डा० ढकालको ‘वासदेखि पुनर्वाससम्म’को अनलाइनमा लोकार्पण गरिने

विश्वव्यापी कोरोना भाइरस महामारीले मानवलाई मात्र प्रभाव पारेको छैन I यसले सम्पूर्ण प्रकृति लगायत प्रकाशित कृतिहरूलाई पनि बन्दी भएर बस्न बाध्य गरायो I विगत मार्च २२ तारिकका दिन लोकार्पण गर्न तयार गरिएको डा.लक्ष्मीनारायण ढकालको कृति ‘वासदेखि पुनर्वाससम्म’ अमेरिकामा लकडाउनका कारण क्वारेन्टाइनमा बस्न बाध्य भयो किनकि साहित्य परिषद् भूटानले पूर्व निर्धारित २७ औँ स्थापना दिवस समारोह स्थगित गर्नु पर्‍यो I सोही अवसरमा उक्त कृतिको पनि विमोचन हुने निश्चित गरिएको थियो I

कोरोना भाइरस महामारीको असर अझै पनि जस्ताको त्यस्तै रहेको र निकट भविष्यमा कुनै सार्वजनिक समारोह आयोजन गर्ने सम्भावना नदेखिएकाले डा. ढकालको कृति अनलाइन कार्यक्रम मार्फत लोकार्पण गर्ने निर्णय गरिएको कुरो साहित्य परिषद्, भूटानले प्रकाशित गरेको विज्ञप्तिमा जनाएको छ I विज्ञप्ति अनुसार परिषद्ले प्रकाशन गरेको उक्त कृतिको अनलाइन कार्यक्रम गरेर विमोचन गर्ने र खुल्ला कविता वाचन पनि गरिने जनाइएको छ I

नेपाल, भूटान, अस्ट्रेलिया तथा युरोपका विभिन्न देशहरूका साहित्यप्रेमीहरूका सुविधालाई पनि ध्यानमा राखेर उक्त कार्यक्रम आगामी मई २३ तारिक शनिवार बिहान अमेरिकाको पूर्वी समय अनुसार आठ बजेबाट गरिने जनाइएको छ I  विश्वभर छरिएका इच्छुक साहित्यप्रेमीहरुले ‘जूम’ मार्फत सहभागी बन्न सक्नुहुने छ I साथै यस कार्यक्रमलाई सुनकोश टीभीमार्फत फेसबुकमा पनि प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ I

Leave a Reply

Your email address will not be published. Required fields are marked *