दिवाल

कुबेर कुईकेल भुवानेटारे
अमेरिका

सुखान्त मोज शक्तिमा दिवाल त्यो बनाउँछ
कठोर कप्टि त्रासको दिवाल त्यो सजाउँछ
दिवाल पारिकाहरू भ्रमी न हौँ सुखान्तमा
दिवाल भित्रकाहरू निशब्द छन् अशान्तिमा

छ भूमि शक्त चापमा अशक्त देशवासि छन्
निवास छैन खोसियो दिवाल हेर्न बाध्य छन्
निसान मेट्न बासको उ स्थान नाम फेर्दछ
सुराग अस्त्र गाँउमा दिवाल कान थप्दछ

अठासिको अशान्तिले समाजमा थिचोमिचो
मदान्द राष्ट्रवाद भो निसाफ भेद त्यो निचो
कपास बास गाँसमा विभेद नीति भूपको
र धर्म कर्म जातमा विभेद उच्च कोटिको

विभेद बोलचालमा ल भेष भाष्य चोट भो
विभेद पूर्व तर्फका र दक्षिणीय तर्फ भो
विकास ठप्प देशमा प्रचार आफ्नु गर्दछन्
दिवाल ठोक्न व्यक्तिमा प्रमाण पत्र फेर्दछन्

गरीब खेत वाटिका कटानमा परे पनि
ल मौन बस्न बाध्य छन् अतृप्त पेटमा पनि
लुटेर खेत खोरिया उ वंश राख्न व्यस्त छ
सुराग कान कंशको दिवाल बोल्न सक्द छ

स्वतन्त्र छैन भूमि त्यो स्वतन्त्र विश्व चक्षुमा
अभिन्न राय राख्नु रे नरेश पक्ष मात्रमा
जदौ भनेर बाँच्नु नै खुसी भनिन्छ राष्ट्रमा
विपक्ष बोल्नु पाप हो सबै नरेश पक्षमा

मरे शहीद गर्वको अमोघ मान वीर हो
रहे सगर्व देशमा नयाँ बिहान वीर हो
दिवाल तोड्न दम्भको मुठी विपक्ष बन्नु छ
कठोर कर्म राष्ट्रको उठान हेर्न गर्नु छ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *