घरीघरी तर्साइरहने मेसेज
जे.एन. दाहाल
अमेरिका
प्रत्येक बिहान काठमाडौँको कुटीबाट तल म बाटोतिरको भीड हेरी विचरण गरी रहेको हुन्छु । यति बेला बजारबाट ठुलो हल्ला आइरहेको हुन्छ । बजारमा सौदाबाजी गर्ने मान्छेहरू थोक व्यापारीसँग दलाली गर्दै हुन्छन् । साथै आउने मोटर र इन्जनको चर्को ध्वनिसँगै बिउँझिसकेको हुन्छु । काठमाडौँ बजार यसै गरी बिउँझिन्छ ।
तर आजको बिहान केही भिन्नै छ । त्यो भिन्नता के भनेँ दराज माथिको फोनले बिउँझिएको छु । घ्यार्र घ्यार्र र टिङ टिङ गर्दै भाइब्रेट हुन्छ फोन । हात लम्काएर टिप्छु । नजिकैको पावर वाला चस्मा तानेर फोनको स्क्रिनमा हेर्छु । टिङ टिङ गर्दै मेसेज भटाभट आउँदै छन्, एक व्यक्तिबाट खुरू खुरू ।
मेसेज पठाउने र मसेज हेर्ने बिच चार घण्टा वरपरको उज्यालो अँध्यारोको हिसाब छ । यता मस्त निन्द्रामा हुँदा उता उज्यालो दिन भई सक्छ । त्यसैले कहिले कुन समय मेसेज आउँछ । कहिले कुन समय म पठाउँछु पत्तो हुँदैन । फोनको स्क्रिनमा सिड्नीबाट भर्खर आएको मेसेज छ । जहाँ लेखिएको छ, ‘ भन्ने एउटा गर्ने अर्को । याँबाट फर्किएपछि बल्ल मान्छे चिन्न पाइयो ! असली व्यवहार देख्न पाइयो ‘, यो पढिसक्दै दिमाग रनभुल्ल हुन्छ । सबै कुरा एकै ठाउँ पोखिएको मेसेज छ । कस्तो अनपेक्षित कुरा ।
कस्तो अकल्पनीय बिहान !
काठमाडौँमा बिहानै भएकाले कुटीबाट तल बाटोमा भीड जमेकै छैन । बजारबाट हल्ला आएको छैन तर पनि मिस्टर लेखकको मेसेजले पुरै बिउँझिन्छु । झिमझिम पार्दै आँखा मिच्छु । त्यहाँ लेखिएको मेसेजको शब्द, वाक्य र भाव सबले एकाएक मस्तिष्क तातिन्छ । दिमाग रनभुल्ल हुन्छ ।
‘ हरे शिव ! यो के लेखेको होला ? कसरी लेख्न सकेको होला ? ‘ अनपेक्षित कुराले छिनभरमै कहाँ कहाँ पुग्छु ।
लामो गह्रुँगो सास तान्छु । आफूलाई जेनतेन सम्हाल्दै पढ्छु । आँखा झिम झिम पार्दै फेसबुक मेसेन्जरमा
आएको मेसेज दोहोर्याएर तेर्याएर हेर्छु ।
‘ भन्ने एउटा गर्ने अर्को । याँबाट फर्किएपछि..असली व्यवहार देख्न पाइयो ! ‘ त्यो के लेखेको उसले ? किन
लेखको होला, भेउ पाउँदिन । केही बुझ्दिन तर उही भाव भएको अर्को मेसेज आउँछ । त्यसपछि अर्को ! त्यसपछि अर्को !
सोचाइमा हराउँछु – मान्छेहरू बेफ्वाँकमा रिसाउँछन् । मान्छेहरू बेफ्वाँकमा गाली गर्छन् । मान्छेहरू बेफ्वाँकमा इमोसनल ब्ल्याकमेल पनि गर्छन् । तर मैले के बिराएको छु । कसको ऋण खाएको छु ? झुलमुनि ओछ्यानमै आड लागेको मान्छे, हातमा पुरानो मोडलको आईफोन फायब छ । नाकको डिलमा चस्मा उभिएको छ । बिहानै आएका अनपेक्षित कुराले आँखा झिमझिम भई रहेका छन् । मनमा एउटा कालो बादल मडारिन्छ एकाएक ! म अतीतमा पुग्छु । दूरको अतीत होइन भर्खरै गुज्रेको अतीत । त्यो अतीतमा एउटा पात्र ऊ नाम गरेको। साथै म छु र यो कथ्य पनि जीवित छ ।
ठुला आँखा ,च्याप्टो निधार र चुच्चो नाक भएको जवानलाई म ऊ सम्बोधन गर्छु । दुब्लो भन्न नमिल्ने थियो मिस्टर लेखक । त्यही लेखक जसलाई मैले भेटेर आएँ , या जसको माध्यमले त्यहाँ पुगेर आएँ उसैको मेसेज छ हातको फोनमा । फोनको फेसबुक, फेसबुकको मेसेन्जरमा ।
बिहान राम्ररी झुल्कन नपाउँदै लेखि पठाएछ, के लेखि पठाएछ । म अझै अनिदा आँखाले तर्सी रहेको छु । त्यही मेसेज जसका कारणले ओछ्यानमा ढल्किएको शरीरलाई जुरुक्क उठायो । एकाएक मस्तिष्क तातो बनायो । एउटा मेसेजको कत्रो तागत ।
हँऽऽ आँखा झिमझिम पारी मेसेन्जरमा आएका मुनिका सबै कुरा दोहोर्याएर पढेँ । दोहोर्याएर हेरि सकेँ । विश्वासै लगेको छैन – उसले यसरी लेख्न सक्छ ! उसले कुनै दिन यसरी प्वाक्क भन्न सक्छ । उसले कुनै दिन सम्बन्ध रुख्याउन पनि सक्छ । उसले उसले ऽऽ !
रातभरि नसुती ल्यापटपमा आँखा राखेकाले गह्रुङ्गा भएका छन् । एउटा पुस्तकको पाण्डुलिपिमा काम गरेकाले मस्तिष्क अझै दुखिरहेको छ । उसको पाण्डुलिपि अझै पर्खी रहेको इमेलको कुनै कुनामा । त्यसैले नै होला मिस्टर लेखक विस्फोट भएको ! सायद यही कारण सम्बन्ध रुख्याउन पनि पछि नपरेको ।
त्यो एउटा समय थियो । त्यस समय आफूलाई कुन भूत चढेको थियो । के रौनकताले टाउको रन्किएको थियो अहिले भन्न सक्दिन । भन्न त सक्छु तर खुलेर भन्न सक्दिन ।
दुनियाँका मान्छे पुगेको त्यो अस्ट्रेलिया, त्यो सिड्नी सहर, त्यो डार्लिङ हार्बर , ती अग्ला भवन आदि हेर्न जान मन बडो उत्सुक थियो ।कल्पनामा कतिपल्ट पुग्दै फर्कँदै गरिसकेको थिएँ, शरीर पुर्याउन बाँकी थियो त्यो ठाउँ । फेरी यता आफ्नो देशको राजनीतिक, आर्थिक कुराले वाक्क भएको थिएँ । त्यो एउटा समय केही हप्तालाई, केही दिनलाई , केही छिनलाई देशबाट अलग्गै बसूँ जस्तो भएको थियो ।
अस्ट्रेलियाको परिवेश बुझौँ, मित्रहरूलाई भेटौँ र तीसँग जोडले गफिऔँ । केही बोतल वाइन रित्याऊँ , केही फुस्रा कुरा घाममा सुकाऊँ ।त्यही वातावरणमा नेपालका केही कमजोरी सुनाऊँ । आफ्ना केही बाध्यता खोलौँ, यस्तै यस्तै एउटा सामान्य मान्छेलाई हुने कुरा नै भएको थियो । तर अफ्सोचको कुरा त्यहाँ यो बबुरोको रगत नाता भित्रका आफन्त थिएनन् । बिना रगतको सम्बन्ध विकसित देशमा हत्तपत्त भिसा नमिल्ने । फुर्सदिलो घरको समय उपायहरू खियाउन थालेँ । सोची रहेँ , सोची रहेँ !
ल्यापटपमा भएको मन विश्व ब्रह्माण्ड दौडाएँ । सम्पर्कमा केही लेखकहरू थिए, केही टाढाको आफन्तहरू थिए , केही फेसबुके साथीहरू थिए । अझ यसरी भनौँ, थिए भन्ने धेरै खालका धेरै मान्छेहरू थिए । त्यही सम्पर्कको सर्कल भित्र छ मिस्टर लेखक, जसले मलाई भर्खरै तर्साउने मेसेज पठाएको छ र म ओछ्यानबाट उठेको छु । झुलमुनि ढाड सोझ्याइरहेको । मेसेजको माध्यमले उसलाई सम्झी रहेको ।
बिहानको यो त्रसित उठाइमा बजारतिरबाट आएको भीडको हो हल्ला सुनिएको छैन । मोटर र इन्जिनको चर्को ध्वनिसँगै यतिन्जेल त कानमा परेको छैन । आज एकाएक उसको मेसेजले बिउँझिएको छु । आफ्नो गहिरो निन्द्रा र बिहानको मिठो सपना उडाएको छ मिस्टर लेखकले । आँखा फोनको मेसेजमा सोहोरिएका छन् । नचाहेर पनि मन एउटा अँध्यारो ठाउँमा पुगेको छ । ओछ्यानबाट बाहिर निस्कन उठ्छु ।
हँऽऽ त्यहाँ केऽऽ उठ्दै गर्दा सामुन्नेको ड्रेसिङ मिररले तर्साउँछ । यतिन्जेल लेखकले तर्साएको म या
लेखकको मेसेजले तर्सिएको म उक्त वस्तुले एकाएक तर्सन पुग्छु । के रछ ? चिन्न भनी फेरि पछि सर्छु, त्यो आकारको वस्तु त म पो त– अरे ! एक छिन आफू आफैँसँग झसङ्ग हुन्छु । राता भित्र पसेका गहिरा आँखा, चुच्चो तन्केको नाक, थकित अनुहार , ऐनातिर फर्किएको पुन्टे पेट लिएर उभिएको म । त्यही म – आफ्नो काम, दामले चिनिएको म । लेखकहरूसँग, प्रकाशकहरूसँग, कपि एडिटिङको मुठो रकमले चिनिएको म । अनि लेखक ? हँऽऽ फेरी विगतमा पुग्छु । उही मिस्टर लेखकसँग । हप्तैपिछे जसो फोन गरी घिडघिडाउँदै अस्ट्रेलिया घुम्न आउन मन छ भनी रहेको छु म । जसरी भए पनि तानिसियोस् है । प्रत्येकपल्ट एउटा फरक शैलीमा बिन्ती बिसाउँछु । ऊ हुन्छ, म सोचौँला भन्न छाड्दैन । तर के सोचिरहेको छ । कसरी सोची रहेको मलाई भेउ छैन । आफ्नो बोलीमा भरसक लाडे स्वरको लय मिश्रण गर्छु । निक्कै पटक जिब्रोले तेल दलेपछि उसले पत्याउँछ । अन्य साथीहरूसँग सल्लाह गर्नुपर्छ एक्लै केही गर्न सकिन्न । एक्लै केही गर्न मिल्दैन । त्यो सुन्दाको पल मस्तिष्कमा भिन्नै रगत सञ्चार भएको अनुभूति थियो ।मनमा कत्रो आस थियो त्यो पल ! ओहो त्यो विशेष पल !!
कतिपल्ट अनुनय विनय गर्दा उसको मन पग्लियो । आखिर मैले पनि उसको पुस्तकको पाण्डुलिपिमा समय खर्चिएको थिएँ- खेर गएन ।रातभरि बसी सिप र शक्ति जो लगाएको थिएँ त्यसैको फल मोटो रकम र अस्ट्रेलियाको चाहना थियो । एकसाथ दुवै लाभ उठाउन लाग्दै थिएँ !
तर त्यही मिस्टर लेखक एकाएक आक्रामक शैलीमा ननिको व्यवहार गर्दै छ आज । ती दिनका उसको साथ र सम्झन लायक केही घटनाहरू र केही प्रसङ्गहरू छन् । केही पल साथै बिताएकाले सम्झन लायक सम्झनाहरू छन् भन्दा फरक पर्दैन ।
त्यो एउटा समय थियो । त्यो दूरको अतीतमा पस्छु ।लेखेको थिएँ लेखक ज्यू ल्यापटप बिग्रिएको छ । काम अघि बढ्न सकेन । मैले यति मात्र के भनेको थिएँ तर उसले यत्ति मात्र बुझेन । चानचुन असि हजार रूपयाँ वेस्टन युनियनबाट पठाउनु पर्छ भन्ने पनि बुझेछ । चौबीस घण्टा नबित्दै तात्तातै पठायो । त्यो मोटो रकम ती हजारका बिटामा आँखा पुगी सक्छन् । आनाकानीको शैलीमा चतुर्याँई पूर्वक कुरा मिलाउन जसो गरेँ । आखिर कतै मनमा सिड्नीको बास थियो, अस्ट्रेलियाको सपना थियो । बिस्तारै भनेँ , त्यो भन्न खोजेको होइन ।काम केही दिनलाई रोकिएको छ भन्ने अर्थ थियो । किन पैसा पठाउनु भएको ?
आफ्नो लक्षित उद्देश्य त सपना कल्पना चाहना जति बेलै अस्ट्रेलिया थियो । म कङ्गारू र अब्रोइजुनिज, त्यहाँका स्थानीय मानिससँग घुम्दै बिताइ रहेको हुन्थेँ । बिउँझँदा यही कुटीमा, यही काठमाडौँ ! यही बजारको हो हल्लामा नै पाउँथेँ ।
त्यही मिस्टर लेखकको पछिल्लो समय नयाँ उपन्यासको पाण्डुलिपि आफ्नो हातमा आइ पुगेको छ । चानचुन पचास हजार शब्द सङ्ख्याको । त्यसैमा हो नचाहिँदो तारिफ गरेको, त्यसैमा हो मैले अस्ट्रेलिया प्रति क्रेज व्यक्त गरेको । सपनाले तारिफ गराएको थियो, अहो भाषा राम्रो छ । छोटो संवाद आहा -कति मिठो । आम नेपाली शैलीको फुर्क्याइ हुन्थ्यो । आम मान्छेको बोल्ने लवजमै तारिफ हुन्थ्यो ।
फोन वार्ता पिच्छे फलो अप भई रह्यो । प्रत्येक संवादका अन्तिममा उक्त कुरा राखी रहेँ । आखिर एकपल्ट एकादेश एक महादेश पस्नु थियो, त्यसैले उसको दिल नजिक पस्दै थिएँ ।
समय बित्दै जाँदा उसले खै के-के सोच्यो । मिस्टर लेखकलाई एउटा कपि एडिटर प्रति प्रेम , सम्मान या सहानुभूति यस मध्येको केही या सबै जागेको हुनुपर्छ । उसले कता कता सम्पर्क बढायो । एउटा निम्तो आयो । अहिले सम्झन्छु कत्रो छट्टु चाल चालेँ, कत्रो बठ्याइँ गरेँ तर उसले असली मलाई चिनेन । फोनको बातका भरमा मैले कत्रो स्वार्थ लुटेँ , उसले भेउ नै पाएन । बिचरा लेखक ! बिचरा उसको पाण्डुलिपि माथि बोलेका झुटा आश्वासन । बिचरा ती प्रशंसाका शब्द । बिचरा ती बनावटी आदर भाव । भाँडमा जा सब बिचरा बिचरा!!
उसको मेसेजले ढाड अझै सोझो भएको छ । आँखा झिमझिम गर्न छाडेका छन् । अघिसम्म कोट्याई रहेको फोन बेवास्ता गरी हाँस्न थाल्छु ! दिल खोलेर हा हा ऽऽ बिहानै हाँस्छु एक्लै । मन बुझाएर हाँस्छु ! चित्त फिँजाएर हाँस्छु । फोनको मिस्टर लेखक सम्झिएर हाँस्छु।बजारमा भिड नलागेको देखेर हाँस्छु ।
यस्तै के के कुराले हाँस्छु, हाँस्छु ।
अघिसम्म चस्मा धुम्म परेको थियो, बाङ्गा टिङ्गा मेसेजले दोमन भएको थियो । पानी गन्जीले सिसा पुछेपछि फेरी नाक माथि उभिएको छ चस्मा । फोनमा मिस्टर लेखक फोनमा उभिएको छ , मेसेज त माध्यम मात्र ।
सोच्छु -जाबो एउटा पुस्तक बजारमा गएको छ कपि एडिटरलाई कस्तो कटाक्ष गर्न सक्छ ऊ । हिजो लेख्न सुरुवात गरेको मान्छेले कसरी अपत्यारिलो र अविश्वसनीय मेसेज गर्न सक्छ । भलै त्यो एउटा पुस्तक
पनि बजारमा गएकाले कपि एडिटरकै इजतका खातिर गन्तीमा राखी दिँदैंछु ।
निम्तो आयो एक साहित्यिक कार्यक्रमको बहानामा । विकसित देशमा बिना बहाना कहाँ पोर्ट अफ इन्ट्रीबाट छिर्न पाइन्छ । बहाना भएर मान्छे छिर्छन् या नभए एक बनाएर त छिर्ने हो ।
तर उसले अस्ट्रेलिया आउँदा ध्यान दिनुपर्ने दश वटा कुराको सुची पठाएन । उसले अस्ट्रेलिया अनौठो देश छ , आफू त्यही अनौठो देशवासी पनि भनेन । हात लागेको बि–२ भिजिटर भिसामा आँखा राखेँ र दौडाएँ पैताला ।
मिस्टर लेखकले आफ्नो चाल ढाल केही बुझेन । मेरो उद्देश्य र दीर्घकालीन सोच के छ पत्तो लगाउन सकेन । पेटमा एक र मुखमा अर्को ।मनमा एक र मस्तिष्कमा अर्को कुरा भएको त्यो भाषा उसले बुझ्न सक्ने कुरा थिएन । बिचराले कसरी बुझोस् यो पेट उसको होइन । यो शरीर पनि उसको होइन । यो हात लागेको बि–२ भिजिटर भिसा पनि उसको होइन ।
ती दिन र यी दिनहरू । दूरको अतीत र भर्खरै बितेको अतीतका सम्झनाहरू । केही बेर जोड घटाउ गर्छु । बेहिसाब सम्झनाका हिसाब गर्छु। चार महिना चार दिन अघि सिड्नी, केन्स, एडिलेटको घुमघामपछि एक महिना ढल्किएको थियो । त्यसपछि नै म काठमाडौँको आफ्नो कुटी फर्किएको छु ।
फोनमा मिस्टर लेखक छ । होइन यो त उसको छाया मात्र । मेसेन्जरमा उसको मेसेज छ । त्यही मेसेजका कारण चिटचिट पसिना आएको छ निधारमा । हावा खान बार्दलीतिर निस्कन्छु । खासमा पसिना सुकाउन पनि निस्काएको हो ।
कुटीबाट तल बाटोतिरको भिड हेरी विचरण गर्छु । अस्ट्रेलिया त्यो सपनाको ठाउँ, त्यो परिवेश र काठमाडौँ बिच बजारको यो भिड । यो दृश्य हेर्दा हेर्दै गह्रुङ्गा आँखा चिलाउन थाल्छ ।
शब्दालय, एउटा प्रकाशन संस्थाले तिन वटा पाण्डुलिपि दिएको थियो । केही महिनादेखि रातभरि काम गरी दुई वटा सकाएको छु ।एउटा पुस्तकको काम अन्तिम चरण सकाउन लागेको छु । बिचमा अरू कामले पनि दौडमा थिएँ, जुन अहिले सार्वजनिक रूपले भन्न सक्दिन । कत्ती कुरा यस्तै हुन्छन् जुन चाहेर पनि फुत्त भनी हाल्न मिल्दैन, आफ्नो वैयक्तिक कारणले !
दराजमाथिको भाइब्रेसन मोडको फोन, त्यही फोन जसमा मिस्टर लेखकले मेसेज पठाएको छ । त्यही फोनका कारण आजको बिहान बिग्रिएको छ तर पुरा गुज्रिसकेको छैन । काम कति छन् कति तर मननै लागेको छैन । तातो फोक्सोमा चिसो सास लिएपछि सोच्छु मस्तिष्कमा मिस्टर लेखकको लामो मेसेज घुमी रहेको छ ।
फोनमा अरू पनि मेसेज आइरहेका छन् । तिनमा प्राय सोझै व्यङ्ग नै छन् । तिनमा अल्छी कपि एडिटरको उसको ढिला सुस्ती गर्ने प्रवृत्तिको उछितो काढिएको छ । तर एकाएक किन यस्तो लेख्दै छ ऊ खोट्याउने प्रयास गर्दै बार्दलीबाट भित्र पस्छु । आँखा झिमझिम पार्दै मेसेन्जरमा आएको मेसेज पुनः पढ्छु । ‘काठमाडौँ ओर्लिएपछि तपाईँ परिवर्तित बन्नु भयो । यस पाण्डुलिपि
तपाईँले चाहँदा महिना दिनमा सकिन्थ्यो तर चाहना नै राख्नु भएन । वाह ! ’ त्यो लेखाइमा साँचो छ ,वास्तविकता छ । साथै कत्रो व्यङ्ग्य र तितो सत्यता पनि पोखिएको छ ।
काठमाडौँ ओर्लिएपछि काठमाडौँको बासिन्दा नभएर कहाँको हुने ? काठमाडौँको माहौलमा घुलमिल हुन सकेन भने के काठमाडौँको बसाइ भन्ने ? यो अस्ट्रेलिया होइन, यहाँ सिड्नीको जस्तो बसाइको कल्पना गरिन्न ! यहाँ ओपरा हाउज जस्तो बिहानै देखि सपना देखिन्न।
लेख्छु उसलाई, यहाँको दुई महिनामा सकिदिन्छु ! आफैँले दुई महिना भनेको त हो तर दुई महिनाबाट म्याद तिन महिना लाग्न आँट्यो ।तर यस अघिसम्म कुरा मिलाउनमा मलाई कसले जित्न कहाँ सक्छ भन्ने लागेको थियो । उसले जितिसकेको छ । तर आफू पनि हारसामना गर्ने पक्षमा छैन ।
तपाईँ आफ्नै वचन पुरा गर्न सक्नु हुन्न । आफ्नै चिप्लो लाडे स्वरको कदर गर्नु हुन्न ! त्यहाँबाट मलाई आज कसरी हेरिरहनु भएको छ, सब थाहा छ । काम हुँदै छ । काम गरी रहेको छु । एक महिना भित्र पहिलो ड्राफ्ट सकिन्छ । वाह यो भनेको पनि कति महिना गुज्री सकेको छ थाह छ ?
आफूले पठाएको सन्देशको बाल मतलब नगरी लेख्छ मिस्टर लेखक उताबाट । यसरी एकोहोरो लेख्छ मानौँ मेरो भाव पढ्दैन । मात्र आफ्नो आवेग पोख्न व्यस्त छ । चिल्लो बोलीको कुनै तुक छैन । छिनभरमै उताबाट अलि लामो मेसेज आउँछ । त्यो पढेपछि आफ्ना आँखा पुरै खुल्छन् । अनुहारमा पुरै भिज्छ । म तर्सन्छु उसको आक्रामक शैलीले । म तर्सन्छु उसको शब्दमा पुल्ठो आगोको ज्वालाले ।
आजको बिहान देखि यस्तै लेखि रहेको छ ऊ । किन बाउँठो खेद्दै छ ऊ बुझ्न सकेको छैन । यो देखेर भन्न मन लाग्छ कति सहूँ ? कतिपल्ट सहूँ ? त्यो मेसेज, त्यो व्यवहार सम्झँदा त कुमान्छे भन्नु जस्तो रिस उठ्छ । चाहँदा आफू पनि मिनेट भरमा आक्रामक बन्न सक्छु । तरपछि अस्ट्रेलिया गएर उतै सेटल हुने काम बनाउनु छ त्यसको हितमा हुने छैन । त्यसैले धैर्यताको बाटो रोज्छु , मौनताको प्रिय बन्ने कोसिस गर्छु ।
अकस्मात् ढोका ढकढक ऽऽ ढकढक ऽऽ गरेको आवाज सुनिन्छ । कोठामा को आयो ? दुई दशकदेखिको कपी एडिटर कर्मबाट दर्जनौँ मान्छेसँग चिनजान छ । लेखक, प्रकाशकसँग दोहोरो सम्पर्क छ । ती मध्ये केही सफल लेखक भएका छन् । केहीले एक दुई पुस्तक लेखि गुमनाम छन्, त्यसमा मेरो भन्नु केही छैन ।
फोनमा उसलाई मेसेज टाइप गर्दै ढोका तिर जान्छु । नबमा हात राखी जोडले आफूतिर तान्छु , ढोका पुरै खुल्छ । त्यहाँ अस्ट्रेलिया निवासी मिस्टर लेखक ठिङ्ग रिस र आक्रामक शैलीमा उभिएको छ ।
कस्तो अचम्म ! फोनको लेखक एकाएक आँखा अघि उभिएको छ । फोनको संवाद आँखाअघि फेरि दोहोरिन सक्छ । हेरिरहेछु फोनको मान्छे आँखा अघिको मान्छेमा कुनै भिन्नता छैन ।
नमस्ते, हात बिस्तारै छातीतिर लान्छु । सामुन्ने परेपछि एउटा बनावटी हार्दिकताले आफ्नो कुटीमा स्विकार्न बाध्य हुनुपरेको छ । मिस्टर लेखक हात जोड्दैन र ढोकाबाट भित्र पनि पसी हाल्दैन कोर्से आँखाले सोझै हेर्छ । ती ठुला आँखामा तातो आगो बल्दै छ , च्याप्टो निधार रातो भएको छ । उसको आँखाको त्यो आगो जसले मलाई छिनभरमा सिद्ध्याउन सक्छ !
उसका मेसेजले पसिना आइरहेको मान्छे । उसको उपस्थितिले मुटुको गति तीव्र बनेको छ । केही डराएर शिर निहुराउँछु । टाउको झुकाउँछु । त्यसपछि ऽऽ सुस्त गतिमा सास तान्दै मौन बस्छु । ऊ आँखा अघि देखिँदैन । कतै हराउँछ । अन्धकारमा धेरै कुरा बिलाउने त थाहा छ । ऊ आँखाअघिको उज्यालोमा गायब थियो ।
हँ.. कहाँ गायब भयो मिस्टर लेखक ? त्यही लेखक जो अघि मलाई फोनमा थर्काईरहेको थियो । त्यही लेखक जो मलाई मेसेजमा गालीगलौज गर्दै थियो । त्यही लेखक जो मलाई इमोसनल ब्ल्याक मेल गर्दै थियो !
सोचाइले अँठ्याउँछ , एकाएक ऊ आफ्नो घरमा आउनु, ढोका ढकढक्याउनु । रिसले आँखा भरी आगोको लप्को देखाउनु । चेप्टो निधारबाट धुवाँ उड्नु । फेरि गायब हुनु ? यो के कुराको सङ्केत हो ?
एउटा आलेखमा, एउटा पाण्डुलिपिमा लेखक कहाँ हुन्छ र कहाँ हुँदैन मलाई राम्ररी थाहा छ । म कहाँ आएपछि कि त पर्खन्छन् , कि त फर्कन्छन् । उसको हकमा पनि यही नियम थियो । एक मात्र मेरो नियम । हातमुख धुन निस्कन्छु । मनमा फोन गरी यस्ता साधारण समस्या सुल्झाउँछु भन्ने लागेको छ ।
मेसेजको जवाफ मेसेज पठाउनु , आगोमा आगो थप्नु सरह छ । चर्को कुरामा प्रश्नोत्तर गर्नु कुनै अर्थ रहँदैन । कल गर्छु मिस्टर लेखक उठाउँदैन ।
पसिना नओभाउँदै मेसेज लेख्न बाध्यता हुन्छु, आज नबोल्ने ? उसो त बाध्यताले नै आज मलाई मौन राखेको छ । बाध्यताले नै शान्त बनाएको छ । कुनै दिन अस्ट्रेलिया मै सेटल हुने योजना टाढा जाँदै गरेको देख्छु ।
निक्कै बेर प्रति उत्तर आउँदैन । तर्सन्छु , मनमा औडाहा हुन्छ । छटपट्टी हुन्छ , बेचैनी हुन्छ । एउटा लेखकले लेख्नु नै बोल्नु हो , उसको कुरा त सही हो ।उसको काम गरिदिन्छु भनेकै छु । त्यो मोटो रकम त्यो ठुलो सपना, हुन्न कहिले भनेको छु र ! मसँग खासमा ऊ बेफ्वाँकमा रिसाई रहेछ । बेफ्वाँकमा मेरो इमोसनल ब्ल्याक मेल गर्दै छ । आमा कसम ! काम हो, कर्म सबै बरोबर यसको छिटो रउसको ढिलो गर्छु– आफूले त्यसरी कहिले हेरेको छैन । हातको काम सकेपछि न हो उसको हेर्ने ।
सबै उसको मात्र पनि गल्ती नहोला । सायद उसको ठाउँबाट म दोषी देखिन्छु , जसरी यताबाट म उसलाई दोषी देखि रहेको छु । या दुवैको दृष्टमा दुवै सही पनि हुन सक्ला !
जसरी भए पनि कुरा मिलाउनु छ । यसबिच केही नभए जस्तो सबै कुरा मिली सके जस्तो माहौल बनाउनु छ । आफू फेरी केहीपल्ट फोन गर्छु , कत्रो आशा लिएर । तर ऊ उठाउँदैन । सबै हिसाब मिले फेरी अस्ट्रेलिया जानु छ , पाँच वर्षे भिसा जो मिलेको छ । त्यसको लाभ उठाउनु छ ! र निश्चित नै उठाउँछु भन्ने छ । त्यसो त यसरी उठाउँछु भन्ने धेरै कुरा उठाउन बाँकी नै छ, जुन यहाँ प्रस्तुत छैन ।
उताबाट मिस्टर लेखक एकोहोरो मेसेज गर्दै छ । बेलैमा उसले आफ्नो कमजोरी पक्रिएपछि निधारमा हात राख्दै पढ्छु, पढ्छु र पढ्छु मात्र। फिर्तामा केही लेख्न सक्दिन । फिर्तामा अडियोमा बोल्न पनि सक्दिन । फिर्तामा केही गर्नै सक्दिन ।
फेरि ढोकामा ढकढक ऽऽ ढकढक ऽऽ बजेको सुनिन्छ । मलाई लाग्छ आवाज आए पनि त्यहाँ कोही छैन । सब कुरा बेवास्ता गर्दै ल्यापटप खोल्छु । शब्दालयको पाण्डुलिपि अन्तिम चरणको काम छ हातमा । त्यसपछि अस्ट्रेलियावासी लेखकको हेर्छु भन्ने मस्तिष्कमा खाका छ । तर ऊ मलाई बुझ्दैन । एउटा कपि एडिटरको ढाँट्ने प्रवृत्तिलाई बुझ्दैन । नियमित ढाँट्ने आदतलाई एकाएक आज पत्याउँदैन।
अमऽऽ कसरी स्थिति नियन्त्रण गरौँ । हैरानी खेप्दै फोन छेउमा राखी ल्यापटपबाट वरपर हेर्छु । फोनमा मेसेज बज्न छाडेको छ । केही बेरमा उठाएर हेर्छु । यतिन्जेलमा मिस्टर लेखकले रिस, आक्रोश र आवेग देखाइ सकेछ । ओहो उसले त मलाई सोझै ब्लक गरेछ ।
म के गरौँ ? अब के गरौँ ? दिमाग लडाउने कोसिस गर्छु ।
आमा कसम ! अब दुई महिनामा त पक्का सकिदिन्छु । यही थियो मेरो अन्तिम सन्देश । मिस्टर लेखकलाई त कसम किरियामा पनि विश्वास रहेनछ । हुन त कलियुगमा यस्ता कुरा विश्वास गर्न आवश्यक पनि छैन , तर त्यो अन्तिम अस्त्र थियो ! त्यसको पनि सही उपयोग हुनै पाएन ।
तर तर ऽऽ सारा जनभाव बुझी शब्दमा उन्ने मिस्टर लेखकले एक कपि एडिटरलाई किन बुझ्न सक्दैन ? अनि सोची रहेछु, बेफ्वाँकमा त्यसरी आक्रोश पोख्ने लेखक कुन स्तरको लेखक हुन सक्छ ? र यसरी म कहाँ आएपछि कि त पर्खन्छन् नभए फर्कन्छन् भन्ने कुरा गर्ने म पनि कुन स्तरको कपि एडिटर, अर्को प्रश्न साथै उभिएको छ ।
ए सुनऽऽ कपि एडिटर पनि मान्छे नै हो, ऊ पनि कमजोरी विहीन छैन । जब अशुद्ध शब्द स्वयम शुद्ध छैन, कुनै कपि एडिटर कहाँ चोखो हुने ? सबैका आफ्नै कमजोरी हुन्छन् । आफ्नो कमजोरी – डेड लाइन दिने तर समयमा काम नसक्ने , हाँकी भन्छु यही हो मेरो कमजोरी !
फेरी ढोकामा ढकढक ऽऽ ढकढक ऽऽ बजेको सुनिन्छ । के मिस्टर लेखक फेरी आयो ? होइन ऊ आएको छैन ! त्यहाँ कोही छैन । त्यसो त ऊ छिनभरमै समुद्र पारीबाट रिसले ढोका अघि उभिन आइपुगेको दृश्य पनि भ्रम हो । बजारमा मान्छेहरूको सौदाबाजीमा ग्राहकले थोक व्यापारीसँग राम्रो दलाली गरेँ भन्ने पनि भ्रम । सायद म आफू परिचित कपि एडिटर हुँ भन्ने अझ ठुलो भ्रम हो ।
म विचारशून्य भएर झ्यालबाहिर हेर्न थाल्छु ।