चेतना

जीवनहरि शर्मा
इलाम, नेपाल

यहाँ चेतनाको सधैँ दीप बाली
ध्वजा राष्ट्रको यो सबैले उचाली
बनौँ एक हामी मिली देश बासी
सदाचार मेरो प्रतिज्ञा छ साथी ।।१

गरौँ कर्म राम्रा सुनौला बिहानी
सबैको फलोस् वा फुलोस् जिन्दगानी
सही काम गर्ने फुरोस् बुद्धि सारा
बनोस् एकताको खुलोस् मुख्य नारा।।२

बलोस् चेतनाको उज्यालो छ ज्योति
चुमोस् यै धराले हजारौँ छ मोती
छरौँ ज्ञान सारा तुवाँलो हराओस्
छ नेपाल प्यारो मुगा रत्न चालोस्।।३

जहाँ चेतना छैन बाटो बिरायो
कडा काम गर्ने बनाऔँ धरा यो
सुधा जिन्दगी हो निराशा नराखे
सुखी बन्छ त्यो काम आफ्नो समाते।।४

गरोस् बात साँचो ध्वजा यो उचाली
महा सभ्यताका बनौँ नित्य माली
बिना चेतना जिन्दगी हुन्छ त्रस्त
सभा सभ्य मान्छे उदाऊन् प्रशस्त ।।५

चुलीमा बसोस् चेतनाको पिरामा
सदाचार बोली सुनौलो धरामा
कलाकार होस् विज्ञ बाजा बजाओस्
सदा प्रेमले मातृ भाषा सजाओस् ।।६

भुजङ्गप्रयात छन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *