डा.गिरीलाई विश्व नारी रत्नको उपाधि
काठमाडौ, ६ अक्टोबर २०१२
त्रिमूर्ति निकेतनद्वारा गठित ‘विश्व नारी नेपाली साहित्य सम्मेलन’ले नेपाली भाषामा कविता, कथा, उपन्यास, निबन्ध, समालोचना र अन्वेषणमूलक प्रबन्ध लेखनकी नारीचुली डा. वानीरा गिरीलाई नेपाली साहित्यको ‘विश्व नारी रत्न’को उपाधि प्रदान गर्ने निर्णय गरेको छ ।
निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएकोछ, “नेपालीभाषाको श्रीवृद्धिका लागि आधा शताब्दीदेखि निरन्तर साधनारत डा.गिरीलाई देशदेशान्तरमा नेपाली साहित्यको गरिमा र महिमा फिंजाएवापत सो उपाधि प्रदान गर्ने निर्णय भएको हो ।” उक्त उपाधिका साथमा ताम्रपत्र सहित दुई लाख पचास हजार रुपियाँ राशि रहने छ ।
नेपाली साहित्यको ‘विश्व नारी रत्न’को प्रयोग भने आजैका मितिदेखि गर्ने ‘विश्व नारी नेपाली साहित्य सम्मेलन’ले निर्णय गरेको छ । साथै ‘विश्व नारी नेपाली साहित्य सम्मेलन’ सन् २०१३ का अवसरमा नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईको सम्पादनमा विश्व नारी रत्न : वानीरा गिरीनामक अभिनन्दन ग्रन्थ पनि प्रकाशन गरिने भएको छ ।
डा. वानीरा गिरीलाई धेरै धेरै बधाई छ ! तपाईको लेखहरु पदना
मन् लगेको छ.