जेलभित्रको क्षण

गंगा लामिटारे
ओहायो ,अमेरिका

भूटानको जेलबाट रिहा भइन्छ र पुनर्जीवन पाइन्छ भन्ने आश विल्कुलै मरिसकेको थियो । पहिला जति पनि मानिसहरू राजनैतिक अभियोगमा पक्राउ परे, ती कुनै पनि फर्केर घर आएका थिएनन् भन्ने सुनेको थिएँ । चाहे सन् ४७ को जयगोर्खे आन्दोलनका क्रममा पक्राउ परेका हुन् चाहे ५१ को स्टेट कंग्रेसले सञ्चालन गरेको सत्याग्रहमा गिरिफ्तारीमा परेका हुन्, ती कुनै पनि फर्केर आएनन् । जहाँ गएर फर्किदैन त्यो नै भूटानी शासकको यातना-कोठरी हो भन्ने मात्र थियो मेरा दिमाखमा । अब हाम्रो पनि त्यही अवस्था हुन्छ । र, कतिखेर कस्तो मृत्यु आउँछ त्यही मात्र आकाशमा तारा चम्चमाए जस्तै  दिमाखमा चमचमाइ रहेको थियो ।

हामी ३ जनामध्ये कसको पालो पहिला आउँछ भन्ने ३ महिनादेखिको पर्खाइ थियो । हरेक पर्खाइहरूका आ-आफ्नै महत्व र विशेषता होलान् तर, मृत्युको पर्खाइको न कुनै महत्व हुँदोरहेछ, न कुनै विशेषता नै । मात्र भयावह स्थिति । हामीले गरेको प्रतीक्षा प्राकृतिक मृत्युको थिएन । अञ्जानैमा आइलागेको त्यस मानवकृत मृत्युबाट उम्किने र भाग्ने उपाय पनि थिएन । संयोग भनौं  वा विडम्बना । एकै दिन प्रकाउ परेका हामी ३ भाइ । ३ थरी र त्यसमा पनि तिनैजना माइला । कुनै पनि शुभकार्य र शुभ साइतहरूमा ३ जना र ३ थरीको संयोग राम्रो मानिदैन र त्यस्तो संयोगलाई घोर अपशकुन मानिन्छ ।

यस अपशकुनको संयोगले पनि सकारात्मकतातिर भन्दा नकारात्मकतातिर मलाई बढी धकेलीरह्यो । काशीनाथ नेपाल, टेकवीर क्षेत्री र म ३ जना, ३ थरी एकै दिन पक्राउ परेका र संगै थिम्पू जेल चलान गरिएका अभियुक्तहरू ! काशीनाथ गेलेफुकै एउटा सरकारी कृषि फारममा कार्यरत ‘फिल्डमेन’ थिए । जिल्ला कार्यालय सर्भाङका लेखा अधिकारी टेकवीर क्षेत्री र गेलेफू हाइस्कूलमा शिक्षकको रूपमा कार्यरत म (गंगा लामिटारे) वीरबलको बाख्रो जस्तै जेलमा मृत्युको प्रतीक्षा गरिरहेका थियौं । भनिन्छ, प्रतीक्षाको फल मीठो हुन्छ । तर हाम्रो प्रतीक्षा त्यस्तो मीठो फलप्राप्तिका लागि थिएन । नमिठो र सुन्दै भयावह लाग्ने मृत्युको प्रतीक्षा थियो । एसएलसी परीक्षाको रिजल्टको पर्खाइमा बसेको विद्यार्थीको जस्तै थियो हाम्रो मृत्युको प्रतीक्षा पनि । फरक यतिमात्र थियो कि एसएलसीको रिजल्ट बिग्रिँदा अर्को वर्ष पनि परीक्षा दिएर सफलता हात पार्न सकिन्थ्यो । आशा पनि हुन्थ्यो र हिम्मत पनि । तर हाम्रो भने न कुनै आशा थियो नकुनै उमङ्ग नै । थियो, त एउटै भयावह मृत्यु नै मृत्यु । अन्धकार नै अन्धकार ।

तीन महिनादेखि हामी वाह्य संसारको सम्पर्कबाट पूर्ण वञ्चित थियौं । परिवारप्रतिको माया, मोह र संझना भन्दा पनि हामी धेरै टाडा पुगेका थियौं । आफूले आफूलाई नै बिर्सिँदै गएका थियौं । त्यहाँ एउटै मात्र चहलपहल हुन्थ्यो, हतियारले सुसज्जित सुरक्षाकर्मीहरूको । उनीहरूको बोलचाल र अद्लाबद्लीवाट थाहा हुन्थ्यो, तिथि, मिति र बारहरू । सुत्दा पनि तिनै हुन्थे र उठ्दा पनि तिनै ।

अब त सपनामा पनि तिनै हतियारले सुसज्जित पुलिसहरू मात्र आउँथे  । ३ महिनासम्म यो अत्यास र कहाली लाग्दो क्षणभित्र निसासिइरह्यौं । भाग्यले थिची रह्यो र अकर्मण्यताले निचोरी रह्यो । तर भगवान दाहिना भएछ्न् क्यार ! कान्छा राईले हिजो राति भनेको खबर शुभ होस्, सत्य होस् भन्ने कामना गरिरहें ।

बिनाकारण मर्न त मन कसलाई पो लाग्छ र ! त्यसमा पनि म जस्तो मान्छे ! भरखरै जागिरमा लागेको ।  २ वर्षअघि बिहे गरेको । एक वर्षकी टुकुर टुकुर हिँडनलागेकी छोरीलाई रूवाउँदै पुलिसले जबर्जस्ती गाडीमा कोचेको थियो । र, अज्ञात यात्रातिर घिसारेको । कान्छा राईले ‘सरलाई भोलि रिहा गर्ने कुरा हुँदैछ’, भनेको ठिक ३ दिनपछि एकजना सुरक्षाकर्मीले कोठाभित्र आएर भन्यो-‘कान्छा, डासोले अधिकारी सरलाई ल्याउनु भन्नुभएको छ, छिट्टो लिएर जाऊ ।’ कान्छा राईले ‘हुन्छ, म त्यसै गर्छु’ भन्ने जवाफ दिए र मलाई छिट्टो रेडी हुन आग्रह गरे । शनिवार राती ११ बजीको संकेत कान्छा राईले जानकारी गराए । डरले लुगलुग भएँ । पक्कै पनि अब मृत्युदण्डको सजाय सुनाइनेछ । त्यसैका लागि मलाई बोलावट भएको हो । मेरा मनका कुनामा रहेको झिनो बाँच्ने आशाले कुलेलम ठोकिसकेको थियो । अरू २ भाइ साथीहरू पनि त्यहाँ छन् भन्ने चेतना हराइसकेको थिएँ । डर, त्रास र मृत्युको भयबाट स्वयं दग्ध भइरहेंको थिएँ ।  मानौं म ९५ प्रतिशत मरिसकेको थिएँ । चेत थिएन । तर पनि छिट्टो छिट्टो बक्खु लगाउने प्रयास गरें । हातले बक्खु नै समाएन । बक्खु ओडें मात्र; कन्यार्थुमा जाने श्रीकान्त बाजेले इण्डीको खास्टो ओडेजस्तै गरेर । यसै मरिन्छ, उसै मरिनेछ, मृत्युका लागि केको सिँगार पेटार ? राष्ट्रिय पोशाक लगाउँदैमा के मृत्युले छोड्छ र ? भन्ने लाग्यो । मृत्युको कहालीलाग्दो उच्चाइबाट खस्ने कुनै उपाय नदेखेपछि कान्छा राईलाई भनें, “भाइ, अब बाँचिदैन होला, एउटा सानु चिठ्ठी लेखेको छु । कसै गरेर पनि मेरा परिवारमा पुगोस् । अरू कसलाई भन्नु र बाबू ! तिमी सरकारको सिन्दुर परेको मान्छे ! म त्यो पनि जान्दछु कि बाबुलाई ठोक्छु र आमालाई मार्छु भनेर कसम खाएको ! तर, दुइचार अक्षर पढाएको भएपनि म तिम्रो शिक्षक ! यो कर्तव्य र सेवाको तराजुमा आफूलाई तौलेर हेर ! त्यसपछि आउने परिणामले तिम्रो बाटो अवश्य निर्धारण गर्नेछ ! सही निर्णय गरेमा  तिमी युगयुगसम्म  एकलव्य भएर बाँच्नेछौ ! गुरु र चेलाको यो कर्तव्य र समर्पणको आदर्श परंपरा पनि कालजयी बन्नेछ !”

कान्छा राईले मेरो विनय सुनेसुनेन्, तर मैले भने एकोहोरो फलाकिरहें । मेरो गला अवरूद्ध हुन खोज्दै थियो । जिउभरि चिटचिट पसिना निस्कँदै थिए । हात खुट्टा लत्याकलुतुक भएर गल्दैथिए । म मृत्युको साक्षत्कारका लागि पाइलो मात्र के चालेको थिएँ, भनन-संसारै घुमेजस्तो मेरो टाउको घुम्यो । एकै चोटि चारैतिर अँध्यारो छायो । केही देखिन । थर…र काम छुट्यो । र, गर्ल्याम्म भुइँमा ढल्न पुगेंछु ।

मुर्छित अवस्थामा पनि बिटी दोर्जीका (जेलका मेजर) तिनै धम्की र सहानुभूतिका कठोर भनाइहरू संझन्थें । उनी भन्थे, ‘केटा हो, चोरी गर्नु, डाका डाल्नु, मान्छे मार्नु राम्रो हो भूटानमा तर, राजनैतिक अपराध गरेर जेलमा पर्नु भनेको जीवनलाई सिद्ध्याउनु हो ।’ उनका बागवाणहरूले मेरो गिदीलाई घोचिरह्यो, मनलाई क्षतविक्षत बनाइरह्यो र मुटुलाई धक्धकाइरह्यो । उनी कहिले धम्कीमात्र लिएर आउँथे । कहिले सहानुभूति दिएर जान्थे । कहिले बहादुर भूटानी जनताले बृटिशलाई पछारेको कुरा गर्थे । कहिले भूटानको राजसंस्था र राजनीतिबारे भाषण छाँट्थे । कहिले सहानुभूतिको शैलीमा भन्थे,‘जीवन व्यर्थमा गुमायौ । भूटानमा राजनीति गर्नु भनेको कठोर मृत्युलाई वरण गर्नु  हो । तिमीहरू त मारियौ मारियौ तर, परिवारलाई समेत बर्वाद बनायौ ।’

दोर्जीका यी बोलीहरूले गोली बनेर मलाई मुर्छित अवस्थामा पनि पोलिरह्यो ।  दोर्जी मध्यराति कोठामा आउँथे र लामो भाषण गरेर  हामीलाई थर्काउँर्थे । उनका कठोर शब्दहरू शूल बनेर कानबाट प्रवेश गर्थे  र मन र मुटुलाई छ्याछ्या पार्थे । ‘भूटानमा परिवर्तन तलबाट होइन माथिबाट आउँछ । एक केजी मासुमा ज्यान फाल्ने भूटानी जनता परिवर्तनका लागि सक्षम छैन । कुल जनसंख्याको ६५ प्रतिशत मानिस शिक्षित र सचेत नभएको देशमा कुनै पनि सुधार र परिवर्तनको सम्भावना छैन’, भन्ने मेजेर बिटी दोर्जीका मार्मिक र कठोर भाषणहरू मेरा मगजमा  बमजस्तै पडकिइरहेका थिए । र, मेरो दिमाखलाई क्षतविक्षत पार्दैथिए ।

— – – — – – –  – – – – – – – – – – – – – — – – – – – – – – — – – –

होश खुल्दा मेरो टाउको कान्छा राईको काखमा थियो । उनी एक हातले मेरा टाउकोमा चिसो पानी छर्कँदै थिए भने अर्को हातले मेरा मुखमा पानीको थोपा तप्काउँदै थिए । सकी नसकी कान्छाको काखबाट टाउको उठाएर भुइँमा बस्ने प्रयास गरें । जिउले केही सहारा खोज्दै थियो  । फेरि ढल्छु भन्ने डरले हतार हतार कोठाको भित्तामा ढाड अड्याएर बस्नमात्र खोज्दै थिएँ कि एउटा पुलिस कोठाभित्र पस्यो र झर्किंदै भन्यो, ‘ओए कान्छा, किन ढिल्यो गरेको ? डासोलाई मिटिङ्गमा जान अबेर भइसक्यो ।’ ‘हुन्छ, अब म सरलाई लिएर गइहालें’, भन्दै कान्छा राईले  हातमा समातेर मलाई उठाए ।

वास्तबमा कान्छा राई मेरो पूर्व विद्यार्थी । कक्षा ५ मा पढ्दा पढ्दै जागिरका लागि उनले रोयल  भूटान पुलिसमा प्रवेश गरेका थिए । एक वर्षअघि कक्षा ५ को बोर्ड परीक्षामा फेल भएपछि स्कूल छाडेर पुलिसमा भर्ती भएका तिनै कान्छा राइ ३ महिनादेखि हाम्रो सुरक्षामा खटिएका थिए ।   गुरु-चेलाको सम्बन्धबारे कसैले पनि थाहा नपाउन् भन्ने हाम्रो संवाद र सहमति पनि भएको थियो । त्यो संवाद र सहमतिलाई हामीले अन्तिमसम्म विखण्डन र टुट्न दिएनौं । शायद कान्छा राईजस्तो इमान्दार र हितैषी सेवक नपाएको भए मेरो पुनर्जीवन हुनेथिएन । उनको सेवा र श्रद्धाले नै म आजसम्म शिर ठाडो गरेर हिँडिराखेको छु । जे भए पनि उनी मेरो जेल जीवनका आत्मीय मित्र हुन्, उनी । उनको गुण र सेवा म जीवभरि भुल्ने छुइनँ ।

म मुर्छित अवस्थाबाट बिम्झँदा हाम्रो सुरक्षा समूहका नाइके लाक्पा दोर्जी पनि  ‘ॐ माने पेमे हूँ’ भन्दै मेरो दाहिने कान र अनुहारमा फूकी रहेका थिए भने बायाँ हातले १०८ वटा दाना भएको माला घुमाइरहेका थिए । बिरामीलाई धामीले फुकफाक गरेझैं दोर्जी मेरो फुक्फाक गरिरहेका थिए । दोर्जी नभएका बेला सुरक्षाकर्मीहरू हामीसँग नजिकिन खोज्थे र सञ्च-बिसञ्च पनि सोध्थे । तर लाक्पा दोर्जीको उपस्थितिमा भने ती सबै मौन रहन्थे । र, आँखाको इशाराले मात्र कुरा गर्थे ।

मिलन सुब्बा, कान्छा राई र अर्का एकजना आदिवासी कुजुर सुतार ३ महिनादेखि हाम्रो सुरक्षामा खटिएका थिए भने लाक्पा दोर्जी उनीहरूका नायक थिए ।  त्यति नबोल्ने, बोल्दा पनि जोङ्खा मात्र बोल्थे । करीब ५० वर्ष उमेर पुगेका लाक्पा दोर्जीको व्यवहार देखेर म आश्चर्यचकित मात्र भइनँ, उनीप्रतिको मेरो घृणा र तिरष्कारको भावनालाई समेत खल्बल्याइदियो । मैले डराउँदै दोर्जीलाई भने, ‘लेवे,के गर्नुभएको, यो ?’ मेरो प्रश्न सुनेर उनले घुमाइरहेको हातको माला घुमाउन छोडे । मुखले जप्दै गरेको मेनेपेमे पनि छोडेर-‘सर, तपाईंहरूको छिट्टो रिहाइ होस् भनेर भगवानसँग प्रार्थना गरेको । तपाईंहरूको रिहाइ भयो भने हामीले पनि परिवार भेट्न र देख्न पाउँथ्यौं । ३ महिना भयो, चौबिसै घण्टा काम गरेको ।’ यत्तिका दिनसम्म परिवारको हालखबर पनि बुझ्न नपाएको बाध्यता स्वीकार्दै दुःख पोखे । उनको यस करूणा र मानवताले भरिएको अभिव्यक्ति सुनेर मेरो अहिलेसम्मको उनीहरूप्रतिको घृणा र तिरष्कारको दुर्भावना डग्मगायो ।

यमराजका दूतको काम खाली अपराधिलाई दण्ड र सजाय दिनुमात्र हो । ती अति नै निर्दयी हुन्छन् र चट्टानजस्तै कठोर पनि हुन्छन् भन्ने मेरो वर्षौंदेखिको भ्रम र अन्योल  लाक्पा दोर्जीका एकै वचनले चिरफार गर्दियो । लेवे दोर्जीको व्यवहार र मानवतावादी वचनले मेरा उडिसकेका निराशाहरूभित्र सानु आशाको चिन्गारी चम्कायो र मूर्छित तन्तुहरूमा चेनताको पुल्ठो सल्काइदियो ।  राज्यले किन स्कूलको डिउटी गरेकै अवस्थामा मलाई पक्रेर थिम्पू जेलमा लग्यो, मलाई केही पनि थाहा भएन । मेरो गल्ती एउटै थियो, त्यो हो, मैले मानव अधिकारसम्बन्धी एउटा किताब पढेको थिएँ । त्यति एउटा जाबो किताब पढ्दैमा मेरा देशको शासन सत्ता थर्किन्छ र नागरिकलाई कायरतापूर्ण तरिकाले मृत्यु-दण्ड दिइन्छ भन्ने मैले कहिले सोचेको पनि थिइनँ । लेवे लाक्पाको भनाइले नदीमा डुब्नै लागेका मानिसले सानू त्यान्द्राको सहारा पाएझैं मेरो निराश भएको मनमा जिजीविषाको अंकुर टुसायो । मनमनै भनें, ताण्डीव दोर्जी मेरा लागि यमराज नभएर धर्मराजै बनून् । उनका दूतहरू त मेरो कुशल रिहाइ र सफल जीवनका लागि ईश्वरसँग प्रार्थना गरिरहेका छन् भने अवश्य पनि ताण्डीव दोर्जी मेरा विपक्षमा छैनन् भन्ने विश्वास र हौसला पनि बढ्न थाल्यो । मनलाई संझाएँ, हिम्मतलाई दरो बनाएँ र बसेको ठाउँबाट जुरूक्क उठें ।

– — — – — — – — — – — — – – — – – — – — – — – – – — –

बल्ल ३ महिनापछि बन्दीगृहवाट बाहिर निस्कने अवसर मिल्यो । त्यो पनि मध्य राति । यो अवसर रिहाइका लागि थिएन । जीवन र मरणको अन्तिम परीक्षाका लागि थ्यो । जीवन र मरणको निर्णायक मोडको अवसर थियो । बाघसँग आम्नेसाम्ने हुने सौभाग्यको रात थियो । मृत्युसँग साक्षात्कारका लागि आँट र हिम्मत जुटाउने मौका पनि थियो । र, साम्ने परे बाघले खाँदैन भन्ने सोच्दै कोठाबाट बाहिर निस्कें । थिम्पू शहर पुरै निदाएको थ्यो । हेमन्त सकिएर भर्खरै वसन्तले पदार्पण गरेको त्यहाँका अशोकका वृक्षा र धुप्पीका बोटहरूले बताइरहेका थिए । ३० फिट मुन्तिर राइढक खोलो स्वतन्त्र गतिमा बगिरहेको थियो । आकाश छङ्ग भएर उघ्रेको थियो । जुन  डाँडामा अस्ताउन हतार गर्दैथ्यो । एउटा दुइटा डिउटीमा खटिएका सुरक्षाकर्मीका वाहनहरू निष्तब्ध गुडिरहेका थिए । टासीछोजुङ पारीपटिको जङ्गलमा एक हुल स्यालहरू हुइयाँ मच्चाइरहेका थिए ।

कान्छा राई मेरा अघिअघि थिए, म उनका पछिपछि आफूलाई घिस्याइरहेको थिएँ । धेरै दिनदेखि अँध्यारो कोठामा निस्सासिएर बसेकाले होला- नयाँ वायुको स्पर्शले शरीर बडो रोमाञ्चित र फुरुङ्ङ हुँदैथियो । कहिले आकाशले उँभोतिर र धर्तीले उँधोतिर तानेझैं लाग्थ्यो । कहिले दिशाहरूले आफूतिर आह्वान गरेको र राइढकले कलकल गरेर जीवको गन्तव्य एतातिर हो भनेर आग्रह गरेझैं लाग्थ्यो ! ‘पुलिस प्रमुख ताण्डीव दोर्जीको अफिस त्यही हो सर’, भनेर कान्छा राईले वरिपरी ठूलठूला चट्टानले निर्माण गरिएका पर्खालभित्र रहेको एउटा विशाल भवनतिर संकेत गरे । जति जति अफिसको दुरी घट्दै जान्थ्यो त्यति त्यति जीवनका हरेक स्मृति र यादहरू दिमाखमा ओइरिरहन्थे ! स्कूलमा २ मिनट ढिलो पुग्दा लोपेनले रोडामा घुँडा टेकाएर हिँडन वाध्य पारिएका यातना र पीडाहरू असिना जस्तै दिमाखमा वर्षिन्थे ! ‘ए जी जी एग- एग भनेको अण्डा हो’, भनेर रट्तै गर्दा ‘बाहुनका छोराले म्लेक्षको भाषा पढ्नु हुँदैन’, भनेर अभिभावकले स्कूलबाट निकालेर पाठशालामा दाखिला गराएका बाल्यकालका विवशता र बाध्यतालाई संझें ! स्कूल जाने र ज्ञान आर्जनको महत्वपूर्ण उमेर, १४ वर्षमै अनायसै वैवाहिक बन्धनमा बाँधिएर जीवनलाई अन्धकारतिर धकेल्न बाध्य पारिने अनेकौं तिता र कठोर परिस्थितिहरूलाई पनि संझ्न पुगें ! भाग्य खोज्न १७ वर्षकै उमेरमा घर, परिवार र देश छोडेर विदेशिनु परेका अनेकौं विवशता र बाध्यताहरूलाई पनि संझें ! भविष्य उज्वल पार्ने क्रममा विदेशका गल्ली र चोकहरूमा भोकभोकै बिताएका ती दुर्दिन रातहरू पनि गिदीमा रूमलिइन पुगे !

सुक्खा र डढेका बासी रोटी खाएर लघु-कौमुदीका सूत्र र रघुबंशका श्लोकहरू याद नगर्दा गुरु र अध्यापकले निर्दयताका साथ भनेका ‘पहाडी’ र ‘भिखारी’ जस्ता तुच्छ शब्दको प्रहारबाट स्वाभिमान कुटिएको संझें ! विदेशमा एउटा गरीब विद्यार्थीले भोग्नुपरेका परपीडन, अन्याय र दुराचारका स्मृति र संझनाहरू मात्र होइन; प्रवेशिकादेखि स्नातक उत्तीर्ण गर्दासम्मका (झन्नै डेड दशकसम्म) गरेका संघर्ष र चुनौतिहरूका संझना र यादहरू पनि उर्लिएर आउँदै थिए ! १९८५ मा आफ्नो अध्ययन सकेर स्वदेश फर्किएपछि शिक्षक पेशामा भएको नियुक्ति र राष्ट्रप्रति निभाएको दायित्व, कर्तव्य, सेवा र उत्साहवर्धक दिनहरूलाई पनि संझें । सन् १९८७ को प्रारम्भसँगै दक्षिण भूटानीहरूको उच्छेदन गर्नका लागि सरकारले चालेका विभेदकारी नीति र त्यसको कठोर कार्यान्वयबाट मेरो जिब्रो खोसिएर पंगु भएको, कात्रो लुटिएर नाङ्गो भएको र माटो खोसिएर चिहान मेटिएका ती अत्यास र कहाली लाग्दा दुखद दिनहरूको संझनाले मलाई घोचिरह्यो र क्षतविक्षत पारिरह्यो । र, पनि बलिको बोकोझैं कान्छा राईका पछिपछि हिँडिरहें । हिँडिरहें ।

— – – – — — – – — – – — – – – – — – – – – –

चट्टानको ठूलो पर्खालले घेरिएको पुलिस प्रमुख-कार्यालय ! कार्यालयमा प्रवेश गर्नुभन्दा पहिलाको विशाल फलामे ढोकाका दुइतिर हतियारले सजिएका दुइ सुरक्षाकर्मीहरू उभिएका थिए । कान्छा राईले तिनलाई ‘कुजुजाम्पो लेभे’ भने ! र, तिनीहरूले पनि कुजुजाम्पो भन्दै जवाफ फर्काए । ‘डासोले अधिकारी सरलाई लिएर आउनु भन्ने आदेश गर्नुभएको थियो । त्यही आदेश अनुसार म अधिकारी सरलाई लिएर डासोको अफिसमा हिँडेको’- कान्छा राईले अवगत गराएपछि तिनीहरूले छिट्टो छिट्टो कार्यालय छिर्ने फलामे ढोका खोले र हामीलाई भित्र पस्न इशारा गरे । उनीहरूको अनुमति अनुसार हामीले पनि फलामे ढोकाबाट भित्र प्रवेश गर्यौं । त्यस पर्खालभित्रको वातावरण पर्खालबाहिरको भन्दा भिन्न र अलौकिक थ्यो । सुनसान र निश्तब्ध थियो । भित्ताहरूमा भूटानी शैलीका, विभिन्न ढाचाका चित्रहरूले सिँगारिएको एउटा सुन्दर महलजस्तो भवन थियो ।

शायद भूटानका पुलिस-प्रमुख ताण्डीव दोर्जीको अफिस यही हुनुपर्छ भन्ने मैले अनुमान लगाएँ ।  फलामे ढोका पार गरेर लगभग दश कदम अगाडि बढेपछि हामी पुनः अर्को ढोकामा पुग्यौं । त्यहाँ पनि मूर्तीजस्तै ढोकामा एउटा सुरक्षाकर्मी राइफल तेर्याएर बसेको थियो । मध्यराति यसरी राइफल ओडेर मूर्तीवत उभिनु उसको कदापि रहर  नभएर वाध्यता हुनुपर्छ भन्ने मेरो हेक्का थियो । गरीबका धेरै छोराहरू स्कूल र कलेज जाने बेलामा परिवारको भोको पेट भर्न र आङ ढाक्ने एकसरो कपडाका खातिर कठोरभन्दा कठोर काम गर्न विवश छन् भन्ने पहिलो पटक मैले अनुभव गरें ।  पुलिसको भन्दा पनि राजकीय अंगरक्षकको तालिम, सेवा र कर्तव्य झन् कठोर र चुनौतीपूर्ण हुन्छ भन्ने मैले कान्छा राई र उनका सहकर्मीहरूवाट थाहा पाएको थिएँ । उनीहरू भन्दै थिए, ‘राजपरिवारको सेवा र कर्तव्य पालनमा सानुभन्दा सानु गल्तीले कि सेवाबाट निष्कासित हुनुपर्छ कि त ज्यानै अर्पण गर्नुपर्छ । त्यही भएर हामी पुलिमा भर्ती भएका हौं !’ त्यहाँ जति पनि सुरक्षाकर्मीहरूसँग मेरो निकटता र साक्षात्कार भयो, प्रायः ती सवैले ८ कक्षाभन्दा माथि पढेका थिएनन् । अधिकांश युवा पुलिसहरू कक्षा ५ को बोड परीक्षामा फेल भएका थिए भने केही कक्षा ८ को बोर्ड परीक्षामा अनुत्तीर्ण हुनेहरू नै सुरक्षाकार्यमा खटेका थिए ।

त्यतिकैमा कान्छा राईले डासोको अफिस आइपुग्यो भनेर मलाई सतर्क हुन आग्रह गरे । म पनि सतर्क भएर समाल्लिएँ । ढोकामा उभिएका सूरक्षाकर्मीका कानमा कान्छा राईले  केही खास-खुस कुरा गरे । हामीलाई बाहिर बस्दैगर्नु भन्ने संकेत गर्दै त्यस सूरक्षाकर्मीले विस्तारै ढोका  खोल्यो र अपिसभित्र प्रवेश गर्यो । र एक मिनटमै भित्रवाट पुनः बाहिर निस्किँदै हामीलाई भित्र जाने संकेत गर्यो । शायद डासोबाट अनुमति भएछ भन्ने मैले अड्कल काटें ।

किन हो ? आज मलाई कुनै पनि किसमको डर मडारिएको थिएन । संधैभरि डराएर पनि के गर्ने ? हुने हुनामी कसैले टार्ने होइन ! तर पनि मुटुभित्र सियोले च्वास् च्वास् घोच्ने क्रममा भने केही तीब्रता अनुभव हुँदैथ्यो । अफिसभित्र पस्नेबित्तिकै कुजुजाम्पो डासो भनेर कम्मरदेखि मुनिको भाग भाँचेर अभिवादन टक्र्याए, कान्छा राईले । एउटा ठूलो घुम्ने चियरमा विपरित दिशातिर मुण्टो गरेर बसेका ताण्डीव फनक्क हामीतिर फर्के । दाहिने कुम र देब्रे कुममा सजिएका दर्जनौं बिल्ला र चक्रहरूले दोर्जीको शरीर चम्चमाइरहेको थियो । ‘११ बजे ल्याउनु भनेको थियो, किन ढिलो आएको ?’ भनेर दोर्जी कान्छा राईसँग जङ्गिए । ‘१२ बजे एउटा सुरक्षासम्बन्धी एमर्जेञ्सी मिटिङमा पुग्नुपर्ने थियो । मेरो समय बर्बाद भयो । तिमी अल्छेहरू सबैलाई सेवाबाट बर्खास्त गर्छु’- भन्दै बुढा झन् कडकिए । कान्छा राईले माफी माग्दै समयमा उपस्थित हुन नसकेको कारणहरू बारे प्रष्ट्याए । मेरै कारण कान्छा राईले हाकीमको गाली र धम्की खानुपर्यो भनेर मैले भित्रभित्रै उनीसँग क्षमा याचना पनि गरें ।  डासोको बाहिर जाने आदेश पाएर कान्छा राईले त्यहाँबाट सुइँकुच्चा ठोके । कान्छा राई ढोका बाहिर निस्कनेबित्तिकै दोर्जीले मेरो टाउकादेखि खुट्टासम्म दोहोर्याइ तेर्याइ हेरेर भने,‘तिम्रो नाम के हो ?’ मैले पनि नडराएको भान गर्दै मेरो नाम गंगा अधिकारी हो भन्ने जवाफ फर्काएँ । पुनः दोर्जीले  स्कूलमा के काम गर्छौ ? भनेर  सोधे । मैले पनि शिक्षकको काम गर्छु भन्ने ठाडो जवाफ दिएँ ।

स्कूलमा नानीहरूलाई देशद्रोही कार्यमा लाग्नुपर्छ भनेर पढाउँछौ अरे हो ? भन्दै दोर्जीले हकारे । मैले कहिले पनि पाठ्यक्रममा निर्धारित पाठहरूका अतिरिक्त केही पनि पढाएको छैन । यदी पाठ्यपुस्तकका अतिरिक्त केही पढाएको भए विद्यार्थीलाई सोधी पाउँ हजुर-भनेर दृढताका साथ जवाफ फर्काएँ । उनले देशद्रोही कार्यका लागि रिजाललाई डोनेशन दिएको कुरा पनि कोट्याए । तिमीले ५ सय दिएको हो कि होइन ? भनेर धम्क्याए । यो डोनेशनको कुरा कसरी पत्तो लगाए यी बुढाले -भनेर छक्क परें । सरकारको लामो हात हुन्छ, साँच्चो साँचो भन्, नत्र जीवनभरि जेलमा सडिरहनेछस् भनेर हप्काए । जुन कुरा नभन्न भनेर आजसम्म दृढ थिएँ । तर, बुढाको अन्तिम वाक्यले मेरो दृढता खल्बल्याइदियो । मैले बाँच्नका लागि पनि भन्नैपर्ने भयो । कमसे कम सही भन्यो भने जेलबाट रिहाइ हुने रहेछ भन्ने पनि बुढाको आशयबाट थाहा पाएँ । मैले पनि ५ सय होइन डासो ३० रपियाँचाहिँ पक्कै दिएकै हो । एउटा लोकसेवक भएर देशद्रोहीलाई किन डोनेशन दिइस् ? भनेर बुढाले टेविलमा राखेको डण्ठा उठाएर कुटौं र मारूँ गरे । असत्यभन्दा जीवनभरि जेलमा कुइनुपर्ने सत्य बोल्दा उल्टै कुटौं र मारौंको धम्की ! कस्तो मेरो देशको कानून व्यवस्था? बुढाले जोङ्खामा लेखेको एउटा कागज निकालेर यहाँ सही गर- भनेर हप्काए । मैले लेखेको नबुझी सही गर्न आनाकानी गरें । वास्तवमा त्यो फार्ममा के लेखिएको थियो मलाई थाहा भएन । तर निकै बेरपछि बुढाले भने,‘प्रत्यक्षरूपमा देशद्रोही कार्यमा सहयोग गरेको कारण आजकै मितिबाट तिमीलाई भूटान सरकारले सरकारी जागिरबाट बर्खास्त गर्दैछ ।’

बुढाको बर्खास्त भन्ने शब्द सुन्नेबित्तिकै मलाई पनि रन्का छुट्यो । जेलभित्र छु भन्ने पनि बिर्सिँएछु । मारे पनि मारोस् र जेलमा कुवाए पनि कुवाओस् भन्ने सोचेर प्वाक्कै सोधें,‘डासो डोनेशन देशद्रोहीमा लागेकाहरूलाई दिएको होइन; पत्रिका छाप्नका लागि एकजना भारतीय मित्रलाई दिएको हो !’ बुढाले मेरो कुरा सुन्दै नसुनको झैं गरे ।  अनि प्रसंग पनि अर्कोतिर मोड्दै उनले अगाडि भने,‘हिजो मात्र भूटान छिरेकाहरूले देशका सबै अवसर र सेवाहरूमा दखल गरेपछि भूटानका सही र वास्तविक नागरिकहरू आज बेरोजगार बन्दै गएका छन् । देशका  ठूल्ठूला ओहदा र नीति निर्माणको स्थानमा समेत हुने उनीहरूको पहुँच प्रभावलाई रोक लगाउनकै निम्ति मौसुफ सरकारले जनगणनाको अभियान शुरु गर्नुभएको हो ।’

उनी एकोहोरो बर्बराउँदै गए-“गतवर्ष दक्षिणी जिल्लाहरूमा गरिएका जनगणनाबाट स्पष्ट भएको छि बाहिरबाट हिजोमात्र कामको सिलसिलामा भूटान छिरेका धेरै विदेशीहरू अवसर र लाभका पदहरूमा स्थापित भएका मात्र छैनन्, उनीहरूले भूटानी नगरिकहरूसँग वैवाहिक संबन्धको नाटक गरेर आफूलाई भूटानी नागरिक दावी गर्ने दौड तीब्र गतिमा बढाइहेको छ ।”  यसलाई बेलैमा रोकथाम नगरिए देश नै विदेशीहरूका हातमा जाने खतरा बढेको पनि उनले दाबी गरे । भूटानमा त्यस्ता गैरकानूनीरूपमा प्रवेश गरेका आप्रवासीहरूप्रति लक्षित गरिएको जनगणना अभियानलाई उल्टासिधा व्याख्या गरेर नागरिकहरूलाई राज्य र सरकारविरुद्ध भड्काउने काम तिनीहरूबाटै भइरहेका छन् भन्ने उनको दाबी थियो । पण्डितले पुराण भनेझैं उनी भन्दै जान्थे । म भक्तहरूले झैं कथा सुन्दै जान्थें । उनी भन्दै थिए, ‘हामीलाई यो पनि थाहा छ कि सरकारको यस अभियानबाट केही निर्दोष नागरिकहरूलाई कष्ट पुगेको छ । तर सरकारको उद्देश्य भनेको नागरिकालाई दुःख दिने कदापि होइन, बरु भूटानमा गैरकानुनीरूपमा बस्दै आएकाहरूलाई पहिचान गरेर देशबाट निष्कासित गर्नु हो ।’

सरकारको जनगणनासम्बन्धी नीति र अभियाबारे दोर्जी मलाई स्पष्ट गर्दैथिए । म भने अक्कमक्क भएर दोर्जीको उपदेश सुन्न विवश बनिरहेको थिएँ । उनी नरोकिई अगाडि भन्दै थिए,‘सरकारको यही नीति र पोलेसीबारे जानकारी गराउनका लागि तिमीहरूलाई हामीले थिम्पू ल्याएको हो । तिमी त भूटानको एक नम्मर नागरिक रहेछौ । अवश्य पनि देशको नीतिविरुद्ध संलग्न हुने जमातमा तिमी सामेल हुनेछैनौ भन्ने मलाई पूर्ण विश्वास छ !’ यसो भन्दै मलाई दोर्जीले मलाई हौस्याए । दोर्जीले किन पुइँक्याउँदैछन्,भन्ने मलाई थाहा भएन । तर, उनले यदि कसैले जानीजानी देशद्रोही गतिविधिमा संलग्न हुन्छ भने खाट्टी नागरिक नै किन नहोस् त्यसलाई सरकारले क्षमा दिनेछैन भनेर कडा चेतावनी र धम्की पनि दिइरहेका थिए-जुन कुराहरूलाई भने म स्पष्टसँग बुझ्न सकिरहेको थिइनँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *