दशैंको शुभकामना
मोहन चापागाई
पेन्सिल्भिन्या, अमेरिका
भो दसैँको शुभकामनाले नाङ्गो तन ढाक्न सक्दैन
च्यातिएको मन के सिउन सक्ला र
बुनेका सपनाहरू अनायासै फाला पर्दा
देखिएनन् त कतै सग्ला नयाँ बिपनाहरू
चेलीको नयाँ कपडा फेर्ने दिन रे!
खोइ ? आज कफनमा लपटीएकीछन्
ए! नरपिसाज हो! जा बरु बाँझो चट्टान फोर्
नव पल्लव चुँड्ने व्यभिचारीहरु
भो दसैँको शुभकामनाले चर्केको मन टाल्न सक्दैन ।
एक छाक मीठो खुसी बटुल्न हरपल पसिना पोख्दै
व्यथित मनहरूको बस्ती बसाल्न
प्रत्येक प्रहर सिङ्गो साझा भावना साट्न
धिपधिप आशाको सलेदोभित्र भविष्यको तेल थप्न
मनको दैलो खोली बसेकी मेरी …….उनी
झुत्रो सपना टाँगेर पर्खिरहेकी मेरी बुढी मेरी आमा
मनका आगनभरी नयाँ खेलौना सजाएको मेरो छोरो
जामाको एकफेरमा अनिश्चित भविष्य लुकाउँदै बसेकी मेरी छोरी
भो दसैँको शुभकामनाले लत्पतिएको भोलि सङ्लो बनाउन सक्दैन ।
आरु बोटे दाइ थकित सुस्केराभित्र प्राण साट्दै
भोलिको सिमाना कोर्दै,
एक चिम्टी नुनको बदलामा पसिनाको सुन साट्दै छन्
वर्तमानका खेतहरूमा वेदनाको डल्ला फोरी रहेकी आरुबोटेनी भाउजू
४० कटे’सी रमाउन मनको सन्दुकभित्र बाचा साँची
मनको सँघार नाघेर बिलाइ गए खुसीहरू
भो! दसैँको शुभकामनाले परिस्थिति बदल्न सक्दैन ।
भो अब दसैँको कालो आषिकको तुल तोरण पर्दैन
भो दसैँको शुभकामनाले चर्केको मन टाल्न सक्दैन
भो दसैँको शुभकामनाले नाङ्गो तन ढाक्न सक्दैन
भो दसैँको शुभकामनाले लत्पतिएको भोलि सङ्लो बनाउन सक्दैन
भो! दसैँको शुभकामनाले परिस्थिति बदल्न सक्दैन
भो दसैँको शुभकामनाले नाङ्गो तन ढाक्न सक्दैन ।
Probably the best use of words and syntax can produce such beautiful poem full of lively life situations readers can dive in and feel themselves. I like it much.
निक्कै अर्थपूर्ण कविता !