जन्मको सार्थकता
टेकनारायण रिमाल “कौशिक”
सिण्टाउँ, म्यान्मार
फेरेर सास लामो सन्तोषले जिए है
पारेर ब्रह्मबेला पीयूष त्यो पिए है
पीयूष प्राण-वायु प्रात: उठेर प्यूनू
पाएर आयु पूरा आरोग्यभित्र ज्यूनू। १
बाटो हराउँदामा बेकाम हात गोडा
राम्रो नसाध्न सक्दा बेकाबु हुन्छ घोडा
साधेर साधनाले पारेर स्वस्थ चित्त
जाग्रामले गराऊ गन्तव्यमा प्रवृत्त। २
संसारका तिमी हौ संसार बुझ्न सक्नू
चाहिन्न द्रव्य भन्दै ढर्रा गरी नबक्नू
चाहिन्छ खूब पैसा संसारमाथि चल्न
पैसाविना त साथी! चूल्हो छ दुक्ख बल्न। ३
भोगेर भोग सारा वाक्कै भएर मात्र
सम्पत्तिमा घिनाई बन्नेछु मोक्षपात्र
भन्ने कुरा न हो यो, खै तृप्त को भयो र?
निर्लिप्त भाव राखी भोग्दै विमुक्ति जोर! ४
दिक्पाल छन् दिशाका,छन् चन्द्र सूर्य दाक्षी
उद्यानमा उषा छे शोभावती मृगाक्षी
चारैदिशा उज्यालो,आकृष्ट गर्छ सृष्टि
सौन्दर्य देख्न सारा,निष्पाप राख दृष्टि। ५
निर्दोष दृष्टि राखे कारुण्य काम होला
कल्पेर जिन्दगानी आवेगमा नरोला
सम्यक् विचारले नै विस्तार मार्ग हुन्छ
धिक्कार! नत्र आत्मा भौँतारिएर रुन्छ। ६
पैले त स्वस्थ काया अध्यात्मको सिँढी हो
संस्कार,सच्चरित्र प्रस्थान औषधी हो
हो याद राख नानी!सत्कर्म राहदानी
चाहिन्छ माथि लानी सद्धर्म अन्न-पानी। ७
ठेगान छैन तिम्रो आवास यो धराको
छन् प्वाख पङ्गु आफ्नै गर्छौ कुरा चराको
धर्ती छ बिग्रिएको भज्छौ नि माथि माथि
गोलोक सुध्रिएला धर्ती सुधार साथी! ८
दिक्पाल छन्द