जीवन्त अनुभूतिहरुको यो “अनुभूति”
पुरानाघरे
भूटानी नेपाली साहित्यको क्षेत्रमा गजलकार याम थुलुङल, गजलका प्रथम स्रष्टा हुन् । उनको भूमिकाले यस कृतिको लौकिक सान्दर्भिकता र कार्यगत वफादारिता प्रकट भएको मैले अनुभव गरेको छु । भारतीय नेपाली क्षेत्रबाट उदाएर समग्र नेपाली साहित्यकै आदरणीय महाकवि मोहन दुखुन र समकालिन नेपाली गजल माहौलमा प्रख्यात युवा गजलकार प्रकाश आङदेम्बेले यस कृतिका अनुभूतिहरुलाई उचालेर अन्तर्राष्ट्रिय डायस्पोरामा उभिइसकेको नेपाली गजलकारितामा प्रवेशको ढोका खोलिदिएका छन् ।
गजलकार वयलकोटीको कलममा सरलता र कलात्मकताको तादात्म्यता पाइन्छ । उनको यो प्रयासलाई सुमित्रा वाङदेलले होष्टेमा अदम्य हैंसे गरेको पाइन्छ । कलामा सिद्धहस्त स्रष्टा जितेन्द्र अनमोलले टङ्कको गजलकारितालाई अब्बल दर्जा मानेका छन् । वयलकोटीका गजलहरु यसै पनि स्तरीय, परिपक्व र मर्मस्पर्शी छन्, त्यसमा झन जितेन्द्रका चित्रहरुले यस सङ्ग्रहलाई झनै आकर्षक बनाएको छ । चित्र हेर्दै, गजल पढ्दै गरियो भने पृष्ठ पल्टाउनु अघि धेरैचोटि पाठकलाई रोकिन मनपर्छ । यस पक्षमा “अनुभूति”भित्र विषयगत बहुलताको उपस्थिति उचित मान्नु पर्छ ।
वयलकोटी स्वयमले लेखकीय शीर्षक मार्फत भनेका छन् कि “विषम परिस्थितिभित्रका सजीव खुल्दुलीहरु, मनभरी छरिएका आकाँक्षाहरु जस्ता अझ धेरै समवेदनाहरु, कारुणिक अभिव्यक्तिहरु अनि विद्रोहका ज्वालाहरु र यस्ता धेरै अनुभूतिहरुको समष्टिगत रुप भन्न मन पराउँछु यो गजल सङ्ग्रहलाई ।” यसरी वयलकोटीले यस सङ्ग्रहका औपचारिक धारणालाई छर्लङ्ग पारेका छन् । उनले भने झैं लाग्छ, समस्त अनुभूतिहरुको हो यो “अनुभूति” गजल सङ्ग्रह । यस सङ्ग्रहलाई विभिन्न दृष्टान्तहरुमा विशिष्टिकरण गर्न सकिन्छ ।
तिहारमा सयपत्री फूलको माला उन्छिन् दिदी
आउने छ भाइ भन्दै आँसु झार्दै रुन्छिन् दिदी
काँडाबीच फुल्छ खुशी टिप्न धेरै गाह्रो रै’छ
चाड आउँदा आँसुले ती आँखाहरु भुन्छिन् दिदी – (पृष्ठ ११)
साँस्कृतिक पक्षलाई उठाउन वयलकोटीको कलम विविधताले घनिभूत छ विषयवस्तुको चयनमा । उनका गजलमा मक्ता र मतला साह्रै चित्त बुझ्ने गरी कुँदिएको पाइन्छ । अन्य विषयहरुमा वियोग, प्रणयता, विद्रोह, श्रृंगारिकता, सामाजिक कुरीति, धार्मिक, स्वदेशचिन्तन आदि प्रगतिशील चेतनाहरुलाई कलात्मक र शैलीगत सजगता दुबै किसिमले निर्माण गरिएको पाइन्छ यस अनुभूति गजल सङ्ग्रहभित्र ।
सगरमाथा शीर उच्च बनाउने नेपालीको
दशैं तिहार चाड—पर्व मनाउने नेपालीको
दौरासुरुवाल ढाका टोपी फरिया र चौवन्दी
चिनारी र सँस्कृति जनाउने नेपालीको – (पृष्ठ १२)
वयलकोटी नेपाली संस्कृतिप्रति आस्था प्रकट गर्छन् प्रायः गजलहरुमा । कतिपय गजलहरुमा नामवत प्रयोगले गजलकारलाई अझ बढी प्रयोगधर्मी देखाउँछ तर यही पक्षले उनको भाषिक पक्षलाई प्रभाव पारेको पाइन्छ । कति पय अवस्थामा गजलकारले, व्याकरणिक हिसाबले भाषिक पक्षलाई नजरअन्दाज गरेको भान हुन्छ । तर धेरै हदसम्म सजग र सचेत चाहिँ अवश्य देखिन्छन् । काल्पनिकतामा धेरै गहिरिएर यथार्थ भेटाउनु उनको गजलीय प्रवृति हौ । यस सङ्ग्रहमा भएका गजलहरुले विप्रलम्भश्रृंगार, प्रणयघात र यस्ता बिडम्बना पछिका अनुभूतिहरुलाई अत्यान्तै गहनताकासाथ उठाएको पाइन्छ । यस पक्षमा यो कृति लगभग आधाआकाशमा उभिएको पाइन्छ । गजलकार वयलकोटी दक्षिण एशियामा राजनीतिक नेतृत्वले नागरिकमाथि गरिरहेको कुठाराघात र यसको दुश्परिणामलाई मजाले चित्रण गर्न सफल भएका छन् । ।
आधा पूर्व आधा पश्चिम फर्केको छ हाम्रो देश
पहिरो जान अलिकति चर्केको छ हाम्रो देश
बुद्ध शान्ति चुहिदैछ रगतको थोपा थोपा
अध्यारो रात युद्धैयुद्ध झर्केको छ हाम्रो देश (पृष्ठ १९)
युद्धले आघात बनेको देश नेपाल, अवस्थाले संघारमा उभिएको भूटान र भारतप्रतिको उहाँको गजलीय धारणा गजव छ । यसरी सांकेतिक लेखनमा पनि गजलकार अगाडि देखिन्छन् । माथिको गजलले देखाएको समस्याको सौहार्दपूर्ण निकासको खोजी वर्तमानको गम्भिर विषय हो । संक्षिप्तताभित्रबाटै विष्तृताको खोलो बगाउन सक्नु गजलकारको परिपक्वता मान्नु पर्छ । संगीत गरिएका गजल यस सङ्ग्रहमा ६ वटा छन् । भूटानका चर्चित गजल गायक अर्जुन रसाइलीले संगीत दिएका छन् यी गजलहरुमा । समग्रमा भन्नु पर्दा भूटानी नेपाली साहित्यमा गजलको विकास र सम्वृद्धिको सूचक समेत बनेर यो गजल सङ्ग्रह बजारमा आएको छ ।
समीक्षा स्तरीय लाग्यो । समीक्षाबाट मात्रै पनि कृति स्तरीय लाग्यो ।