जे. बी. र बडहरको रुख

प्रेम मुखिया ‘वैरागी’
नाम्ची, सिक्किम

उसलाई बोलाउने नाम जे. बी.। जोशबहादुर उसको पूरा नाम भए पनि अचेल गाउँतिर पी. के., सी. के., एम. बी., बी. बी., डी. बी. आदि भन्ने चलन नै हाबी हुँदै गइरहेकाले उसलाई पनि जे. बी. भनेर बोलाउँदा सबैले चिन्ने गरेका छन्। पुरानो व्यवस्था र नयाँ व्यवस्थाको प्रत्यक्षदर्शी अर्थात् यसो भनौँ युवा पुस्ताको प्रतिनिधि ‘जीता जागता इन्सान’ जे. बी.। हरेक विषयलाई परख गरेर, जोखेर मात्र बोल्छ गाउँमा। अति उज्यालो हँसमुख र व्यावहारिक।

गाउँतिर भित्रिरहेका हरेक विकृतिहरूप्रति उसको विरोधाभास हुन्छ। टड्कारो स्वरले खोइरो खन्छ उ। भर्खरै होली पर्व मनाउने गाउँका केटाकेटीहरू माझबाट कसैले रङ्ग पोखाइदिएछ भर्खरै सिलाएर लगाइराखेको उसको खैरो कमिजमाथि। गाउँ नै थर्कायो उसले यसरी – ‘आफ्नै संस्कार र संस्कृतिका बारेमा राम्रो जानकारी छैन साला छाउरा-छाउरीहरू…को हो मेरो यहाँ रङ्ग फ्याँक्ने? कति पर्वहरूले पनि नपुगेको कठिबज्रेहरू…। हाम्रो जातिहरू मात्रै किन यस्तो भा’को, श्रापित नै पो हो कि…।’

उ अझै कड्की रह्यो-‘त्यसै ठुङ्गी मागेका होइनौँ, त्यसै कुच्च्याइमागेका होइनौँ है साथी हो, यस्तै बेहोरा र बुद्धिले, थिचिमागेको त्यसै होइनौँ।’

कोही पङ्गा लिन मान्दैन उसित। जसले यसो गर्छ उसलाई जे. बी. -ले तोरीको फूल झारिदिन्छ। अनेकन उदाहरणहरू पेस गरेर हुन्छ कि, जाने-सुनेकै भरमा, इतिहासको कुरा गरेर हुन्छ कि कसो भनेर हुन्छ, छोड्दैन उसले उल्ली-बल्ली पार्छ। हराएरै छोड्छ। लाज पारेरै छोड्छ। बारीको कान्लातिर बाटोको किनारतिर, कार्यालयको बेन्चतिर, चौतारोतिर कहीँ पनि घोप्टेर कसैलाई वास्ता नगरी कुखुराले मकै ठुँगेको जस्तो गरेर ‘फेसबुक’ हेरिरहने, मोबाइलका दासहरूसित भने झनै उसको ठुलो गुनासोहरू सुन्न पाइन्छ। भाषा बिगारेर ‘ओएमजी, आआइपी, कङ्ग्रयाज’ आदि लेख्नेहरूप्रति मुरमुरिन्छ जे. बी. त्यत्तिकै।

उहिलेका बुढापाका, बाजे-बोजोहरू भन्नु हुन्थ्यो ‘तिमारको जमानामा त बोलेको पनि पैसा लाग्छ, पानी पनि किनेर पिउनुपर्छ, ढुङ्गा बलुवा सबै किन्नुपर्नेछ के कुरा गर्छस् केटा हो।’ बगमफुसे कुराहरू लाग्थ्यो त्यस बेला तर अहिले आएर ती सबै कुराहरू सत्य साबित भएको देख्दा ती अग्रजहरू त महाज्ञानी भविष्यवक्ताहरू पो थिएछन् त। आज हेरौँ त ‘हेल्लो’ भन्ने बित्तिकै तीस पैसा सुइँ, पानी एक बोतलको बिस रूपे ठ्यार्‍याक्कै। सहकाल र लक्षिणको जमाना त गा’कै हो अब। उल्टा-उल्टा काम गर्ने लोधरहरू मात्र छन् अचेल त। ठुलठुला कुराहरू हाँक्छन् खालि मञ्चबाट। मञ्चबाट झरेपछि त्यै गुन्डा, त्यै भ्रष्टाचारी, अत्याचारी, विनाशकारी अनि त्यै पर्यावरण विरोधी लु हेर्नोस् त…।’

मैले घरको बार्दलीबाट देखेँ। आज पनि यसरी कराउँदै-कराउँदै ओह्रालै लाग्यो जे. बी.। जे. बी.-लाई मन नपर्ने कुराहरू धेरै छन्। कुरीति, कुसंस्कार आदिमध्ये भोज-भतेरतिर सजाइएका विभिन्न पकवानहरूका पछाडि एक-एक जना उभिनुपर्ने चलन, विशेष रूपले स्त्री जातिहरू काम सघाएको भन्दै उभिने चलन चल्तीप्रति अचम्मै रोष छ उसको, जसलाई आखिर केही जानकारी हुँदैन ती व्यञ्जनहरूको। कुनै पनि कार्यतिर तस्बिर खिँचाउने, सार्वजनिक गरिने सस्तो परम्परादेखि विरक्ति छ उसको आफ्नै।

जस्तोसुकै भए पनि जे. बी. तर त्यहाँ नहुँदा कहिलेकाहीँ गाउँ नै शून्य बोध हुन्छ। गाउँकारहरूलाई वरपरका खबरहरू ल्याएर सुनाउनु, सचेत राख्नु, हरेक नयाँ कुराहरूको विवरण दिनु सायद जे. बी.-ले ऋण नै खाएको छ तर उसको यही जिउँदोपनले गाउँलाई चलायमान बनाइराखेको छ। हरेक कुराहरूको खबर, निधो दिन्छ जे. बी.-ले नै। बिहे, मरौँ-परौँ आदि कार्यतिर जे. बी. नहुनु भनेको सब्जीमा नुन नभएको जत्तिकै हो। जे. बी.-मा भएको अर्को प्रबल विचार र सबल पक्ष भनेको उसको पर्यावरणप्रतिको चेतना र प्रेम।

गाउँभरिकालाई फल-फूल, विभिन्न प्रजातिका रुख पात र बिरुवाप्रति जागरूक गराउनु, खोजेर ल्याई वितरण गर्नु, वन्य प्राणी, रुख पात र हाम्रो दैनन्दिनी जीवनका सामञ्जस्यताबारे आजको अबोध युवा पीढीलाई अवगत गराउनु। कुन रुख पातले हामीलाई श्वास फेर्नमा मद्दत गर्छ, कुन रुख पातले प्रदूषणलाई नियन्त्रण गर्छ औ कुन-कुन रुख पातले पानीको मुहानलाई अर्थात् जलस्रोतलाई संरक्षण गर्छ, यथावत् राख्नमा भूमिका निर्वाह गर्छ यस्ता जानकारीहरू पस्किन पाएको बेला भने साँच्चै उसको अनुहारमा देख्न पाइन्छ एउटा छुट्टै रौनक, छुट्टै आनन्द। अरूलाई तुरुन्तै प्रभाव पार्न सक्ने क्षमता, वाक पटुता भरपुर छ उसमा। जे. बी.-का

कुराहरू सुनिसकेपछि जो कोहीलाई पनि पर्यावरण र वन्य प्राणी संरक्षणतर्फ केही सचेतनामूलक कार्यहरू गरूँ गरूँ लाग्ने प्रेरणा र उत्साह -उमङ्गको लहर उब्जाइदिने कौशल व्याप्त छ उसमा।

उहिलेको तीन-चार कक्षा मात्र छिचोलेको भए पनि जे. बी.-मा विविध ज्ञानहरू छन्। गाउँका नानीहरूलाई, युवा पीढीलाई पानीको महत्त्व, त्यसको संरक्षणको आवश्यकता, पानी खेरो फाल्नु सामाजिक अपराध हो भन्ने कुराहरू मीठो भाषामा बुझाउन सक्छ उ। वन्य प्राणीहरूबारे त उसले लामै व्याख्यान प्रस्तुत गर्न सक्छ जसलाई नानीहरूले खुबै चाख मानेर सुनेको देखिन्छ।

खुसी हुँदा कविताहरू लेख्ने, पढ्ने अर्को राम्रो आदत छ उसको। केही दिनअघि मात्र एउटा समाचार पत्रमा प्रकाशित छ उसको एउटा यस्तो टुक्रे कविता ः

मेरो गाउँ, मेरो सहर
हेर रसायनमुक्त मेरो माटो
प्रदूषणमुक्त छ सहर
लागु पदार्थमुक्त छ समाज
भिखारीमुक्त छ बजार
रक्सी, तास, जुवा र बेरोजगारी
सबैमा छन् होसियारी
मासु, तम्बाकु, गुटका र पान मसाला
सतर्कता र प्रतिबन्ध
निश्चय नै प्रशासनको रहला…!!

यसरी चेतनाका छटपटीहरू पनि बोकेको छ जे. बी.-ले आफ्नो छातीभित्र। आज पनि जे. बी. हल्ला गर्दै आइरहेको देखेर बोलाएँ- ‘जे. बी. कताबाट?’

“नमस्कार बडा! पल्लो थुतुने गाउँ घुमेर आ’को बडा। हिजो बिरामी लिएर सिलगढी गएको कि बडा, मल्लीको बाटो त हेरि नसक्नु भइसकेको पो रहेछ त। ठुला-ठुला खाम नपुग्ने चिलाउने, कटुस, साल, टिक र माला गिरी जस्ता दुर्लभ प्रजातिका रुखहरू त निमिट्यान्नै पारिसकेका रहेछन् यी सडक बनाउने कम्पनीहरूले। बडा! साह्रै दुःख लाग्यो। उहिले रोपिदिएका थिए हाम्रा पूर्वजहरूले हाम्रो निम्ति, वन्य-प्राणी संरक्षणका निम्ति तर हेर्नोस् त बडा…। अहिले कहाँको कम्पनी भनाउँदा निर्दयीहरूले बेधडक नष्ट गरेर प्राणी जगत्लाई सङ्कटमा पारेका छन्। एक ठाउँमा त अझ पानीमाथिको ओभानो भएर सूचना पट पनि पो लगाएको रहेछ – ‘वृक्ष रोपौँ धरतीलाई हरियाली बनाऊँ’ लौ हेर्नुहोस् त बडा! मार्नु होइन यस्ता चोरहरूलाई साला…।”

‘अब के गर्ने त जे. बी.! ठुलो फराकिलो, चिल्लो सडक पनि हामीलाई चाहिएकै छ। केही निर्माण गर्दा केही त त्याग्नुपर्ने हुन्छ।’

‘अन्त बडा! यी ठुला-ठुला रुखहरू चाहिँ के गर्छन् यिनीहरूले?’

‘यसलाई तह लगाउने यिनीहरूका गिरोह अलग्गै रहेका हुन्छन्। कहाँ, कति बेला, कता, कसैलाई पत्तै हुँदैन। दल, बल र छल्ले आँखाको झपकामा काम-तमाम गर्छन् जब यसका सक्रिय सरदारले हरियो झण्डी देखाउँछन्। मिलीभगत भनेको सुनेका छौ होइन, हो त्यही गर्छन्। कसैको केही लाग्ने वाला छैन।’

धेरै थाकेको, अशान्ति भएको र बिस्मातका रेखाहरू उसको अनुहारभरि कुदेको मैले प्रस्टै अनुभव गरेँ। असन्तुष्टि र आक्रोशहरू घुटुक्क निल्दै जे. बी. त्यहाँबाट उठेर ‘बडा! म गा’को’ भन्दै लुरू-लुरू तेर्सै लाग्यो। उ ओझेल नभइन्जेल म त्यहीँ उभिइरहेँ।

साँच्चै भनूँ भने जे. बी.-का विचारधाराहरू, उसको सोच र दीर्घमियादी सपनाहरू, कल्पनाहरू लोभ लाग्दा र भावी सन्तानलाई काम लाग्ने, फाइदा पुर्‍याउने किसिमकारहरू छन्। सत्ताको न्यानो ओतमा बसेर केही नजानी भुक्ने र गरिब जनताका पैसामा शान देखाउने गतिछाडाहरूका भन्दा धेरै उच्च कोटीका छन्। त्यसो र उसलाई कहिलेकाहीँ गफ गर्न म बोलाउने गर्छु। सुविधा भोगी बन्दै गइरहेको हाम्रो समाजमा त्यसो त बग्रेलतै कुसंस्कार, कुसंस्कृति र अप्राकृतिक विचारधाराहरू ओइरिएका छन्, जो हरेकलाई पच्न सकिरहेको छैन अनि यिनै दिग्भ्रमित समुदाय र वंशकारहरू सायद आजको सभ्य र परिष्कृत समाजमा भने निश्चित रूपमा बेकम्मा र असक्षम साबित भएका छन्। यी अप्रसाङिग्क तत्त्वहरूसितको लडन्तले कतै समाजबाट एक्लिनुपर्ने त होइन भन्ने शङ्का-उपशङ्काभित्र अरल्लिरहेको छ त्यो परिपक्व व्यवस्था।

आउटडेटेड, ब्याकडेटेड, अर्थोडक्स, ओल्डफेसन्ड, हिप्पोक्रेट आदि संज्ञाहरूले विभूषित हुने डरहरूसित बाँचेका छन्, अनुभवी सुसंस्कृत, सुसंस्कारितहरू जसको अब केही महत्त्व र मोल छैन यो वर्तमान समाजमा।

अल्पज्ञ, अल्पानुभवी, कच्चा जवानी, जात र भाइ भतिजावादको बर्को ओढेर आउनेहरू नै हाल प्रायः कार्यालय प्रमुखहरूका रूपमा छप्छप्ती भएकाले आफ्नो उमेर, अनुभव र मर्यादाहरूको उपहास पो भइहाल्ला कि भन्ने त्रासले चाँडै दफ्तरतिर लागेँ आज पनि। हिजोसम्म पछाडि चिरुवा पतलुन लगाएर, नाकमा घ्यू बोकेर हिँड्ने, कोही छोटो जामा लगाएर फुत्रुक-फुत्रुक उर्फिंदै प्रारम्भिक शिक्षा हासिल गर्न गइरहेका शैशवकलामा देखिएका भाइ-बहिनीहरूलाई आज दफ्तरमा अक्षरशः पालन गर्नुपर्ने हुँदा आफैसित हीनताबोध हुँदो रहेछ तर के गर्ने! भैँसीले सिंहलाई खेद्दै गरेको दृश्य त अचेल टिभीमा पनि हेर्न पाइरहेकै छौँ अवगुण्ठित व्यवस्थाको के कुरा गर्नु।

दफ्तरमा पुगेर काममा आत्मसात् गराएँ आफूलाई। अचानक अर्दलीले ‘बड़ाबाबु-बड़ाबाबु! बाहिर तपाईँलाई खोज्न एउटा मान्छे आएको छ’ भन्दा झस्केँ र भित्रै पठाऊ न भनेँ। गाउँकै सन्तमान रहेछ। के भयो सन्तमान भनेर सोध्नै नपाई उसले बयान जारी गर्‍यो ‘बड़ाबाबु! जे. बी. -लाई प्रहरीले कुट्दै लग्यो र भन्न आ’को तपाईँलाई…’ एकै सासमा सिद्ध्यायो उसले।

सुन्ने बित्तिकै जुरुक्क उठेर प्रहरी कार्यालयतिर लागेँ। अत्यन्त आक्रोशित मुद्रामा देखेँ जे. बी.-लाई। असम्बद्ध समाज भने सुतिरहेकै थियो…। घटनाको सारांश बुझ्दा सडक बनाउने हैदराबादको कम्पनीले ठुलो बडहरको रुख ढाल्न खोज्दा जे. बी.-ले नदिएपछि हड़कम्प मच्चिएको रहेछ। बडहरको रुखको कथा उसको बाजेले स्मृति स्वरूप रोपेका थिएछन् र भनेका थिएछन्, ‘कान्छा! म मरिगएपछि यो बडहरको रुखलाई हेरेर मेरो सम्झना गर्नू। यो मेरो स्मृतिपछि आउने भावी सन्तानहरूलाई समेत देखाउनु अनि भन्नु मेरो जीवन कथा, म यहाँ हुनेछु, म यसैसँग रहनेछु।’

आज तस्बिर खिचिखिची त्यो रुख ढाल्नु खोज्दा जे. बी.-ले ज्यानको बाजी लगाएर दुइ-चार कर्मीहरूलाई टिप्दै पछारेछ तर लाचार जे. बी. एक्लैको के चल्थ्यो र! घुँडै टेकाएरै छोडेछ। ढालेरै छोडेछ बडहरको रुख, बाजेको निशानी, बाजेको भावनात्मक स्मृति, उनको यादगार।

दुइ-चार दिनपछि एउटा सरकारी लिफाफा मेरो हातमा पर्‍यो। खोलेर हेर्दा मेरो स्थानान्तरणको आदेश पत्र रहेछ। एउटा झोलेको मुखारवृन्दबाट स्थानान्तरणको रहस्य जान्न पाएँ। विकास विरोधी तत्त्वलाई संरक्षण गर्न खोजेको आरोप लगाइएको रहेछ। हैकमवादको कोल्टे नीतिमा सल्किरहेको हाम्रो गाउँ, समाज र शहरलाई सरसरती एकपल्ट सम्झेँ। आतङ्कवादको सृष्टि त्यसै भएको होइन रहेछ भन्ने लाग्यो।

आज हाम्रो गाउँ-ठाउँले मनाउने गरेको हरेक पर्व र सरकारी उत्सवहरू भानु जयन्तीदेखि 15 अगस्तसम्म धूमधाम मनाउनमा भित्र्याइएका यस्तै मुल्याहा कम्पनीहरूलाई सक्रिय पारिएका छन्। यिनीहरूकै दम र तातकमा नाक घोक्राउने अरिष्ट भ्रष्टतन्त्रवादले ग्रसित छ हाम्रो परिवेश। यसर्थ, यिनीहरूको मनमानी र भनाइमा नपुषंक बनेको छ हाम्रो प्रशासन र प्रबन्धन। बिक्री भइसकेका यस्ता खोटितत्वहरूद्वारा न्याय, प्रेम, विकासवाद, संरक्षणवाद र दूरदर्शिताका कुराहरू अपेक्षा गर्नु आकाशतर्फ थुक्नु जत्तिकै भएको छ।

बाहिर सिमसिम पानी पर्दै थियो। गड्याङगुडुङ गरेर आकाश पनि गर्जन लागेको थियो। आफ्नो लट्ठी-पट्ठी कसेर म भने एउटा अर्को यात्रातर्फ अग्रसर भइरहेको थिएँ मनभरि जे. बी. ‘बाजे’ र ‘बडहरको रुख’ बोकेर…।

अष्टमी

14 मई, 2016

Leave a Reply

Your email address will not be published. Required fields are marked *