डायस्पोराकोलागि नेपाली भाषाको पाठ्यक्रम तयार

अमेरिकामा गैर मुनाफामुखी संस्थाका रूपमा दर्ता भएको साहित्य परिषद्, भूटानले ४ वर्ष अघि आरम्भ गरेको नेपाली भाषाको पाठ्यक्रम अनुसन्धान र लेखन कार्य पूरा भएको छ।

परिषद्ले गत आइतबार बसेको परिषद्को बोर्ड र “पाठ्यक्रम अनुसन्धान तथा निर्माण समिति”को संयुक्त बैठकमा उक्त पाठ्यक्रम तयार  भएको र बोर्डसँगको अन्तिम छलफलपछि पारित  गरिएको एक प्रेस विज्ञप्तिमार्फत जानकारी  दिएको छ। यो पहिलो तहको पाठ्यक्रम डायस्पोराका नेपाली भाषी बालबालिकाहरूका लागि तयार गरिएको हो।

साहित्य परिषद्, भूटानले २०१६ मा पिटस्वर्गमा भएको सम्मेलनमा डायस्पोरामा सञ्चालित नेपाली भाषा कक्षाहरूमा देश, काल र परिस्थिति अनुरूपको पाठ्यक्रमको खाँचो अनुभव गरेर अनुसन्धान गर्न एक समितिको गठन गरेको थियो । पुनः २०१८ मा परिषद्को चुनाव भएपछि उक्त समितिलाई अझ व्यापक र सक्रिय बनाउन डा. खेम नेपाल (क्यानडा), डा. लक्ष्मीनारायण ढकाल (अमेरिका), श्री सोमनाथ आचार्य (अमेरिका) र श्री खगेन्द्र भण्डारी ‘जन्तरे’ (अमेरिका) सदस्य रहने गरी श्री खिम खतिवडाको संयोजकत्वमा ५ सदस्यीय ‘पाठ्यक्रम अनुसन्धान तथा निर्माण समिति’ को पुनर्गठन गर्‍यो । यस समितिले अनुसन्धान र लेखन पूरा गरी परिषद्को बोर्डमा छलफल गरेपछि बोर्डले उक्त पाठ्यक्रमलाई एउटा अभूतपूर्व र महत्त्वपूर्ण दस्ताबेजका रूपमा प्रकाशित गर्न लागेको हो।

यस समितिले आरम्भमा विभिन्न सहरहरूमा सञ्चालित भाषा कक्षाहरूको स्थलगत सर्वेक्षण गर्दै त्यहाँका कक्षाहरूमा भाषा शिक्षणमा आएका समस्याहरूको अध्ययन गरेर शिक्षक, अभिभावक र समाजका बुद्धिजीवीहरूसँग व्यापक परामर्श गर्‍यो । त्यसपछि प्राप्त सुझाव र स्थानीय शिक्षा व्यवस्थामा अपनाइने शिक्षण पद्धति तथा क्रेडिट सिस्टममा मेल खाने नेपाली भाषाको पाठ्यक्रमको रूपरेखा तयार गरेपश्चात् लेखन आरम्भ गरेको हो ।

उक्त समितिका अनुसार यो पाठ्यक्रम एकदमै नयाँ पद्धतिमा तयार भएको छ। के पढाउने, कति पढाउने र कसरी पढाउने जस्ता तीन मूलभूत उद्देश्यलाई समेटेर पाठ्यक्रम, पाठ्य वस्तु र शिक्षक निर्देशिका एकै स्थानमा उपलब्ध गराइएको छ। यस पाठ्यक्रमले कुनै शिक्षण प्रशिक्षण नलिएका शिक्षक सहयोगीहरूलाई  र अभिभावकहरूलाई पनि ठुलो मद्दत पुग्ने छ, किनकि यो पाठ्यक्रम विद्यार्थी केन्द्रित, अधिकतम क्रियाकलापहरू समावेश भएको, खेल लगायत सुनाई, बोलाई, पढाई र लेखाई जस्ता सबै शिक्षण सीपहरूलाई समावेश गरेर तयार पारेको हुनाले  बालबालिकाहरूलाई अत्यन्त सहज र सरल तरिकाले  पढाउन सकिने छ भन्ने समितिको अपेक्षा रहेको छ ।

पाठ्यक्रम पुस्तिका प्रकाशित भइसकेको र औपचारिक घोषणा भइसकेको भएता पनि केही प्राविधिक कारणले गर्दा यो पाठ्यक्रमलाई आगामी जनवरी महिनामा एक भर्चुअल कार्यक्रमद्वारा विमोचन गरी सार्वजनिक गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *