दाई -सम्बोधन एक, व्यवहार अनेक

जे एन दाहाल
अमेरिका

दाई यो शब्दको अर्थ लगाई राख्न आवश्यक छैन । दाई भनिने यस पात्रको महत्व कत्रो छ आम मान्छेले अनुभूत गर्न सक्छ ।
सामान्यतया आफू भन्दा जेठो उमेरको रगतको सम्बन्धित मान्छेलाई दाई भनिने चलन छ । तर दाई यतिमा मात्र सीमित छैन ।
दाई रगतको साइनो मात्र होइन भावनात्मक सम्बन्धमा पनि विकाश हुन सक्छ । अर्को शब्दमा कुनै पनि विषयको अनुभवी मान्छे
दाई हुन सक्छ ।शिक्षा, ज्ञान र अनुभवले निखारिएको कम उमेरकै व्यक्ती पनि दाई हो । बाटोमा हिँडेको अनजान मान्छे अकस्मात्
कसैको दाई हुन सक्दैन । दाई हुन चिनजान आवश्यक छ । आत्मीयता हुनु आवश्यक छ । भावनात्मक सम्बन्धको विस्तार हुन आवश्यक
छ । कतिपय अवस्थामा मान्छेको मनोविज्ञान सम्बोधनले नै धेरै कुरा विस्तार भई हाल्छ जस्तो देखिन्छ । त्यसैले कुनै नियोजित काम बनी
हाल्छ जस्तो गरी भन्नका लागी यसै बटुवालाई पनि ’दाई’ भनिदिने चलन छ । तर त्यस्ता पात्रलाई कसैले व्यवहारिक रूपले दाई स्वीकार
गरेकै हुँदैन । तपाईँले त्यस्ता नमुना पात्र याद गर्नु भएको छ ? जस्तो कि माथि भनिएको सडकमा हिँडी रहेको अनजान मान्छेलाई अकस्मात्
दाई भनिन्छ- सोच्दा कस्तो हास्यास्पद कुरा लाग्दैन? दोहोर्‍याएर सम्झँदा या बुझ्ने चेष्टा गर्दा तपाईँलाई अचम्म र अनौठो लाग्दैन ? बटुवा
एउटा फुस्रो सम्बोधनले बाँधीएको अर्थ र भावना विहीन – दाई ! त्यो कस्तो दाई ? कहिले काहीँ रगतकै सम्बन्धको दाई पनि व्यवहारिकतामा
दाई देखिँदैन । यस्तो चरित्रलाई जिवनमा किन दाई मान्ने ? या बोल्ने सम्बोधनमा मात्र दाई सिमित राखिदिने ! समाजमा यस्तो पनि देखिन्छ
-पद र नियोजित काममा कहिले काहीँ कसैलाई ’नमस्कार’ ठोकेर दाई बनाइन्छ । यस प्रवृतिले कहिले काहीँ कसैलाई फुर्काउन या उचाल्न
‘ दाई’ भनिदिएको देखिन्छ । यस्ता दाई कति समयका दाई ? कति भावनात्मक दाई ? कति हार्दिकताका दाई ?

सम्बोधनको दाई र भावनात्मक दाईमा अन्तर छ । सम्बन्ध त दिलको हुन आवश्यक छ जसमा जिवनको लय, गम्भीरता, र भावनात्मकताको
विकाश होस् ।अचेल डलर र पाउन्डको प्रलोभनमा पनि बनिन्छन् यस्ता केही दाईका सम्बन्धहरू । तर त्यस्ता दाईलाई भाइ सम्बन्धको
आवश्यकता, र महत्व कति रहला एक सोचनीय कुरा भयो । दाई शब्दले विशाल आत्मीयता बोकेको छ । सम्मान बोकेको छ । अपनत्व
बोकेको छ । दाई शब्दलाई आञ्जलिकता अनुसार कतै दाजु या दाजै भन्ने पनि सुनिन्छ । जे होस् यसको मूल भाव त्यही हो । म फेरी अर्को
शब्दमा फर्कन्छु । माथी नै प्रस्तुत गरिएको छ -कुनै पनि विषयको अनुभवी मान्छे दाई हुन सक्छ । यसरी सम्बन्धित विषयको अनुभव
बोकेको मान्छे उमेरमा कच्चा भए पनि ’दाई’ हो ।

वास्तविक दाई त्यो हो जोसँग सम्बन्धित विषयको बढी अनुभव छ । रगतको साइनो र उमेरको अङ्क गणितले खास महत्व राख्दैन ।
समाजमा कसैले कम उमेरमै दाईको भन्दा ठुलो शैक्षिक सफलता आर्जन गरेको हुनसक्छ । कम उमेरकै भाईमा ज्यादा वैदिकता
हुनसक्छ । त्यो कोणबाट हेर्दा भाइ देखि रहेको पात्र चाहिँ दाई हो ।

अझ यसरी बुझौँ कसैसँग जीवनको धेरै अनुभव हुन सक्छ । कसैसँग शैक्षिक क्षेत्रको । ती दुई आफ्ना स्थानमा दाई हुन् । यसमा
न रगतको कुरा आउँछ, न अङ्क गणित उमेरको । दाईको उपस्थिति दसैँ र तिहारमा मात्र होइन । अन्य अनेकौँ पारिवारिक भेलाहरूमा
पनि हुन्छ । भाइ मर्दा श्रद्धाञ्जली चढाउन उपस्थित नहुने के दाई? या भाइ मर्दा सम्झनासम्म नगर्ने दाई – यी दोयको कस्तो कस्तो अन्तरङ्ग
सम्बन्ध ? कस्तो साइनो जसमा भावना छैन । दिल जोडिएको छैन । दाई त प्रेम हो । दाई त सम्मान हो । दाई त आदर्श हो । रगतको
सम्बन्धले बनेको दाईले सुख दुख बुझेको छैन । भाइसँग भावनात्मकताको विकास गरेकै छैन । यस घडीमा अनुभवी मान्छे दाई कि?
उमेरको जेठो भएको पात्र दाई ? सोच्नुहोस् आफ्नो दृष्टिमा को हुनसक्छ दाई ? छुटाउने काम तपाई पाठकको !

Leave a Reply

Your email address will not be published. Required fields are marked *