जनातीले हजुरबाबा देख्नुपर्छ
कृति परिचय
भक्त घिमिरेः पेन्सिलभेनिया/अमेरिका
विधाः निवन्ध
लेखकः कवि, नाटककार, निवन्धकारका रूपमा उदाइरहेका स्रष्टा नैनसिंह सारु मगर
११ औं पृष्ठबाट शुरु भएर ७०औं पृष्ठमा सिद्धिएको यस कृतिमा जम्मा नौवटा निवन्धहरुहरु छन् !
निवन्धहरु-
- पैसा
- काम
- कस्तो मान्छे
- उपदेश
- विवाह अघि गरिने
- शरणार्थी
- प्राणी
- सुरुवाल फाटेको
- आइफोनको आत्माचरित्र
दाम ५ डलर !
कृतिमा साहित्य परिषद-भूटानका अध्यक्ष गंगा लामिटारेले सुभकामना सन्देश लेख्नुभएको छ ।
सबैभन्दा पहिले कृतिको नामबाटै शुरु गरौं । ‘जनातिले हजुरबाबा देख्नुपर्छ’ पुस्तकको नामबाटै स्रष्टा सारुले आफ्नो समाजको ताजा परिस्थितितर्फ औंला उठाएको छन् । हाम्रो (लेखकसहितको) समाजले आज अस्तित्वसंकट भोगिरहेको छ । अघिल्लो पुस्ता र पछिल्लो पुस्ताबीचको अन्तरंग सम्बन्धमा खाडल परेको छ । हजुरबा र नातिका बीचमा संवादशून्यता बढ्दै गएको छ । यसका कारणहरु धेरै छन् । तर, लेखक सारुको अन्तस्करणले यहाँ भनिरहेको छ-नातिले मात्र होइन, जनातिसम्मले आफ्नो पुर्ख्यौलीबारे जानकारी राख्नुपर्छ । पुर्खाहरुको पौरखभित्र भाषा, साहित्य र संस्कृतिका उच्छवासहरु हुन्छन् । धेरै लेखकहरुले पुस्तकभित्र भएको कुनै न कुनै सिर्जना वा शीर्षकलाई आधार मानेर कृतिमा बाहिर नाम राख्ने चलन छ । तर, स्रष्टा सारुको कृतिको न्वारन गराइ अलग ढंगमा आएको छ ।
अब विधागत कुरा गरौं । निवन्धलेखनको अभाव हाम्रो परिधिको लेखनमा थियो । हाम्रो सेरोफेरोमा लेखिने नेपाली साहित्यमा नाटक र निबन्धको जुन अभाव थियो-त्यसको परिपूर्ति गर्ने जमर्को आज लेखक सारुले गरेका छन् ।
संक्षेपमा विषयवस्तुको टिप्पणीतर्फ लाग्ने अनुमति चाहन्छु !
प्रथम निवन्ध ‘पैसा’ मा निवन्धकारले पैसालाई सचेततापूर्वक प्रयोग गरे यसले शक्तिको रूपमा सकारात्मक उन्नतिको काम गर्छ; तर, नकारात्मक सोच भएकाहरुको हातमा पैसा धेरै भएको कारण नै विश्वमा हिंसा, विभेद र अशान्ति चरम हुँदै गएकोमा गुनासो गरेका छन् । पैसा निवन्धभित्र एउटा वाक्यमा भनिएको छ,‘धर्म गर्नेले पनि पहिला आँखा पैसामै लगाउँछन् कर्म गर्नेले पनि उस्तै । लाक्षणिक अर्थ बुझ्न यति नै काफी छ ।
‘काम’ शीर्षकीय उनको निवन्धले काम शब्दलाई कर्मको अर्थ दिँदै कर्मबिना कुनै जीवन सम्भव नहुने दार्शनिक महत्वको व्याख्या गरेको छ । यसरी नै ‘कस्तो मान्छे’ निवन्धले सच्चा मानवता र विश्वबन्धुत्वको सन्देश दिने खोजेको भान हुन्छ ।
‘उपदेश’ शीर्षकीय निवन्धमा म निक्कैबेर घोरिएँ । यसभित्र मूलरूपमा उनले आफू जुन देशमा जन्मिएर खुट्टा टेकेको छ, कर्म गरेर कर्तव्यपालन गरेको छः त्यही देशको भूमि र अस्तित्वका लागि जिउ-ज्यान अर्पेर समर्पित हुनु भन्ने उपदेश दिएका छन् । साथै उनले निवन्धभित्र आफ्नो पुर्ख्यौली विवरण नै पेश गरेर आफ्ना सन्ततिलाई पुर्खाहरुको जन्मथलो पत्तो लाउने उपदेश पनि दिन खोजेका छन् ।
नौ निवन्धहरुको सँगालो उनको यस कृतिमा ‘शरणार्थी’ भन्ने एउटा निवन्ध पनि छ । शरणार्थी भनेको को हो-भन्ने कुरालाई यहाँ विस्तारपूर्वक उनले केलाउन खोजेका छन् । वास्तवमा शरणार्थी भनेको आफ्नो स्वत्व गुमाएर कसैको शरणमा परेको याचक हो भन्ने त सबैलाई थाहा भएका कुरा हो । तर, त्यसभित्रका यावत कथा-क्रमहरु अनेक खाले हुन्छन् । संसारका सबै मानिसहरु एकै कारणले, एकै तरिकाले शरणार्थी बनेका हुँदैनन् ।
शरणार्थी निवन्धको एउटा पात्र म पनि हुँ । मैले त्यहीबेला महसूस गरेको हुँ, एउटा सिंगो मान्छेलाई आफूजस्तै अर्को मान्छेले, ‘ऊ हेर त, त्यो देशबिनाको मान्छे’ भनेर अर्द्धमानवका रूपमा सम्वोधन गरिरहँदा जे अनुभूत हुन्छ, त्यो शब्दमा अभिव्यक्त गर्नै नसकिँदो रहेछ ।
तर अहिले आएर बुझिँदैछ-भोक, रोग, शोक र आर्तनादहरुलाई जीवनका गहना सम्झेर बाँच्नु निक्कै स्वादिलो पनि हुँदो रहेछ । समयको एउटा कालखण्डले दिएको त्यो अनुभव जीवनमा कहिल्यै भुल्न लायक छैन । हामीजस्तै लाखौं, करोडौं जीवनले संसारमा कति त्यस्ता अनुभूति सँगालेका होलान् ? आफ्नै मनले बेलाबेला प्रश्न गर्छ ।
मानिसहरुको बसाइँसराइ एउटा स्वैच्छिक हुन्छ र अर्को बाध्यकारी हुन्छ भन्ने आम भनाइ छ । तर, धेरैवटा अनुसन्धानहरुले देखाएका छन्- ‘कुनै न कुनै बाध्यताबिना मान्छेले आफ्नो थातथलो छोड्ने इच्छा गर्दैन । आफ्नो हित चाहनु संसारका सबै जीवहरुको नैसर्गिक गुण हो । मान्छे पनि जीवनको मूल्यसँग आफ्नो आदर्शको गरिमा राख्न चाहन्छ । त्यो कुरा जब सम्भव नहुने परिस्थिति उसले बुझ्छ, बसाईं सर्नु निर्विकल्प उपाय उसले ठान्छ ।’
अनिकाल, खडेरी, हैंजा, समुद्री आँधी, बाढी, पैह्रो आदिको प्रकोप त प्राकृतिक कारणहरु भए । तर, विस्तारवाद, उपनिवेशवाद, सांस्कृतिक अतिक्रमण, सशस्त्र युद्ध, राजनीतिक वर्चस्वको दमनजस्ता कारणले विस्थापित हुनेहरूको संख्या संसारमा अधिक छ । यी भनेका एउटा शक्तिशाली मान्छेले अर्को निर्बल मान्छेमाथि गरेको चढाइँबाट उत्पन्न हुने नतिजा हुन् । यसरी भन्न सकिन्छ संसारमा जति पनि राष्ट्रविहीन (देशबिनाका) मानिसहरूको संख्या छ, त्यो संख्या निर्माण गर्नमा उनीहरुजस्तै अर्को मान्छे जिम्मेवार छ ।
विभिन्न अध्ययन/अनुसन्धानले देखाए अनुसार मानिसहरूको बसाइँसराइ सबैभन्दा पहिले अफ्रिकाबाट शुरु भएको थियो । आजभन्दा दशलाख वर्ष पहिले होमो इरेक्टस प्रजाति त्यहाँबाट विस्थापित भएको मानिन्छ । दशलाख ५० हजार वर्ष पहिलेदेखि अफ्रिकाको पूर्ण आवादी ओगटेको होमो स्यापियन्स मानव प्रजाति आजभन्दा ७० हजार वर्ष पहिले त्यहाँबाट यूरेसिया, यूरोप, अष्ट्रेलिया, एशिया हुँदै सम्पूर्ण संसारमा फैलिएको थियो भनिन्छ ।
यसरी हाम्रा प्राचीन पुर्खाहरू बद्लिँदो वातावरण, जमीनको प्राकृतिक उतारचढाव, खाद्यको अभाव र आफूभन्दा शक्तिशाली अर्को पक्षको दमन आदि कारणले एक ठाउँबाट अर्को ठाउँ सर्दै थिए । आजभन्दा ८ हजार वर्षअघि भीषण खडेरी र अनिकालका कारण दक्षिण चीनको भूमिबाट चिनियाँहरूको ताइवानको टापुमा बसाइँसराइलाई सोही रूपको उदाहरण मान्न सकिन्छ । सिन्धु उपत्यकाबाट आर्यहरु गंगा किनारतिर सरेको कुरालाई यस्तै घटनाहरुसित जोडिएको छ ।
जुनसुकै कारणले सरेको भए पनि मान्छेले आफू पुगेको नयाँ ठाउँबाट फेरि सर्नु नपरोस् भनेर त्यहाँ हरेक दृष्टिले आफ्नो प्रभाव कायम गर्ने प्रयास गर्छ । त्यस्ता प्रयासमा मान्छेले आफूभन्दा अलग अस्तित्व धान्नेहरूलाई युद्धबाट परास्त गर्नेदेखि भाषा, संस्कृति, संस्कार, जीवनपद्धति सबै चीजमा अतिक्रमण गर्दछ । एकले अर्कोमाथि चढाइँ गर्ने, फेरि शक्तिसञ्चय भएपछि अर्कोले पुरानोमाथि रिस फेर्ने यो क्रम सदियौंदेखि चलिरहेको छ, अझै चलि नै रहनेछ शायद ।
यद्यपि, गहिरो रूपमा मनन् गर्दा स्थापित कुराचाहिं के रहेछ भने नयाँ ठाउँमा सरेकाहरू कि पूर्ण रूपमा विलय भएका छन् कि त पुरानो ठाउँमा छुटेका भन्दा धेरै प्रगति गरेर देखाएका छन् ।
पौराणिक पात्र कृष्णले आफू जन्मेकै ठाउँमा हुर्किएर देवत्व प्रमाणित गरेका थिएनन् । रामले अयोध्यामै बसेर मर्यादा–पुरुषको उपाधि हासिल गरेका थिएनन् ।
यस्ता तमाम इतिहास र मिथकहरू मैले शरणार्थी भएकै बेलामा पढ्न र बुझ्न पाएको हुँ । देशबिनाको मान्छे हुँदा मनोबल गिराएर हुतिहारा बन्नु हुँदैन भन्ने ज्ञान मैले इतिहासको अध्ययन गरेरै आर्जन गरेको हुँ । इटलीका क्रिष्टोफर कोलम्बसले स्पेनको जलयात्री बनेर अमेरिका पत्ता लगाए । जर्मनीका अल्बर्ट आइन्सटाइनले देश छोडेपछि विश्ववैज्ञानिकको उपाधि लिए । जर्मनीकै कार्ल माक्र्सले राष्ट्रविहीन भएर राजनीतिक दर्शन लेखे ।
कुरो त्यतिमात्र कहाँ हो र ? केही दशक पनि बितेको छैन, भारतबाट बँधुवा मजदुरका रूपमा फिजी पुर्याइएकाहरूकै सन्तति महेन्द्र चौधरी त्यहाँका प्रधानमन्त्री बनेका थिए । भारतकै बिहारबाट बँधुवा मजदुरका रूपमा मरिशस पुगेका राम गुलामका सन्तानले मरिशसलाई बेलायती उपनिवेशबाट मुक्त गराए । शिवसागर रामगुलाम सन् १९८५ सम्म त्यहाँका प्रधानमन्त्री बनेका थिए ।
यहुदीहरुले आफ्नो राष्ट्रसँगै सम्पूर्ण अस्तित्व गुमाएर पनि करीब साढे चार सय वर्षपछि इजरायल नामक आफ्नो राष्ट्र पुनर्स्थापित गराएका छन् ।
यहुदीझैं हामी पनि फेरि बौरिँदैछौं, मुर्दाबाट पुनः जाग्दैछौं । धुलो टक्टक्याउँदै फेरि उठ्तैछौं । हाम्रो मनोबल बढाउनमा संसारमा थुप्रै इष्टमित्रहरु रहेछन् भन्ने कुरो पनि त्यही क्रममा आभास भएको छ । मानवताको खडेरी परेको मरुभूमिमा हामी नंग्राबाट बौरियौं, रौंबाटै जाग्यौं, भेलमा हेलिएर आएको लुँडीबाटै उठिरहेका छौं । अर्काकै सहारामा सही, हामी कलमहरु तिखारेर अक्षर, शब्द र वाक्यहरुमार्फत व्यूँझिरहेका छौं । भाषा र साहित्य हाम्रा लागि ढुक्ढुकीःस्पन्दन बनिदिएका छन् । हाम्रो अस्तित्व नामेट पार्ने जुन जल्लादको अभिप्राय थियो, पूरा हुनै सकेन । भाग्यले ठेलेर पर कता हो कता पुर्याए पनि हामीलाई आफ्नै परिश्रमले तानेर फेरि जीवनको नजिक पुर्याइदिएको छ । यस्तै यस्तै कुराहरु उनको शरणार्थी निवन्धले पस्किएको छ ।
उनको यस सँगालोमा आइफोनको आत्मचरित्र भन्ने अर्को निवन्ध छ । वर्तमान सञ्चारको युगमा आइफोनको उपयोगिताबाट हुने लाभ र त्यसको अतिशयोक्ति प्रयोगबाट हुने लाभहरुको फेहरिस्त नै उनले निवन्धमा समेटेका छन् ।
जनातिले हजूरबाबा देख्नुपर्छ-निबन्ध संग्रहमा एकठाउँ निवन्धकार भन्छन्-“हामी भामह, दण्डी, वामन, मन्टेस्ट्यु, भोल्टेयर, राफेल, भानुभक्त, देवकोटा भीमनिधि आदिले लेखेका जस्तै लेख्नसक्ने भएपछि मात्र लेख्छौं भन्नुचाहिं सर्पले काँचुली फेर्दै गरेको देख्नु जतिकै हो !” सर्पको काँचुली हामी देख्न सक्छौं तर, सर्प र काँचुली छुट्टिँदै गरेको कहिल्यै देखिन्न भन्ने सामाजिक विश्वास रहँदै आएको छ । यहाँनेर लेखकले कुनै पनि सर्जकले पहिले उत्कृष्ट लेख्ने दक्षता हासिल गरेर परीक्षामा उत्तिर्ण हुने तरिकाले सोच्यो भने सिर्जना गर्न सम्भव छैन भन्ने कुरो दर्शाएका छन् । लेखक बन्नु त अभ्यासमा भर पर्ने कुरा हो । निरन्तरको अभ्यासले कुनै लेखकलाई असल लेखक वा कवि बनाउन सक्छ । परिवर्तनको सिलसिलामा केही घनटा-परिघटनाका क्रमहरु देख्न सम्भव हुँदैन तर, नतिजा चाहिं देखिन्छ-यो वैज्ञानिक कुरालाई निवन्धकार सारुले औंल्याउन खोजेका छन् ।
यस्तै अर्को ठाउँमा उनी लेख्छन्-रचनाहरु शिशुजस्तै हुन्, एकैचोटि बलवान हुँदैनन् । गर्भमा बसेर निस्केपछि विस्तार विस्तारै लड्दै पड्दै, ठक्कर खाँदै, लछारिँदै पछारिँदै बल्ल उठ्न सक्ने हुन्छन् । उनको यो कुरा सोह्रै आना सत्य हो । सिर्जनाहरु एकैचोटि परिस्कृत हुँदैनन् । आजभन्दा पाँचवर्ष पहिले आफैंले प्रकाशित कृति अहिले आएर हेर्दा आफैंलाई फिक्का लाग्छ । तर, निरन्तरता नै स्तरोन्नतिको सोपान हो । निवन्धकार लेखक-साहित्यकार नैनसिंह सारुबाट पनि थप परिस्कृत सिर्जनाहरु हामी पाइरहने आशा गर्न गरौं । सबैभन्दा मुख्य कुरो त अलग्गै किसिमको मातृबोली सुनेर, बोलेर हुर्किएका स्रष्टा सारुले नेपाली भाषाप्रति दर्शाएको समर्पणलाई नै धन्य ठान्नुपर्ने हुन्छ ।
हाम्रो समाजमा साहित्य र साहित्यकारप्रति खास्सै सम्मान गरिँदैन । किताबहरु किनेर पढ्ने संस्कार त शून्यमै पुगिसक्यो । दुइचारजना लेखकहरु आफैं भेला भयो, कृतिहरु आपसमा चिनो साटेझैं साट्ने त्यसपछि सिरानीमा हो कि आल्मारीमा-थन्यक्यायो ! निवन्धकार सारुको व्यथा पनि उस्तै छन् । उनी आजै लोकार्पित उनको अर्को कृतिमा एउटा लेख्छन्- “विसं २०५८ तिरै मैले कथा संग्रह, एकांकी संग्रह, कविता संग्रह, निवन्ध संग्रह, उपन्यास, खण्डकाव्य, महाकाव्य, पूर्णांकी नाटक आदि लेखिसकेको थिएँ । तर, दोभान कविता संग्रहबाट परेको रकम नउठाएपछि परिवारमा भीषण संघर्ष भयो, फलस्वरूप मेरा कला, कलम सबै रोकिए । म हतोत्शाही भएँ, थलिएँ, विरक्तिएँ । म थचिएर साहित्यिक कार्यक्रममा पातलिन थालें, साथीहरुले सोधे- मैले केही भनिनँ –हाँसेर बसें । अरु साथीहरुले पनि लेख्नुहुन्छ । निरन्तर कलम चलाइरहनुहुन्छ । वहाँ भन्नुहुन्छ, ‘मलाई मेरो परिवारबाट ठूलो सहयोग, माया र उर्जा मिल्यो । तर, मेरो परिवारबाट त्यो नहुँदा मैले परिवारका संज्ञा यसमा प्रस्तुत गरिनँ । मैले खुल्ला आकाशवाणीमा रहेर लेख्नु पाउनु, प्रकाशन गर्न पाउनु थियो भने अतुलनीय कृतिहरु हुने थिए होलान् तर, विपरित हुनपुग्यो । मैरै जस्तो हालत भएर होला, कति लेखकहरु, कति कलाकारहरु माथिसम्म पुग्न नसकेका, वियोग हुनुपरेका अनि आत्महत्या गरेका !”
उनले भनेजस्तो परिस्थिति कसरी, किन निर्माण भएको होला ! पाठकले मात्र साहित्य नचिनेको हो कि लेखकहरुमा पनि कुनै विशेष कमी-कमजोरी छन् भनेर मूल्यांकन गर्नुपर्ने समय आएको छ ।
कुरो जे होस्, नाटककार, निवन्धकार अनि अन्य धेरै विधा-कलामा पारंगति लिइरहेका श्री नैनसिंह सारु मगरलाई आफ्ना सिर्जनाहरुमा सजीव सामाजिक जीवन झल्काउन सफल बनेकोमा सलाम छ । एकैचोटि छ वटा कृतिको लोकार्पण गर्नु चानचुने कुरा होइन । उनलाई यस्तै सफलतम गतिमा अनेकौं कृतिहरुको सिर्जनातर्फ अघि बढ्दै गएको हेर्न पाउँ ! धेरै शुभेच्छा छ ।
हार्दिक बधाई तथा शुभकामना !