छाप्रो न० ५५ : भूटानी शरणार्थी जीवनको एउटा जिउँदो दस्ताबेज
प्रतिमान सिवा
ओहायो, अमेरिका
१) पृष्ठभूमि:
मञ्जरी पब्लिकेशन, काठमाणौंबाट सन २०१८ मा प्रकाशित ‘छाप्रो न० ५५’ भूटानी शरणार्थीको जीवन भोगाई र त्यसभित्र रहिआएका तिता मीठा अनुभवहरूलाई समेटेर रमेश दियालीद्वारा लेखिएको (एउटा सफल र लोकप्रिय) उपन्यास हो । २३० पृष्ठ रहेको यो कृतिमा टाइम्स कृएसनले तिनै शरणार्थी शिविरहरूको चित्रलाई सुन्दर तरिकाले आवरणमा सजाएको छ । नेपालका धेरैजसो पुस्तक पसलहरूमा वितरण गरिएको, अमाजोन डटकममा उपलब्ध, अमेरिकामापनि उपलब्ध र नेपालको रेडियो कार्यक्रम स्रुतिसम्बेगमा पनि अच्युत घिमिरेद्वारा वाचन गरिएको यो कृति भूटानी लेखकद्वारा लेखिएको अहिलेसम्मको एक सफल र लोकप्रिय उपन्यास मान्नुपर्छ । । मझौलो आयतन रहेको उपन्यास ‘छाप्रो न० ५५’ मूल्यका हिसाबलेपनि सरल रहेको छ ।
२) विषय प्रवेश:
नेपाली साहित्यमा विषयगत अध्ययन गरेका र पूर्णरुपमा समर्पित भएर साहित्य सृजना कर्ममा लागिपरेका साहित्य साधकहरूको उपस्थिति लगभग शून्य रहेको यस भूटानी नेपाली डायसपोरामा ‘छाप्रो न० ५५’ को उपस्थितिले केही नयाँ रङ अवश्य ल्याएको छ । उपन्यासकारका रूपमा पहिलोचोटि देखापरेका रमेश दियाली आफैमा विधागत अध्ययन गरेका लेखक अथवा मूलधार नेपाली साहित्य सृजनामा विज्ञ नभएतापनि आफ्नै बलबुता र व्यक्तिगत अध्ययन, भोगाइ, देखाइहरूबाटै ‘छाप्रो न० ५५’ जस्तो स्तरीय आख्यान कृति हामीमाझ पस्किएर भूटानी नेपाली साहित्यमा एउटा नयाँ खुड्किलो थप्न सफल भएका छन् ।
३) भूटानी नेपाली साहित्यमा औपन्यासिक प्रसङ्ग:
डायसपोराभरि छरिएर रहेका सम्पूर्ण भूटानी नेपाली समुदायमा अहिलेसम्मको साहित्यिक प्रवृत्तिमा कविता, गजल, रुबाई, मुक्तक आदिको (काव्ययिक) हालिमुहाली रहिआएको हामी स्पष्ट देख्न सक्छौँ । स्रष्टाहरू काव्ययिक सन्धानमा (कविता, गजल, रुबाई इत्यादि ) अलमलिई रहेका कारण आख्यानले खासै फड्को मार्न नसकेको हाम्रो अघि प्रत्यक्ष छ ।
आख्यानभित्र उपन्यासको प्रसङ्गमा सन् १९९० पछि भूटानी सर्जकहरूबाट आएका उपन्यासहरूमा सन् १९९५ मा इन्द्र खवासद्वारा लिखित ‘आमाको गुनासो‘, सन् २००१ मा विजय राईद्वारा लिखित ‘ऐनाभित्र‘, सन् २००२ मा गोपाल लेप्चाद्वारा लिखित ‘जिन्दगी‘, सन् २०१३ मा मणिराम राईद्वारा लिखित ‘हराएको कलम‘ (बाल उपन्यास) छन् (दाहाल, २०१३)। लामो समयको अन्तरलपछि २०१८ मा युवा सर्जक रमेश दियालीद्वारा लिखित ‘छाप्रो न० ५५ ‘ थपिएकोछ । विधागत रूपमा तुलनात्मक हिसाबले हेर्दा उपन्यासको यो सङ्ख्या अति न्यून हो । यी मध्य ‘छाप्रो न० ५५’ ले लेखकीय कसीमा धेरै निखारपन पाएको छ भने लोकप्रियता पनि प्रशस्तै कमाउन सफल भएको देखिन्छ र नेपाली साहित्यको मूलबजारमा प्रवेश पनि पाएको देखिन्छ ।
दाहाल(२०१३) का अनुसार गैर भूटानी लेखकहरूद्वारा भूटानी विषयवस्तुमाथि लेखिएका उपन्यासहरूमा सन् १९७४ मा गोविन्दराज भट्टराईको ‘मुगलान‘, डा० ध्रुवचन्द्र गौतमद्वारा लिखित ‘ज्यागा‘, कृष्ण धराबासीद्वारा लिखित ‘शरणार्थी‘, डा० तारालाल श्रेष्ठद्वारा लिखित ‘सपनाको समाधि‘ र वाई एन् चम्लागाईद्वारा लिखित ‘साक्षी‘ रहेका छन् ।
४) शीर्षक र आवरण
शरणार्थी जीवन र छाप्रो न० एक सिक्काका दुई पाटा जस्तै एक अर्कामा सम्बद्ध र परिपूरक जस्तै हुन् । शरणार्थी शिविरभरि निर्मित नयाँ, पुराना, थोत्रा सबै टहराहरूले पाएका क्रमसङ्ख्याहरुनै छाप्रो न० हुन् जसले दिनभरि जीविकोपार्जनको सङ्घर्षमा आफ्नो नयाँ पहिचानको बिल्ला भिरी पसिनाको खोलो बगाएर आखिरमा आश्र्य लिने झुपडी हो । भूटानी शरणार्थीको प्रसङ्गमा सम्पूर्ण शरणार्थीहरू आ-आफ्नै छाप्रो न० सँग सम्बद्ध हुन्छन् र आ-आफ्नै कथा बोकेका हुन्छन् । यी छाप्रा न० हरूले दुई दशकभन्दा माथिको कारुणिक र दयनीय जीवन यापनलाई दर्साउँछन् ।
छाप्रो न० ५५ मा उपन्यासका दुवै मूल पात्रहरूको (गङ्गा र देव) संयोगवश एउटै छाप्रो न० हुन्छ र यिनै छाप्राहरूका वरिपरि कथावस्तु र घटनाक्रमहरू परिघटित हुन्छन् त्यसैले यो शीर्षकले यस कृतिलाई सार्थक तुल्याएको छ । शीर्षक छाप्रो न० ५५ आफैमा एउटा सिङ्गो उपन्यास हो र उपन्यासभित्र के छ भनेर शीर्षक र आवरणद्वारा नै अनुमान गर्न सकिन्छ । आवरणमा देखिएका घुर्मैलो पङ्क्तिबद्ध टहराहरू जो बाँसको बेरा र फुसको छानोले निर्मित छन् तिनै यस उपन्यासका छाप्राहरू हुन् । एक हुल मानिसहरू तिनै छाप्राहरू तिर जाँदै गरेको देखिएका छन्, सायद गङ्गा र देवपनि त्यही हुलभित्रको एक हिस्सा हुन् । तिनै भूटानी शरणार्थी शिविरहरूको तस्बिरलाई टाइम्स कृएसनले उपन्यासभित्रको सम्पूर्ण कथालाई समेट्ने गरी सुन्दर आवरण सजाएको छ । शीर्षकको र आवरणको हकमा दुवै सफल छन् ।
५) कथानक
यो उपन्यास छाप्राहरूको मात्र कथा नभएर, जातीय विभेदको मात्र नभएर, गरिबीको मात्र नभएर एउटा तानासाही अतिवादी राष्ट्रनायकले आफ्ना एकथरी प्रजामाथि लादेको क्रुरता, राष्ट्रियता छिनेर नयाँ ट्याग टाँसेको कथा हो । आफ्नो परिवार र ज्यान बाजीमा राखेर रगत र पसिनाले निर्माण गरेको माटोप्रतिको प्रेमको पनि कथा हो । नेपाली जाती विश्वभरि फैलिने क्रमहरूको एक टुक्रा कथा पनि हो । ‘बसाई’ उपन्यासको अर्को थप अध्याय सरह हो । यी छाप्राहरू र शिविरहरूको सृजना हुनुको अनि गङ्गा र देवको छाप्राहरूमा आईपुग्नुको कारक पृष्ठभूमिकोपनि कथा हो । हरेक भूटानी शरणार्थीहरूले शरणार्थीकालमा भोगेका दु:ख, कष्ट र निरीह जीवनकालको एउटा जिउँदो दस्ताबेज पनि हो यो छाप्रो न० ५५ ।
आफ्नो जन्मभूमिबाट उच्छेदित भएर शरणार्थी जीवन यापन गर्ने क्रममा राष्ट्रियता विहीन, आर्थिक विपन्नता र वर्गीय असमानताका कारण भोग्नु परेका दु:ख, कष्ट र अपहेलनाहरुलाई मुख्य कथावस्तु बनाएर एउटी विपन्न दलित युवतीका माध्यमबाट प्रथम पुरुष शैलीमा लेखकले सफलता पूर्वक उपन्यासको संरचना गरेका छन् । उपन्यासकी मूल पात्र गङ्गा दमाई र सहायक पात्र देव बिक दुवैको सेक्टर बेग्ला बेग्लै भएतापनि छाप्रो न० संयोगवश एउटै हुन जान्छ र यी दुई पात्रको चिनजानपछि प्रेम हुँदै कथावस्तु अघि बढ्छ । विभिन्न कारणले किनारिकृत पारिएका यी दुवै पात्रहरूको भेट प्रेममा परिणत हुनु, विपन्नताले प्यारालाईज बनाएका कारण आफ्नो अध्यान र फस्टाउँदै गरेको प्रेमलाई चट्ट छोडेर पैसा कमाउने आशयले बाग्लुङ्ग जानुले कथावस्तुमा कारुणिक्ताको अथवा वियोगको विकास हुन्छ । यस कारुणिक्तालाई कायम राख्न र पाठकहरूको ध्यान तानी राख्नकालागि अर्को घटनालाई उभ्याउँछन् लेखक । एकल अभिभावक, रोगी र विपन्न अर्का पात्र, गङ्गाका बाबु ‘काजी दमाईको’ ढिप्पिले आफ्नो प्रेमलाई त्यागेर परचक्रीसँग बिहे गर्नुपर्ने बाध्यताले अझ करुणा थप्दछ । आफूलाई मन पर्ने मान्छेले चट्ट छोडेर जानु, अपरिचित व्यक्तिसँग बिहे हुनु, एकमात्र अभिभावक बुवाको मृत्यु हुनु, असल दाम्पत्य जीवन भोग्ने रहरमा धेरै सपनाहरू बोकी स्वास्नीलाई एकलै छोडेर पैसा कमाउन लोग्ने भारत जानु, सासू ससुराले पारिवारिक मान्यता दिएर प्रेम दर्साउनुको सट्टा रातदिन किचकिच गर्नु, भारतबाट पैसाको साटो आत्मघाती रोग लिएर लोग्ने घर फर्कनु, उपचारको क्रममा आम्डाको दु:ख भोग्नु, लोग्ने बचाउने झिनो आसामा भिख माग्नु पर्ने अवस्था र अन्तमा लोग्नेको देहान्त हुनुले यो उपन्यासभरि वैराग्य र करुणा पैदा गर्दछ । घटनाक्रमहरूलाई यसरी नै एकपछि अर्को गर्दै कुशलता पूर्वक शृङ्खलाहरूमा उनेर, मिलाएर राखिएको छ । सुरुको दुई-तिहाइभरि वियोग र करुणाले भरिएको हुँदा यो कृति वियोगान्त पो रहेछ भन्ने भान हुन्छ तर जब मूल पात्र गङ्गाको पुनर्वासको क्रममा देवसँग (पूर्व प्रेमी) भेट हुनाले र वैवाहिक बन्धनमा बाँधिनाले उपन्यास संयोगान्त भएर टुङ्गिन्छ र अब के हुन्छ भन्दै कौतुहल्ताका साथ पढिरहेका पाठकहरुलेपनि खुसीको सास फेर्छन् ।
उपन्यास घटना प्रधान छ र सिलसिलाबर भएर आउने घटनाक्रमहरूले कथाको प्रस्थान गराउँछ अनि बिस्तारै उत्कर्षमा पुर्याउँछ र आनन्दभोगको विश्रान्तमा टुङ्गिन्छ । एउटा घटनाक्रमको अन्त्य नभइ अर्को विकासोन्मुख हुन्छ र यही क्रममा पाठकहरूको ध्यानलाई अन्तिमसम्म नै अल्झाई राख्न सफल बनेका छन् लेखक । यी अवस्थाबाट नगुज्रिएका पाठकहरूलाई कथावस्तु सामान्य लागेतापनि हामी शरणार्थी जीवन भोगेर आएकालाई प्रत्येक हरफहरू आफ्नै कथा हुन जस्तो लाग्छ । काल्पनिक जस्तो देखिएतापनि प्राय पात्रहरू, घटनाहरू र स्थानहरू वास्तविक हुन् भन्ने कुरालाई पाठक स्वयमले जान्दछन् भने लेखकलेपनि पुष्टि गरेका छन् । कति प्राय ठाउँमा कथा ‘फ्ल्यास ब्याकका’ रूपमा आएको छ । गङ्गाकी आमाको कसरी देहान्त भयो र उनीहरू कसरी शरणार्थी भए भन्ने प्रसङ्गलाई गङ्गाको बाबुले ‘फ्ल्यास ब्याकका’ रूपमा वर्णन गर्छन् भने डिल्लीराम र बुद्धिमान बिचको वार्ता पनि फ्लासब्याक शैलीको अर्को उदाहरण हो ।
मूल कथावस्तुलाई टेवा पुर्याउन र उपन्यासलाई तन्काउनकालागि प्राय उपन्यासकारहरूले टुक्रे कथाहरू अथवा उपकथाहरू जोड्ने गरेको धेरै देखिएतापनि यस उपन्यासमा त्यो प्रवृत्ति भने कमै देखिन्छ । गङ्गाको साथी रमेशले शिविर बाहिर गएर बोर्डिङ स्कुलमा पढाउँदा शरणार्थी भएको रहस्य खुल्नु र जागिरबाट निकालिनु परेकाले ज्यामी काम गर्नुपरेको एउटा उपकथा जोडेका छन् लेखकले । यस उपकथाले जीवनमा आफ्नो सही पहिचान हुन कति जरुरी छ र यसले आत्मा सम्मानमा कति घात पुर्याउँछ भन्ने कुरालाई कुशलता पूर्वक दर्साएका छन् ।
रासन थाप्नु, खुल्ला चौरमा बसाएर पढाईनु, वनभोज आयोजना गर्नु, स्कुलबाट भागेर फिल्म हेर्न जानु, केटाकेटीहरू रिक्साको पछाडि झुन्डिनु, शिविर बाहिरका स्थानीय (बस्तीका) मानिसहरूसँग लडाई झगडा हुनु, शिविर बाहिर बस्तीमा सुँगुर पाल्नु, ऊन कात्नु, रेडियो घन्काउनु, खल्तीमा गुच्छाहरू छर्ल्याङ छर्ल्याङ बजाउँदै हिँड्नु जस्ता प्रसङ्गहरू रमाइला पक्षहरू हुन् र यथार्थ पनि हुन्। शरणार्थी शिविरहरूमा देखिने दैनिक दृश्यहरू पनि हुन् ।
६) उपन्यासको सान्दर्भिकता:
छाप्रो न० ५५ सामाजिक उपन्यास हो । यो उपन्यासले त्यो समाजको आकलन गरेको छ जो देश, माटो र नागरिक पहिचानबाट उच्छेद भएर अन्य मुलुकमा एउटा सानो परिधिभित्र सिमाङ्कन गरिएको क्षेत्रफलमा दुई दशक गुजार्न बाध्य बनाइयो । यस उपन्यासबाट शिविरभित्रका प्रत्येक व्यक्तिहरूले जीवन भोगाइको क्रममा सहनु र सामना गर्नु परेका कठिनाइहरू, आर्थिक सङ्कटहरू र सामाजिक कठोरताहरुलाई लेखक दियालीले एकदम सरल र रोचक शैलीमा प्रस्तुत गरेका छन् । यस उपन्यासले नब्बेको दशकदेखि लिएर यता तीन दशकको समयवधीलाई समेटेको छ । नेपाली समाजमा जातीय विभेदको व्यापकता र यसले निम्त्याउने सामाजिक तथा मानसिक तनावलाई दर्साउन गङ्गा, देव, देवकी आमा, काजी दमाई जस्ता पात्रहरूको माध्यमद्वारा सबल प्रस्तुति दिएका छन् उपन्यासकार दियालीले ।
उपन्यासमा दर्साइएको समाजमा शैक्षिक धरातल भने कम्जोर देखिएको छ । स्कुलमा अध्यापन गराउने शिक्षक बाहेक अन्य क्षेत्रमा शैक्षिक प्रबलता देखिएको छैन जसका कारण जातीय विभेद जस्तो अन्धविश्वास र आर्थिक सङ्कटले ग्रस्त बनाएको छ समाज । जसरी लेखकले शरणार्थी शिविरहरू भित्र लुकेका सामाजिक दुर्बल पक्षहरू र विपन्नताको चरम सङ्घर्षलाई उजागर गर्ने उधेय्श्यले कथावस्तु बुनेका छन् त्यही अनुरूपका पात्रहरूको छनौट हुँदा उपन्यासमा दर्साइएको समाज धेरैमात्रमा अशिक्षित देखिएको हुनसक्ने अनुमान पनि गर्न सकिन्छ ।
उपन्यासमा कथ्य सहज र सरल छ । उपन्यासकी मूलपात्र द्वारा प्रथमपुरुष शैलीमा भनाइएको कथा सामान्य र निम्न तहका पाठकहरुलेपनि सहजै छिचोल्न सक्नेछन् । ग्रामीण भाषा शैलीलाई संवादको प्रमुख शैली बनाएर अपनाइएको छ । तपाईँ, हजुर जस्ता आदरार्थी शब्दका सट्टा ‘तिमी’ नै प्रयोग गरिएको छ । यो शैली उपन्यासमा देखाइएको समाज र वर्गसङ्गत देखिएको छ ।
विस्थापनको एउटा शृङ्खलालाई क्रमानुगत रूपमा प्रस्तुत गरेको छ छाप्रो न० ५५ ले । भूटानेबाट विस्थापित भएर नेपालमा शरणार्थी जीवन व्यतित गरिरहेका शरणार्थीहरू फेरि विस्थापनको अर्को लहरमा उल्झेको पाइन्छ । तेस्रो मुलुकमा पुन:स्थापना भनिएपनि विस्थापनकै अर्को शृङ्खला हो । आफ्नो पैतृक देशबाट यस्तै विभिन्न कारणहरूले विस्थापित भएर विश्वभरि छरिएका सम्पूर्ण नेपालीहरूको एक हिस्सा कथा यस उपन्यासलेपनि बोकेको छ । तेस्रो मुलुकको पुन:स्थापनाले कैयौँ परिवारहरूमा फाटो ल्याएको कुरालाईपनि उपन्यासकारले सहज रूपमा दर्साएका छन् । विध्वी स्त्री प्रति हेर्ने नेपाली समाजको नकारात्मक दृष्टिकोण र त्यसलाई बढवा दिने स्त्रीहरुनै रहेको प्रसङ्गको उजागर गरेको छ यस उपन्यासले र यो रुढीवादी मान्यतालाई तोड्दै दोस्रो औपचारिक विवाह गराएर (गङ्गा र देवबिच) सम्पूर्ण समाज प्रति सकारात्मक सन्देश छोडेका छन् रमेश दियालीले । उपन्यासमा एकपक्षीय प्रेम प्रसङ्ग छ र कथावस्तु पनि सरर बगेको एकोहोरो (unilateral) छ । यहाँ धेरै कथाहरू आएर एकापसमा झेलिँदैनन्| । सर्वस्व सुम्पिएर जसरी गङ्गाले देवलाई प्रेम गर्छिन् त्यही रूपमा वापस मिल्दैन गङ्गालाई । समयवधीमा जसरी आफ्नो पहिलो प्रेमलाई बाध्य भएर बिर्सिँदै जान्छिन् र जिउनुको अन्य आयमहरु खोज्दै अमेरिका पुग्छिन् तब देवसँगको अकस्मात भेटले फेरि बिस्तारै पालुवा हाल्छ उनीहरूको पुरानो प्रेम कथामा ।
७) पात्र- चयन:
कथावस्तुलाई सुहाउने असल पात्रहरूलाई उभ्याएका छन् लेखकले यहाँ । पात्रहरूलाई आ-आफ्नो भूमिका निर्वाह गर्न मनखुशी चलाएका छन् । मुख्य पात्रहरूको चयनमा एकै वर्गीय, एकै दामाल र एकै स्तरका पात्रहरू तानेका छन् । गङ्गा र देव दुवैको एउटै छाप्रो न० हुनु, दुवै गरिब हुनु, दुवैको एकल अभिभावक हुनु, दुवै दलित समुदायको हुनाले जातीय भेदभाव र उत्पीडनबाट पीडित हुनु र एउटै कक्षामा अध्ययनरत हुनुले दुवैमा समानता दर्साउँछ र दुवै समानान्तर रफ्तारमा बग्छन् । यहाँ पात्र चयनमा मुख्य दुई पात्रमा कुनै एकजनालाई फरक पृष्ठभूमिबाट अथवा उच्च जातीबाट अथवा सम्पन्न पारिवारिक पृष्ठभूमिबाट लिएको भए कथावस्तुमा द्वन्द्व अझ सशक्त र सङ्घर्षशील हुने थियो भन्ने आभास अवश्य हुन जान्छ ।
कुनै पनि पात्रहरूलाई विशेष खलपात्रका रूपमा उभ्याइएको छैन । जातीय विभेदको प्रसङ्गमा देखा परेका साधु र त्यो मामलामा जुटेका मानिसहरू, गङ्गाका सासू ससुरा, पानी धारामा भेटिएका केही स्त्रीहरू, रासन थाप्दा देखा परेका केही मान्छे र बनजाँचेहरु गौंण खलपात्रका रुपा देखाइएका छन् भने विषेसत: प्रकृति, घटना, परिस्थिति र नियति नै मुख्य खलपात्रका रूपमा उभ्याईएको छ ।
८) वर्गीय चेत:
उपन्यासमा वर्गीय चेत यसको अर्को सशक्त पक्ष हो । जातीय विभेदले ग्रस्त हाम्रो नेपाली समाजमा उपल्लो जात वा उच्च जात मानिनेहरूले तल्लो जात वा दलित वर्ग मानिनेहरूलाई कसरी समाजमा दिनदहाडै दबाई राखेका छन् भन्ने कुरालाई देवकी आमाले पानी छोएको आरोपमा समाज जुटाई गाली गलौज, कुटपिट र चन्द्राईण गर्ने खर्च समेत तिराइएको घटनाले गङ्गामा यो वर्गीय असमानताको चेत सृजना गर्छ र अन्याय बिरुद्ध लड्ने सङ्कल्प पैदा गराउँछ ।
गङ्गा आर्थिक विपन्नताको मारमा परेकी हुनाले मीठो खाने, राम्रो लगाउने र मनोरञ्जनात्मक इच्छा पूर्ति गर्ने रहरहरू आकाशमाथिका ताराहरू झैँ हुन्छन् र यो अधिकांश छाप्रावासीहरूको प्रतिनिधि वर्गीय असमानता हो भने केही सम्पन्न वर्गीयहरूले आफ्नो वर्गीयचेतको धाक लगाउन राम्रो लगाउने, बोर्डिङ स्कुलमा नानीहरू पढाउने, सम्पत्तिको अनावश्यक रवाफ वा तुजुक देखाउने प्रचलनहरुपनि प्रशस्तै पाइन्छन् ।
त्यसरी नै विधवा नारीहरूप्रति हाम्रो समाजले हेर्ने नकारात्मक दृष्टिकोणको तुवाँलोलाई तोड्दै देवले सबैले समान हक, अधिकार र न्याय पाउनु पर्छ भन्दै विध्वी गङ्गालाई विवाह गरेर न्यायिक आन्दोलनको शङ्खनाद गरेको छ । तथापि, दमाई जाती अछुत हुन र तिनीहरूसँग मैत्रीक सम्बन्ध राख्नु हुँदैन भनी विभेदीय जहर गङ्गाकी बाल सखा रमाको कलिलो मानसिक्तामा उसका बाबु-आमाले घोली दिएपछि टाढिएकी रमालाई अन्त्यमा गङ्गाको दयनीय अवस्था प्रति सहानुभूति प्रकट गराउँदै आफ्नो पूर्व व्यवहार प्रति प्रार्थी बनाउँदै खुब रुवाएका छन् लेखक दियालीले । यसो गर्नाले, आम नेपालीमा व्याप्त रहेको विभेद रुढीवादी हो र मानवतामा यसको कुनै औचित्य छैन, यसलाई तोड्नु आवश्यक छ भनी सिङ्गो नेपाली समाजमा न्यायिक उद्घोष गरेका छन् । कथाको सुरुमै छोडिएकी पात्र रमालाई वियोगान्त उत्वेगको चरम अवस्थामा वापस ल्याएर मूल पात्र गङ्गालाई विशेष सहयोग र सहानुभूति दिलाउन लगाएकाले पात्रलाई लत्याउने आक्षेप गलत प्रमाणित पनि हुँदछ ।
९) भौगोलिक्ता:
भौगोलिक्ताको आधारमा यस उपन्यासको कथावस्तु नेपालको पथरी र बेलडाँगी अवस्थित भूटानी शरणार्थी शिविरको सेरोफेरोमा केन्द्रित रहेको पाइएतापनि अन्तमा अमेरिकाको सियाटलामा आएर कथा टुङ्गिनु, सुरुमा फ्ल्यास ब्याकको रूपमा भूटानको दागाना, गेलेफु, नेपालको बागलुङ र भारतको सिल्गडीदेखि भेलोरसम्म फैलिएको छ । यसरी भूगोल फैलिनुको मुख्य कारण पात्रहरूको विचरण नै रहिआएको छ ।
१०) कम्जोरीहरु:
लेखक रमेश दियाली नयाँ स्रष्टा हुन् र यो उनको पहिलो आख्यान कृतिपनि हो । सरल लेखकी, शुद्ध भाषाशैली, छोटा र छरिता अनि स्पष्ट वाक्यहरूको संयोजनले र रोचकिलो प्रस्तुतिले उनी नयाँ हुन् भन्ने भान पटक्कै हुँदैन तथापि केही कमिकम्जोरीहरु भने अवश्य छन् । यी कम्जोरीहरुलाई सँगालेर जाने हो भने आउँदा दिनहरूमा रमेश दियाली भूटानी नेपाली साहित्यको आख्यान क्षेत्रमा एक परिचित नाम हुनेछ भनी अनुमान सहजै गर्न सकिन्छ । ती कम्जोरीहरुलाई यहाँ बुँदागत रूपमा यसरी हेर्न सकिन्छ ।
क) केही ठोस भौगोलिक स्थानहरूको नाममा फरक भएको देखिन्छ । जस्तै, टोङ्सालाई वोङ्सा, ललाई खोलालाई लैला खोला, तक्लाई खोलालाई तगला खोला, मानस खोलालाई माओ खोला लेखिएको छ । सायद यो भाषा सम्पादनमा गैर भूटानी भएकाले यो छुटेको हुनसक्छ या त लेखक बाल्यकालमै शरणार्थी बन्नु परेकाले भूटानको खोलानाला र स्थानहरूको पूर्ण ज्ञान नभएको हुनसक्छ ।
ख) पात्रहरूलाई लेखकले मनखुशी प्रयोग गरेका छन् र आफ्नो डायलोग बोलाइएपछि त्यतिकै छोडी दिएका छन् । जस्तै, मगर्नी काकी । प्राय हरेक दु:खमा साथ दिने मगर्नी काकी र काकालाई गङ्गाको बाबु बितेपछि त्यतिकै छोडिदिएकाछन् । सधैँ किचकिच गर्ने सासू ससुरा गङ्गाको लोग्ने बिरामी भएर मृत भए पश्चात् कतै देखा परेका छैनन् । छोरो बितेर गएपनि बुहारी घरमा हुँदाहुँदै कतै कुनै सम्वादमा देखिएका छैनन् । तेस्रो मुलुक पुनर्स्थापना हुने प्रसङ्गमा कैयौँको घर-परिवारमा, आफन्तमा वैचारिक मतभेद, पारिवारिक कलह र छिन्नभिन्नसम्म भएको तथ्य प्रशस्त पाइएतापनि यस परिवारमा घर सल्लाह समेत भएको देखिएन । सम्धीको सत्गतीमा मलामी गएको देखिएको छैन र अन्त्यष्ठीको पुरै तेर्हौं दिनसम्म नै सहभागी भएको उल्लेख छैन ।
ग) आफ्नो बाबु बितेको दुखद अवस्थामापनि कसैले साथ दिएको देखिँदैन । यहाँसम्म कि दमकदेखि डाँस खोलासम्म पैदल हिँडेर गएको पाइन्छ । आफ्ना-आफन्त, छर-छिमेकी साथी-सङ्गी कसैलेपनि यस्तो विपतको अवस्थामा साथ दिन सक्थे । काम गर्न जाने एक व्यक्तिले दमकसम्म त लगी दिन्छन् तर त्यहाँबाट हिँडेर गएको कुरा उल्लेख छ ।
घ) आई० ओ० एमले पुनर्वास प्रस्थान गराउँदा धुलाबारीबाट हवाई यात्रा सुरु भएको पाइन्छ तर वास्तवमा एयरपोर्ट धुलाबारीमा नभइ चन्द्रगढीमा मात्र छ र प्रतेकको हावाई यात्रा चन्द्रगढीबाट नै आरम्भ भएको हो ।
ङ) बाबुको लास उठाउँदा छोरी आउन्जेलसम्म पनि नपर्खिएको घटना उल्लेख छ तर प्रायजसो अवस्थामा नजिकै रहेका छोरा-छोरी नआउन्जेल पर्खिने चलन हाम्रो भूटानी समाजमा व्याप्त छ ।
११) निष्कर्ष:
केही मसिना तर सुधार्नु आवश्यक कम्जोरीहरुका बाबजुद शरणार्थी जीवनभित्रका विसङ्गतिहरू र दुर्बल पक्षहरूलाई उजागर गर्दै एउटा सरल सामाजिक कथावस्तुलाई पस्किने जुन साहस उपन्यासकार दियालीले गरेका छन् त्यो एकदमै प्रशंसनीय छ र सफलपनि भएका छन्| । भूटानी नेपाली साहित्यमा ‘छाप्रो न० ५५’ को आगमनले विधागत रूपमा भूटानी नेपाली साहित्य सृजनाले पूर्णता पाउँदै छ भन्ने यथार्थ समस्त भूटानी स्रष्टाहरूमा पैदा गराएको छ र यसै क्रममा सम्पूर्ण भूटानी स्रष्टाहरु अघि बढ्दै गएमा एकदिन अवश्य अन्तर्राष्ट्रिय स्तरमा मूलधार नेपाली साहित्यमा भूटानी नेपाली साहित्य पनि दाँजिन सक्छ भन्ने कुरामा सन्देह नरहला । सरल भाषाशैली र रोचक प्रस्तुतिले गर्दा उपन्यासबाट पाठकको ध्यान पटक्कै हट्ने छैन । सुरुमा वियोगान्त देखिए पनि अन्तमा संयोगान्त भएर टुङ्गिन्छ उपन्यास । निम्न तहको कष्टकर जीवन शैलीलाई बिसौँ वर्षसम्म शरणार्थीहरूले कसरी यापन गरे भन्ने एउटा जिउँदो दस्ताबेजको रूपमा उभिएको छ यो उपन्यास ‘छाप्रो न० ५५’। शरणार्थी जीवनभित्रको सकसलाई सामाजिक दृष्टिकोणबाट सफल चित्रण गरिएकोछ र रमेश दियालीले आफूलाई एक कुशल र सक्षम उपन्यासकारका रुपमा उभ्याएका छन् ।
सन्दर्भ सामाग्री:
- दाहाल, जे.एन् (२०१९, जनवरी ६). पथरीदेखि अमेरिकासम्म. भूटनिजलिट्रेचरडटकम https://www.bhutaneseliterature.com/ बाट प्राप्त
- दाहाल, शिवलाल (२०१३). अलबिदा बेलडाँगी (प्रथम संस्करण). काठमाडौँ: डिस्कोर्स प्रकाशन