दसैँको दिन म रोएको छु
महेश्वर पन्त
पर्वत नेपाल , हाल बस्टन अमेरिका
हुन त नेपालमा कति गरिबहरू दसैँ मान्न सक्दैनन्। दसैँमा आफ्नो परिवारलाई नयाँ कपडा र मिठो खाना दिन सक्दैनन् र रुन्छन्। केटाकेटीहरू सबैले देख्ने गरी रुन्छन्। तर बुढा पाकाहरू लुकेर रुन्छन्। मन भित्र भित्र रुन्छन्। त्यो पिडा मनन मात्र गर्न पनि पिडा दाइ हुन्छ। हेर्न लायकको हुँदैन। पहाडमा मैले देखेको छु, दसैँको दिनमा मिठो त के खस्रो चामलको भात समेत खुवाउन सक्ने क्षमता नभएका कति नेपाली परिवार थिए। झैँ पनि त्यति ठुलो परिवर्तन भएको छैन। विशेष त उच्च पहाडी भागमा।
दसैँ मान्न देश, काल र परिस्थितिले अनुमति नदिएको त हैन! कामले वा जागिरले रोकेको त हैन होला? अभावले रुनु पर्ने कुरो एकातिर छ। हुन त अभाव वर्ष दिन बाह्र महिना नै छ, ती गरिब नेपालीहरूलाई। ती नेपाली नेपालमा हुन, चाहै भारतमा हुन, चाहे भुटानमा हुन, चाहे बर्मामा या हुन अरू कुनै ठाउँमा। या ती हुन परदेशमा, घर देशमा, या देश हराएका हाम्रा भुटानी दाजुभाइ जसले भाषा र साहित्य मनमा र मुटुमा माटो लिएर बाँचेका हुन, सबै पिरोलिन्छन्, दुख्छन्। तर धेरै आँसु किन दसैँमा नै बग्छन्? हो यही प्रश्नले मलाई पिरोल्छ।
अब मेरै कुरा गर्नु पर्दा मलाई प्राय कुनै कुराको अभाव न नेपाल छँदा थियो! अमेरिका बस्दा त जाबो लाउन खानको अभाव हुने कुरै भएन। तर मान्छे रुन्छ किन? मान्छे अभावले पिल्सेर छिटो रुन्छ कि भावना दुखेर?
यिनै कुरा मेरो मनमा आपसमा बटारिन्छ। गुम्सिन्छन्। तर निकास पाउँदैनन्।
सन १९९७ तिरबाट मेरो विदेश यात्रा सुरु भएको हो र सन दुई हजार दुईबाट स्थायी भयो। त्यही बेला देखि छातीको देब्रे पाटो दुख्न थाल्यो र एक प्रकारको बिमारी जस्तै भएँ। रोग नदेखिने बिमारी। मुटुको प्राय हरेक ढुकढुकीमा एउटा चिज नपुगेको जस्तो भयो र थाहा भएर पनि त्यो चिज पुरा गर्न सकिएन। झन् चाड पर्वमा त त्यस्तो मात्रा बढेर ह्वात्तै माथि आउने गर्छ।
सन दुई हजार दुई जुनको एउटा गर्मी दिनको बिहान म ढोकामा उभिएको छु। बा हातमा दहिको प्लेट लिएर उभिनु भएको छ। हामी दुवै आमाको प्रतीक्षामा छौँ। बा मलिनो अनुहारमा देखिनु हुन्छ। वहाँको मुहार बिन्दुमा त्यो पुरानो खानदानी एउटा ढुक्कको तेजस्वी चमक हेर्न खोजेँ तर कतै थिएन। केही दिन देखि नै यस्तै थियो। आमाको वर्णन म गर्न सक्दिन।
टिकाको थाली र फूल लिएर आमा आउनु भयो। मैले पुलुक्क आमाको मुहारमा हेर्ने शक्ति जुटाएँ। तर धेरै बेर टिक्न सकिन। ती रुँदा रुँदै राता भएका नयनमा भेल बगिनै रहेको थियो। मैले ती मेरा लाचार नयन तल जमिनमा जोतेँ। आमाले बिदाईका अछेता लगाई दिनु भयो। कानमा फूल सिउरी दिँदै मेरो कपाल छुनु भयो। मेरो पनि आँखाका तलाउहरू भरिए र केही बाहिर पनि ओर्ले। घाँटी सफा गर्दै आमाले भन्नु भयो ‘दसैँमा त आउलास् नि?’
मैले बा तिर हेरेँ। बा पनि आफ्ना आँखाको तलाउमा पानी रोक्न असफल प्रयास गर्दै हुनु हुन्थ्यो।मैले ढोकामा उभिएकी श्रीमतीलाई पुलुक्क हेरेँ। स्कुल गएका छोराछोरीलाई झुलुक्क सम्झेँ। कसै सँग बोल्न सकिन। यति नै बेला भाइले ट्याक्सी लिएर आयो।
यसरी तय भएको थियो मेरो बाध्यता सपना बोकेको परदेशी जीवन, अमेरिका। मुटुको हरेक धड्कनले नेपाल भनी रहे पनि त्यसलाई पन्छाएर आफ्नो सपना साकार पार्न लाग्नै पर्यो। “परदेशमा यस्तै हो!” यही एउटा वाक्यले दिन काट्नु पर्ने थियो र परि रहेको छ।
“तर चाडबाड!?”
मैले जानेको सन दुई हजार देखीको परदेशी दसैँ धेरै वर्ष सम्म परदेशी नै रह्यो। नेपालमा आयो। हामीलाई आएन। हामीलाई याद मात्रै ल्यायो। बल्ल बल्ल फोनमा सम्म परिवार सँग कुरा गर्न पाए भाग्य!
यसको वास्तविकता मैले पनि सन दुई हजार दुईमा बुझेँ। मेरो प्रमुख चाहाना थियो कि परदेशमा पनि दसैँ मान्ने। दसैँ लाग्यो। कोही बोलेनन्। दसैँको नामै लिएनन् कसैले। म भन्दा अघि यो परदेशमा छिरेकाले नबोली म जान्ने हुने कुरो पनि आएन। घटस्थापना आयो। कसैले जमराको कुरा त के मुखमा दसैँ आयो भनेजस्तो एउटा स्यानो चमक मुहारमा पर्न पनि दिएनन्। खल्लो लाग्यो।
आखिर मैले नै मुख फोरेँ “हैन दसैँको कुनै तयारी हुँदैन यता?” प्राय सबै झस्के। तर सबैजसो आँसु पनि। म माथि हाँसे वा दसैँ माथि हाँसे त्यो मैले बुझिन। तर निकै खल्लो लाग्यो।
टिका लगाउन नसकिने कुरा मलाइ प्रस्ट्याए साथीहरूले। मैले लाचार भएर माने। किन कि म त सबै भन्दा नयाँ र केही नजानेको थिएँ। कति साथीहरू त परिवार बाल बच्चा सहितका पनि थिए। उनीहरूलाई त दसैँको महत्त्व लागेन भने म एक्लो लाई के?
त्यति बेला अमेरिकामा दसैँ मान्न चाहे पनि हुने कठिनाइ यसरी किटान गरियो: धेरै नेपाली नभएको। भएका प्राय नेपाली एउटै कम्पनी वा रेस्टुरेन्टमा काम गर्ने हुनाले बिदा एकै चोटि माग्न नमिल्ने।एक्लै कसरी दसैँ मनाउने? कामको थकान। मुख्य कुरा टिकाको सामान कसरी जम्मा पार्ने र जमरा पनि चाहियो कसरी जमराको काम गर्ने? यस्तै ‘हरुवा गोरुका छेरुवा दाउ’ भने जस्ता कारण दुखाएर हामीले दशैलाई पियौँ।
दसैँले आफ्नो आउने काम हो आयो। तर रङ्ग ल्याएन। पूर्णिमाका जुन पनि अँधेरा भए।
दसैँको दिन भरि काम गरेँ। झन्डै दश घण्टा। दिन भर काममा जाँगर लागेन। खल्लो लागी रह्यो। आखिर अभाव त केहीको पनि थिएन। तर यो के होला? सोच्न बाध्य भएँ। दसैँसँग जुन हाम्रो भावना गाँसिएको थियो त्यसमा ठेस लागेको महसुस भए होला सायद। रुन मन लाग्यो। रुने ठाउँ पाइन। कति पटक बाथरुम गएँ। आफूलाई हेरेँ। आफूलाई चिन्न मन लागेन। आमाको रुघ्न स्वर सम्झेँ “दसैँमा त आउलास् नि?”
म, म हैन। जो यो छ त्यो म पटक्कै हैन। जो म थिएँ त्यो यो हैन। अनि दसैँ? मैले सोचेँ ‘यहाँ त दसैँ हुँदैन।‘
तर मनले मानेन। डेरामा आएँ। कोही पनि नआएका रहेछन्। पल्लो घरको भाउजू बाल्कनिमा देखिनु भयो। दाइ पनि आएका रहेछन्। दुवैको सल्लाहले होला त्यति नचिनेका भए पनि बोलाए। म खुसी भएँ। झन्डै दौडेर पुगेँ। मनमा दसैँका गुलिया सेल रोटी झर्र गरे। ‘दसैँ मान्न पाइने भयो।‘ मनले यसै भन्यो।
तर त्यहाँ मैले भनेजस्तो दसैँ थिएन। अझ भन्छु ‘दसैँ भन्ने खालको केही थिएन।‘ प्लेटमा भेडाको मासु र ‘हाइनिकन’ भन्ने बियरका केही भरि बोतलहरू थिए। ती नचिनेका सायदै दुई पटक देखेका दाइले भने “भाइ यसो आज बिदा पनि परेको दसैँ पनि परेछ। दसैँ मानौँ भनेर।“ भन्दै उनी फिस्स नमिठो पराले लजालु हाँसो हाँसे। सायद आफ्नो दसैँको यति कमजोर तयारीका कारणले लाज पनि माने कि जस्तो पनि लाग्यो।
घर फर्केँ। तर दसैँको न्यास्रो मेटिएन। नेपाल फोन लगाउने प्रयासमा तीन चार घण्टा खर्चेँ। यस्तै गाह्रो हुँदो रहेछ दसैँमा, फोन लाग्न। विदेशबाट धेरैले एकैचोटी फोन लगाएर होला। सबैले दसैँको न्यास्रो मेट्न नेपाल फोन गर्ने रहेछन्, सायद।
मेरो फोन लाग्यो। उताको हल्ला, खुसीका आवाजहरू सुनेँ। सबै खुसी जस्ता सुनिन्थे। आमाको काखमा खेलेका बच्चा जस्ता। मलिन र दुखी थिइन त मेरी आमा। फेरि उही रोकिएको आवाजले सोधिन “टिका लाईस? दशैको दिन मिठो चोखो के खाइस्?” म रोकिएँ। अगाडि बोल्न सकिन। फोन काटिएको नक्कली नाटक गरेँ र फोन काटी दिएँ। आँसु र त्यो पिरिएर निक्लने आवाज रोक्न सकिन। मजाले रोएँ। सायद म जान्ने भए पछि त्यति जोडले रोएको छैन।
आज त्यो दिन सम्झिन्छु। कति छिटो यत्रो विकास भएछ अमेरिकामा! आज झन्डै पन्ध्र बिस वर्ष पछि फर्केर हेरेँ। अमेरिका आज नेपाली गाऊँ जस्तो लाग्छ। त्यो घटनाकै अर्को वर्षबाट सामूहिक दसैँ कार्यक्रम मेरै अगुआईमा केही (५०-६० जना) साथीहरू मिलेर खोलेको संस्थाले मनाउन थालेको हो। र सामूहिक दसैँ मनाउन थालिएको ले मेरो रोदन फेरि आउन पाएन। केही वर्ष पछि जमराको पनि सुरुवात भयो। अनि त नेपालको जिल्ला जस्तै लाग्न थाल्यो, परदेश।
हुन त ‘परदेश कहिल्यै पनि घर देश जस्तो हुँदैन’ तै पनि आमा बा सासू ससुरा सँगै बसेर दसैँ मनाउन पाउँदा यो परदेशीलाई घर देश मै छु जस्तो महसुस हुन्छ।
कुनै वर्ष बा आमा, सासू ससुरा दसैँमा आउन नभ्याउँदा फेसबुक भिडियो म्यासेनजरबाट टिका लगाउने र आशीर्वाद लिने गर्दा पनि आनन्द आउँछ।
हुन त ‘परदेश कहिल्यै पनि घर देश जस्तो हुँदैन। सँगै बसेर लगाएको टिका जस्तो भिडियो हेरेर लगाएको हुँदैन’ तै पनि आमा बा सासू ससुरा सँगै बसेर वा हेरेर दसैँ मनाउन पाउँदा यो परदेशीलाई घर देश मै छु जस्तो महसुस हुन्छ।
तर पनि परदेशमा दसैँ आउँदा जन्म घरको याद अलि बढी नै आउँछ। अनि यो गीतकार सङ्गीतकार मन यसरी गुनगुनाउँछ।
गीत (देशको सम्झना)
यसपालि त परदेशमा देशको धेरै याद आयो
हिमचुलीको चिसो हावा तराईले स्वाद ल्यायो
ढिकी जाँतो गर्दै आमा केटाकेटी हेर्दै होलिन्
मेलापात घरकी उनी मेरै याद गर्दै होलिन्
खोला पारी रमितेमा कान्छा कान्छी भेट्छन् होला,
पानी भर्दै पंधेर्नीले मेरै कुरा काट्छन् होला
आज फेरी बाडुल्कीमा घर गाउँको याद आयो
हिमचुलीको चिसो हावा तराईले स्वाद ल्यायो
छिल्लिएर ठिटा ठिटी रोटे पिङमा मस्त होलान्
झुलीरा’का धानका बाला, मधेस पहाड व्यस्त होलान्
चन्द्रमाले मुस्कुराउँदै गाउँमा प्रकाश छर्दै होलिन्
लजाउँदै मेरी माया आउने बाटो हेर्दै होलिन्
चाडपर्व देश जाने बाचा को त्यो म्याद आयो
हिमचुलीको चिसो हावा तराईले स्वाद ल्यायो|