ढाका टोपी

मधु घिमिरे
अमेरिका

नेपालीको शिर उपरको चम्किलो सान शोभा
ढाका टोपी मन मगजमा भर्छ आदर्श आभा
ऊर्जा भर्ने हरपल नयॉं ज्ञानको फूलबारी
नेपालीको पृथक भवमा सौम्य यौटा चिनारी १

हॉंस्दै खेल्दै बहुत ममता माथमा यो फिँजायो
नेपालीको भुवन भरमा दिव्य गाथा सुनायो
डॉंडाकॉंडा हिमशिखरमा जोशले जुर्मुरायो
साक्षी राखी चहक खुकुरी वीरता गुन्गुनायो २

हाम्रो प्यारो तन मुलुक हो माथ अग्लो हिमाल
ढाका टोपी हिम चहकिलो फुल्छ सेतो कमाल
आस्था निष्ठा मनुज मनमा माथमा जग्मगायो
ढाका टोपी निशिदिन नयॉं शक्तिले फर्फरायो ३

अग्ला अग्ला घर महलको भव्य छानो समान
रक्षा गर्ने सलिल असिना सूर्य ऑंधी तमाम
हार्ने झुक्ने असफल हुने पाठ कैलै दिएन
नेपालीको रगत पसिना व्यर्थ बग्नै दिएन ४

भाषा भाका रितिथिति सबै मान सम्मान गर्छ
राम्रा राम्रा मन मगजमा भाव नौला उमार्छ
ढाका टोपी अमर गहना एकताको सिरानी
नेपाली हौं विपुल भवमा कर्मले भाग्यमानी ५

छन्द-मन्दाक्रान्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *