छोरी देवी बुहारी दासी
भक्त घिमिरे-पेन्सिलभेनिया/अमेरिका
स्त्रीजातिको रूपमा पुजिएको भए माइतमा हुञ्जेल पुजिएकी छोरी ससुराली पुगेकै दिनदेखि दासी हुन्छे । लोग्ने र लोग्नेपटिका परिवारका हरेक सदस्यका पाउ ढोग्ने र पुज्ने अभिभारा उसैलाई आइलाग्छ । हिँजोसम्म लक्ष्मी बनेर बसेकी छोरी आजदेखि कमारी हुन्छे । बेहुलो भएर ससुराली आएको दिन विष्णुको अवतार ठानिने ज्वाइँ पनि आफ्नो घरतर्फ पुगेपछि बाबुको लागि ‘धन्धुकारी’ साबित हुन्छ र आमाको लागि ‘जोई टिंग्रे’ बन्दछ । यहाँसम्म कि छोरीका बाबु-आमाले ज्वाइँका बाबु-आमालाई पनि पाउमै ढोग्नुपर्ने चलन अहिलेसम्म कायम छ । यस तथ्यले लैंगिक दासताको पराकाष्ठा बाहेक केही देखाउँदैन ।
आज हामी हिन्दू संस्कृति, अझ विशेषरूपमा ब्राह्मण संस्कारमा छोरीलाई देवीका रुपमा किन पुजिन्छ भनेर चर्चा गर्न लागिरहेका छौं । यस सरोकारमा सबैभन्दा पहिले हिन्दू संस्कृतिको उत्पतिबारे प्राचीन पृष्ठभूमिमा पुग्नुपर्ने हुन्छ । अझ बढी भारतको ऐतिहासिक पृष्ठभूमि केलाउनुपर्ने हुन्छ । त्यसमाथि पनि उत्तर भारत र दक्षिण भारतको सामाजिक पृष्ठभूमि र ऐतिहासिक सामाजिक मान्यताहरुको विवेचना पनि गर्नैपर्ने हुन्छ ।
यहाँहरुलाई लाक्षणिक मात्र भए पनि उत्तर भारत र दक्षिण भारतबीच सांस्कृतिक बेमेल छ भन्ने कुरा ज्ञात होला । यसै पनि उत्तरतिरका ब्राह्मणहरुले दक्षिणतिरकाहरुलाई असल हिन्दू मान्दैनन् । उत्तर भारतमा मानिने संस्कारित शास्त्रीय नियमहरुमा, अवधारणाहरुमै फरक मान्यता छ । कान्यकुब्जका ब्राह्मणहरुले आफूलाई सबैभन्दा शुद्ध, विद्वान् र उच्चश्रेणीका ब्राह्मण मान्दथे । उत्तरी क्षेत्रमा वैदिक ब्राह्मणहरुले आफैंलाई आर्य भन्थे भने दक्षिणमा द्रविडहरु थिए भन्ने इतिहास धेरैले पढेकै हुनुपर्छ । आर्य र द्रविडहरुबीचमा प्राचीनकालदेखि आजसम्म सांस्कृतिक समीकरण हुनसकेको छैन । उदाहरणका लागि यहाँहरुले पनि सुन्नुभएको हुनुपर्छ, मुम्बईतिर बाल ठाकरेको राजनीतिक दबदबा हुँदाबखत उत्तर भारतका मानिसहरुलाई सडकमै कुटिन्थ्यो । तमिलनाडुतिरका ब्राह्मणहरु अझै पनि उत्तर-भारतीहरुलाई दुष्ट मान्दछन् । यतिसम्मकि उनीहरु उत्तरीहरुले मान्ने वेदहरुको सट्टा प्रबन्ध ग्रन्थहरुलाई आफ्नो आस्थाकेन्द्र मान्दछन् ।
यस्तो किन भयो भन्ने जिज्ञासु सन्दर्भमा केही पौराणिक कथाहरु उल्लेख गर्नुपर्ने हुन्छ ।
शास्त्रीय कथाको एउटा प्रसंग अनुसार रघुवंशका पूर्वज राजा इक्ष्वाकुका पाँचौ पुत्र दण्डक राजकुलका लागि अराजक निस्किए । दण्डकले राजपरम्पराका मूल्यमान्यतालाई बेवास्ता गरेकोमा क्रोधित भएका राजा पिता इक्ष्वाकुले उनलाई देशत्यागको आदेश दिए । दण्डक तत्कालीन साकेत (अयोध्या) राज्यबाट निष्कासित भएका थिए । देशनिकालापछि उनी दक्षिण हानिए र आफ्नो छुट्टै राज्य स्थापना गरे । उनको दरबारमा भार्गव ऋषि राजपुरोहित थिए । राजपुरोहितकी छोरी अजाप्रति मोहित भएर बलात्कार गरेको अभियोगमा दण्डकलाई राजपद खारेज गरी फेरि देशनिकाला गरियो ।
दण्डकलाई रामायणमा राक्षसका रुपमा बयान गरिएको छ । विन्ध्याचल पर्वतभन्दा दक्षिणमा, छत्तिसगढ, उडिस्सा, तेलङ्गना र आन्ध्रप्रदेश जस्ता वर्तमान भारतका राज्यहरुलाई छुँदै गोदावरी नदीसम्म फैलिएको यो विशाल वन्यक्षेत्र नै दण्डकले बसालेको एतिहासिक प्राचीन राज्य थियो । जसलाई उनकै नामबाट दण्डकारण्य भनियो । वाल्मिकी रामायणमा राम-लक्ष्मणले वनवासको प्रारम्भिक समय दक्षिण भारतको दण्डकारण्य वनमा बिताए भन्ने उल्लेख छ । त्यस क्षेत्रमा अहिले गोंड प्रजातिका आदिवासीहरुको बसोवास छ । गोंडहरु आफूलाई असुर वंशजका सन्तान बताउँछन् । तर, अयोध्याका राजा राम र प्रवृत्तिले राक्षस कहलाएका दण्डक एकै सूर्यवंशका सन्तान थिए ।
कथाको अर्को मोडमा राजा मनुले आफ्नी पुत्री इलालाई चन्द्रका पुत्र बुधसित बिहे गरिदिएका थिए । चन्द्रपुत्र बुधले गोदावरी नदी किनारमा बसालेको नयाँ राज्य ‘प्रतिस्ठान’ नामले परिचित थियो जो आज अपभ्रंश भई महाराष्ट्र राज्यको एउटा गाउँको रूपमा पैठान नामले चिनिन्छ । यिनै चन्द्रद्वारा फैलिएको वंशलाई चन्द्रवंशी भनिएको छ भने महाभारत नायक कृष्ण पनि चन्द्रवंशी नै थिए ।
समय क्रममा बुधका पुत्र पुरुरवा भए । उनका पुत्र आयु भए । आयुका पुत्र नहुश र नहुशका पुत्र ययाति भए । ययातिका पुत्रहरु द्रुह्यु, अनु, पुरु, तुर्वसु र यदु भए । तुर्वसुका वंशले बसाएको बलुचिस्तान राज्य वर्तमान पाकिस्तानभित्र पर्दछ । तर, पछि यो वंश वर्तमान भारतको दक्षिणतर्फ लागेर आन्ध्र, द्रविड, चोला, पाण्डेय र केरल राज्यहरु स्थापना गरेको इतिहासका विभिन्न प्रसंगहरुमा उल्लेख छ । उसैगरी द्रुह्युका वंशजले बसाएको राज्य अफ्गानिस्तान हो भने अनुका वंशले वर्तमान भारतका सुदुर पश्चिम र सुदुरपूर्व क्षेत्रमा राज्य चलाएका थिए भनिन्छ । पुरुबाट फैलिएको कुरुवंश र यदुका सन्तान यादवहरुले चाहिं वर्तमान भारतको सम्पूर्ण उत्तरी क्षेत्रमा आ-आफ्ना राज्य विस्तार गरेका थिए ।
यसरी समग्रमा विन्ध्याचल पर्वतभन्दा माथि देव, मानव भनिएको समाज अनि विन्ध्याचल तलतिर दैंत्य, दानव, यक्ष, राक्षस वा असुरका रूपमा त्यस समयको समाज बाँडिएको थियो । सुकेतु, सुण्ड, मया, तिमीध्वज, शुम्ब, रावणहरु दक्षिणका राजा थिए भने बाली, सुग्रिव, जटायु, सम्पतिजस्ता स्थानीय रजौटाहरु पनि थिए ।
अतः माथिको ऐतिहासिक पृष्ठभूमि बुझिसकेपछि एवं रीतले विन्ध्याचल दक्षिणमा विकसित मान्यताहरुलाई उत्तरकाहरुले सहजै नलिनु सामान्य भइहाल्यो । यसरी सामान्यतः ‘हिन्दू’ हरुले छोरीलाई पुज्य-सम्मान दिने कुरामा पनि दुइभागमै बाँडिएका छन् ।
कस्मिरी पण्डित कल्हणद्वारा रचित राजतरंगिणी भन्ने पुस्तकको एउटा श्लोकले जनाए अनुसार प्राचीनकालमा विन्ध्याचल पर्वतभन्दा उत्तरतिर पञ्च-गौडीय ब्राह्मणहरु बस्थे अनि विन्ध्याचलनभन्दा दक्षिणतिर चाहिं पञ्चद्रविड ब्राह्मणहरु रहन्थे जसलाई माथि राक्षस वा असुर खलकका रूपमा व्याख्या गरिएको छ ।
कर्णाटकाश्च तैलंगा द्राविडा महाराष्ट्रकाः,
गुर्जराश्चेति पञ्चैव द्राविडा विन्ध्यदक्षिणे ।।
सारस्वताः कान्यकुब्जा गौडा उत्कलमैथिलाः,
पञ्चगौडा इति ख्याता विन्ध्स्योत्तरवासिनः ।। (राजतरंगिणी)
अर्थः विन्ध्याचल पर्वतभन्दा उत्तर पञ्जाब र सिन्धप्रान्तका सरस्वत ब्राह्मण, उत्तरप्रदेशका कान्यकुब्जी ब्राह्मण, बंगालका गौडीय ब्राह्मण, उडिस्साका उत्कल ब्राह्मण र बिहारलगायत नेपाल वरिपरिका मैथिली ब्राह्मणहरुलाई पञ्चगौडीय मानिएको छ । यसरी नै विन्ध्याचल पर्वतभन्दा दक्षिण, कर्णाटक (कन्नड), तेलुगु (आन्ध्रप्रदेश), द्रविड (तमिल र केरला), महाराष्ट्र र गुजरातमा रहेका ब्राह्मणहरुलाई पञ्चद्रविड मानिन्छ ।
कल्हणले चाहिं विन्ध्याचल तलतिर बस्नेहरुलाई सोझै राक्षस नभनेर द्रविडमात्र भनेका छन् ।
यसरी विन्धायचल उत्तरतिर बस्नेहरुको सामाजिक नियम एक खाले र दक्षिणतिर बस्नेहरुको अर्को खाले सामाजिक नियम भएको लाक्षणिक अर्थ राजतरंगिणीले उल्लेख गरेको छ । सो अनुसार, पञ्चगौडीयहरुले छोरीलाई लक्ष्मी मान्छन् र उनीहरुका आराध्यदेव विष्णुकी अर्धाङ्गिणी भएकाले लक्ष्मीका पाउमा ढोग्छन् । विन्ध्याचल पर्वत तलतिरका पञ्चद्रविड ब्राह्मणहरु छोरीलाई सीता, सरस्वती र सावित्रीका रूपमा मान्छन् र सीताले राजा जनकलाई ढोगेको, सरस्वतीले ब्रह्माजीलाई, सावित्रीले पिता अश्वपतिलाई ढोगेको प्रसंग जोडेर सोही अनुरुप गर्दछन् । यद्यपि, कल्हणको राजतरंगणी लेखिएको अवधि एघारौं शताब्दि हो । त्यसभन्दा अघिको चलन कस्तो थियो भन्ने प्रष्ट उल्लेख छैन । राजतरंगिणीमा छोरीलाई देवीको रुप दिने समुदायहरुको प्रसंगमा पनि धेरै अन्योल छन् ।
धेरै अन्यौल कसरी भने विष्णुलाई आराध्यदेव मानेर उनकी अर्धांगिणी लक्ष्मीलाई सिर्जना स्रोत अर्थात जगतजननी मान्ने परम्परा त दक्षिण भारतबाट उत्तरतिर पसेको हो । उत्तरतिर खासगरी शिवलाई आराध्यदेव र पार्वतीलाई आदिशक्ति जननी मान्ने परम्परा स्थापित थियो । यतिसम्म कि सीता-रामको वर्णनमा रामले सधैं शिव-शक्तिको आराधना गरेका छन् । विष्णु-लक्ष्मी, राधा-कृष्ण आदिलाई आस्थाको केन्द्रमा राख्ने सम्प्रदायहरु दक्षिण भारतबाट धेरै पछिल्लो समयतिर मात्रै उत्तरतिर पसेको हो ।
अन्यौलकै अर्को प्रसंगः सीताको कथा जनकपुरसित सम्बन्धित छ अनि जनकपुरीहरु मैथिली ब्राह्मण हुन् । राजतरंगिणीको वर्गीकरण अनुसार मैथिलीहरु पञ्चगौडीय ब्राह्मण भए । तर, छोरीलाई सीताको आदर्शमा राखेर उनले राजा जनकलाई ढोगेजस्तो छोरीले बाबु-आमालाई ढोग्नुपर्ने परम्परा दक्षिणका पञ्चद्रविडहरुमा कसरी गयो ? यो प्रश्नको समाधान राजतरंगिणीमा छैन ।
भारतको मध्यवर्ती पूर्वी क्षेत्र, अर्थात बंगालतिर पनि छोरीले आफ्ना अभिभावकहरुलाई ढोगेर आशीर्वाद लिने चलन रहेको लेखिका मनिशा रोयले पुष्टि गरेकी छन् । उनको पुस्तक ‘बंगाली नारी’ (Bengali Women) को पृष्ठसंख्या ३३ मा प्रष्ट लेखिएको छ कि “छोरीले बाबु-आमाका पाउमा ढोग्छन् र बाबु-आमाले सीताजस्ती मर्यादित बन्नु, सावित्रीजस्ती तपस्वीनी बन्नु भनेर आशीर्वाद दिन्छन् ।” मनिशा रोयको यो कथनले कल्हणको राजतरंगिणीलाई खारेज गर्छ किनकि बंगाल दक्षिण भारतमा पर्दैन । बंगाल विन्ध्याचलभन्दा पूर्वोत्तर भागमा पर्दछ । राजतरंगिणीमा कल्हण स्वयंले पनि बंगालका ब्राह्मणहरुलाई उत्तरी पञ्चगौडीय वर्गमा समेटेका छन् ।
सांस्कृतिक मान्यताहरु, चलनहरु कुनै भौगोलिक सीमाभित्र नियन्त्रित हुँदैनन् –मलाई राम्रो ज्ञान छ । पूर्वको संस्कृति पश्चिममा गयो होला, उत्तरको दक्षिण र दक्षिणको उत्तरमा आएर छासमिस भयो-यो कुनै मान्नै नसकिने कुरो भएन । छोरीलाई पुज्ने चलन पनि यसरी नै यताबाट उता, उताबाट कता पुग्यो-मान्न सकिन्छ । तर, केही कुराहरु यस्ता हुन्छन् जहाँ लेखकपक्षले आफूलाई शुद्ध, धर्मात्मा, सभ्य, शालीन, सुशील, शिक्षित, वीर देखाउनका लागि आफूसँगैका अरु केहीलाई तल्लो तहमा राखेर गणना गर्छन्-गराउँछन् । कल्हणको राजतरंगिणीले त्यसरी नै नजर-अन्दाज गरेको हो कि पहाडे संस्कृति मान्ने नेपाली हिन्दूहरुको यथार्थ नै बिटुलो हो भनेर खोज्नु अध्ययनको गतिलो विषय बनेको छ ।
राजतरंगिणीमा रहेको त्यो उपेक्षाको कुरो के हो भने त्यसमा पहाडका नेपाली ब्राह्मणहरुको हिसाब छैन । यसै पनि मनुस्मृतिका केही स्थानमा पहाडका ब्राह्मणहरु देवयज्ञविरोधी भएकाले व्रात्य हुने उल्लेख हुनु र राजतरंगिणीमा नेपालतिरका ब्राह्मणहरुबारे स्पष्ट उल्लेख नहुनुले नेपाली पृष्ठभूमिमा हुर्किएको ब्राह्मण संस्कृति-परम्परामा यथेष्ट असामञ्जस्य रहनुको रहस्यतर्फ सङ्केत गर्दछ । व्रात्य शब्दमाथि केही पुस्तकहरुमा बडो महानता दर्शाइएको छ तर, अधिकांश ग्रन्थहरुमा यो शब्दले फटाइँ गर्ने, स्थापित मूल्य-मान्यताविरुद्ध ध्वंश मच्चाउने, त्यज्य, उपेक्षा गर्नलायक अथवा अपराधीको रूपमा प्रस्तुत गरेका छन् । अतः यहाँनेर व्रात्य (नेपाली पृष्ठभूमिका हिन्दू) हरुले काँशी र कन्याकुमारीमा चलेका कथित सभ्य, आर्यहिन्दूहरुको चलन कसरी मान्नथाले ? यो प्रश्नको सम्बोधन राजतरंगिणीमा स्पष्ट छैन ।
अहिले बनेका नेपाली ब्राह्मणहरुमध्ये सीमित संख्याका केही भारतको काँशी, गंगातटतिरबाट नेपाल पसेका पुरोहितहरु अनि अधिकांशचाहिं प्राचीन खस साम्राज्यका कुल, प्रकृति र मष्टोपूजक प्रजातिबाट संक्रमित भएका वैदिक-ब्राह्मणहरु हुन् भन्ने विभिन्न नयाँ अनुसन्धानहरुले पनि देखाउँदछन् । भारतको हरियाणामा आफ्नो प्राचीन मूलथलो बताउने गौड ब्राह्मणहरुको एउटा समूहले आफ्नो पुर्खा बंगालबाट त्यता पसेको बताउँछ । गौड ब्राह्मणहरुले आफ्नो वंशजलाई हिन्दू परम्पराले सम्पूर्ण मानव सृष्टिको मूलस्रोत दाबी गरेका सत्पऋषिका सन्तान बताउने गरेका छन् । यी तमाम कुराले के संकेत गर्दछन् भने ब्राह्मणहरु एकै ठाउँमा उहिल्यैदेखि बस्तैन’थे; डुली रहन्थे ।
यति सबै कुरा बुझिसकेपछि छोरीलाई ब्राह्मणपरम्परा अनुसार देवी, सरस्वती, पार्वती, लक्ष्मी, उमा, भगवती जस्ता आदिशक्ति जननीका रूपमा मानिने चलन भारतकै कुनै इलाकाबाट हिमालयतिर पस्यो र पहाडे समाजमा पनि छोरीका पाउमा ढोग्ने-पुज्ने परम्परा बस्यो भनेर मान्न सकिन्छ । तर, देवी भएकै कारण छोरीले ठूला-बढालाई पाउमा ढोगेर आशीर्वाद लिन नपाउने समाजले राखेको नियम सहजरुपमा मान्न सकिँदैन । यो नियम अत्यन्त विरोधाभासी छ । वास्तवमा छोरी वा स्त्रीजातिलाई देवीका रूपमा पुजिएको हो कि, उनको कुमारीत्वलाई पुजिएको हो कि नाता-सम्बन्ध र जातीय वर्चस्वलाई पुजिएको हो भन्ने स्पष्ट छैन ।
स्त्रीजातिको रूपमा पुजिएको भए माइतमा हुञ्जेल पुजिएकी छोरी ससुराली पुगेकै दिनदेखि दासी हुन्छे । लोग्ने र लोग्नेपटिका परिवारका हरेक सदस्यका पाउ ढोग्ने र पुज्ने अभिभारा उसैलाई आइलाग्छ । हिँजोसम्म लक्ष्मी बनेर बसेकी छोरी आजदेखि कमारी हुन्छे । बेहुलो भएर ससुराली आएको दिन विष्णुको अवतार ठानिने ज्वाइँ पनि आफ्नो घरतर्फ पुगेपछि बाबुको लागि ‘धन्धुकारी’ साबित हुन्छ र आमाको लागि ‘जोई टिंग्रे’ बन्दछ । यहाँसम्म कि छोरीका बाबु-आमाले ज्वाइँका बाबु-आमालाई पनि पाउमै ढोग्नुपर्ने चलन अहिलेसम्म कायम छ । यस तथ्यले लैंगिक दासताको पराकाष्ठा बाहेक केही देखाउँदैन ।
यस परम्परामा जातीय वर्चस्वको सवाल पनि गाँसिएको छ । जब परम्परागत स्वजातीय वंशजको ज्वाइँलाई छोरी दिइन्छ तबमात्र ससुरालीले उसलाई विष्णुको अवतार मान्दछन् । यदि ज्वाइँ वर्णाश्रमको तहबाट ससुरालीभन्दा तल परेको खण्डमा त्यो ‘ब्रह्म विवाह’ हुँदैन र सासू-ससुराले उसलाई पाउमा ढोग्दैनन् । त्यतिबेला ज्वाइँ विष्णु नभएर गन्धर्व, किन्नर, यक्ष वा राक्षस जे पनि बन्न पुग्दछ र छोरी अपवित्र कुल्टा, कुलनासिनी हुन्छे । यसो हुनाले विशेष परिस्थितिमा मात्र छोरीलाई लक्ष्मी मानेर ज्वाइँलाई विष्णु ठान्ने यो चलन दरबारियाहरुको शाखरक्षाको बिँडो र कुलिन घरानाको रईसी संस्कारभन्दा बढ्ता महत्व राख्ने परम्परा जस्तो लाग्दैन ।
त्यसो त, छोरीलाई लक्ष्मीको रूपमा सम्मान दिने आदर्श आफैंमा नराम्रो भने होइन । यद्यपि, संस्कार भनेको द्विपिधाग्रस्त मापदण्डको हुनु हुँदैन । छोरीहरु लक्ष्मी भए बुहारीहरु पनि लक्ष्मी नै हुन् । ज्वाइँहरु विष्णुका अवतार भए छोराहरु पनि विष्णुकै अवतार हुन् । अनि यसभित्र जातीय वंशजमा आधारित वर्चस्व पनि रहनु हुँदैन । उस्तै प्रजनन् प्रक्रियाबाट जन्मिएका सन्तान, छोरा र छोरीप्रतिको व्यवहार समान हुनु आवश्यक छ । जतिसुकै नाता-कुटुम्ब फेरिए पनि छोरीहरु बाबु-आमाका लागि सधैं पवित्र हुन्छन् । त्यसर्थ तिनका सहयात्री पुरुषहरु पनि सधैं हितकर भइरहनु जरुरी छ । छोरी र ज्वाइँको सहयात्रा गडबड भएमा ज्वाइँ र ज्वाइँपक्षका नातेदारहरुलाई मात्र दोषी नठहऱ्याएर छोरीका कमजोरीहरु पनि केलाइनुपर्छ । छोरा र बुहारीको सहयात्रा बिग्रिँदा बुहारीमात्र अपराधी, राक्षसनी हुने तर, छोरो सधैं ‘विचरो’ भइरहने सोच समाजको अस्तित्व निरन्तरताकै लागि घातक छ ।
गुरुपूर्णिमाको शुभावसरमा आजभन्दा पहिले शिक्षा दिने, दीक्षा दिने, बाटो देखाउने, बाटै भत्काएर नयाँ बाटो खन्न प्रेरणा दिने, सभ्यता, शालीनता, जालझेल, षड्यन्त्र सबैखाले कुरा सिकाउने गुरुहरुप्रति नमनः गर्दै अझै एकजना नयाँ गुरु थप्न मन छ । लौ न कोही गुरुले यो माथिको गुत्थी सुल्झाउने प्रयत्नमा अलिकति प्रकाश पारुन् ! हामी कैयौं अल्पज्ञानीहरुको कल्याण हुनेछ अनि तपाईं गुरुहरु धन्यवादका पात्र बन्नुहुनेछ ।
सन्दर्भ सौजन्यः
* History of Ancient India-JP Mittal_ Surya Bamsi and Chandra Bamsi–Page 338
* शोध सञ्चयन, ISSN 2249-9180-Page 1 (Vol-3 Issue-1, 15 Jan-2012)
* Bengali Women–By Manisha Roy –Page Number 33