छोरीलाई चिठी

रमेश दियाली
ओहायो, अमेरिका

प्यारी छोरी,
तिमी सानी थियौ, तिम्री ममीले मेरी छोरीलाई कसैको आँखा नलागोस् भनी कालो गाजलको टिका लगाइदिन्थिन् । म पर बसेर हेरी रहन्थे। मुस्कान छैन मेरो ओठमा र पनि तिम्रो तस्बिर हेरेर मुस्कुराएर बाचेको छु। पिडाले जले पनि तिमीलाई सम्झेर तिम्रो तस्बिर हेर्दा सबै भुल्छु। तिमी नाचेको र हासेको भिडियो हेर्दा धेरै मिस गर्छु। तिमीलाई लाग्ला, Dady ले कहिल्यै माया गर्नु हुन्न भनेर , कसैले तिम्रो बाल मस्तिष्कमा म प्रतिको घुँडा भरिदेलान् तर त्यो तिम्रो दोष होइन। तिमी संसारमा सबै भन्दा सुन्दर छौ। मलाई डर छ, कतै तिमी हुर्किँदै गरेको वातावरणले तिमी भित्रको शान्त र सुन्दर ठाउँलाई फोहोरै फोहोरले भरिदिन्छ कि भनेर। मैले मेरो अनगन्ती रहरहरू मुटुमा उम्रेर फक्रन नपाई , पीडा र असफलताको बोझले थिचेता पनि प्रत्येक मुटुको धड्कनमा तिम्रो तोते बोलीलाई कैद गरिराखेको छु। तिमीले फेर्ने सास मेरो मुटुमा आएर धड्किन्छ अनि थाहा छ! भित्तामा सजाई राखेको तिम्रो तस्बिर हेर्दै कुरा गर्छु। एक रात तिमीलाई सम्झेर सुतेको थिए , तिमीसँग खुब मज्जाले कुरा गर्दै गर्दा फुस्स निदाएछु। तिमी आयौ मेरो वरिपरि, हाँस्दै रमायौ र  भन्यौ ” Dady, घोडा हुनु न भन्दा म तिमी भन्दा सानो भएर घोडा बने र तिमी म माथि चढ्यौ । म घोडा झैँ कराउँदा तिमी खुब हाँस्यौ र म पनि तिमीसँगै हाँस्दै थिए.., बिउँझिँदा तिमी थिएनौ। अब तिमीलाई सम्झेर सुते भने, कहिल्यै बिउँझिदिन। तिमी सँग बिताएको २ वर्ष मेरो लागि जीवन र जगत् सँग गाँसिएका छ। तिम्रो पहिलो  र दोस्रो वर्षको birthday ले जीवनमा रङ्ग र उमङ्गका साथै तिम्रो Dady हुनुको कर्तव्य अझ थपिदिएको थियो। candle फुकेर होइन candle बालेर उत्साह र सृजनशीलताका लागि ईश्वर सँग सयौँ जन्म तिम्रै Dady हुन पाऊँ भनी प्रार्थना गरेको छु। आज, म तिमी भन्दा कोसौँ टाढा छु भौतिक रूपमा तर मेरो आत्मा तिमी सँगै छ र रही रहने छ। समय सँगसँगै आकाशको जुन सरह तिमी हुर्किँदै छौ। आज July 18th , तिम्रो birthday। सन्सारमा कतै स्वर्ग छ त ,त्यो तिम्रो अबोध मुस्कानमा छ।प्राकृतिक सुन्दरताले सिँगारिएको सगरमाथा मुसुक्क हासेको झैँ सधैँ भरि मुस्कुराई रहनु।यहाँ परिश्रम नगर्ने अनि भाग्यलाई दोष दिने मान्छेहरू धेरै भेटिन्छन् तर तिनीहरूलाई यो कुरा थाहा छैन, परिश्रमले भाग्य जन्माउँछ भनेर। तिमीले भाग्या भन्दा पनि परिश्रममा विश्वास गर्नु। तिम्रो उद्देश्य र भविष्य तिमी भित्रै छ। पसलमा बेच्न राखेको गुडिया छाने झैँ सपना कहिल्यै नछान्नु। त्यो महान् हो, जसले तिम्रो गल्तीहरूलाई सुधार्न सहयोग गर्छ, त्यो नीच हो जसले तिम्रो स-साना गल्तीहरूलाई पनि दुनियाँका सामु तमासा बनाएर मजाक उडाउँछ ।बाटो हिँड्दा झुकिएर खुट्टा ठोकिदा  सरी भनी माफी माग्नुलाई नै शिक्षित र संस्कारी ठानिन्छ र तिमी बाट पनि यिनै कुराहरू आशा गरेको छु । सानालाई माया र ठुलालाई इज्जत गर्दै जीवनको गोरेटोमा अघि बढ्दा एक कदम पछि हेर्दै  अघि बढ्नु । अगाडिबाट भन्दा पछाडिबाट छुरा रोप्नेहरूको कमी  छैन। संसारको सबै भन्दा महत्त्वपूर्ण औषधि नै आमा को न्यानो अँगालो हो चाहे दुःखमा होस सुखमा होस। आमाको काखमा बस्न पाउनु स्वर्ग हो। गलत नियत थिएन , बाध्यता र विवश भए परिवेश बदल्न। म सधैँ कामना गर्छु हर रात म झैँ अनिदो बस्नु नपरोस्।
अन्तमा, म भित्र एउटा सपना छ, तिमी दुलही भएर सजिएको बेला म खुसीले कराउने छु अनि म संसारलाई भन्ने छु “मेरो छोरी नानी Rose”। तिम्रो Dady सधैँ तिम्रो खुसीमा बाचेको छ। ” MANY MANY HAPPY RETURNS OF THE DAY “

“तिम्रो Dady “

Leave a Reply

Your email address will not be published. Required fields are marked *