ज्वारभाटा, छाल र सुनामी
गणपति दाहाल
न्यूयोर्क, अमेरिका
वर्षौपछि
समुन्द्रले
ज्वारभाटा
छाल र,
सुनामी
ओकल्दै छ
वर्षौपछिको धैर्यता
वर्षौसम्मको थकान
वर्षौसम्मको उकुसमुकुस
बाफिएर रन्थनिँदै
छताछुल्ल भएर पोखिँदै छ
गाउँ, शहर हुँदै
लेक , बेंसी हुँदै
देश र राजधानीसम्म फैलिँदै छ
शताब्दीसम्म दुर्गन्धले
वर्षौसम्म फोहोरको डंगुरले
दशकसम्म निसासिएका किनारलाई
फराकिएका भित्ताहरुलाई
चुलिएका पहाडलाई
बढार्दै
बगाउँदै छ
दर्सिंग ढुंगा बनेर
जरा गाडेका
फलाम बनेर
दरिएका
चट्टान भएर
ठडिएका
घर, बस्तीहरु
दरवार र मान्छे
सारा बग्नेछन्
सारा भत्किने छन्
सारा पुरिने छन्
ज्वारभाटा
छाल र,
सुनामीलाई
न किनारले छेक्न सक्छन्
न भित्ताहरुले रोक्न सक्छन्
न पहाडले बोक्न सक्छन्
न पर्खालले थाम्न सक्छन्
किनकि
यी समयले जन्माएका आधी हुन्
यी समयले हुर्काएका हुरी हुन्
यी बाध्यताले उर्लिएका तुफान हुन्
यी धैर्यता भत्किएका झान्जावीर हुन्
Dear Bai,
Keep on posting such lovely poems. The poems is symbolic and spontaneous.