गैर-भूटानी भएपछिः भूटानी सीता मोथेको एउटा कथा
भूटानमा सन् १९८८ मा धेरै ठूलो जनगणना भएको थियो । भूटान सरकारले जन्मदर्ताको प्रमाण पत्र यानिकी Certificate of origin [C.O] (सीओ) ल्याउन जिल्ला-जिल्लामा पठाइरहेको थियो । जसले सरकारलाई सीओ देखाउन सक्छ, ऊ मात्र भूटानको खाट्टी नागरिक भन्ने अभियान चलाएको थियो । पुस्तौं पुस्तादेखि भूटानमा बस्दै आएका मान्छेहरु अनागरिक हुने डरले पुर्खाहरुको जन्मस्थान खोज्दै दौडिरहेका थिए । विवाहित माहिलाहरु माइती गाउँमा गएर केही कागजात लिएर आउँथे। कागज भेटेनन् भने ल्होत्छाम्पाहरुको सातो पुत्लो उडथ्यो । सरकार सीओ नल्याउनेहरुलाई एफ एकदेखि देखि सातसम्म वर्गीकरण गरेर खेदाउन आतुर थियो ।
सरकारले श्रीमान् भूटानी र श्रीमती विदेशी हुनेहरुको नागरिकता खोसेर देशबाट जबर्जस्ती हटाउने कुरा चलाएको थियो । यो सीओ-को झमेलाले ल्होत्छाम्पाहरुलाई भयभित एवम् आतंकित बनाएको थियो । गाउँ-गाउँमा ल्होत्छाम्पाहरु हतारिएर दौडिएको देख्दा छिमेकी ड्रूक्पाहरु अचम्मित भएका थिए । यो सीओ-को झमेलाले चिराङ जिल्ला छोकानाकी सीता मोथेलाई पनि छोएको थियो । सीता छोकाना गाउँको बुधबारे बजारमा बस्ने गर्थिन् । उनी छोकाना प्राइमेरी पाइलट स्कूलमा पढाउँथिन् । उनको यात्रा बुधबारे बजार हुँदै छोकाना स्कूलको हुन्थ्यो । बालबालिकालाई पढाउन उनी ज्यादै माहिर थिइन् । कालेबुङमा उनले शिक्षाको बढ्दो प्रभाव देखेकी थिइन् । शिक्षाको प्रकाशले ल्याउने सुनौलो परिर्वतन भूटानमा पनि होस् भन्ने उनको आकांक्षा थियो । उनका श्रीमान् बुद्धिमान मोथे पनि शिक्षण पेशामै आबद्ध थिए । छोरा समीर,शितल र छोरी सबु पढ्नमा अत्यन्तै तीक्ष्ण थिए । परिवारमा बेग्लै खुसीयाली थियो । बुद्धिमान र सीताको प्रेमविवाह भएकाले उनीहरु अत्यन्तै मिल्दथे । गाउँमा झगडा गर्ने श्रीमान्-श्रीमतीहरु उनीहरुको जोडी मिलेको देखेर हाम्रो पनि यस्तो मिलन भएको भए, आहा ! कस्तो आनन्द हुन्थ्यो होला ! हो कि – भनेर मीठोमीठो सपना कल्पन्थे । कोही मान्छेहरु, “साले डुमहरु नक्कल गरेर जात जनाउँछन्’’, पनि भन्थे । उनीहरुको रमाइलो जिन्दगी चलिरहेको थियो । भूटानको नयाँ नागरिकता अधिनियमले एकदिन सीता मोथेलाई डम्फू जोङ (जिल्ला कार्यालयमा ) जोङ्दाले बोलाएर चाँडै सीओ लिएर आउनु होइन भने देश छाड्नु पर्छ ल … भन्ने सूचना दियो । मेरो श्रीमान् भूटानी भएपछि मेरो पनि भूटानमा बस्ने अधिकार छ, श्रीमान् भूटानी भएपछि म कसरी गैर-भूटानी हुन्छ जोङ्दा ?’’भन्दै निकै आक्रोश र आवेगमा आइन् ।
दुईबीच चर्काचर्की चल्छ । जोङ्दाले ज्यादै रिसाएर भन्यो –‘‘ओ..ई म त्यो जान्दैन ल…तिमी नेपाला, …जो विदेशी छ अब आफ्नो देशमा जान्छ ।’’
‘‘होइन हौ डासो, म कसरी विदेश जान्छु , आफ्ना सन्तान र परिवार भूटानी हुँदाहुँदै?’’
‘‘ओ …ई …म भन्दै छ ल ! तिमी बढी नबोल ल ! अहिले चाबुक भेट्छ निः ! ’’
‘‘देशभन्दा बाहिरको मान्छे भूटानको नागरिक हुँदैन र उसले चाँडै देश छाड्नुपर्छ, सन्तान लिएर गए पनि हुन्छ वा सन्तानलाई छोडेर आफूमात्र गए पनि हुन्छ । आबो यो देशमा बसेर काम छैन ।’’
जोङ्दाको कुरा सुनेपछि सीता चिन्तित भइन् । उनलाई विद्रोह गर्न पनि आँट आएन । “सरकार बरु मलाई मार्नु होस् तर, म देश छाडेर मर्दा जान्न”- भनिन् उनले ।
“यो सूचना मेरो होइन भूटान सरकारको हो, यो त आबो फेर्नै मिल्दैन”, जोङ्दाले फेरि भन्यो । सीताले धेरै बिन्ती गरिन् तर, उनको स्थिति राजाको हुकुम बाबुको दुवाई भएझैं भयो ।
उनी डम्फूबाट निराश हुँदै घर फर्किन् । उनलाई बेग्लै पीडाले थिचेको थियो । उनलाई क्याप्छाकी डाँडा, छङ्छङ् बग्ने छोकाना खोलाले पनि लखेटेजस्तो भान भयो । उनको मनमा कुराहरु खेल्नथाले, अब के गर्ने ? के नगर्ने ? परिस्थितिले उनलाई पोल्यो, उनलाई जलाइरह्यो । बाटोमा टक्क उभिएर सोचमग्न भइन् । घरमा पक्कै सोध्लान, मैले के भन्ने ? आ …!….. यी सबै कुरा लुकाउँछु एक मनले भन्यो । अर्को मनले भन्यो, एकदिन सत्यता उदाङ्गो हुनेछ , अब के गर्ने भन्ने कुराले दोधारमा परिन् ।
घरमा पुग्नेबित्तिकै -नानीहरुले सोधे| “आमा जोंगबाट कस्तो सूचना आयो? हामीलाई छिटो भन्नुहोस् न आमा |” तर, सीता अक्क न बक्क भएर ठिङ्ग उभिइन् | आँखाभरि आँसु जमाउँदै बाल–बच्चाहरुलाई केवल हेरिरहिन् ! उनको माइती घर भारत भएकाले सीओ ल्याएर भूटानी बन्ने सपना असम्भव थियो । सीओ ल्याएर पनि भूटान सरकारको ल्होतछाम्पेली हटाउने कालो अभियानमा त्यसको केही उपयोगिता थिएन । खारेज गरेरै छाड्ने थियो ।
भनिन् उनले, ‘‘सबुको बाबा, अब त यो देशमै बस्न नपाइने भो| भूटान सरकारले सीओ नल्याउनेलाई भूटानबाटै लखेट्ने रे…! ”
हेर …..सीता, भूटान सरकार जनताप्रति त्यति क्रूर त बन्दैन होला| हामी त जनता हौं सीता| कम से कम बस्ने अधिकार त छ नि ? मैँले अधिकारको कुरा गर्दा जोङ्दाले झन्नै चाबुक हान्यो- झन् तपाईँले भन्नु भने त यो देशैबाट त्यसै लखेट्छ स-परिवार सबुको बाबा ! धेरै उपायहरु अपनाए तर, भूटान सरकारको अगाडि श्रीमानको केही लागेन, मुटुभरि देश बोकेर सीता भूटान छाड्न बाध्य भइन् । ‘‘देशमा रक्तपात मच्चाउने, देशलाई ध्वस्त पर्नेहरु सधैं देशका स्वभिमानी नागरिक हुन्छन् । जसले देशलाई उन्नति र प्रगतिको बाटोमा उन्मुख गराउन चाहन्छन्, उनीहरुले सधैं देश छाड्नु पर्छ| यो के हो सरकारको नीति’’, भन्दै बुद्धिमान मोथे बर्बराइरहे । उता सीताले कालेबुङलाई छोडेर आएकी थिइन् । भूटान सरकार त्यसै दार्जीलिङको गोर्खाली आन्दोलनले बिच्किएको थियो । झन दार्जीलिङको मान्छे आएर भूटानका ल्होत्छाम्पाहरुलाई राजनीतिकरुपले उकास्छ भनेर ‘विदेशी’हरुलाई हटाउने सोचमा थियो ।
सीता भारतमा भूटानीसित विवाह गरी गएकीले भूटानी भइन् र भूटानमा चाहिं अवैध वा गैर-नागरिक भइन् । आफ्नो श्रीमानले पनि केही गर्न सकेनन् । दुई महिना बितेपछि फेरि जोंङमा बोलाइयो | जोङ्दाले थर्काउँदै भन्यो-
‘सीता आबो तीन-चार महिनामात्र बाँकी छ-यो समयभित्र जे जे गर्नुछ ,चाँडै गरिहाल्नु । होइन भने हामी तिमीलाई यो देशबाट खेच्छ ल !…..सीता’, सीताको मुखबाट बोली आउन सकेन, गला अबरुद्ध भयो ।
आँखा टिल्पिलाउँदै हेरिरहिन् ।
के रागाँले छागा हेरे जस्तो हेरेको भन्दै जोङ्दाले गाली गर्दा सीता झसंग भइन् । अनुहारमा रक्तसञ्चार बढेजस्तो भयो, रौंहरु ठाढा–ठाढा भए, हामी शिक्षितहरुलाई त यी सरकारी दलालहरुले यसरी हेप्छन् झन् सोझालाई त मारेर छाड्छन् भन्ने उनले महसुस गरिन् । अनि साहस बटुलेर भनिन्,‘‘म त डसो देश छाडेर जान्न | जे गर्नुहुन्छ, गर्नुहोस् | ओइ शीर उठाएर बोल्छेस् भन्दै गालामा चड्कायो डासोले । डासोको चड्कन भेटेपछि सीता पुर्लुक्क भुइँमा ढलिन् । अरु चप्रासीहरुले उनलाई घिस्याउँदै डम्फुको चौरीमा तानातान गर्दै पर हुत्याए ।
सीतालाई त्यो डासोको दूर्व्यवहार साह्रै असभ्य लाग्यो । उनलाई ज्यादै रिस उठ्यो । अरु ल्होत्छाम्पाहरु केही बोल्न सक्दैनथे । उनले त विद्रोह गर्ने सोच गरिन् तर निरंकुश सरकारले उनको कलकलाउँदा छोरा-छोरी र मायालु श्रीमानको हत्या, मासुर छेत्रीको जस्तो गर्छ भन्ने डरले विद्रोह बोल्न रुचाइनन् । अन्तोत्त्वगत्वा देश छाड्ने निर्णय गरिन् । हररात भित्रभित्रै पीडाले पोल्न थाल्यो, वेदनाका छालहरु मनमा अटेसमटेस हुन थाले । अनिश्चित गन्तव्य र अत्यहीन पीड़ाले मनलाई जलाई रह्यो ।
सीता बहिनी , ‘‘अब त सरकारले तिमीलाई बस्न नदिने रहेछ’’, सबै गाउलेहरु भन्थे ।
तिमीलाई मात्र होइन सीता हामी ल्होत्छाम्पाहरुलाई पनि चाँडै लखेट्छ | अब प्रत्येक दिन हरठाउँमा ल्होत्छाम्पाहरु अत्याचार र बलात्कारको सामना गरी रहेका छन् । कला दिदी बोलिन्, ‘‘सीता, भूटान सरकारले लखेटेरै पो छाड्ने रहेछ, तिमीलाई मात्र होइन हामीलाई पनि लखेटछ, लखेटछ ।’’
‘‘हो नि दिदी ।सबैलाई सँगै खेदाएको भए बुलन्द आवाज बोल्न सजिलो हुने थियो, तर यो गाउँबाट मलाई एकलै लखेट्दै छ दिदी, सरकारसँग मेरो के लाग्छ , मैले गल्ती नै गर्या भए म यो भूटानमा सजाय भोग्न तयार थिएँ, के गल्ती भो हामीबाट सरकार….भन्दा राजालाई गएर सोध भन्छन् । के गर्नु दिदी ?”
“बहिनी भीरबाट लडेको ढुंगाले त बास पाउँछ , हामी त मान्छे हौं पक्कै बास पाउछौं एक ठाउँ | किन चिन्ता गर्छौ ? चिन्ताभन्दा अब चिन्तन गर्न आवश्यक छ ।”
“दिदी मनभित्र आँधी-तुफान आइरहेको छ, मलाई चिन्ताले जलाइरहेको छ, जिउनु भन्दा पनि मर्न मन पर्छ ।अब मेरो मनन र चिन्तनले के काम काट्छ र दिदी ?”
“बहिनी जिन्दगी हो | कहिले मिल्छ प्रेमपूर्ण बास | कहिले बनाउँछ जिन्दगीले बनिबास, जिन्दगी नै हो अविरल संघर्ष, संघर्ष नै हो बिहानी, संघर्ष नै हो केवल जिन्दगानी ।”
“आ ! दिदी, प्याट्ट मर्न पाएको भए पनि मरी दिन्थें, तर परिवारको माया लाग्छ ।”
“सिता जिन्दगी त अमूल्य उपहार हो । शासकहरुसँग हार्दैमा आफैंलाई फाँसी चढाउनु हुँदैन। बरु कुनै ठाउँ गएर क्रूरशासकविरुद्ध विद्रोहको विकुल फुक्नुपर्छ । जनतालाई गाउँ गाउँबाट आफ्नु अधिकारको लागि सचेत गराउनु पर्छ ।”
“दिदी, एउटी नारीले शासकहरुको प्रतिकार गर्न सक्छ ?”
“प्रतिकार चाँडै नहुन सक्छ, तर निरन्तर गरेमा विचारको तापले फलाम पनि पग्लिने दिन आउँछ, सीता !”
“हुनसक्छ, दिदी तर, म अहिले यो संभव देख्तिनँ । अब म जान्छु ल दिदी ?”
“हुन्छ सीता हुन्छ ।”
सीता, बुधबारे बजार झर्दा पनि उदास उदास देखिन थालिन् । ज्यादै ख्यालठट्टा गर्ने मान्छे । बद्लिएर भावुक भइन् । विद्यार्थीहरुका अगाड़ि गएर पनि ट्वाल्ल परेर बस्न थालिन्, फर्केर बाटोमा आउँदा श्रीमानलाई छाडेर एक्लै हिँड्थिइन् । बाटोमा आफैंले टेकेर बनाएका पाइलाहरु मेटाउँदै हिंड्थिइन्। उनले जन्मभूमि र नागरिकताको सुगन्ध सुंघेझैं सुंघ्दै हिंड्थिइन् । घरमा पनि बोल्न छाडेकी थिइन् ।
फेरि घरमा एउटा पत्र लिएर गाउँबुढा आयो र भन्यो -“ए सीता भाउजू, ए ….भाउजू ! अब सातदिनमा हजुरले यो देश छाड्नुपर्छ अरे ! हजुर त चार नम्बरमा पर्नु भएछ ।”
“चार नम्बर भन्नाले…………? अब त ! देश छाड्नैपर्छ चार नम्बरमा परेपछि त होइन र भाइ ?” भनेर सीता मौन भइन् । गाउँबुढाले भन्यो,‘‘हो नि भाउजू । अब के गर्ने भाउजू ? ”
सीताले यो खबर पाएपछि, उनी इन्तु न चिन्तु भइन् । कतै देश छाडेर सबै जाउँ भन्दा, भोकभोकै मर्ने डर थियो । पीडाका अनाम पहाडहरुलाई कम गर्न सीताले घर परिवारलाई मनको व्यथा पोखिन् । अब सातदिनमा देश छाड्नु भन्छन्, अब म त मर्ने भए, जीउनुभन्दा पनि मर्नु मन पर्छ ।
“आमा… अनागरिक हुँदैमा लत्तो छाड्नु हुदैन्,” समीरले भन्यो ।
लत्तो छाड्नु हुन्न अरे भनेर झर्किन् सीता । “ल भन्, समीर अब देश छोडेर जाने ?”
“छाड्न परे छाडौं आमा तर छुटिएर कोही देशमा कोही विदेशमा छरिएर बस्नु हुँदैन ।”
देश छाड्यो भने के खाएर जीउने भन्ने कुराले सबै चिन्तित भए । बरु म जान्छु जता भए पनि, तिमीहरु यही बस भन्दै रुन थालिन् सीता । छोरा-छोरी रुँदै भन्न थाले –‘‘आमा यहीं बसौं । कसले के गर्छ ? हामी छँदैछौं नि आमा’’, संयुक्त स्वरले भने । तर विचरा नानीहरु सरकारको नीतिप्रति अनभिज्ञ थिए ।
यसरी नै देश छोड्नु भोलि छ भन्दा सीता मोथेले आफ्नो श्रीमानलाई भनिन्, ‘‘तपाईहरु जुनसकै ठाउँमा रहे पनि स्वतन्त्रता र मानव अधिकारको बेजोड विकुल फुक्दै गर्नुहोला ! नानीहरुलाई अत्यन्तै माया गर्नुहोला, म कहिले नफर्किने यात्रामा हिँड्न लागिरहेछु , मैंले चाहँदा चाहँदै पनि हजुरलाई साथ दिन सकिन ।’’
‘‘अरे सीता…, यो बेला तिमीले भावुक भएर मलाई नरुवाऊ | म तिमीलाई त्याग्न सक्दिन । तर के गर्नु शासकहरुको अगाड़ि म मुर्दा हुन लाचार छु । बरु मार्देऊ मलाई अनि तिमी यो देश छाडेर जाऊ’’, बुद्धिमान रुन थाले । सीताले बुद्धिमान मोथेलाई मायालु स्पर्शले सुम्सुमाइरहिन् । जब उनको श्रीमान निदाए सीताले कम्मरमा बाँधेको केराले ट्वाइलेटको छेउको निबाराको रुखमा झुण्डिएर छातीभित्र दनदनी सल्किएको अनागरिक ज्वालालाई निभाइन् । उनको आत्महत्याको घटनाले सारा भूटानमा हल्ली-खल्ली मच्चियो । भूटान सरकार आफ्नो अभियान सफल भएकोमा मख्ख थियो । अरु ल्होत्छाम्पाहरु अन्योलमा परेर सरकारसँग जनगणनाको चार, पाँच, छ र सात होइन एक नम्बर बनाइदिनु भन्दै बिन्ती गरिरहेका थिए । सातदेखि तीन नम्बर पर्नेहरु लखेटिएका छन्, अब कहिले लखेट्छ दुई र एकलाई त्यो हेर्न बाँकी छ भूटानमा !
जीतनजी, यहाँको यति माधुर्य कथाकोलागि आत्मभाव छ । भूटानी नेपाली (भूपाली) साहित्यमा यसैपनि पछाडि रहेको आख्यानमा तपाईंको कलम एउटा निक्कै रमाइलो पाटो हुने मैले यो कथा पढेर ठहर गरें । एतिहासिक विषयलाई कथाको मेरुदण्डमा राष्ट्रियाता मुखारित हुनेगरी एउटा बिडम्बना प्रस्तुत गर्न तपाईको कलम निक्कै हदसम्म सफल देखिन्छ ।
भाषागत असन्तुलनले कथाको मार्मिकतालाई निक्कै जटिल संकट त अवश्य पनि दिएको छ अझै पनि कथा विशेष महत्वको छ । तपाईको लेखन सत्यताबाट दार्शनिक विचार उत्पदनमा सन्निकट देखिन्छ तर कथा पढदा यो विलकुल काल्पनिक महशुस हुन्छ । सन १९९०को दशकमा भूटानमा बोलिने लवज आंशिक रुपमामात्र प्रकट भएको छ यस कथामा । मेरो विचारमा कथाकार कथाको विश्लेषणात्मक रचनागर्भमा रुपान्तरित हुन सकेन । यो कथाले जीतनजीको वर्तमान मानसिक वयसकताबाट दुईदशक अगाडिको भूटानी जानताको अवस्थालाई जगजाहेर गर्न खोज्छ र यस कथालई काल्पनिक सत्यतामा सिमान्तिकृत गर्छ ।
कथात्मकताले यो कथा सत्यतामा अन्वित छ तर पात्रात्मक परिशिष्टांकमा कथाले पात्रले वास्तविक जीवनमा भोगेको गथासोलाई काथकारले रुचाएको भंगालोमा लौटाएको भान हुन्छ । सीता मोथेले वास्तविक जीवनमा आत्महत्या गर्नु परेको हृदयविदारक दृश्यलाई यस कथाले सादृश्यकरण गर्न सकेको लाग्दैन । किन गरिन सीता मोथेले आत्महत्या ?? यो विषयलाई अलिक ज्यादा पर्सनलाइज गरेर एतिहासिक मीयोमा लेखिएको भए यो कथा एतिहासिक दस्तावेज नै हुने थियो भन्ने मेरो बुझाइ छ ।
यो कथाले देखाएको भावभूमि सत्यताको पहाड हो जहाँबाट भूटानी नेपालीहरुको विगतलाई मर्मात्मक विश्लेषण दिन सकिन्छ । कथाको गतिले भूटानको ततकालिन परिवेशलाई प्रफुटन गर्न सफल छ तर जीतनजीको लेखाइकै रफतारमा भूटानी ततकालिन मानस्पटल विकसित थिएन भन्ने लाग्छ । भूटानभित्रको जनजीवन अहिले पनि यो कथाको वैचारिक पात्र बनेर उभिन सक्ने स्थितिमा देखिदैन ।
लक्ष्मीप्रसाद देवकोटाले चन्द्रमामा पुग्ने कवातात्मक हिम्मत सिर्जना गरे पछि मानिस नभन्दै चन्द्रमामा पुग्यो, त्यसरी नै जीतनजीले यस कथामा भूटानीको एकदशक पछाडिको मगजलाई अहिल्यै लेख्नु भयो र यो मार्गदर्शक बन्नसक्छ ।
कवितामा निक्कै अग्लो पहाढ उभिन कत्तिपनि नहिच्किचाउने जीतनजीको कथातर्फको यात्रा मलिलो माटोको साग जस्तै मौलाउने मेरो देखाइ छ । गजलमा वैचारिकताको बुलान्द चिन्तनलाई मजाले बुन्न सकेका सर्जकले कथामा यो फड्को मार्नु नयाँ नलागे पनि एतिहासिकतातर्फको यो गोरेटो एउटा विशाल सडक हुने लक्ष लिएर उठेको भने अवश्य छ ।
नस्लियता बोध हुने भाषाको प्रयोगले भूपाली कथाको चुचुरोमा मौलिक झण्डा गाड्ने जीतनजीको अभिलासालाई संपादकहरुले टेवा दिन नसकेको भान हुँदाहुँदै कथा भूटानको तानाशाही व्यभिचारी राजतन्त्रलाई वैचारिकताको तुफान विष्फोटन गर्दै सकिन्छ । भाषा संपदन हुन सक्नु हाम्रो साझा लक्षलाई यस कथाले जीतनजीको कलम भएर चुनौति उच्चारण गरेको छ ।
मेरो विचारमा यो कथा भूटानको १०४ वर्षे राजतन्त्रात्मकता भन्दा ज्यादा एतिहासिक छ त्यसैले यो कथालाई सलाम र कलमलाई धन्यवाद ।।
पुरानाघरे
चिराङ भूटान
धेरै धेरै धयाबाद भोला भाईलै
Writer jail ma pareko bela, yo lekh padne puge. Sabda le bhanda man le maya gare. Su kusaal rahosh.