दिवाली, दीपावली कि तिहार (?)

भक्त घिमिरे-पेन्सिलभेनिया

 

दीपहरुको पर्व तिहार भर्खरै सकिएको छ । यसको नाम, उद्देश्य, तात्पर्य र अर्थभाव सम्बन्धका जिज्ञासाहरुले सामाजिक सञ्जालहरु भरिएका थिए । अहिले पनि ती प्रश्नहरु ज्यूँका त्यूँ छन् । यी प्रश्नहरु सर्वकालिक छन् । सामान्यतः यस्ता प्रश्नको सहज उत्तर फेला पर्नेवाला पनि छैनन् । यद्यपि, हामी सम्भावित उत्तरको खोजी गरिहेरौं ।

प्रश्नहरुको थाकमा सबैभन्दा माथि नेपाली समाजमा रहेको देवाली र ‘दिवाली’को प्रसंग थियो । कसैले दीपावली वा तिहारलाई नै देवाली पनि भनिरहेका थिए । तर, देवाली भनेको नेपाली खसहरुले गर्ने कुलपूजा (देवीली) हो, दिवाली हैन ! वास्तवमा दिवाली भन्ने शब्दै छैन ! हिन्दीको दिवाना र दिवाला-बाट व्युत्पति गराई दिवाली भन्ने चलन शुरु भएको हो । तर, त्यस अर्थमा गइयो भने सांस्कृतिक पर्वको मूल्य बर्वाद हुन्छ । किनभने दिवाना भनेको पागलपन, आशक्ति वा लम्पटपन हो । दिवाला अर्थात् दिवालियापन भनेको पनि हैरानीको पराकाष्ठा हो । जीवनमूल्यका अर्थहरुबाट टाट पल्टिनु हो ।

यहाँनेर हाम्रो चर्चाको प्रसंगचाहिं यस पर्वलाई के नाम दिने हो भन्ने हो !

हुनलाई त केही मान्छेले भाइटीकाको दिन टाउकोमा सयपत्रीको पगरी, गलामा एउटा मखमलीको छोटो माला अनि अर्को सयपत्रीकै लामो माला लगाउने चलनलाई देखाएर तीनवटा मालाको अर्थमा ‘त्रिहार’ भनिएको दाबी गर्दछन् । यही त्रिहार शब्द समयको अन्तरालमा तिहार बनेको दाबी उनीहरुको छ । लक्ष्मी वा गाई पूजा, गोरु वा गोवर्धन पूजा र भाइटीका गरी तीनदिनलाई उत्सवका मूल दिवस मानेर ती तीनवटा वारहरु दर्शाउनका लागि ‘तिवार’ भनिएको भन्ने पनि केहीको व्याख्या छ । कताकता ‘तीनदिने तिहार’ भनेको पनि सुनिन्छ । यस्ता कुराले सांस्कृतिक महत्वको पर्वलाई अवमूल्यन गर्दछन् । यी खाले कुनै पनि अर्थले दीपावलीको सम्पूर्ण मर्म बोक्न सक्तैनन् । यमपञ्चकमा यमराजले यमुनाको घर गई पाँच दिन रमाइलोसँग बिताएको बहानाबाट यो पर्व शुरु भएको बताइन्छ । देवदास र देवदासीहरुलाई दरवारको बन्देजबाट फुकुवा गरी हुकूम गरेर बलिराजाले देउसी-भैली खेल्न पठाएको कथा जोडिन्छ । काग, कुकुर, गाइ, गोरु र भाइको पूजा समेटिन्छ । भाइटीकामा चेलीहरुले ओखर फोर्छन् । यी सबै कुराको मर्म तीनवटा हारमात्र बुझाउने ‘तिहार’ अथवा तीनवटा वारमात्र बुझाउने ‘तिवार’ शब्दले कसै गरी बोक्न सक्तैनन् ।

अझ कसैले ब्रह्म, सत्य र जीवात्मालाई जोडेर तीनवटा अस्तित्वको बोध गर्नुलाई तिहार भनिएको ढिपी पनि गरेका छन् । तर, अनुमानका अर्थ लगाउँदै जाने हो भने हाम्रो संस्कृतिका हरेक चरणको पुनर्व्याख्या गर्नु जरुरी हुन्छ । जसरी दशैंलाई रामद्वारा रावणबधको काण्डसित, दुर्गादेवीले महिषासुरको बध गरेको घटनासित जोडिन्छ, तिहारलाई पनि लंकाविजय गरी राम १४ वर्षीय वनबासबाट अयोध्या फर्किएको दिन भनेर दाबी गरिन्छ । तर, अयोध्याका मान्छेले न दशैंमा चामलको टीको लगाएर बुढा-पाकाबाट आशीर्वाद थाप्छन् न त तिहारमा यमपञ्चक नै मनाउँछन् । उनीहरुको दशैं भनेको नवरात्रमा सप्तशतीको पाठपूजन र दशमीको दिन नौदिन पुजेको मूर्तिलाई खोलामा लगेर बगाउनुमात्र हो । यसरी नै नेपालीहरुले मान्ने तिहारको भाव भारतीयहरुमा राखीले लिएको हुन्छ । दिदी-भाइ वा दाजु-बहिनीको नाता बलियो गराउने भारतीयहरुले राखीलाई मुख्य घटक मान्दछन् । त्यसो हुँदा चाड-पर्व मनाउने हाम्रा शैलीहरुलाई सकेसम्म प्राचीन देखाउन खुरुक्कसँगले भारत र भारतीय परम्परामा जोड्ने बानी हटाएर भित्रैसम्म अनुसन्धान गर्नुपर्ने जरुरी देखिन्छ । नेपाली पहाडका चुचुरामा देउराली (द्यौराली) बनाएर पाती चढाउँथ्यौं, भारतीय परम्परामा त्यस्तो चलन छ ? कतै पनि छैन ! त्यसो हुनाले नेपालीहरुको सांस्कृतिक विराशतमा अनेकौं मौलिक पक्ष हुँदाहुँदै पनि अर्काको नक्कल गर्ने आडम्बरी सिकोले गर्दा आफैं बिलाएर जानुपरेको छ ।

दीपावलीलाई तिहार, तीवार जे जे भने पनि यी शब्दको कुनै मौलिकता छैन । हिन्दी भाषाको ‘तेउवार’, ‘तेउहार’ वा ‘त्यौहार’ शब्दलाई पैंचो ल्याएर अपभ्रंश बनाउँदै तिहार उत्पादन गरिएको हो । तर, हिन्दीमा त्यौहार भनेको कुनै पनि पर्व हो, जुनसुकै पर्व अथवा सबै चाड-बाडलाई त्यौहार शब्दले इंगित गरिन्छ ।

तर, हाम्रो पर्व त विशेष खुशीको क्षण वा उत्सव हो जो दीपावली (दीप बाल्ने पर्व) हो । वास्तवमा संस्कृत भाषाका ‘दीप’ वा ‘दीपक’ र ‘आवली’ दुइ शब्दको समायोजनबाट दीपावली बनेको हो । ‘दीपक’ भनेको बत्ती अथवा दीयो हो भने ‘आवली’ भनेको लहर अथवा शृंखला हो । केही मानिसहरुले लक्ष्मीपूजाको दिन घर झिलिमिलि पार्ने कामलाईमात्र दीपावली भन्न मिल्ने र यसपर्वका अरु दिनहरुलाई जोडेर तिहार भन्दामात्र पूर्ण अर्थ लाग्ने दाबी पनि गरेका छन् । तर, हाम्रो सामाजिक चलनमा दीप भनेको दीयो हो । लक्ष्मीपूजाको दिनमात्र होइन, यसपर्वभरि नै हामीले प्रशस्तै मात्रामा दीयो बालेका हुन्छौं ।

वास्तवमा हाम्रो तिहारको पर्वमा गरिने कर्महरुको चलनबारे व्याख्या गर्दा हामी प्रकृतिपूजक हौं भन्ने बुझिन्छ । हाम्रा पुर्खाहरुको चेतना विकास सँगै सबैभन्दा पहिलो निकटता प्रकृतिसित भएको हो । त्यही भएर उनीहरुले सबैभन्दा पहिले धर्ती वा पृथ्वी, त्यसपछि नदी, कुवा, पहाड, आकाश-बादलको समेत पूजा गर्नथालेका हुन् । अझपछि विस्तारै पशु-पंक्षीको उपयोगिता मानिसको चेतनामा घुसेको हुनुपर्छ । पूजा गर्नु भनेको दुइवटा अवधारणाबाट विकसित चेतना हो, एउटा उपयोगिताको आशा र अर्कोचाहिं भय । मान्छेले डरको कारण विषालु सर्पलाई पनि नाग भनेर पुज्नथाल्यो । हिंस्रक बाघलाई पनि देवीको वहान भनेर आस्थाको दृष्टिले हेर्नथाल्यो । यसरी चेतना विकासकै क्रममा मानिसहरु घुमन्ते जीवनबाट घर बनाई बस्नथाले यता समाज निर्माण र सभ्यताको आग्रह गर्दै कागलाई प्रतिभावान गुरुका रूपमा मानेको हुनुपर्छ । काग कहिल्यै झूटो बोल्दैन, आडम्बर राख्तैन । सधैं ‘म काग हुँ’ भन्नलाई ‘काग’ ‘काग’ गरी कराउँछ । काग एक्लै पनि बस्तैन । समूहमा बस्छ । केही खाने कुरा भेट्यो भने ऊ एक्लै खाँदैन । सबै कागहरुलाई बोलाउँछ । खाने सिलसिलामै कागले पर्यावरण रक्षाको काम पनि गर्छ । सामाजिक जीवनको शुरुवातमा कागले मानिसलाई सामूहिकताको ज्ञान र महत्व सिकाएको थियो । त्यसर्थमा अनेक उपमा जोड्दै कागलाई पूज्ने चलन बसेको हुनुपर्छ ।

यसरी नै कुकुरले सुँघेर गरेको अनुसन्धान र आविष्कारबाट मान्छे प्रभावित बनेको बुझिन्छ । कुकुर निष्ठाको प्रतीक पनि हो । प्राचीनकालमा मानिसहरु झुण्ड झुण्डमा बसेकाले एक झुण्डले अर्कोलाई शत्रु ठान्नु स्वाभाविक थियो । युद्धहरु भइरहन्थे । ती मानिसले आफू समूहमा सुरक्षित बाँच्नका लागि गरेको अभ्यास सँगसँगै कुकुरको क्षमताबाट सिको गरेर शत्रुको गोहो पत्ता लगाउनेदेखि शुरु भएको आज माटोमुनिको धातुसमेत पत्ता लगाउने भएको छ । महाभारत र केही पुराणहरुमा सशरीर स्वर्ग जान हिँडेका युधिष्ठिरका साथमा एउटा कुकुरलाई देखाइएको छ । वास्तवमा कुकुरको निष्ठा र अन्वेषण क्षमतालाई पूजन गरिएको हो । आज पनि कुकुर पुजिएको छ । तर, पुजेको एक घण्टा पनि बित्न नपाउँदै त्यही कुकुरको खुट्टा भाँचिदिने मान्छेहरु हामीसँगै छन् । वर्षैभरि कुकुरलाई गाली गर्ने र रिस उठेको वा मन नपरेको मान्छेलाई ‘कुकुर’ भनेर सत्तोसराप गर्नेहरु हामीसँगै छन् ।

अब गाईको कुरा गरौं । लक्ष्मीपूजन र गाई तिहारका मुख्य अंग हुन् । यहाँ लक्ष्मी शब्दबारे चर्चा केन्द्रित गरौं । लक्ष्मी भनेकी धनकी देवी अथवा धन हो । तर गाईलाई लक्ष्मीमात्र नभनेर माता पनि भनिएको छ । अतः माता कसरी धनको रूपमा परिभाषित भइन् ? प्रश्न उठ्न सक्छ !

लक्ष्मी शब्द ‘लक्ष्य’ शब्दबाट विस्तारित हुँदै बनेको मानिन्छ ! लक्ष्य भन्नाले अभिलाषा राख्नु, बुझ्नु, जान्नु, उद्देश्य हासिल गर्नु, गन्तव्यमा पुग्नु आदि अर्थ पनि लाग्छ । अतः मानिसलाई गर्भमा बोकेर, जन्माएर, हुर्काएर एउटा सबल र कुशल व्यक्ति बनाउने, जान्ने-बुझ्ने अर्थात गन्तव्यमा पुऱ्याउने संसारमा एउटामात्र व्यक्ति छ त्यो हो आमा अथवा माता !

आमाको जीवनको सम्पूर्ण लक्ष्य नै आफ्ना सन्ततीलाई जीवनको निश्चित गन्तव्यमा पुऱ्याउने अभिलाषामा केन्द्रित रहनुले पनि आमालाई त्यो लक्ष्य र लक्ष्मी शब्दबाट परिभाषित गरिएको हो । अहिलेको भ्रष्ट बुझाइमा लक्ष्मीलाई धन वा सम्पत्तिमात्र ठान्ने हो भने त गाईलाई माता मान्नु र मातालाई लक्ष्मी मान्नु दुवै अलग अन्तरविरोधी विचार हुनेछन् । किनभने व्यापारको लेनदेन गर्ने चलतापूर्जा सम्पत्तिको रूपमा मात्र लक्ष्मीलाई लिने गरिएको छ यतिबेला !

यो कसरी भयो भने ढुंगाका भाला र त्रिशूल बोकी शिकार खेलेर मासुले पालिने मान्छेहरु कृषियुगमा पशुपालन गरेर बस्नथाल्यो । दूध, दहि, घिउ, उत्पादन गर्ने र अन्य ठाँउका मान्छेसँग तिनै सामान साटेर खानथाल्यो । वस्तु विनिमयको युग शुरु भएपछि खाद्य वस्तु र अन्य साधनलाई सम्पत्ती मान्न थालियो । त्यसैबेला गाईंलाई पुज्न थालियो । पछि मुद्राको अविष्कार भएपछि गाई पनि बेचबिखन हुनथाल्यो । भविष्यका लागि सञ्चय गर्ने दृष्टिमा वस्तुभन्दा पनि मान्छेले मुद्रालाई सहज ठान्यो र गाई बेचेर मुद्रा साँच्न थाल्यो । त्यसैले उनीहरुले गाईलाई लक्ष्मीको रुपमा पूज्दै, पुजिएकी मातालाई मुद्रासँग सट्टाफेर गर्दै मुद्राको पूजन पनि त्यसैबेलादेखि शुरु गरियो ।

गाईलाई कसरी लक्ष्मी भनियो त ? थप अर्को जिज्ञासा हुनसक्छ ।

धेरैवटा हिन्दू शास्त्रहरुले लेखेका छन्, “गावो विश्वस्य मातर:।” अर्थात् गाई विश्वकै आमा हुन् । महाभारतमा उल्लेख छ, “मातरः सर्वभूतानां गावः सर्वसुख:” (महा.अनु.६९.७) अर्थात्, “गाईलाई सबै प्राणीहरुकी आमा मानिन्छ, गाईले सबैलाई सुख दिन्छ ।” यसरी विभिन्न अर्थ र व्याख्यासहित गाईको संख्या धेरै बनाएर आफू धनी हुने लक्ष्य प्राचीनकालमै विकास भएको थियो । अतः धनलाई लक्ष्मीको देनका रूपमा व्याख्या गरिएका कारण गाईलाई नै पछि गएर धन मान्न थालिएको हो ।

सोझो अर्थमा गाई धन हो र धन एउटी लक्ष्मी ! तर, लक्ष्मी भन्नेबित्तिकै पैसा वा सम्पत्तिमात्र बुझ्ने चलन बढेपछि त्यो अपभ्रंश भइदियो । त्यसैले यहाँनेर मातालाई लक्ष्मी किन ठानियो भन्ने प्रश्नको समाधान भएजस्तो नलाग्न सक्छ । गाईलाई माता मान्नुको मूल तात्पर्य औषधिजन्य दूधको उपभोग हो भने धन वा लक्ष्मी मान्नुको तात्पर्य चाहिं त्यसका अन्य उपयोगिता हुन् । जस्तै मलखाद, पर्यावरण रक्षा, सामाजिक वैभवमा सहायक आदि ।

शास्त्रीय मान्यता अनुसार लक्ष्मी जम्मा आठ छन् – धन लक्ष्मी, ध्यान लक्ष्मी, गज लक्ष्मी, सन्तान लक्ष्मी, धीर-वीर लक्ष्मी, जय-विजय लक्ष्मी, विद्या लक्ष्मी, ऐश्वर्य लक्ष्मी । यीमध्ये गाईलाई मुख्यतः धनलक्ष्मी मानिएको हो ।

शास्त्रहरुले जे जे भने पनि सामान्य मानव चेतनाले केलाउँदैमा बुझ्न सकिने कुरा हो, सभ्यता कृषि युगमा पुऱ्याउनमा गाई मान्छेको लागि सहयोगी बन्यो । मान्छेलाई सभ्य हुने लक्ष्यमा पुऱ्याउने लक्ष्मी नै गाई थिए । प्राचीनकालमा भूमि र प्राकृतिक सम्पदाले सबै देशहरु सम्पन्न भए पनि धातु र नयाँ नयाँ खनिजहरुको खोजी गर्ने साधनहरु थिएनन् । त्यस्ता अनुसन्धान र खोजप्रतिको चेतना पनि जागिसकेको थिएन ।

त्यसर्थ मानिससित गाईमात्र थियो जसलाई धन मानिन्थ्यो । महाभारतका पात्रहरुले गाई चोराचोर गरेका कथा हामीले सुनेका छौं । ऋग्वेदमा पनि गाई चोर्ने सन्दर्भमा इन्द्रलाई पुकार गरिएका श्लोकहरु छन् । त्यतिमात्र हैन, हाम्रै बेलासम्म जसको ठूलो गोठ छ उही गाउँको धनी मानिस भएको स्वाङ् रचिने कुरामा हामी स्वयं जानकार छौं ! हो यही चेतनाको प्रतिनिधित्व गर्दै प्राचीन ग्रन्थहरुमा नायकलाई धेरै गाईका धनी देखाइन्थ्यो । भागवत्-ले श्रीकृष्णलाई धनी देखाउन गोविन्द वा गोपाल भन्यो । गाईका चार पाउ वा लक्ष्मीका चार हातलाई धर्म, अर्थ, काम र मोक्ष-चार पुरुषार्थ मानियो । दूध, तर् , घिउ, गोबर र गौँतलाई पवित्र पञ्चामृत (पञ्चगव्य) मानियो । लक्ष्मीलाई पवित्रताको प्रतीक मानियो । लक्ष्मीको वाहन लाटकोसेरोले राति पनि आँखा देख्छ – ‘या निशा सर्वभूतानां तस्यां जागर्ति संयमी’ अर्थात् सबै सुतेका बेला ऊ जाग्रत हुन्छ भनियो ।

यद्यपि लक्ष्मीको चर्चा सन्दर्भ यतिमै टुंगिदैन । बल र वैभव तथा पानी र वर्षाको प्रतीक हात्तीसित पनि लक्ष्मीलाई देखाइन्छ । सुनको बुट्टा कुँदिएको लक्ष्मीलाई पहिऱ्याइएको रातो लुगा सौन्दर्य र सम्पन्नताको प्रतीक मानिएको छ । कुरो जति तन्काए पनि तन्किरहन्छ । निष्कर्षमा के भन्न सकिन्छ भने लक्ष्मीको आदर्श बोक्नेहरुले रुपियाँ-पैसा, जमीन, घर, सवारी-साधन आदि आदि जस्ता धनले मात्र होइन; मन, विचार, सत्कार्य, सद्भाव र सदाचारले पनि सम्पन्न हुन सक्नुपर्दछ । सम्पूर्ण मानवकल्याणका लागि लक्षित उद्देश्यहरुमा संलग्न हुने तत्परता हुनुपर्छ; तिहारको झिलिमिलि जस्तै हृदयमा सधैं उज्यालो प्रकाश हुनुपर्छ ।

जब, मान्छेले घुमन्ते कबिलायी शैलीबाट फेरिएर सामाजिक जीवन शुरु गऱ्यो, त्यसपछि कृषि युग पनि शुरु भएको हो । त्यसबेला अहिलेजस्तो आधुनिक हतियारहरु उपलब्ध थिएनन् भन्ने कुरा यहाँ व्याख्या जरुरी नै छैन । कृषिका लागि गोरु नै सर्वोत्तम उपयोगी भयो । गोरुको प्रयोग गरेर कृषि उद्योग सम्पन्न गऱ्यो मानिसले । त्यसपछि गोरु पनि पूजाको हकदार बन्यो ।

त्यसपछि आयो भाइटीका । भाइटीका भनेको चाहिँ समाज निर्माणको शुरुवातकालमा सभ्य, सु-संस्कृत मानव जीवनको द्योतक हो । प्राचीनकालमा आफ्नै परिवारका सदस्यबीच यौन सम्बन्धको चलन थियो । त्यस्तो चलन रोक्दै दाजुभाई र दिदीबहिनीबीच यौन सम्बन्ध हुनु हुँदैन भन्ने चलन आयो । एकले अर्कोलाई पूजा गर्ने सम्बन्धको रुपमा या भनौं सुसंस्कृत र सभ्य समाज निर्माण गर्न यसको विकास भएको देखिन्छ । मनुस्मृतिलगायतका धेरै प्राचीन पुस्तकहरुले कसले कसरी, कसकी छोरी विवाह गर्नुपर्ने भनेर तोक लगाएका कुरा हेर्दा यौनसम्बन्धको नियन्त्रणमा प्राचीन समाजले धेरै परिश्रम गर्नुपरेको झलक आउँछ ।

“शूद्रैव भार्या शूद्रस्य सा च स्वा च विश: स्मृते ।

ते च स्वा चैव राजश्च ताश्च स्वा चाग्रजन्मन : ।। मनुः अध्याय ३ श्लोक १३

(शूद्रले शूद्र कन्यासँगै बिहे गर्नुपर्छ, वैश्यले वैश्य र शूद्रका कन्यासँग, क्षत्रीयले क्षत्रीय, वैश्य र शूद्र कन्यासँग र ब्राह्मणले चारै वर्णका कन्यासँग विवाह गरे हुन्छ ।)

महाभारतकाल आइपुग्दासम्म समाजले साइनो, सम्बन्धका कुरामा धेरै सरोकार राखेको थिएन भन्ने देखिन्छ । जहाँ गन्धर्वयुद्धमा चित्रांगदको मृत्युवरणपछि विचित्रवीर्य मात्र कुरुवंशका एकल स्रोत रहेका थिए । उनको पनि सन्तान उत्पादन अघि नै अकाल मृत्यु भयो । वडामहारानी सत्यवती (मत्स्यगन्धा) ले आफ्ना पूर्वपति पराशरतर्फको पुत्र व्यासलाई बोलाएर विचित्रवीर्यका अर्धांगिणीहरु अम्बिका र अम्बालिकासित सहवास गराइन् । उनीहरुबाट धृतराष्ट्र र पाण्डु जन्मिए । पछि फेरि पाँचभाइ पाण्डवका लागि एक द्रौपदीले सहवास गरिन् । अहिले पनि भारत र नेपालका केही ठाउँहरुमा एक पत्नी-बहुपति प्रथा लागू छ ।

पुराणहरुले दर्शाएको एउटा अर्को कथा यस्तो छ । कार्तिक शुक्ल द्वितीयाको दिन यमराज आफ्नी बहिनी यमुनाको घरमा गएर टीका लगाए । तर, यसको वैदिक कथा अर्कै छ । ऋग्वेदको ‘यमयमी शुद्ध’ भन्ने कथा पढेमा सबैलाई थाहा भइहाल्छ । पुरानो कथा अनुसार, यम र यमी भन्ने जुम्ल्याहा दाजु-बहिनी थिए । एक दिन बहिनी यमीले दाजु यमसँग यौनक्रीडाको याचना गर्छिन् । आफ्नै दुहिताबाट यौनसम्बन्धमा जाने प्रस्तावबाट यम विचलित हुन्छ । यमले बहिनीलाई हामीबीच त्यस्तो सम्बन्ध हुँदैन भनेर सम्झाउँछ । मान्छेको धर्म भनेकै नैतिकतामा छ । पछि यहि कुरा ऋग्वेदले यमुना र यमराजको कथा बनाएर संशोधन गऱ्यो । वेद भनेका पनि तत्कालीन समाजका चाल-चलनलाई लिपिवद्ध गरेका कुरा हुन् । त्यसबेला समाजमा हुने यौन जीवनलाई एउटा अभियानकै रूपमा बढाएर सु-व्यवस्थित गर्दै आजको यो सभ्य समाज निर्माण भएको हो ।

दाजु-भाइ, दिदी-बहिनीबाचमा स्नेही भावतरंग गराउने तिहारजस्तो पर्व विश्वमा अन्त कतै भएजस्तो लाग्दैन । माथि उल्लेख गरिएको यम र यमीको कथाबाट पनि आर्यहरुले परिष्कृत हुँदै भाइतिहारका रुपमा सभ्य संस्कृतिको प्रादुर्भाव गराएका हुन् भन्ने देखाउँछ । त्यसैले तिहार उत्सव, पर्व हुनाका साथै नैतिकताको धरोहर पनि हो । यसले व्यभिचारी समाजलाई सभ्य र सु-संस्कृत बनाएको छ । त्यसैले सभ्य जीवन, सुसंस्कृत र आर्दश जीवन जीउने शन्देश यस पर्वले दिएको मान्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *