चिन्न नसक्ने म

कवि

-देवी पोखरेल, अष्ट्रेलिया

म,
त्यही पुरानै परिचय
खोजिरहने अवोध म
आफ्नो परिचयलाई
बेजोड नवीन रंगहरु भरी बदल्न खोज्ने
अरूले पनि आफैँ जस्तै गरोस् भन्दै
लोलो-पोतो घसेर पुराना हिसाव-किताव भुल्नेलाई,
कहाँ चिन्न सक्छु र ।

म,
परिवर्तनको दर्पणमा
आफूलाई हेर्दै नहेरी
फलानोको फोस्रो आडम्बर बिक्री गर्दै
गतिशीलता र पृथकताको सिँढीमा
निकै माथि उक्लेको गर्व गर्ने,
अनि आधुनिकताको म्याराथनमा
सबैलाई पछारेको भन्दै सिट्टी फुक्नेलाई
कहाँ चिन्न सक्छु र ।।

म,
सुन्दरता र भौतिकताको सारथी बन्दै
भेदभावको अत्तर छर्कने
प्रविधिको काल्पनिक आयामलाई
आफ्नो संसार ठान्दै
मानवतामा अनुहार दाँजेर
मोतिको सट्टा पत्थर रोज्नेलाई
कहाँ चिन्न सक्छु र।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *