दर्शकका आँखामा बामाको कार्यक्रम

जे एन दाहाल
अमेरिका

क्यालेन्डरमा सोह्र जुलाई शनिवार भुट्निज मिउजिक अमेरिकन एसोसिएसनको कार्यक्रम हेर्न उत्सुकताले साङ्गीतिक प्रस्तुति हेर्न त्यहाँ पुगेका छौँ। मूल ढोकाबाट सेकुरेटि चेक पोस्ट पार गर्नसाथ रत्न गुरुङ सरको स्वागत हुन्छ । हलको लबी एरियामा फोटो सेसनका लागी भुट्निज मिउजीक अमेरिकन एसोसिएसनको निलो रङ्गको ब्यानर टाँसिएको छ । फोटो सेसनका लागी ब्यानरमा सेतो अक्षरले लेखिएको छ ‘बामा २०२२ फन्ड रेजीङ प्रोग्राम’ । लाइट,  क्यामरा र सुन्दर ब्यानर ।

त्यहाँ उपस्थित मित्र भवानीलाई, आयोजकले हायर गरेको क्यामेराबाट फोटो खिच्न लगाएर हामी थिएट्रिकल हलमा कार्यक्रम हेर्न कुर्सी समात्छौँ । दुई दिदी, भान्जा र म गरी ‘हामी’ भनि रहेको छु । ६ बजेर सत्ताइस मिनेट जाँदा हलको सिलिङका लाइट काटिन्छ र दर्शकको ध्यान स्टेजमा केन्द्रित गराइन्छ । टेक्सचर र विभिन्न खालको इफेक्ट दिने बिचमा ठुलो डिजिटल स्क्रिन छ । रातो कार्टुनले सजावट भएको स्टेजको छेउतिर दायाँ बायाँ दुवै साइडमा बाध्य बाधकहरूको उपस्थिति देखिन्छ । साथै मञ्चको दायाँ बायाँ दुई वटा टिभी स्क्रिनमा कार्यक्रमको भ्यु पनि देख्न मिल्छ ।

“बन्धनको चिनो सुरक्षित छ। त्यसैलाई बचाई राख्न जन्मिएको हो -बामा” द्वय सञ्चालक मध्येका, बिकु गुरुङ दर्शकलाई सम्बोधन गर्छन् । दर्शक तालीले उनको समर्थन गर्छन् ।

दोस्रो सञ्चालक प्रजित राना र बिकु सङ्गीत कर्मीलाई चिनाउन लाग्छन् । ढोलकमा स्वागत गर्नु होस, राजेन्द्र खड्का,तबेलामा मदन रसाइली र विप्लव खतिवडा, मादलमा राजेश गुरुङ, सारङ्गीको धुनमा भरत तामाङ, किबोर्डमा – गणेश गज्मेर र विकाश थुलुङ । पियानिस्ट विद दि मुस्कान -रोबि हाङ राई । गिटारमा -आमेर थापा, बाँसुरी – हेम थापा र भीम गज्मेर ।

“उहाँहरूको धुनले आजको हल पूर्ण रूपमा गुञ्जायमान हुने छ।” सञ्चालक बिकु गुरुङ अघि थप्छन्, “र हामीलाई आशा छ जब तपाई घर फर्कनु हुन्छ तपाईँले मनमा यी धुनहरू अवश्य पनि साँचेर  जानुहुने छ ।” यति ठुलो कार्यक्रम बिना सहयोग बिना साथ पक्कै पनि सफल हुने थिएन भन्दै प्रजित राना कार्यक्रमको सुरुवात स्पन्सरहरूलाई बोलाउँछन् । सिल्भर, गोल्डन, ब्राउन्ज र डायमन्ड स्पोन्सरहरुलाई सम्झँदै मायाको चिनो वितरण हुन्छ। घडीमा सात बज्दा बामाको अध्यक्ष खेम रिजालको स्वागतबाट औपचारिक कार्यक्रमको सुरुवात हुन्छ।

जीवन गुरुङ देउता फिल्मको गीतको उठाउँछन् “अब यो बाटो मेरो हो कि म यो बाटोको ” दर्शकले गडगडाहट तालीले समर्थन दिन्छन् । साथै मञ्चका अघिल्तिरका रङ्गिन लाइटले र थिएट्रिकल स्मोक एन्ड फग, अघिल्तिरबाट आएको धुवाँले वातावरण रोकिचलो बनाउँछ । “टिकटक बनाउनु हुन्छ कि बनाउनु हुन्न तपाईँहरू ? किनभने म चाहिँ बनाउँछु” भन्दै बिकु “टिकटक क्विन ” गीतका लागी कृष्ण ढकाललाई स्टेजमा निम्त्याउँछन्। निलो रङ्ग जिन्सको कोर्ट र सेतो पाइन्टमा सजिएका छन् कृष्ण । तिलक बस्नेतको शब्दमा कृष्ण आफ्नै आवाजमा रेकर्डे गीत बेजोड रुपमा गाउँछन् ।

आमाले रोजेको केटी रैछ साह्रै छोटी
बाबाले रोजेको केटी रैछ मोरी मोटी
म आफैँले रोजेको नमोटी नछोटी
च्याट्ट रहेछ ज्यान
टिकटककी क्विन म भएँ तिम्रो फ्यान

त्यसपछि “कोही भन्छन् जिन्दगी यो कर्कलाको पानी जस्तै हो” गीतमा चार जना बालिकाहरूले मारुनी नृत्य देखाउँछन् । घडीमा सात तिस हुँदा कान्छी माया सुब्बाको आवाजमा गीत घन्कन्छ,

“लेखमा चर्ने चौँरी ..”

साथै उनकै गलाबाट अनमोल एल्बमको गीत प्रस्तुत हुन्छ, “लाहुरे दाइले परदेशबाट पठायो खबर । ” रोचकिलो कुरा यस कार्यक्रमा कसैको आतिथ्य आसन ग्रहण गरिँदैन। कसैको भाषण हुँदैन । कार्यक्रममा भुटानी समुदायका कलाकार क्रमशः स्टेजमा चढ्दै पाँच मिनेटको गीतमा दर्शकलाई नचाउँदै उत्रन्छन् । फुर्तिला द्वय प्रस्तुतता प्रजीत र बिकु बिचमा आवश्यकता अनुसार झुल्की रहन्छन् र लिस्टमा भएको दोस्रो कलाकारलाई गाउन बोलाउँछन् ।

भुटानी समाजको प्रथम गायक, ढाका टोपीमा सजिएका प्रताब सुब्बा स्टेजमा खडा हुन्छन् ।उनको रेडियो नेपालको स्वर परीक्षा उत्तीर्ण भएपछि ‘बन्धनको चिनो’ एल्बम रेकर्ड भई १९८८ मा बजारमा आएको थियो ।

उनी “मङ्सिरको महिनामा ऽऽ ” गीतमा प्रस्तुति दिन्छन् । दर्शकको ताली बेजोड बज्छ । सुब्बा यसरी नै दाहिने बातले माइक उठाएर “बन्धनको चिनो ..” आफ्नै बहुचर्चित गीत उठाउँछन् । केही दर्शकले उनसँगै  गाउने, सुसेला हाल्ने र केहीले ताली बजाउने गर्छन् ।

“नाची देऊ फनक्कै घुमेर ” लोक गीतमा आठ जना बहिनीहरूले सामूहिक नृत्य देखाउँछन् । उक्त डान्सले धेरैको मन जित्छ । नानीहरू अमेरिका पुगेर भाषा बिर्सिए भन्नेहरूका लागी जवाफ हुन सक्छ, सञ्चालक गुरुङ समाज प्रति व्यङ्ग कस्छन्। घडीमा आठ बजेर चार मिनेट गएपछि मञ्चमा चढ्छन् मनोज ढकाल । उनी पुष्पन प्रधानको शब्द ‘हेत्तेरी’ बोलको गीत गाउन तयार छन् ।

” हेत्तेरी .. हो हेत्तेरी 
छटपटी भयो कस्तो लौ
नहेरी बस्दा उनको रूप
देख्न पाए एकै झल्को
चुलबुले मन हुन्थ्यो ढुक्क”

बाल युवा र वृद्ध दर्शकको तालीसँगै घन्कन्छ स्टेडियम । यतिन्जेलमा साङ्गीतिक माहौल ताती सकेको छ । लाइभ म्युजियिसनहरुले साङ्गीतिक दिनु ट्र्याक बज्नु भन्दा फरक अनुभूत गर्नु भयो होला, सञ्चालक गुरुङ अघि थप्छन् ।

आकाशैमा चिल हो कि बेसार
दुई दिन माया लाइदिऊँ न के छ र ..

महेश थुलुङ स्टेजमा चढेर गाउन अघि दर्शकलाई सम्बोधन गर्छन्, “नमस्ते सबैलाई, म खास्सै यो कार्यक्रमको अर्गनाइजर हो । एउटा गीत चाहिँ गाउनु पर्छ होला, म गाउने जमर्को गरी रहेको छु। एउटा गीत चाहिँ कोसिस गर्नु पर्ला प्र्याक्टीस गरेको छैन ।” उनी आफ्नै आवाजमा सन् २००३ मा ‘मोमेन्टस्’ एल्बममा रेकर्ड भएको गीत गाउँछन्। प्रत्येक भुटानीको मनमा बस्न सफल यस गीतमा भुवन थुलुङको शब्द छ ।

“फूल होइन
माया गर्छु के भनौँ
तिमीबिना बाँच्दिन म के भनौँ”

त्यसपछि मञ्जु लामाको आवाजमा गीत प्रस्तुत हुन्छ । उनी पहेँलो रङ्गको ड्रेस र सेतो रङ्गको पाइन्टमा स्क्रिनको बिच भागमा उभिएर गाउँछिन् ।

“लौन मायालुको देशमा
माया खोज्दै आई पुगेँ म “

लामाकै आवाजमा दोस्रो गीत क्रमशः प्रस्तुत हुन्छ । उनको गायकीले उपस्थितहरूमा राम्रो प्रभाव जमाई रहेको छ । ताली र सुसेला बेजोडले बज्छ। त्यहि समय थिएट्रिकल स्मोक र लाइट इफेक्टले पनि आकर्षण थप्छ । त्यसपछि खैरो कोर्ट पाइन्टमा मञ्चमा चढ्छन् किशोर सिवाकोटी । बैगुनी र सेतो रङ्गको टाई लगाएका उनी कालो जुत्तामा स्टेजको बिच भागमा उभिएर अविरल बिस्टको शब्दमा रेकर्ड भएको गीत गाउँछन् ।

“आँखामा सपना के सरी
जलाउँदै नहेर त्यसरी “

त्यसपछि ड्युएटमा गीतकार कुसुम गज्मेरको गीत ‘मिर्मिरे साँझमा सिमसिमे पानी’ टिका लामिछाने र सिवाकोटीको आवाजमा लाइभ जान्छ । सेतो लामो ड्रेस, कालो पाइन्टमा कालै हिलमा  खडा छिन् लामिछाने । उनी गीतमा सुरिलो स्वर हाल्दै वरपर हिँड्दा ड्रेसमा आँखा पुग्छ । उनको गलाबाट मिठो ध्वनि निस्कन्छ ।

यतिन्जेल गाउने सबै गायिकाहरूको पहिरन बजारमा चल्तीका स्टायलको देखिन्थे । आकर्षण मान्छेको पहिलो नजर भएकाले उनीहरू कुनै मोडल भन्दा कम देखिएका थिएनन्। अझ गायन साथै कलाकारको आकर्षक पहिरन पनि थियो भन्न सकिएला ।

“हिउँदको पनि ..” बोलको तामाङ सेलो लिएर चार जोडी युवायुवती सामूहिक प्रस्तुतिमा उत्रन्छन् । उद्घोषकले भनेपछि थाहा लाग्छ, उक्त कार्यक्रमका प्रस्तुत सबै नृत्यलाई मटिना मानन्धर कोरियो ग्राफ रहिछन् ।उनको त्यो कलालाई पनि सम्मान नै गर्नु पर्छ ।

घडीमा नौ बजेर दुई मिनेट जाँदा ढकाल ब्रदर्सलाई नेतृत्व गर्दै गायक मनोज र कृष्ण स्टेजमा उक्लिन्छन्। ‘के भन्ने हाम्रो समय दस मोहर महिनाको कमाई’ बोलको गीत गाउँदै गर्दा ढकाल ब्रदर्सलाई समर्थन गर्ने उस्तै दर्शकको सुसेला, ताली र आयलको बिच भागमा नाच पनि प्रस्तुत हुन्छ ।

यम बुद्धको गीत ‘साथी’ लिएर आउँदै छन् अमेरिकन लाहुरे, उपेन्द्र दुलाल । यसो भन्दै गर्दा सञ्चालकको आवाज चर्को सुनिन्छ । उनी र्‍याप गीत लिएर मञ्चमा चढ्छन् । यो प्रस्तुतसँगै बामाको औपचारिक फन्ड रेजिंग कार्यक्रम टुङ्गिन्छ । समग्र रूपमा बामाको कार्यक्रममा उपस्थित कलाकारहरूको नाच, गायन र शरीरको हाउभाउ हेरी नेपालबाट झिकिएका चल्तीका कलाकार भन्दा कुनै कोणबाट कम थिएन । उनीहरूको जोसपूर्ण प्रस्तुति हेर्दा २० डलरको टिकट बेखर्ची भएको महसुस हुन्थ्यो।

थिएट्रिकल हलबाट बाहिरिएपछि ‘बामा २०२२ फन्ड रेजीङ प्रोग्राम’ को ब्यानरमा फोटो सेसन गर्न दर्शक र कलकारको हेर्न लायक झुन्ड झुन्ड देखिन्छ । त्यसपछि लाइट, क्यामरा र एक्सन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *