डायस्पोरिक भूटानी नेपाली साहित्यमाथि एक संक्षिप्त चर्चा

प्रश्तोता
प्रस्तोता

यतिराज अजनबी
अस्ट्रलिया

हामीले देशबाट खेदिनु परेका कारणमध्ये एउटा आफ्नो भाषा पनि हो | आफ्नो मातृभाषा बोल्न र पढ्न पाउने न्यूनतम मानव अधिकारको उपभोग गर्न पाऊँ भनेर प्रजातन्त्र माग गरेकै कारण लखेटिएका मान्छे हामी | आज विश्वको एउटा शक्तिशाली प्रजातान्त्रिक मुलुकको यो मञ्चमा उभिएर आफ्नै भाषामा आफ्नो भाषा-साहित्यका कुराहरू गर्न पाउँदा गर्वले छाती फुलेको छ | विश्वको सुदुर पश्चिममा पर्ने यो देशमा बसेर पूर्वतिर बोलिने नेपाली भाषा अनि त्यसमा लेखिन साहित्यका लागि लडिरहने सिपाहीहरूका लागि योभन्दा अर्को ठुलो गर्व र प्रसन्नताको विषय अरू के नै पो होला र? भूटानको नागरिक भएर पनि हिजो हामीलाई नेपाली भएकै कारण त्यहाँको सरकारले जबर्जस्ति भूटानबाट लखेट्यो | भूटानी भएकै कारण नेपाली भएर पनि नेपालमा त्यहाँको सरकारले हामीलाई  अटाउन सकेन तर यहाँको भाषा नजाने पनि, यहाँ हाम्रा पितापुर्खा वा बंशजको कुनै नाता सम्बन्ध नभए पनि हामीसँग यहाँको नागरिकता छ | यो एक हिसाबले हाम्रो विडम्बना हो भने अर्को हिसाबले सराहना |

हिजो हामी भुटान- नेपालमा हुँदा अङ्ग्रेजी खुब सिक्थ्यौँ आज हामीले आफ्नो भाषाको महत्त्व बुझेर नेपाली नबोलिने देशहरूमा नेपाली साहित्य लेखिराखेका छौँ र नेपाली भाषाको पठनपाठन शुभारम्भ गरेर आफ्नो भाषाको बीजारोपण गरेकाछौं | यो निश्चय पनि हाम्रो लागि मात्र नभएर विश्वभरिका सम्पूर्ण नेपालीहरूको गर्वको विषय हो | भूटानमा नेपाली भाषा पढ्न इच्छुकहरूका लागि सो भाषा सिक्नसक्ने वातावरण तथा व्यवस्था मिलाइदिन भूटानका नेता, मन्त्री, जनसेवक, प्रशाषकदेखि लिएर त्यहाँका राजा तथा सरकारसम्मलाई म अपिल गर्न चाहन्छु |

I’d like to appeal the government of Bhutan, the Prime Minister, the King, the Ministers, the MPs and all the public servants to let the Nepali-speaking Bhutanese enjoy one of their basic human rights: right to read and write their mother tongue in schools as they used to do before 1989. This will not only help boost the economy by creating more jobs but also make the so called Gross National Happiness one step closer to its realization.

यो हुन नसकेको अवस्थामा पनि तपाईँहरू विचल्लित नहुनुहोस् भनी भुटानभित्र रहेका नेपालीभाषी भुटानीहरुलाई म एउटा आश्वासन दिलाउन चाहन्छु | देशबाट निष्कासित भैसकेपछाडि शरणार्थी शिविरको विषम परिस्थितिमा हामीले रुखको फेदबाट भाषा सिक्न प्रारम्भ गरेका थियौँ | अहिले कहानीजस्तो सुनिए पनि यो त्यताबाट यतिसम्मको यात्रामा हामीले भोगेको घामपानी हो, यथार्थ हो, वास्तविकता हो |  हामीले भाषा साहित्यमा के कति प्रगति गरेका छौँ भन्ने कुरा हामीसँग भएका हाम्रा कृति, सर्जक, संस्था, समूह, प्रकाशन, आदिले स्पष्ट पार्दछन् | प्रतिदिन प्रविधिले सहज बनाई राखेको एक्काइसौं सदीको यो घडीमा अब कुनै पनि देशको कुनै पनि शासक प्रशासकले जनतालाई दबाइराख्न सक्दैन | भुटान सरकारले विद्यालयहरूमा औपचारिक नेपाली भाषा शिक्षणमा प्रतिबन्ध लगाएपनि तपाइहरू घरबाट भाषा सिकाई सुरु गर्नुहोस् | एउटा गाउँको कटेरोमा भेला भएर पनि सिक्न सकिन्छ | प्राकृतिक श्रोत साधन भएका सबै गाउँ-बस्तीहरूमा बिस्तारै एउटा एउटा सार्वजनिक नेपाली पाठशालाको निर्माण सुरु गर्नुस् | एकलाख भन्दा बढी हामी भौतिक सुविधा सम्पन्न देशमा भएकाले ती पाठशालाहरू निर्माण गर्न तथा सञ्चालन गर्न आर्थिक सहयोग गर्न सक्छौँ |

विश्वमा मान्छेले आजसम्म जेजति गर्न सकेको वा गरेको छ त्यो भाषाकै माध्यमद्वारा सकेको/गरेको छ | भाषा मान्छेको शास्त्र, विध्वता, तत्वज्ञान, सम्पन्नता, शस्त्रास्त्र मात्र नभएर एउटालाई अर्कोसँग साक्षत्कार गराउने साधन हो निमित्त हो | त्यसमा पनि मातृभाषा त यी भन्दा पनि श्रेयस्कर श्रेणीको सम्पत्ति हो | मातृभाषा जानियो भने मात्रै मौलिक तथा असली लोक साहित्य लेख्न, पढ्न, बुझ्न सकिन्छ |  हरेक मातृभाषासँग कुनै समय, भूगोल, संस्कृति, जीवनशैली, जाति, जीवन भोगाई इत्यादि अर्थात् समुदायको सम्पूर्ण कुरा – इतिहास जोडिएको हुन्छ जहाँबाट विभिन्न विषयवस्तु तथा विम्बहरू हामीले लेख्ने साहित्यमा उतार्न सक्छौँ | हाम्रो समुदायमा विभिन्न सङ्घसंस्था स्थापित भएका वा हुने क्रममा छन् | यी संस्थाहरूको उदय तथा स्थापना समुदायकै हितको लागि हो | त्यसैले हामीले लेख्ने साहित्य तथा लेखहरूमा समुदायका सदस्यहरूको समस्याको उठान गरौँ ता की ती संस्थाले तिनको हल खोज्न सकुन् वा समाधान गरून् | लेख्न सक्नेले, देख्न सक्नेले देखाऊँ हेर्ने नहेर्ने तिनीहरूको दृष्टिकोण, दृष्टिशक्ति र ग्राह्यताको कुरा हो |

वैश्विकरण तथा विश्वग्रामको अवधारणा नाम गरेको अजिङ्गरले मनुष्यलाई जति निल्दै लानेछ त्यति उसलाई उसको नश्ल, प्रकृति, जाति, उत्पत्ति, संस्कति, वाणीको माहात्म्यानुभूत हुँदै जानेछ | सास फेर्न जति सजिलो छ, हिजोका हामीलाई आज नेपालीमा, र ,आज र भोलिका हामीलाई अङ्ग्रेजीमा बोल्न त्यतिनै सरल छ, तर आज र भोलिका हामीलाई नेपालीमा बोल्न त्यही सास सुरुङभित्र फेर्दा जत्तिकै कठिन दिनदिनै हुँदै गैरहेकोछ | अङ्ग्रेजी त हाम्रो नयाँ पिँढीले त्यसै सिकिहाल्छ त्यसैले हामीले त्यो पिँडीलाई नेपाली भाषालाई विरासतस्वरूप कसरी सुरक्षितरूपमा हस्तान्तरण गर्न सकिन्छ भन्ने उपायहरूका बारेमा गम्भीरतापूर्वक संवाद तथा विचारविमर्श गर्न हामीले सक्नु पर्दछ | त्यसका लागि उपलब्ध श्रोत साधनको प्रभावकारी परिचालनार्थ उचित रणनीतिहरूको अवलम्बन पनि उत्तिकै आवश्यक छ |

Bhutaneseliterature.com:

साहित्य समाजको ऐना हो भनेर वर्षौँदेखि भनिँदै आएतापनि मेरो विचारमा साहित्य समाजको ऐना नभएर अनुहार हो | यो अनुहारमा हेरियो भने समाजको सतही रूप तथा स्वरूप त अवश्य देखिन्छ नै त्यसका अलावा असली तथा आन्तरिक रूपमा समेत हाम्रो दृष्टि पुग्न सक्दछ | डायस्परिक भूटानी साहित्यमा Bhutaneseliterature.com ले गरेको योगदान सम्बधि केही कुराको उठान गर्न सान्दर्भिक ठान्दछु | मे २००९ मा स्थापना भएदेखि अहिलेसम्म हाम्रो प्रकाशन कार्यलाई अनवरत र अथकरुपमा व्यवस्थापन गर्दै आउनुभएका हाम्रो साहित्यका एक कर्मठ योद्धा तथा भूटनिसलिटरेचर डटकमका संस्थापक अध्यक्ष रमेश गौतमको योगदानको प्रशंसा जति नै गरे पनि अपर्याप्त हुन्छ | विश्वका विभिन्न मुलुकमा छरिएका सम्पूर्ण भूटानी डायस्पोरालाई जोड्ने साझा मञ्चको रूपमा यसलाई विकास गर्ने हाम्रो अभियानमा आफ्ना रचनाहरू सम्प्रेषण गरेर, सरसल्लाह तथा परामर्श दिएर, आर्थिक सहायता गरेर सघाउनुहुने सम्पूर्ण लेखक, पाठक तथा शुभचिन्तकहरूमा हार्दिक आभार | सन् २००९ को मे को पहिलो साताको अन्तिम दिनदेखि अनलाइन प्रकाशन सुरु गरेको Bhutaneseliterature.com ले अहिले सम्ममा २१६ सर्जकका २२०० भन्दा बढी लेख-रचनाहरूको अभिलेखीकरण गर्न सफल भएको छ | तपाईँ कुनै पनि विधाको साहित्यिक सृजना गर्नुहुन्छ भने सामाजिक सञ्जालमा हालेर तिनको आयु घटाउनु भन्दा कृपया हामीलाई editor@bhutaneseliterature.com मा तपाईँका रचना पठाउनु होला | हामी तिनको विद्युतीय अभिलेखीकरण मात्र हैन संरक्षण, संवर्द्धन पनि गर्नेछौँ | तपाईँले सामाजिक सञ्जाल नामक हुलाकीमार्फत पठाएको तपाईँको सृजनारुपी उपहार लक्षित प्रापकले पाउँछ भन्ने कुरा सुनिश्चित अवश्य छैन | भविष्यमा हाम्रो साहित्यको सोध, खोज गर्नेहरुले हामीले प्रकाशन गरेका  तपाईँका रचनामा सहज पहुँच राख्न सक्नेछन् भने तपाईँले सामाजिक सञ्जालमा हालेका रचना भने सहजै प्राप्त गर्ने छैनन् | हामीले प्रकाशन गरेका तपाईँका रचना सामाजिक सञ्जालमा सेयर गर्न सकिहालिन्छ |

सन 2018 को प्रारम्भदेखि हामीले दुईजना सम्पादकहरू थपेकाछौँ | उहाँहरू हुनुहुन्छ प्रतिमान सिवा र डाक्टर लक्ष्मीप्रसाद ढकाल | हामीलाई गर्व लागेको छ कि उहाँहरूको आगमनसँगै हाम्रो प्रकाशन पाक्षिकरूपमा नियमित प्रकाशित हुँदै आइरहेको छ | यसका लागि यहाँहरू दुवैजनालाई म प्रकाशन टोलीको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु र उहाँहरूसँगको सहकार्य आगामी दिनहरूमा अझ मजबुत, प्रभावकारी तथा फलदायी हुने कुरामा म निष्फिक्री छु | पछिल्ला दुई चार महिनाको अवधिमा उहाँहरूसँग सहकार्य गर्दा उहाँहरूमा पाएको हाम्रो भाषा-साहित्यप्रतिको लगाव, झुकाव, प्रेम, लगनशीलता, इमान्दारिता तथा उहाँहरूको बौद्धिकताले नै यो निश्चिन्तता प्राप्त भएको छ |

त्यस्तै गरेर भूतपूर्व सम्पादक श्री भीम तिम्सिना, रूप नारायण पोखरेल, भक्त घिमिरे र भूतपूर्व प्रधानसम्पादक तथा कवि पशुपति तिम्सिनाले हाम्रो प्रकाशनका लागि गर्नुभएको योगदानको उच्च कदर तथा सम्मान भूटनिसलिटरेचर डटकमले सदैव गरिरहनेछ | यसै गरी सन् 2010 देखि अहिलेसम्म हाम्रो प्रकाशनको सम्पादनमा अविछिन्न जुटिइरहनुभएका, हाम्रो साहित्यका अध्येता, साहित्यसाधक, कवि तथा विमोचित डायस्पोरिक भुटानी साहित्यको ऐतिहासिक कथा सङ्ग्रह “समकालीन भूटानी नेपाली कथा” का सम्पादक शिवलाल दाहालले हाम्रो साहित्यलाई यति ऋण लगाउनु  भएको छ कि त्यसबाट उऋण हुन कहिले पनि सकिँदैन | हाम्रो सम्पूर्ण प्रकाशनको कार्यलाई संयोजन गर्दै आउनुभएका प्रकाशन संयोजक रमेश गौतमको अनवरत परिश्रमबिना अहिलेसम्म भएका प्रकाशनका कुनै पनि कार्य सम्भव थिएनन् त्यसैले वहाँ धन्यवादका पात्र हुनुहुन्छ |

आवारण: समकालीन भूटानी नेपाली कथा नामक कथासङ्ग्रहको आवरण चित्रकार नवल खतिवडाले कोर्नु भएको हो | यो एउटा अमूर्त चित्र हो अर्थात् यसको लक्षणार्थ यसलाई हेर्ने द्रष्टाले आफ्नै तौरतरिकाले बुझ्दछ यानि की यसलाई ग्रहण गर्ने छुट या स्वतन्त्रता हुन्छ यद्यपि कथाहरूको सारंशको आधारमा चित्र तयार पारेपश्चातको वहाँसँगको संवादमा वहाँले भने अनुसार यी विभिन्न मनावाकृतिले अहिलेको हाम्रो डायस्पोरालाई जनाउँदछ भने तिनलाई छुवाएर कोरिएका रेखाहरूले भौगोलिकरूपमा विच्छेदित भएता पनि प्रविधिको सहायताले समवेदनात्मकरूपमा हामी अझै जडित छौँ भन्ने कुराको सङ्केत गर्दछ |

प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईले यस कथाका सम्बन्धमा आफ्ना विष्लेषनात्मक केही कुराहरू राखिदिनु भएको छ | यसका लागि साहित्य परिषद् भुटानको सम्पादक मण्डल तथा प्रकाशन टोलीको तर्फबाट र मेरो व्यक्तिगत हैसियतबाट वरिष्ठ समालोचक भट्टराईलाई विशेष आभार प्रकट गर्न चाहन्छु | “मुगलान” जस्तो एउटा चर्चित उपन्यासका लेखक भट्टराई पनि भुटानमै जन्मनु भएको हो भन्ने कुरा यो मञ्चबाट जानकारी गराउन पाउँदा मलाई सुखानुभूति हुनुका साथै गर्वानुभव भएको छ | यो निश्चय पनि सम्पूर्ण भूटानी डायस्पोराको गर्वको कुरा हो | हाम्रा कथामाथिको वहाँको विश्लेषणबाट केही शब्दहरू उद्धृत गर्न चाहन्छु – भूटानी नेपालीले भोगेको वर्तमानका बारेमा यति गहिरो र यति विविधतापूर्ण साहित्य अर्को छैन । अधिकांश कथा लामा, तृप्तिकर र सुन्दर छन् । डायास्पोरा साहित्यमा अध्ययन अनुसन्धान गर्नेको निमित्त यो भन्दा गतिलो सङ्ग्रह अर्को हुने छैन किनकि भूटानी नेपालीको जीवन भोगाइ विचित्रको, अपत्यारिलो उपन्यास जस्तो छ तर त्यो यथार्थ हो ।

कथा:
यस कथासङ्ग्रहमा जम्मा १६ कथाहरू संग्रहित छन् | एउटा भूटान, एउटा नेपाल, एउटा युरोप, ६ वटा अस्ट्रेलिया र सात वटा अमेरिकाबाट परेका छन् | यसरी हेर्दा सङ्ग्रहका ३७.५ प्रतिशत कथा अस्ट्रलियाली लेखकद्वारा लेखिएका छन् अर्थात् जनसङ्ख्याको अनुपातमा सबैभन्दा बढी अस्ट्रलियाली कथाकारहरू रहेकाछन् | अमेरिकामा हामी एक लाखको हाराहारीमा छौँ भने अस्ट्रेलियामा त्यसको १० प्रतिशत पनि छैनौँ |समकालीन भुटानी नेपाली कथाभित्रका कथाले तपाईँलाई अस्तिको भूटान, हिजोको नेपाल र आजको तेस्रो देश मात्र हैन भोलिको नभोगेको जीवनको अनुभूति पनि आजै दिनेछन् | तपाईँ आफ्नै घरमा बसेर यो सङ्ग्रहसँग संवाद गर्नु भो भने तपाईँले नदेखेको अस्ट्रेलिया, अमेरिका, नेपाल, भूटान देख्ने मात्र हैन त्यहाँका नेपालीको जीवन भोगाइका दृश्यहरू तपाईँका आँखाअघि आउनेछन् |  अधिकांश कथाहरूमा भूटान, नेपाल तथा तेस्रो देश पुनर्वासपछिका स्थानहरूमा हामीले भोगेको जीवनका प्रतिबिम्बहरू छन् | केही कथाहरूमा भुटान सरकारले अवलम्बन गरेको जातीय सफाया र त्यसको फलस्वरूप नेपालीभाषी भुटानीहरुले आफ्नो थातथलोबाट विस्थापित हुनु पर्दाका कारुणिक दृश्यहरूको शाब्दिक चित्र देख्न सकिन्छ | विस्थापनले एउटै परिवारका सदस्यहरूबिच गराएको दशकौँको बिछोडको पीडा तथा भौगोलिक रूपमा टाढा भए पनि सुलभ्य आधुनिक प्रविधिको प्रयोगमार्फत हुने श्रव्यदृश्य संवाद तथा कुराकानीले उनीहरूमा ल्याएको क्षणिक खुसीका सन्दर्भ र प्रसंगहरु पनि समेटिएका छन् | जनताले रगत पसिना बगाएर आर्जन गरेको आयबाट उनीहरूले सरकारलाई तिरेको करबाट पाउने भत्ता र बेतन खाएर मैमत्ता बनेका सैनिक जवानदेखि अधिकृतसम्मले कृषि जीवन यापन गर्ने ग्रामीण तथा निर्धा र सोझा पुरुषहरूका पाता फर्काएर उनीहरूकै अगाडि महिलाहरूमाथि गरेको मौखिक तथा शारीरिक दुर्व्यवहार तथा बलात्कार हुँदा निस्केर अरण्यरोदन बनेका पीडायुक्त र हृदयविदारक चीत्कारहरू अभिलिखित भएका छन् यी कथाहरूमा | केही कथाहरूले शरणार्थी शिविरमा तथा नेपालमा हुँदाका अभाव, गरिबी, बालमनोविज्ञान, शिक्षण क्षेत्रका विकृति, सामाजिक तथा जातीय असमानता र विभेद, धार्मिक अनुष्ठानहरू आयोजना भएका बेला हुने गरेका यौनशोषण इत्यादिको कुरूप पक्षलाई उदाङ्गो पारेका छन् | केही कथाले पुनर्वासपूर्व देशविहीनता र परिचयहीनताका कारण लघुताभासले लगारेपछिको रुग्ण मानसिकता र मनस्थितिको चित्रण गरेका छन् | पुनर्बासपछि हामीले भोग्दै आएको बिल्कुल फरक जीवनशैली र त्यसले भित्र्याएका कुरितीहरु जस्तै लागूऔषध तथा मादक पदार्थको दुर्व्यसनी, यथेष्ट भौतिक स्रोत साधन तथा पैसाको आडम्बरले विस्थापित गराइराखेको संवेदना, र यस्तै विकृतिहरूको परिणामस्वरूप हुनेगरेका पारिवारिक वियोग, सम्बन्ध विच्छेद, आत्महत्या जस्ता विषयहरूलाई पनि  कथाकारहरूले उठाएका छन् |बालबालिका तथा वृद्धवृद्धाबाहेक अधिकांश हामीहरू यान्त्रिक जीवन बाँचिरहेका छौँ जुन हाम्रो रहर नभएर बाध्यता हो | विभिन्न बिमा, घर, सवारी साधन,प्रविधि, आदि आजको हाम्रो जीवनका अभिन्न कुरा हुन् र यिनकै लागि हामीले दैनिक १६ घण्टासम्म व्यस्त रहनु पर्छ यद्यपि त्यही बग्न व्यस्त समयको नदीबाट अलिकति पानी र स्मृतिभूमिबाट अलिकति माटो खनेर आफूले बाँचेको र भोगेको समयको मूर्ती निर्माण गरेका छन् हाम्रा कथाकारहरूले | यस अर्थमा यान्त्रिक्ताभित्रको ढुकढुक अर्थात् संवेदना हुन् यी कथाहरू |
आफ्ना कथाहरू निःशुल्क हामीलाई उपलब्ध गराइदिनु भएकोमा सम्पूर्ण कथाकारहरूमा हामी हार्दिक आभार प्रकट गर्न चाहन्छौँ | विश्वका विभिन्न मुलुकमा छरिनपुगेका हाम्रा लेखक र वहाँहरूका यी सुन्दर कथाहरूलाई यो पुस्तकाकार सम्म ल्याउँदा सहकर्मी मित्र शिवलाल दाहाल तथा रमेश गौतमले वहाँहरूको अमूल्य समयको लगानी गर्नुभएको छ | वहाँहरूप्रति म हार्दिक आभार प्रकट गर्न चाहन्छु | त्यस्तै गरेर मुद्रण कार्यमा सहयोग गरिदिनुहुने याम थुलुंग तथा जीवन धामीप्रति हामी सदैव आभारी रहने छौँ |  भौगोलिकरुपमा भिन्न भिन्न स्थानमा रहेका हामीलाई यो पुस्तकमा काम गर्दा प्रविधिले जति सहज बनायो त्यति नै गाह्रो पनि भयो | थुप्रै अनुभवहरू पनि बटुलिए | यी माथि उल्लेखित महानुभावहरूसँग तथा कथाको सम्पूर्ण काम गर्ने सिलसिलामा मेरो मर्म बुझेर उनीहरूलाई दिनु पर्ने समय मलाई नै वापस दिने प्यारी श्रीमती तथा मेरा दुई सन्तानलाई पनि हार्दिक धन्यवाद भन्न चाहन्छु किनकि उनीहरू त्यति बुझकी नभैदिएको भए यो पुस्तकको काम सम्भव थिएन | यो ऐतिहासिक कृतिको प्रधान सम्पादकको भूमिका निर्वाह गर्ने अभिभार दिएर म आफैंलाई आफ्नो परीक्षा लिने अवसर प्रदान गर्ने साहित्य परिषद् भूटानप्रति म आभार व्यक्त गर्न चाहन्छु | अन्तमा हिजो र आजको यस ऐतिहासिक कार्यक्रममार्फत आफ्ना कृति सार्वजनिक गर्ने सम्पूर्ण सर्जकहरूलाई  बधाई तथा शुभकामना भन्न चाहन्छु | 

Leave a Reply

Your email address will not be published. Required fields are marked *