छिचिमिराहरू…

जान्दा–जान्दै कीरा
पखेटा पलाएपछि
घमण्ड भरिन्छ,
अनि आँट बटुल्छ,
आकाश छोप्ने मनोबल
पृथ्वी ढाक्ने झोंक
यस्तो अहम भरिए पछि…
हावा बटुलेर मुठ्ठी राख्छु
बिचार उमालेर लावा पोख्छु भन्दै
हावा उछिन्ने आँट लिएर
लावा पोख्ने विचार उमालेर
लाखौंको संख्यामा
पृथ्वी छोड्न उँभो लाग्छन्
छिचिमिराहरू….
उज्यालो देख्ने वित्तिकै
बत्तीलाई घेर्न थाल्छन्
त्यसैमा संसार घुमेको भान हुन्छ…….
केही मिनट नवित्दै
हावासंग ठोकिनु पर्छ,
वातावरणसंग जुझ्नु पर्छ,
विचरा ती छिचिमिराहरू…
परिस्थितिबस हार खाएर
एका–एक पखेंटा खस्न थाल्छन्
नाङ्गै हुन थाल्छन्
मुन्टो फर्काएर शरीर हेर्छन्
आफू आफै नाङ्गै भइसकेको देख्छन्,
अनि
विगत सम्झेर लजाउँदै
विचरा ! ती छिचिमिराहरू
नाङ्गै भूइँमा लुरूलुरू हिँड्छन् ।