तिमी क्लियोप्याट्रा

शिवलाल दाहाल

तिमी क्लियोप्याट्रा
आँखाभरि तिम्रो
सौन्दर्य बोकेर म भागिरहेछु
तर,
यो रहर होइन,
यो स्वार्थ र प्रलोभन पनि होइन,
यो तिम्रो पवित्र प्रेमप्रतिको आघात पनि त होइन,
फगत
जल्लादहरुको निर्मम प्रहार
सहन नसकेर म भागिरहेछु,
एउटा सीमानादेखि अर्को सीमाना हुँदै
एउटा महासागरदेखि अर्को महासागर हुँदै,
एउटा क्षितिजदेखि अर्को क्षितिज हुँदै
म भाग्दै जाँदै छु,
एउटा अगम्य गन्तव्यतिर,
एउटा बिरानो संसारतिर,

शायद,
तिमीलाई प्राप्त नगरी
समयले,
परिस्थितिले,
परिवेशले
थापेको एम्बुसमा परेर
फेरि,
कुनै दिन म
प्रसान्त महासागरतिर
एउटा
घामसँगै डुबेर
अस्ताउन पुगौंला
तर,
क्लियोप्याट्रा
म तिमीलाई माया गर्छु,
मेरो तिरोहणलाई धोका कदापि नसम्झनू,
मेरो अवसानलाई मायाको कलंक नसम्झनू,

अरु त म के गर्न सक्छु र
क्लियोप्याट्रा,
तिम्रो नाममा
एउटा फूल रोपिदिन सक्छु ।
हुन त
तिमी फूलभन्दा
बढ्ता हौ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *