झिँगो
भक्त घिमिरे
पेन्सिल्भिन्या, अमेरिका
“बस्न गो महमा माखो, महमै प्वाँख टाँसियो,
प्राण गो लोभले गर्दा, लोभ गर्नु नजाती हो !”
खाटमै ढल्किएर बच्चा बेलामा पढेको
कविता पङ्क्ति दोहोऱ्याइरहेको थिएँ-
अनायासै झ्यालको सिसामा ठोकियो,
ऱ्याइँ ऱ्याइँ गरिकन फेरि ढोकामा बजारियो,
मेरो निधारमा ठोक्किँदै बतासियो र भाँडोमा पुग्यो;
म आफ्नै धूनमा थिएँ, मेरो नाकमा आइपुग्यो-
मलाई थाहा छैन यो झिँगो कोठामा कसरी पस्यो !
उड्दै थियो, उडिरहेकै थियो;
हिजो बा’ले प्रयोग गरेपछि
पखाल्नै नभ्याएर त्यतिकै राखेको;
बिरामी बा’ को चुठुवा कोठामै थियो,
हुर्रिएर गएको त्यो झिँगो त्यही चुठुवामा पस्यो ।
त्यो मरेको म हेर्न चान्न थें,
एउटा सिन्काले जतनसाथ झिकिदिएँ !
कोठामा कीटाणुहरूको प्रवेश रोक्न
प्रशस्तै सुगन्धी अत्तरहरू छर्किएकै हो;
पकवानको वाफमा फेरि त्यही झिँगो लोभिएछ;
कहाँबाट सुइँको पायो कुन्नि-
अर्को दिन, भान्सा कोठाको भ्याण्टिलेशनबाट
बाटो पाएछ क्यार-सुटुक्क छिरेर
सारा परिवारको खाने कुरामाथि उभिँदै-
त्यसका दोब्रिएका घुँडा उध्याइरहेको थ्यो !
मार्न मनै थिएन, रुमालले हम्काइदिएँ,
उडान मोडेर फेरि गाग्रीमा बस्यो,
पछिल्तिरका खुट्टा उचालेर
बेस्सरी घुँडा रगड्तै
ल्होटाको बिटमाथि घुम्दै रह्यो ।
कुचो हल्लाएर
त्यहाँबाट पनि धपाउन खोजेँ,
यस पटक भुइयाँ उडेर गयो र,
दलिन छेउको गमलाको फूलमाथि बस्यो !
मार्न मनै थिएन त्यसलाई-
तर, फुल्नै लागेको फूलबारीमा,
फूलका कोपिलाहरुमा,
भर्खरै फक्रिँदै आएका थुँगाहरुमा,
हाम्रो साझा फूलबारीमा,
त्यो प्रवेश गर्दा-
दुर्गन्धित चर्पीहरुमा डुबेर
त्यसले ल्याएको दुर्गन्ध,
सारा बगैँचामै फैलाइदेला;
पक्कै पनि त्यसले
भविष्यको सुगन्ध दिने
ती फूलका थुँगाहरूमा औंशा पार्ला,
आफ्नो फोहोरी साम्राज्य फैलाउन
बथानका बथान बच्चा हुर्काउला भनेर;
मन नपरी नपरी जहर छर्न बाध्य भएँ …!