जेशनको विश्वशान्ति अभियान
गङ्गा लामिटारे
ओहायो, अमेरिका
भनिन्छ, स्वर्ग यही धर्तीमा छ र देवता पनि ।
धर्तिपुत्र मानव नै देवता हो र धर्ती नै वास्तविक स्वर्ग । स्वर्ग र नरक छ छैन, त्यो कसैलाई थाहा छैन । तर पनि मानिस त्यसैका लागि मरीहत्ते गर्छ । मानिसले चाह्यो भने स्वर्गलाई नरक र नरकलाई स्वर्गमा बदल्न सक्छ । बदल्छु भनेर मात्र हुँदैन, सही विचार र योजना हुनुपर्छ । अरूको विचार र आस्थालाई सबैले सम्मान गर्ने हो भने वास्तवमा मानिस नै देवता हो र धर्ती नै शान्ति र स्वर्गको परम् निकुञ्ज पनि । यसको साक्षात् उदाहरण हुन् जेशन बाड्रा ।
जेशन कलम्बसमा जन्मे । यहीँ पढे । पेसाले अहिले उनी डाक्टर हुन् । आस्थाले उनी इसाई । त्यो पनि पुस्तौँदेखिको इसाई । ४५ वर्षअघिदेखि उनी ओहायो स्टेट युनिभर्सिटी मेडिकल सेन्टरमा डाक्टरी पेसामा संलग्न छन् । उनको विवाह भारतको केरेलामा भएको हो । भारतबाट डाक्टरी पढ्न आएकी अमृता पिल्लोइसँग । पिल्लोइ जन्मले हिन्दु। धर्मले सनातन । सम्प्रदायले उनी श्रीवैष्णव । बेमेल रङ्ग, विपरीत संस्कार र पृथक् आस्थाका बाबजुद पनि उनीहरूको जोडी लैला-मज्नुको भन्दा कम थिएन । उनीहरूको ५४ वर्षे दाम्पत्य जीवनमा कहिले पनि खटपट भएन । अविश्वास र तिक्तता आएन । धर्म र संकारकाबारे द्वन्द्व र टकराब झेल्नु परेन ।
सबैभन्दा ठुलो धर्म भनेकै एक अर्काको अस्तित्वलाई स्विकार्नु र सबैको आस्था र विश्वासलाई सम्मान गर्नु हो । यही सहअस्तित्व र समानताको सानो भन्दा सानो एउटा सिद्धान्तबाट जेशनको घर शान्ति र सद्भावको स्वर्ग बन्यो । । संयोग पनि कस्तो ! जेशनको छोरो पनि ठ्याक्कै बाबु जस्तै । तर ऊ पेसाले आइटी । आस्थाले ऊ नास्तिक । ऊ न धर्म मान्छ न त ईश्वरमा आस्था नै छ उसको। तर बिहे भने एउटी कट्टर इराकी युवतीसँग । जो आकाश र धर्ती झैँ फरक र बेमेल । जेशनकी बुहारी फतिमा पेसाले नर्स ।आस्थाले उनी कट्टर इस्लामी। प्रत्येक शुक्रवार फतिमा नमाज पढ्न मस्जिद जान्छे । छोरो ज्याक्सन दिउँसो काम गर्छ । साँझ-बिहान योगा गर्छ । घरमै दर्शनशास्त्रहरूको स्व अध्ययन गर्छ । जेशन पनि प्रत्येक आइतबार चर्चमा जान्छन् । प्रार्थना गर्छन् र असाह्यहरूको सहयोग र सेवाकालागि योजना बनाउन साथीहरूलाई मदत गर्छन् । श्रीमती डा पिल्लोइ त्यसै त एक भारतीय आदर्श नारी । जन्मले होस् वा संस्कारले कट्टर सनातनी । उनी प्रत्येक पूर्णिमाका दिन उपवास बस्छिन् । रामनवमी, कृष्ण अष्टमी जस्ता विशेष पर्वहरूमा नजिकैको हिन्दु मन्दिर जान्छिन् । पूजा अर्चना गर्छिन् । ब्राह्मण भोजन गराउनु र दान-दक्षिणा गर्नु उनको जीवन दर्शन ।
ज्याक्सन न धर्मै मान्छ न त पुनर्जन्ममा नै उसको विश्वास । तर जीवन सँगिनी भने कट्टर मुसलमान। सोचे जस्तो कहाँ हुन्छ र जीवन । तर चाहेमा भने जस्तो बनाउन पनि सकिँदो रहेछ । असल लाइफ पार्टनर पाउनुमा कर्मको भन्दा पनि भाग्यको भूमिका सर्वोपरि हुँदो रहेछ । असल जीवनसाथी पाउन जुर्दैन, लेखेकै हुनुपर्छ । भाग्यले कस्तोसँग सम्झौता गर्छ त्यो कसैलाई थाहा हुँदैन । प्रेमको आँखा हुँदैन, धर्म र जात हुँदैन; शत्रु र मित्र पनि हुँदैन भन्ने साबित गर्दियो ज्याक्सन र फतिमाको प्रेमले । हुन्छ त केवल हार्दिकता र समर्पण । ज्याक्सन र फतिमालाई पनि त्यही हार्दिकताले सँगै बाँच्ने र सँगै मर्ने बनायो । विषय र विभाग भिन्नै भए पनि उनीहरू एउटै कलेज पढ्थे । एक दूईपटक कफीसपमा भेटिएको मात्र । अनायासै आँखा जुध्दिहाले । त्यो अचम्मको जुधाइबाट दुवै घाइते भए । आँखाको तीर लागेकै दिनबाट रातमा न निद्रा पर्यो न भोक तिर्खा नै ज्याकशन र फतिमालाई । अनजानैमा दुवै एक अर्काप्रति आकर्षित र सम्मोहित हुँदै गए । सुरु सुरुमा मन र भावना रहेको उनीहरूको प्रणय बिस्तारै व्यवहारमा परिणत भएरै छाड्यो । जन्मजात नारिलाई स्वतन्त्र बाँच्न र हाँस्न नदिने इस्लाम समाज चुप्प लागेर किन बस्थ्यो ? ज्याक्सनसँगको अन्तर्जातीय विवाहालाई मुसलमान जाति कै कलङ्क भनेर उनीहरूले फतिमालाई छुटाउन प्रयास गरे । पुलिस-प्रशासन र अदालतको ढोका ढकढक्यायो। तर कानुनीरूपमा दुवै १८ वर्ष माथि पुगेकाले उनीहरूका सबै प्रयासहरू विफल साबित भए । उनीहरू प्रेममा यति सारो कसिँदै गए कि जसलाई फुकाउन र चुँडाउन कुनै पनि शक्तिको वशको कुरा थिएन ।
– – — – – – – – – – – – — – – – – – – – – — – – – – – – –
जेशनको घर सबैका लागि साझा र शान्तिको चौतारी भएको छ । जहाँ विभेद र वैमनस्य छैन । घमन्ड र मपाईत्वको पर्खाल छैन । हीनता र लघुताभासको आभाससम्म छैन । आस्था र विश्वासहरू फरक भए पनि उनीको मन फरक भएन । विचारहरू फरक भए पनि भावना फरक भएन । अध्यात्म फरक भए पनि सम्बन्ध फरक भएन । गन्तव्य फरक भए पनि लक्ष्य कहिले फरक भएन । नदेखिने स्वर्गभन्दा देखिने धर्ती नै सुन्दर र महान् हो भन्ने उनीहरूको विश्वास छ । मानिसले धर्म र संस्कार बदल्न सक्छ, तर सम्बन्ध बदल्न सक्दैन । धर्म र आस्था व्यक्तिको नितान्त निजी कुरा हो । तर सम्बन्ध भनेको रगत, मुटु, भावना र परिवारसँग गाँसिएको अकाट्य बन्धन । धर्म अर्कालाई देखाउनका लागि गर्ने पनि होइन । जहाँ धर्मका नाममा देखावट हुन्छ त्यहाँ दुन्द्व र टकराबले जन्म दिन्छ । विनाश र आतङ्कको पराकम्प हुन्छ । तर जेशनले ४ पृथक् धर्म र आस्था एउटै छानोमा अटाएका छन् र पनि मनमुटाब भएन । खिसी टिउरी भएन । तेरो र मेरो भएन । धर्म र आस्थाबारे न बहसै भयो उनीहरूका घरमा न दुन्द र टकराब नै । सुनैसुनले बनेको मन्दिर नै किन नहोस् यदि त्यसभित्र सबैको आस्था अँटतैन भने । निधारै भरिको तिलकको के अर्थ ? यदि त्यसनिधारभित्र मानवताको पवित्र भावना छैन भने । मोक्ष र प्रगतीको नाममा साँझ बिहानको शंखध्वनिको के काम यदि त्यस ध्वनिकारले त्यसभित्रको अन्तरध्वनि बुझ्दैन भने ? कल्पनाको परलोकको के अर्थ जब यही लोक सुध्रिएन भने ? भनिन्छ, एउटै ताकमा भएर पनि बाइबल, गीता र कुरान कहिले बाझेनन् तर जो बाझ्छन् र झगड्छन् तिनीहरूले कहिले ती ग्रन्थ पढेनन् । जेशनका घरमा कुनै पनि धर्मगुरुको तस्बिर छैन । कुनै पनि ईश्वरको मूर्ति र बिम्बहरू छैन । छन् त ज्ञान-विज्ञान र दर्शन शास्त्रहरूका ग्रन्थहरू । संसारका कुनै पनि वाद, सिद्धान्त र दर्शनशास्त्र खोज्रन कहीँ गइरहनु पर्दैन जेशनलाई । उनको घर नै पुस्तकालय हो र उच्च ज्ञानको श्रोत पनि । वास्तवमा घर ज्ञान विज्ञान आर्जनको थलो हुनुपर्छ, धर्मको होइन । धर्मको अभ्यास घरमा होइन मन्दिर, चर्च र मस्जिदमा हुनुपर्छ भन्ने उनको दर्शन छ । जेशनको यही दर्शनबाट उनको घर शान्तिको निकुञ्ज बन्यो । प्रेम र सद्भावनाको केन्द्र बन्यो । सवैका आस्था र विश्वासहरू उमार्ने उर्वर बगैँचा बन्यो ।
गर्दा के हुँदैन ? जेशनले सानो लोटामा विशाल सागर अटाए । विपरीत आस्थाका इसाई र मुस्लिमलाई मित्रता र सद्भावनामा उभ्याए। जन्मिँदैको पूर्व र पश्चिमका अभ्यास र उपासनालाई मनभित्रै स्थापित गराए । आयतन र लगानीलेमात्र घर ठूलो र भव्य हुन्छ भन्ने होइन, घर ठूलो र महान् त्यो हो जहाँ शत्रुता, वैरभाव र विद्वेषको आभासमात्र पनि हुँदैन ।
– – — – – – — – – – – – – – – – — – – –
जेशनको धार्मिक सहिष्णुता र सद्भाव देखेर कृष्णलाई आश्चर्य लाग्यो । एक वर्ष भयो, कृष्ण जेशनको छिमेकी भएर बसेको । हरेक शनिवार कम्युनिटी पार्कमा उनीहरूको भेट हुन्छ । त्यही भेटघाट र अन्तरसंवादले उनीहरूलाई नजिक्यायो । खुलेर नै अहिले उनीहरू एक अर्काको घरमा जान्छन् । चिसो तातो खान्छन् र सुखदुख एकअर्कामा सेयर गर्छन् । यस मित्रताले एक अर्काको सामाजिक, सांस्कृतिक र धार्मिक रहनसहनबारे जान्न र बुझ्ने अवसर दिलायो । कृष्ण जेशनलाई एउटा सामान्य चिकित्सक मात्र ठान्थ्यो । तर उनीसँगको अन्तरसंवाद र छलफपपछि जेशन कुनै साधारण चिकित्सक मात्र होइनन् महान् दार्शनिक र सर्वधर्मज्ञ पनि रहेछन् भन्ने कृष्णले बुझ्यो । मौकामा चौका हान्नै पर्छ भन्दै कृष्णले जेशनलाई सोध्यो- ‘तपाइले ४ विपरीत आस्थाहरूलाई एउटै छानुमुनि अटाउनु भएको छ, यो कसरी सम्भव भयो ? कृष्णको प्रश्न सुनेर जेशन छक्क पर्यो अनि लामो सास लिँदै उसले उत्तर दियो ‘ हो, म धर्मले इसाई हुँ । तर पनि यो ज्ञान गान्धीको अनन्यवाद र बुद्धको अहिंसावादबाट पाएको हुँ । दुवै महापुरुषका जीवन दर्शनलाई मान्छु र त्यही अनुसार अभ्यास पनि गर्छु ।’
‘के भन्नुभएको सर, मैले त केही पनि बुझिन नि,‘ भन्दै कृष्णले अज्ञानता प्रकट गर्यो । ‘चाहे धर्म भन्नुहोस् वा दर्शन । सत्य र क्षमा जस्तो न अस्त्र छ न त धर्म नै । असत्यलाई जति नै मलमपट्टि गरे पनि अन्ततः विजय असत्यको होइन, सत्यकै हुन्छ । संसारमा क्षमा जस्तो धर्म नै अर्को छ न त दर्शन नै । यही सत्य र क्षमाको हतियार प्रयोग गरेर नै गान्धीले भारतवासीलाई एक सूत्रमा उने । आन्तरिक एकतालाई मज्बुद गरे र वर्षौँदेखि शोषण गर्ने ब्रिटिस साम्राज्यवादलाई जरैबाट उखेलेर फ्याँके । यो त मैले गान्धीको जीवन दर्शनबाट सिकेँ । मन, बचन, कर्म र भावनाले कसैप्रति विभेद गर्नुहुँदैन । चाहे मानिस होस् वा पशु, ठूलो होस् वा सानु, छुत होस् वा अछुत कसैको पनि निन्दा र हिंसा गर्नुहुँदै भन्ने बुद्धको अहिंसा परमोधर्म सिद्धान्तबाट पनि म त्यतिकै प्रभावित छु ।‘ जेशनले दार्शनिक उत्तर दिए । तर जेशनको उत्तरले कृष्णको उत्सुकतालाई अझ बढी उछालो । अज्ञानता प्रकट गर्दै कृष्णले फेरि सोध्यो-‘ त्यसो हो भने गान्धीको अनन्यवाद भनेको चाहिँ के हो ? ‘गान्धीले आफ्नो कुनै नयाँ सिद्धान्त प्रतिपादन गरेका होइनन्, उनले संसारका विभिन्न सिद्धान्त, वाद र दर्शनको अध्ययन गरे । गहन अन्वेषण गरे । अनि ती सबै दर्शनबाट केही राम्रा पक्षहरूलाई लिएर एउटा नयाँ दर्शन प्रतिपादन गरे । त्यही प्रतिपादित दर्शनै गान्धीको अनन्यवाद हो । सरल अर्थमा भन्नुपर्दा सर्व स्वीकार्य र सर्वमान्य सिद्धान्त नै उनको अनन्यवाद हो ।‘ जेशनले स्पष्ट्याए ।
‘ज्ञान आर्जनको श्रोत पुस्तकको अध्ययनलाई मान्नु हुन्छ कि स्थलगत सर्वेक्षणलाई ठान्नुहुन्छ ? कृष्णले पुनः जिज्ञासा राख्यो ।‘म पुस्तक र सर्वेक्षण दुवैलाई ज्ञानार्जनको स्रोत मान्छु । मेरा ससुराली भारतमा भएकाले पनि मैले पटक पटक ऋषिमुनिहरूको त्यो पवित्र धर्तीको स्पर्श गर्न पाएको छु । महिनौँसम्म त्यहाँका ऐतिहासिक र सांस्कृतिक केन्द्रहरूको अध्ययन गरेको छु । त्यहाँका सन्त-महन्तहरूको प्रवचन सुनेको छु । तीर्थाटन, योग साधना र सत्सङ्गहरूमा सम्मिलित भएको छु । आध्यात्मिक एकताको प्रतीक, शान्ति र सहिष्णुताको महाकुम्भ मेलाहहरूमा महिनौसम्म हराएको छु । म अहिले जुन ठाउँमा छु त्यही पूर्वीय सभ्यता, दर्शन शास्त्रहरूको गहन अध्ययन, अनुसन्धान र त्यसको अभ्यासले नै हो भन्ने ठान्दछु ।’
जेशनको यस व्याख्याले वर्षौँदेखिको कृष्णको मनको अज्ञानता र अँध्यारो पर्दा हल्लिन थाल्यो, वर्षा ऋतुलाई शरदले थिचे जस्तै कृष्ण अँध्यारोबाट उज्यालोतर्फ लम्कन थाल्यो । ‘तपाईँको अनुभवमा वैष्णव सम्प्रदाय भनेको के हो ?’ कृष्णले सोध्यो । यो विष्णुको उपासना गर्नेहरूको समाज हो । विशेष गरी अन्य अवतारहरूलाई माने पनि उनीहरूको मूल आराध्य भनेको विष्णु नै हो । तामसी भनेर वैष्णवहरू शिव र दुर्गालाई मान्दैनन् र पुज्दैनन् पनि । जब देवी देवताहरूमा नै विभेद गरिन्छ, भने मानवताको कुरै नगरे हुन्छ । प्रतिशतका हिसाबले भन्ने हो भने संसारमा वैष्णव २५ प्रतिशत मात्र छन् । तर स्मार्ट, प्रकृति पुजक र शिव पुज्नेहरूको सङ्ख्या सबैभन्दा ठुलो छ ।‘ जेशनले भने ।
जेशनको उत्तर नसकिँदै कृष्णले पुनः प्याच्चै सोध्यो ‘आजको सन्दर्भमा यस सम्प्रदायको महत्त्व र भूमिका कस्तो हुनुपर्छ? तपाइका दृष्टिमा ? कुनै पनि सम्प्रदाय आफैमा नराम्रा छैनन् । सबै सम्प्रदायको उद्देश्य भनेकै अध्यात्मसँग जोड्नु हो । अन्धकारबाट व्यक्तिलाई उज्यालोतर्फ र अज्ञातबाट ज्ञानतर्फ डोर्याउनु हो । तर यो वैश्वीकरणको युगमा केही वैष्णव सम्प्रदायले सबैको आस्था र विश्वासलाई आत्मसाथ गर्न सक्दैन । कि भने उसका आफ्नै आचरणका सीमाहरू छन्, सिद्धान्त र अभ्यासहरू छन् । गुरू परंपरा र गद्धीहरू छन् । आफ्नो नीति र पद्धति विरुद्ध ऊ जानै सक्दैन । विविध विश्वास र आस्थाहरूलाई अटाउनै सक्दैन । अर्को बिर्सनै नहुने कुरा भनेको पवित्रताको नाममा व्यापक जातीय विभेद, कर्मकाण्डवाद, व्यक्ति पूजा, आचार्यवाद र स्वामीवादबाट ग्रस्त र प्रताडित छन् यी सम्प्रदायहरू । जस्तै राम्रा सिद्धान्त, वाद र उपासना भए पनि परिस्थितिसँग मिल्न र बदल्न सकेन भने कालन्तरमा ती सबै समाप्त भएर जान्छन् । आफूलाई बदल्न नसक्दा धेरै राम्रा सम्प्रदायहरू, आस्था र विश्वासहरू विनाश भएर गए । इतिहासबाटै विलुप्त भए । ४ सय वर्ष पुरानु अभ्यास अबको समाजलाई स्वीकार्य छैन । र यसले विश्व शान्ति र वसुदैब कुटुम्भकंको मर्म र भावनालाई आत्मसात् गर्न सक्दैन भन्ने मेरो अनुभव हो । तर यसो भन्दैमा सबै वैष्णव सम्प्रदाहरूको सिद्धान्त र दर्शन उस्तै उस्तै हो भन्न खोजेको पनि होइन । भक्ति वेदान्त स्वामीले प्रतिपादन गरेको गौडिया ( स्कन वा हरेकृष्ण मिसन) सम्प्रदाय पनि वैष्णव नै हो । तर त्यहाँभित्र न छुवा-छुतनै छ, न त लिङ्ग र वर्णको विभेद नै । त्यसभित्र सवैका आस्था, विश्वास र अभ्यासहरू अटाएको छ । समान अवसर र समान सहभागिताको सिद्धान्त्लाई उच्च महत्त्व दिएको छ । धेरै उदार, कर्मकाण्डवाद, आचार्यवाद र स्वामीवादबाट धेरै टाढा । युग सुहाउँदो र वैज्ञानिक भएकाले पनि यसप्रति विश्वको आकर्सण र झुकाऊ बढ्दो क्रममा छ । यही उदारता र कल्याणकारी मिसनका साथ अघि बढिरह्यो भने यस सम्प्रदायले अबको २० वर्षमा विश्वको आधाभन्दा बढी मानव जातिलाई शाकाहारी, अहिंसक, कर्मनिष्ठ र आस्थावान् बनाउनेछ । र अध्यात्मवादप्रति उन्मुख गराउनेछ । पूर्वीय वैदिक सभ्यताको पुनर्जागरण र आध्यात्मिक क्रान्तिमा यस सम्प्रदायको एकल प्रयास बिर्सनै नसकिने छ । वास्तवमा भन्नुपर्दा मानव एकता, मैत्रित्व र विश्वशान्तिको अभियानमा यसले जति योगदान गरेको छ, त्यो अरू कसैले पनि छैन । जेशनले प्रस्ट्याए ।
जेशनका दर्शनले कालो बादल हटेर अकास खुले जस्तै कृष्णका मनका सन्देह र अन्योलहरू पनि हट्दै गए । तर जन्मँदैका बाल-बच्चाहरूलाई संस्कारको नाममा दीक्षा दिने प्रचलन उसलाई पटक्कै मन परेको थिएन । स्कुलै नगई बाल्यकालमै परिवारले कृष्णलाई वैष्णव सम्प्रदायमा दीक्षित गराएको थियो । कृष्ण परिवारले मान्दै ल्याएको साम्प्रदायिक अभ्यासलाई नै हिन्दु धर्म भन्ने ठान्थ्यो । जेशनसँगको निरन्तर सम्पर्क र संवादबाट कृष्णको हिन्दूधर्म सम्बन्धी अज्ञानता र भ्रमहरूका तारहरू बिस्तारै खुकुलिदै जान थाले । उसमा अझ जान्ने खुल्दुली र उत्सुकता पनि बढ्दै गयो । कृष्णले पुन जेशनलाई प्रश्न गर्यो ’मानिसका लागि पहिला शिक्षा हो कि दीक्षा ? ’विना शिक्षा मानिसको सोच र चेतना फराकिलो हुन सक्दैन । शिक्षा विनाको दीक्षा मानिसका लागि गम्भीर घातक हुनसक्छ । दीक्षाले मानिसलाई सुसंस्कारी र उदार बनाउँदैन । यसले अनुदार, सङ्कुचित र कठोर बनाउँछ । त्यसैले मानिसका लागि शिक्षा पहिलो सर्त हो भने दीक्षा दोस्रो । दीक्षा नभए पनि जीवन चल्न सक्छ । तर शिक्षा विना आजको जीवन विल्कुलै चल्न सक्दैन ।’ जेशनले ठोकुवा गरे ।
– – — – – — – – – – – – — – – – – – – – – –
कृष्णका कथाले जेशनलाई प्रभाव पार्यो पारेन तर जेशनका संवादले भने कृष्णको सोच नै बदल्दियो । दुई पुस्ता अघिदेखि वैष्णव-सम्प्रदायको अभ्यास गर्दै आएको कृष्णको चिन्तन र दर्शनै बदल्दियो । कृष्ण वैष्णव परम्परालाई नै सनातन धर्मै ठान्थ्यो । हुन पनि वैष्णव सम्प्रदाय बाहेकका अन्य सबै धर्म र संस्कारहरू बेठिक र असान्दर्भिक हुन भन्ने उसलाई सिकाइएको थियो । प्रचलित अभ्यास मात्र ठिक र अरू सबै बेठिक भन्ने कृष्णको वर्षौँदेखिको भ्रमको पर्दा हट्यो, जेशनसँगको अन्तरसम्वादले । जीवनमा पहिलो पटक उसलाई गान्धी र बुद्धको सम्झना भयो । बुद्धको देशमा जन्मिएर बुद्धलाई नबुझेकोमा उसलाई धेरै पछुतो भयो । शान्तिको देशमा जन्मिएर अहिंसाको महिमा नसिकेकोमा उसलाई हीनताबोध भयो । पूर्वीय सभ्यताको महत्त्व र महिमा एउटा पाश्चात्यका मुखबाट सुनेर कृष्ण किंकर्तव्यविमूढ भयो ।
कृष्णलाई एक वर्ष अघि आफ्नै घरमा आयोजित पित्र्येष्टीको सम्झना भयो । पित्र्यष्टी थालिएकै तीनदेखि परिवारमा खटपट सुरु । बुहारीले तीर्थ स्नान गरिन् तर समस्रया गर्न मानिन । समस्रया नभएपछि परिवारका अन्य सदस्यहरूसँगै बसेर पुराण सुन्ने उनको सपना सकार भएन । धर्म र संस्कारले मानवतालाई फोर्ने होइन, जोड्नु पर्थ्यो । तर जहिले फोर्ने मात्र काम भए, कहिले जातिका नाममा, धर्म र सम्प्रदायका नाममा त शिक्षा र दीक्षाका नाममा । पवित्रताको लक्ष्मण रेखाले एउटै परिवारलाई बाहिरिया र भित्रिया मात्र बनाएन अपितु मानसिक र भौतिकरूपमै छिन्नभिन्न बनायो । परिवार र समाजले पूजा-अर्चना र दैनिक घर व्यवहारमा समेत बुहारीलाई अयोग्य साबित गर्दियो । बुहारीका लागि सातै दिन मण्डपको ढोका बन्द भयो । निधारमा तिलक नमिल्दा र गलामा कण्ठी नमिल्दा प्रियाम्वदा र जयरामको विवाह भत्किएको पनि उसलाई सम्झना भयो । सबैभन्दा ठुलो मानिसको मन हो । जब मनै साँगुरो भए पछि एउटै घरमा अटाउने कुरै थिएन । जहिले बुहारीलाई छि ! छि ! र दूर दूर ! कृष्णका पितृ प्रसन्न भए भएनन् पित्र्येष्टीले तर वंश विस्तार गर्ने पुत्र बधुलाई बेखुसी र अन्याय चाहिँ पक्कै पनि गरेकै हो ।
सम्प्रदायको नाममा एउटा सुन्दर र शान्त कृष्णको घर एकाएक अशान्तिमा रुमल्लियो । उसले बाबुलाई सम्झायो । आमालाई बुझायो । स्वास्नीलाई फकायो । केही लागेन । उसको सल्लाह खोलाको गीत साबित भयो । परिवारको माया भन्दा सम्प्रदायको चाहा बलियो हुँदै गयो । कृष्णको सत्प्रयास विफल भयो । कुनै उपाय नलागेपछि कृष्ण श्रीमतीलाई लिएर घरबाट निस्क्यो ।