जीवनको खोजी

डा. लक्ष्मीनारायण ढकाल
केन्टकी ,यू एस ए

जीवनलाई संघर्ष हो भन्यौं
फेरी यात्रा हो भन्यौं
अनि कसैले भन्यौं-
जीवन सुख र दुखको संगम हो
सङ्घर्षको परिणाम हो !
यति मात्र कहाँ होर
जीवनलाई नानाथरीका उपमा दियौं
कसैले भोग हो भन्यौं
कसैले लोभ मान्यौं
अनि कसै-कसैले योग हो भन्यौं जीवन !
जसले जसरी बाँच्यो जीवनलाई
जसले जसरी देख्यो जीवनलाई
उसले त्यसरी नै पढ्यो जीवनलाई
कसैले बाहिर खोज्यो
कसैले भित्र खोज्यो
जसले जता खोज्यो त्यतै देख्यो जीवनलाई !
कोई वितृष्णामा बाँच्छन् जीवनलाई
कोई सम्पत्तिमा दाँजछन् जीवनलाई
कोई यौनाचारमा पिउँछन् जीवनलाई
यस्तै यस्तै धेरै धेरै मृगमरिचिकाको
विभीषिकामा दौडाउछन् जीवनलाई
कोई भूतमा र भविष्यमा खोज्छन् जीवनलाई !
जीवन न हाड रहेछ न छाला रहेछ
रक्त मज्जा र मांस कुनै होइन रहेछ
नत इन्द्रियनै रहेछ जीवन
नत मन नै रहेछ जीवन
भूत र भविष्य ता हुँदै होइन जीवन
यी चर्मचक्षुले देखेको कहाँ रहेछ र जीवन
साँच्चै भन्ने हो भने –
यथार्थ रहेछ,वर्तमान रहेछ जीवन
त्यही सत्य रहेछ जीवन !
भूतलाई समातिरहे चिन्ता बढ्ने
भविष्यलाई ताके कल्पना गढ़ने
चिन्ता र कल्पना विनाको
म जहाँ छु, त्यहींको स्थिरता हो जीवन
स्थायी अनि सच्चिदानन्द रहेछ जीवन !
यो शरीर त षड्दो रहेछ ,गल्दो रहेछ
फाटीरहने,फेरीइरहने
दुखीरहने ,रोइरहने अन्त्यहीन दुख रहेछ ,
मन पनि त कल्पनै कल्पनाको थाक रहेछ
यो शरीर देखी धेरै पर मनदेखि अझै पर
धड्कन र चेतनाको भित्रपटी
देखिंदै नदेखिने ,मर्दै नमर्ने
सुक्दै नसुक्ने , भिज्दै नभिज्ने
जन्मिदै नजन्मिने अहं विनाको “म” रहेछ जीवन !
आँखा नचिम्लिए पटक्कै नदेखिने
आँखा हेरे भागी हाल्ने
भूतमा र भविष्यमा गए विलाई जाने
रिस,राग र घृणा जान्दै नजान्ने
जातपात र सानो ठूलो सुन्दै नसुनेको
प्रेम,दया ,करुणा र मानवत्वमा गुटमुटिएको
सानो भन्दा सानो ,ठूलो भन्दा ठूलो
आनन्दै आनन्दको सागर रहेछ जीवन
त्यागैत्यागको प्रतिफल रहेछ जीवन !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *