चिदम्बर र पागल कवि
तारा पराजुली-मोरङ/नेपाल
धापखर्कको चिसो बतास
सल्लाघारीका कुमकुम कुदेझैँ
यो पागल कवि
धाँजा फाटेका ऐनामा
छरिएका प्रतिबिम्बहरू बटुल्दै
उग्राएको समयलाई उठाउन
बस्तीबस्ती घुमिरहन्छ ।
केही दिन यता ऊ देखिएको छैन
सायद यसबेला काकाकुलहरूको तृष्णामा इनार खन्दै होला
राहतपछिका मुटुहरूको सम्मानार्थ सभामा मस्त होला ।
दिनभरि कुमारी घामहरू जिस्क्याउँदै
पारि क्षितिजसम्म पुर्याउँछ
साँझ टपक्क टिपेर खामबन्दी गरी
आकाशतिर मिल्काउँछ
रातभर निद्रा फिँजाएर
आँगनमा तान हाल्छ
भाले बास्न नपाउँदै
मनपर्ने दोसल्ला बुनिसक्छ
अनि चियाको वाफसँगै आफूलाई उडाउँदै
दूर समुद्रको यात्रा तय गर्छ
फूलफूलमा स्पर्शका पाइला टेक्दै
सादा गुराँसलाई रङ्ग दिन्छ
सभ्यताको खिया पखाल्दै
हावामा नौलो सुवास खोज्छ ।
आयुको भर्याङ चढ्दाचढ्दै
रङ ओइली झरेका कपाल
तुषाराले अमिलिएको लेकझैँ धूमिल आँखा
निधारबाटै भाँच्चिदै झरेको सप्तकोसी
कति कति रहस्य प्रस्टै देखिन्छ अनुहारको फाँटमा ।
आज पनि वृक्षरोपण छ अरे
मरुस्थानमा दुबोको गलैंचा बुनेर
बगैँचा र बस्ती हाल्दै छ ऊ
बेलैमा दिऔँ सापटी हातहरू
अवश्य रित्तो फर्कंदैनन्
ऊ एक्लै काँडाघारीमा अल्झियो भने के होला ???