जोगीको धुनी
डा. लक्ष्मीप्रसाद ढकाल
अम्सटर्डम, नेदरल्याण्ड
१९८८ सालको कुरा हो । मंसिर महिना थियो । हरेक वर्ष झैं यस वर्ष पनि मंसिरले अर्कै रुप, भिन्नै छनक, अनि बेग्लै कोसेली लिएर आयो । हिमाल मात्र होइन, यसपालि ता देउराली पारिको पट्पटे डाँडो पनि हिमालझैँ हिउँले सुकुमार मुस्कुराउंछ । भाले डाँडोसमेत सेतै तुसारोले फुलेको छ । चप्लेटी चट्टान चिर्दै बग्ने बित्लुंग खोलालाई भने न त तुसारो, न त हिउँ, तर आफ्नै हतार अनि आफ्नै गति विद्यमान छ । उता सधैं लटरम्म फिलुङ्गे फुल्ने सिरानको पाटो यस पाली खडेरी अनि तुसारोका कारणले उराठ छ । उसो त सधै हात भन्दा लामा मुला फल्ने खलेगरामा पनि यसपाली गोरु खर्केर बसेको दृश्य देखिन्छ ।
सधैभन्दा अर्कै छ यसपालिको हीउँद । कता कता, किन किन, छुट्टै असजिलो अनि कतै मनमा भविष्यवाणी भनौ या शंकाले मलाई आक्रमण गरेको भान हुन्छ । मेरो मस्तिष्क, सोचाइको संघर्ष मैदान भयो । एकातिर जाडोले हाड चरलक्क काटेको भान हुन्थ्यो भने अर्कातिर मालबाँसको झ्याङ छेड्दै पूर्वबाट चलेको सिरेटाले कान चट्ट छिनाएको जस्तो हुन्थ्यो । तर गाउँ न हो । गाइ-बस्तु छन्, बाख्रा छन्, खेतीबाली – त्यसस्मा पनि परिवार अनि सबैको पेट भर्नुपर्ने । एउटा प्रेरणाको स्रोत भनौ, वास्तबिकता वा पुर्खाले भने झैँ अगिल्ला जन्मको लेख । जसो जे भए पनि, चाहे प्रकृतिले डसोस वा बिपत्तिले मार हानोस, जीवन अगाड़ि धकेल्ने दृढ़ता भने सबैमा थियो ।
त्यसो ता सबैजना मिली बाख्रा, घोडा अनि गाई-बस्तु क्रमशः खोर, तबेला अनि छहारीमुनी बाँधी बेलुकीको लगभग ७ बजे घर पुग्यौं । अगेनामा चिलौनेका दाउराको धुनी धोके पनि ढाड चिसोले थाहा नपाउने भयो भन्दै फुपू एकातिर गन्गनाइरहेको सुनिन्थ्यो । आमा भने जुटेसम्मको सामग्री भेलापारि हरेक साँझ बेग्लै स्वाद राखी विभिन्न प्रकारका खानेकुरा बनाउनु हुन्थ्यो । आज मुला र लप्सीको थेबे, गुन्द्रुकको झोल अनि राता चामलको जाउलो पाकेको दिन परेछ । सबैजना चुला वरिपरि झुप्पो लाग्यौं । सानु गाउँको एक सामान्य परिवार थियो हाम्रो । ईश्वरप्रति आभार अनि श्रृष्टिकर्ताप्रति झुकाव राख्दै आमा भगवानलाई खानाको भोग लगाउनु हुन्छ । तेस्का साथ् साथ् बाबा एउटा केराको पातका टुक्रामा अलिकती मुछेको भात पर सार्दै अप्सानी लगाउनुहुन्छ । यसका साथै बडो मिठासका साथ खानपिनको कार्यक्रम शुरु हुन्छ । खानपिनपछि हतार-हतार घरको धन्दा र थान्कोमुन्को सकी सबै जनालाई अगेना वरिपरि बस्ने रुची हुन्थ्यो । जाडोले गर्दा ओछ्यानभन्दा अगेनुनै प्यारो हुन्थ्यो । त्यसो ता स्कूलको गृहकार्यबाट पनि छुट पाइन्थ्यो ।
चिसोको स्वाद तितो भए तापनी हाम्रा लागि हरेक चिसो साँझको अर्कै अर्थ हुन्थ्यो । कुनै साँझ आगो ताप्तै बाबा हामीलाई आसामको लडाइँको कथा सुनाउनु हुन्थ्यो भने आमा ओछ्यानमा गुडुल्की पर्दै सुनकेसरे रानीको कथा भन्नुहुन्थ्यो । त्यसो त दाजु र भाउजुबीचमा पनि अब्राहम लिंकन अनि स्वस्थानीको कथा सुनाउन होडबाजी पर्थ्यो । यो हाम्रो घरको एउटा विशेषता थियो । आजको सूचीमा भने बाबाले हामीलाई २० वर्ष अगाडि घटेको कामक्षमाईको कथा सुनाउने दिन थियो । बाबाले कथा शुरु गर्नुअघि सबैजना अगेनो वारिपरि भेला हुन्थ्यौं । कति लोभ, कति चासो हुन्थ्यो पुराना घटना, कथाहरुको । त्यसो ता हामी मात्र नभई दाहाल काका, मावलीदाजु लगायत अरु छिमेकीहरु पनि बाबाका कथाका नियमित श्रोता थिए । रोचकिलो अनी गाउँले भाकामा कथा भन्नसक्ने खूबी भएकाले हुनसक्छ, बाबाका कथा अति मिठा हुन्थे ।
जाडोमा बच्चा निदाउदैनन्, सुताउन समय लाग्छ, अनि कथा सुन्न गाउँलेहरु आउछन् भन्दै आमा अगेनामा पाँच लिटरे कित्लिमाचिया बसाल्नु हुन्छ । सोचे अनुरुप गाउँलेहरुको आगमन भयो अनि सबै जना चिलाउनेको अगुल्टा घोच्तै न्यानो अगेना वरिपरि भेला भयौं । अनि बाबा भने आफ्नै धूनमा कथा भन्न थाल्नुभयो । मिठासका साथ बगिरहेको कथा, बाबाले एक्कासी रोक्नुभयो । शून्यता भने केही कोष टाडा, हुनसक्छ गैरी गाउँबाट आएको, जोगीको धुनीले तोडिदियो । कामक्षमाईको कथा शायद आजलाई यहीँ टुंगियो । बाबा अर्कै शैलीमा भन्नुहुन्छ, “साधु र जोगीको स्थान अति उच्च हुन्छ, जोगी मानिस मात्र होइन, जोगी एक कर्म पनि हो । यसमा अर्थ छ, अनि यो संसारको एउटा शृंगार अनि सृष्टि पनि हो । नबिलीनु पर्ने तर बिलाउँदै गएको यो एक मरुभूमिको झाडी हो । जोगीले हैजा टार्दछन्, बिपत्तिको सामना गर्दछन्, अनि समाजमा सन्तुलन कायम गर्दछन् । बाबा बोल्दा बोल्दै जोगीको धुनी झन झन नजिकिँदै आयो । श्रोताको भाव बुझी बाबाले शैली परिवर्तन गर्नुभयो अनि भन्नुहुन्छ-“जोगीको सत्कार गर्नुपर्छ, किनकि जोगीले जीवनमा विशाल त्याग गरेका हुन्छन् । परिवार, बालबच्चा अनि हाम्रो जस्तै सृष्टि तिनको पनि हुन्छ । त्यसैले नियमानुसार रजश्वला नभएका कन्याले, बिरामले ग्रषित वृद्धाले, समाजबाट लखेटिएका अपहेलितले, अनि जीवनको आशा हराएका भावुकले जोगीको स्वागत अनि सत्कार गर्नुपर्छ । शुभ हुन्छ, यसको फल ठूलो हुन्छ ।”
बाबाले आफ्ना कुरा सकेको मात्र किन हुनुहुन्थ्यो, जोगी भट्याउँदै, फेरी लगाउँदै घर धुइँधुइती घुम्न थाले । लामो समयदेखि फुपू बिरामले कुज्जीनु भएको थियो । जोगीले रोग काट्दछन् भन्ने विश्वाशका साथ आज फुपू अगाडि सर्नुहुन्छ अनि घरको मूलढोका उघार्नु हुन्छ । ढोका खोल्नुको अर्थ जोगीलाई घरभित्र स्वागत गर्नु अनि घरभित्रका देशान, भूत-प्रेत, अनि विशादहरु लखेट्नु भन्ने बुझ्ने चलन थियो । त्यसो ता जोगी मन्त्रका बज्र छर्दै घरभित्र छिरे, मझेरीमा ठिङ्ग ठाडो उभिएर चर्को स्वरमा घुमीघुमी धुनी लगाउन थाले । आफ्नो कर्तव्य पूरा गरी जोगी भत्भताउदै फेरि आफ्नै बाटो लागे । तर जोगी हिँडेपछि पनि, धेरैबेरसम्म काँशका थाल अनि झर्के बटुका फेरिएका चर्को रन्काले रंन्न्न बजेको आवाज आइरहेको थियो ।
यतिकैमा रात छिप्पिन थाल्यो। बिरामी फुपू बाङ्गो पर्दै ओछ्यानतिर लाग्नुभयो । मावली दाजु पुल्ठो बालेर आफ्नै घरतिर लाग्नुहुन्छ भने दाहाल काका गज़रा तानी मझेरीमा लमतन्न सुते । बिहान छिटो उठ्नुपर्छ, धेरै काम छ, सबै सुत्नुपर्छ भन्दै आमा र बाबा पनि सुत्न लाग्नु भयो । गुन्द्री, राडी अनि आ-आफ्ना दरी तानी हामी पनी आरम गर्न लाग्यौं । दिनभरको कामले लोत भए पनि हजारौं कुराका लुछाचुँडीले निद्रालाई स्थान दिएन । आँखा झिमिक्क नहुँदै रात चट्ट काटियो । हेर्दा हेर्दै रात धमिलिँदै बिहानलाई ठाउँ दिनपुग्छ अनि दिन भने लाठ्भद्र कामको संगालो लिएर भित्रिन्छ ।
भाउजु झिसमिस उज्यालो हुँदा न हुँदा घरको लिपपोत गर्न लाग्नुहुन्छ । आमा भने ताँबे गाग्रो बोकी धारातिर लाग्नुभयो । त्यसै गरी सबैजना आ-आफ्ना काममा लाग्यौं । हेर्दाहेर्दै घाम करिब एकजुवा माथि पुगिसके । आमाका लागि आजको दिन धर्म, कर्म, दान-भक्तिभावको थियो । किनकि सूर्यग्रहणको दानदक्षिणा ब्राह्मणले नलिने चलन थियो हाम्रा गाउँमा । गएको जेठ महिनामा लागेको सूर्य ग्रहणको दानदक्षिणा जोगीलाई भनी साँची राखेको थियो । त्यसैले आमा दुना-टपरा अनि पूजाको सामग्रीको तयारी तिर लाग्नुहुन्छ भने दानदक्षिणा नलिए पनि कर्मकाण्ड पूरा गरी दक्षिणा पर सार्न, बाबा पुरोहित बोलाउन लाग्नुभयो । हामी भने आ-आफ्ना काममा लाग्यौं ।
मेरा भागमा पल्लो खेतका गाई-बस्तुको थानको मुनको गर्ने पर्यो । ढुङ्ग्रो च्यापी म पल्ला खेततिर लागे । हाम्रो पल्लो खेत निकै टाडा थियो । च्यावाल र मुक्तानका घर काटेर जानु पर्थ्यो । फेरि चियावालका घरमा डरलाग्दो भोटे कुकुर पालेको थियो । परैबाट होहल्ला नगरे कुकुरले सातो खाने गरी झम्टिन्थ्यो ।
घरका पछाडी पट्टी च्यावालनी बोजु भत्भताउदै खोल्माबाट डोकाभरि खोसेला बोकेर लिस्नु झर्दै थिइन । कसलाई भेटौं र गन्थन् सुनाउँ भैरहेको रहेछ । मलाइ देख्ना साथ बज्यू भन्छिन् “सिरुबारीमा डढेलो लागेको सपनाले गर्दा रातभरि निद्रै लागेन, के को लोदर हो यस्तो, के हुन लागेको ।” उनी चिन्तित देखिन्थिन् । एकै छिनमात्र तिनको कुरा सुनी, आफ्नु पनि धेरै काम भ्याउनुपर्ने भएकाले बाटो लागे ।
चियावालको घर काटी खोल्सो तरेकोमात्र किन थिए, डाँडाका मुक्तान काका काँधमा हलो तेर्साई खेततिर झर्दै रहेछन् । के हो कसो हो हाल खबर- सोध्नु भन्दा पनि आज एक्कासी कुराको सुरुवात जोगीको धुनीबाट भयो । मुक्तान काकाका घरमा यसपालि दुखाई लागेको थियो । नियमअनुसार जुठो लागेका घरमा न त जोगी न त साधु, न त कुनै सन्तले प्रवेश गर्नु हुन्थ्यो । तर अशुभ भएछ । मुक्तान काका हलो कान्लामा अडेश लगाउँदै भन्दछन् – “हाम्रा घरमा जोगीले न त मध्येरात अघि फेरी लगाउनु हुन्थ्यो, न त दुखाई लागेको साल आगन नै टेक्नु हुन्थ्यो । मध्येरात अघिको धुनी अशुभ हुन्छ, नानी । विगतमा घटेका यस्ता अनेकौं उदाहरणहरु छन्, भन्दै मुक्तान काका अघि बढ्द छन् – ९ शालमा यस्तै घटना घट्ता माहामारी रोग फैलियो, २५ शालमा अनिकाल लाग्यो, ४० शालमा विशाल भूकम्प गयो र ४२ शालमा सृष्टि नष्ट हुने आगलागी भयो । बोल्दा बोल्दै मुक्तान काका भावुक हुन्छन् अनि जुरुक्क उठी हलो काँधमा तेर्साई बाँझो चिर्न लाग्दछन् ।
रूडीबादीमा चलेको गाउँ भनौं वा गाउँको धरोहर, मुक्तान काकाका कथनले भने मेरा मनमा झस्काको रोपण भयो । किन जोगीले यस्तो गरे, अनि किन मुक्तान काकाले जोगीलाई आगन टेक्ने साथ लखेटेनन्, अनि अरु यस्तै धेरै धरै प्रश्नहरुले मलाई जवाफविहीन बनाउँछ । सोचाइसँग कुस्ती खेल्दै अन्त्ततः आफ्नु भागमा परेको काम सकेर घर पुगें ।
घरमा अर्कै वातावरण छ । दोलखा जिल्लाबाट आउने जोगीको झोला २१ मुखे हुन्छ भन्दै आमा ठूला नांग्लामा २१ प्रकारका विभिन्न सामग्रीहरु भेला गर्दै हुनुहुन्थ्यो । आमा भन्नुहुन्छ “काला भेडाको ऊन, सेतो तिल, सल्ली-बिसल्लीका पात, काली मकैको सातु, देवी-थानको माटो अनि एक पसार जहुँ भने जोगीको दानमा कहिल्यै छुटाउनु हुँदैन ।”
दिनको लगभग १ बज्न लागेको हुन्छ । जोगीको भने अत्तोपत्तो हुँदैन । लामू समयको पर्खाइका कारणले हुनसक्छ सबैजनाका अनुहारमा एकप्रकारको थकाई, छटपटीको भाव यकिन हुन्छ । बाबा अचम्म मान्दै भन्नुहुन्छ- “जोगी र घामले बाटो भुल्दैन । नत घामले आफ्नु कर्तव्य बिसन्छन् न त दोल्खेली जोगीले आजसम्म कहिलै पर्खाएका थिए ।”
जोगी पर्खने क्रममा हामी गाई चराएका, स्कूलमा भएका मिठा मिठा कुरा गर्दै थियौं, अनि भाउजुहरु भने एकै ठाउँमा गाँठो परी आफ्नै गनथन्मा व्यस्त देखिन्थे । जोगी पर्खंदा पर्खंदै घाम चुर्लुप्प डूबे । त्येसो ता गाउँलेहरु पनि निराश भएर वल्लो घर पल्लो घर गर्न थाल्दछन् ।
यतिकैमा गाउँमा एक्कासी कोलाहल मचिन्छ । सल्लेरी गाउँबाट आएको चर्को चित्कारले गाउँमा डरको तरंग फैलियो । आवाजबाट सहयोग अनि राहतको पुकार प्रस्ट बुझिन्थ्यो। गाउँ पीरपर्दा गाउँ नै सर्लक्क उठ्ने चलन थियो हाम्रो गाउँको । सबै गाउँले आवाज पछ्याउदै सहयोगका लागि अघि बढ्यौं । जति जति अघि बढ्यो त्यति नै भयानक घटनाको संकेत चित्कारले दिन्थ्यो ।
कस्तो विडम्बना, हामी सल्लेरी गाउँ पुग्दा ढिला भइसकेछ । जोगी जमीनमा गिरेका थिए । रातभरि फुक्ने तिनको प्यारो फेरी दायाँ हातमा अठ्याइराखेको देखिन्थ्यो भने तिनले संकलन गरेका सामग्रीहरुको भुइँमा बगरेल्त्ती थिए । तिनको २१ मुखे झोला भने आफ्नै रगतमा छप्प भिजेको देखिन्थ्यो । मन असन्तुलन हुने एक मार्मिक दृश्य थियो ।
बिलाप गर्दै खँड्केनी आमै भन्छिन्, “जोगीलाई देशद्रोही भन्दै खेरखार गरे । जोगी अति डराए । न त जोगीले आफ्नु परिचय नै दिनसके न त तिनी आफ्नु संस्कृति-परम्परा थाम्न फेरी लगाउँदै हिँडेको सत्य खुला गर्न सक्छन् । हामी कसैले बोल्न मिलेन । मुखबाट एकमात्र शब्द उचारण गर्न पाउँदा न पाउँदै जोगीलाई गोली हानियो । हिमाल नै हल्लने ठूलो आवाज निकाल्दै जोगी माटो समान लमतन्न लडे ।” बोल्दा बोल्दै खड्केनी आमैको मन चट्ट छिन्यो, शब्द सकिए अनि आवाज रोकियो ।
तर तिनका मार्मिक बयानले सबैको अनुहार खसेको देखिन्थ्यो, एउटा बेस्वादको भुमरी, अन्धकारमय अवस्था । ब्राह्मणले नलिने दक्षिणा, जोगीले लिने हाम्रो गाउँको चलन । अब जोगी नै नभए, जोगीलाई कल्पेको भाका कसले लिने ? अर्कोतिर मुक्तान काकाले उठाएको त्राश, मेरो मनमा ज्वालामुखी भएर उर्लिन्छ । जवाफ नभएको रुडीबादी प्रश्नमा एउटा संस्कृतिको लुट अनि समाजको हत्या रुमल्लिएको छ । गाउँको भलो चाहने, आफ्नु परिवार, सन्तान अनि आफ्नु श्री-सम्पत्ति टाढ़ा छोड्दै अर्काको रोग काटने, अर्कालाई लागेको चन्द्रमाको दाग सुल्झाउँन सूर्य ग्रहणको दान स्वीकार्ने दोल्खेली जोगी एक छापामार बन्दै लोप हुन्छन् ।
जोगी ढलेको कथा- बेग्लो बिषय बस्तु बोकेको, बेग्लै सिर्जना!
कथाकारका यस्तै यस्तै कथा फेरी हेरी पढ्न पाइयोस