घर, भूकम्प अनि राजनीति

भीम ठटाल, सिक्किम-

 

कवि
कवि

भूकम्प अति सत्य हो

अनि भूकम्प आउनु झन सत्य हो- मृत्युजस्तै !

भूमिले जब आफूभित्र अतिसय ताप अनि आक्रोश बोकेको हुन्छ

फुटेर सुन्दर फूल फुले जस्तै

भूगर्भमा हुने रतिक्रीडा पछि

आनन्दको तरङ्ग निस्कनै पर्छ

अनि हरेक प्राकृतिक क्रीडापछि भूकम्प त आउँछ नै आउँछ !

 

घरहरु जो तरङ्ग सहन सक्छन्

कस्तै परे पनि उभिरहन्छन्,

जो सक्दैनन् ती हल्का हावामा पनि ढल्छन् !

घर सरकारको रकमले बनिन्न

घर राजनीतिको घोषणापत्रले बनिन्न

घर मन्त्रीको कसमले बनिन्न

घर भाषणको आश्वाशनले बनिन्न !

घरले पो सरकार बनाउँछ

घरमा पो कसमहरु हालिन्छन्

घर कहिले पनि राजनीतिको आयतनभित्र समेटिन सकेको छैन

राजनीतिमा राम हुँ भन्नेले पनि समेट्न सक्दैन

कसैले पनि समेट्न सक्दैन !

घरभित्र मतदाता बस्छन्

मत, विचार, राजनीति र झण्डा

समग्रमा अँटाएर बसेका हुन्छन् !

भवनहरु बनिनुपर्छ

अनि भवनहरुमा बिहे भएपछि,

सन्तान जन्मिएपछि

कति दशैं र तिहार सँगै मनाएपछि

कति प्रियजनका लाशलाई आँसुले धोएर विदा गरेपछि

त्यो भवन कतै गएर घर बनिन्छ !

 

भवनहरु घर हुनलाई भवनले

मान्छेका आवश्यकता भन्दा माथि उठ्नु हुँदैन

लोभले होइन श्रमले बनेका भवनहरु घर भनिन्छन् !

घर लड्नुको राजनीतिसँग के सम्बन्ध हुन्छ ?

घरहरू समाजमा राजनीति स्थापित हुनुभन्दा पहिले पनि लडेकै हुन्

अनि पछि  पनि लडेकै हुन् !

अनि पछि  पनि लड्ने नै हुन् !

घरहरु लडेर फेरि बनिन्छ, बनेकै हो !

घरहरु मिलेर कत्रो राजनीति लडाउँछ

तर, राजनीतिले घर लडाउँदैन !

घरमात्र  एउटा यस्तो  आश्रय हो

जसको लागि मान्छेले राजनीतिमा आश्रित हुनुपरेको छैन !

 

यस्तै घर मेरो पानि गाउँमा थियो !

यसरी नै त्यो पनि लड्यो

तर, त्यहाँ राजनीति र भाषणभन्दा पहिले छिमेकीहरु पुगे !

घरहरू आफैं बनिनुपर्छ,

अनिमात्र घर आफ्नो हुने हुन्छ !

घर लडेको खण्डहरमा राजनीतिज्ञहरुको नजर पर्दैन

राजनीति त जिउँदो, कल्कलाउँदो, लहलह हुर्केको घरहरुमा हुन्छ

घरहरुमाथि हुन्छ,

घरहरुको  हुन्छ

घरहरु लिएर हुन्छ

घरहरुको लागि हुन्छ !

 

घरहरु अग्लो होइन,

तर राजनीति र भाषण, राहत रकम र आश्वाशन

यी सबैभन्दा अग्लो हुनुपर्छ अनि पो जस्तै भूकम्पमा पनि

अटब्य, गौरवमयी, अविछिन्न, अटूट खडा रहन्छ !

 

घर भुँइमा शुरु भएर आकाशतर्फ होइन मनसम्म उठ्नुपर्छ

अनि मनचाहिं राहत, भाषण, राजनीति र प्रशासनभन्दा

माथि माथि उठ्नुपर्छ !

घरहरु लड्छन् तर, लड्दैमा बनाउन छोड्नु हुन्न

भवनहरु थोरै अनि घरहरु धेरै बनी इरहनुपर्छ !

 

***

Leave a Reply

Your email address will not be published. Required fields are marked *