जन्मि आऊ धरामा
मणिराम धिमाल (दीपित)
टेक्सास, अमेरिका
छन्द: मन्दाक्रान्त
लक्ष्मी तिम्रै सरस कविता पढ्दछन् काव्य धारा
नेपालीका मन – मुटु भरी बग्दछन् काव्य धारा
मेची पारी पर भुवनमा फूल्दछन् काव्य धारा
तिम्रै बाटो कवि कलमले रच्दछन् काव्य धारा!
**
खाडीमा छन् मदन र मुना गाउँ रित्तो छ ऐले
आमा रुन्छिन्अझतक उही वेदना बल्जिनाले
भोटे जस्तै असल दिलका मित्रता भेटिदैनन्
योगी ध्यानी शिव र हरिका भक्त ता भेटिदैनन्!
**
मात्रै घाती अबुझ शठछन लड्दछन देशभित्रै
लाटा निम्जा अमुक अबला मर्दछन् देशभित्रै
होली खेल्छन् रगत रिपुको भाई मारी रमाई
रुन्छन् चेली पल-पल कठै अस्मितानै गुमाई!
**
हाम्रा गाथा विभूति अघिका सम्पदा बेचिदैछन
हाम्रा भाका लय घुन मिठा सोरठी गाँइदैनन्
डाडा पाखा चउर हरिया देखिँदै देखिदैनन्
डाँफे कुक्कुर मयुर वनमा भेटिदै भेटिदैनन्!
**
राजा रैती सकल मनुमा एकता भाव छैन
नाता गोता परिजन संगै प्रेम सद्भाव छैन
बिग्र्यो सारा मति मनुजको पीर के यो सुनाऊँ
आऊ आऊ कवि अब छिटै जन्मि फेरि धरामा!