ज्योति बिनाको जागृत
अर्थै रहेन बाँच्नुको यस्तो जीवनको कथा
दुःख्ने छाती फुटाएर म लेख्छु भित्री वेदना।
जाग्राम यो रमाईलो भन्छन् भन्ने भनिरहून्
नबल्दा मनको बत्ति ज्योतिबिना छ जागृत।
मनभित्र कुरा खेल्दा न हुन्छ कामना पूरा
यो बौलाहटको आज न कुनै रोक अस्मिता।
निदाऊँ अब भन्दै छु खेल्दै छन् मनमा कुरा
न देखें सपना मैले फगत् मात्र छ कल्पना।
न छु म होशमा आज न वेहोसी छु रातमा
न डुल्दै छु, न घुम्दै छु यो मध्येरात बीचमा।
उपाय मर्नु मात्रै छ मर्नु हुँदैन भन्दछन्
सबैमा दिलको बात भन्नु हुँदैन भन्दछन्।
आफ्ना भन्ने भए टाढा पराई आफ्नो बन्दछ
हर्दम् यस्ता कथा बोकि जिन्दगी ज्युनू पर्दछ।
न कुनै याद, झ-झल्को न हो यो सब कल्पित
विशुद्ध दिलको बात मात्र यो सब बन्दछ।
आँखा हेर्दछु मिचेर देख्छु भन्छु म देख्दिन
लाग्छ ब्रम्हाण्डमा आज यो अन्तिम् रात्रि बन्दछ।
केही कुरा त सम्झिन्थें म आज स्मृतिहीन छु
शिरमा काल साक्षी छ ज्योतिबिना छ जागृत।
दिन्छ ईश्वरले सित्तै पीरमर्का, दुःख, बेदना
लेख्दछ भाविले तेस्सै नसोची भाग्यका कुरा।
न यस्तो न त उस्तो हो, हो कस्तो चिज जीवन
के आयो रातमा आज भाग्दै छ निद दुर्-दुर ?
रात्रि यो सूर्य देखिन्नन् इन्दू यो रश्मि शून्य छ
सबै त्रिलोकमा आज जे छ त्यो पनि शून्य छ।
समाई हातले तानी लाँदैछन् अन्त काहिँ ता
कि अभिनय लाग्दै छ यो मेरो दृष्टि हीनता।
कुरा अतीतका सम्झें एकान्तस्थलमा बसी
कथा भविष्यका कल्पि सम्झि आफैं म जल्दथें।
रमायौ कि कतै आज मेरो यो देखी जीवन
बगायौ कि कतै आँशु यो मेरो देखी हालत।