दशैंको शुभकामना

मधु घिमिरे
पेन्सिलभेनिया,अमेरिका

 

आयो दशैं भुवनमा सुख शान्ति छायो
फक्रे सयौं मखमली घर भो उज्यालो
बिर्सेर ती विगतका दिन रम्नलाई
प्यारो दशैं घर र ऑंगनमा सजाई १

टाढा विदेश तिरका सब दाजु भाइ
बोकेर शुद्ध रसिला गुड वा मिठाई
माता पिता र भगिनी परिवारलाई
आए त भेट्न दिल देखि खुबै रमाई २

बेला छ सुन्दर शरद् नभ क्या सफा छ
चम्के हिमाल शिरमा अझ हर्ष बढ्छ
गर्मी भएन न त धेर कतै छ जाडो
प्यारो दशैं सुख र चैन लिएर आयो ३

बाला झुलेर अति सुन्दर खेत बारी
चल्ने समीर अझ शीतल वाग पारी
सौन्दर्यको शिखरमा हिम श्वेत फूल्छ
संस्कारको मनुजमा अनि मूल फुट्छ ४

ठूला बडा गुरु र मान्य मनुष्य साथ
टीका प्रसाद जमरा शुभ हातबाट
आशीष् सुकोमल लिँदा शुभ भाग्य बन्छ
प्यारो दशैं शुभ बनोस् शुभकामना छ ५

छन्द-वसन्ततिलका

Leave a Reply

Your email address will not be published. Required fields are marked *