समग्र विगत अनि वर्तमान बुझ्ने अवसर आजसम्म मिल्नसकेको छैन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *