दि रेन इन चाँदनी स्काइ पढ्दा

जे एन दाहाल
अमेरिका

दि रेन इन चाँदनी स्काइ सुमित्रा पोख्रेलद्वारा अङ्ग्रेजी भाषामा लिखित उपन्यास हो । उपन्यास चाँदनी नामकी मूल पात्रको बाल्यकाल शरणार्थी शिविर देखि सुरु हुन्छ । गौरीबाट जन्मिएका चार सन्तान मध्ये  दोस्रो हुन् चाँदनी ।उनकी दिदी,भाइ र बहिनी छन्।चाँदनीको बुवा जर्ज सुरुवातको प्रसङ्गमा आइजाइ गर्छ । ऊ कहिलेकाहीँ गौरीसँग रात बिताउन आउँछ भन्ने देखाइएको छ । तर उसमा परिवार प्रति दायित्वबोध देखिएको छैन । ऊ बिनै गौरीको परिवार शरणार्थी शिविर देखि वासिङ्टन स्याटल पुर्नवास हुन आइ पुग्छन्। जहाँ उनका आफन्त र छिमेकी पनि छन् । तर सात वटा शरणार्थी शिविर मध्ये कुनबाट अमेरिका आइ पुगेका  हुन् त्यो खुलाइएको छैन।

लेखक पोख्रेलले अमेरिकामा आएका सुरुवाती दिनहरू जहाँ आमा गौरीले काम गर्दिन थिइन। एकल आमाले चार सन्तानलाई स्कुल पढाउन र घर खर्च टार्न गाह्रो परेको आर्थिक अवस्थाको चित्रण सुन्दर ढङ्गले प्रस्तुत गरेकी छन् । पुस्तकमा ती अमेरिका आएका सुरुवाती दिनमा गर्नु परेका सङ्घर्षका कथा हुन्।

चाँदनीलाई उनको स्कुलमा ज्याकोब नाम गरेको अमेरिकी साथीले मन पराउन थाल्छ । तर उनी त्यसलाई पन्छाउन सफल छे। लगत्तै लकिम नाम गरेको अफ्रिकन अमेरिकन केटाले  चाँदनीलाई मन पराउँछ। तर ऊ त्यसलाई पनि साथीको रूपमा मात्र लिन्छे । लेख सुमित्राले किशोर अवस्था- पढ्ने समयमा युवा युवतीबिच हुने  आकर्षण, प्रेम प्रस्ताव र क्षणिक रमाइलोको कल्पना गर्दै  गर्ल फ्रेण्ड बनाउने गलत नियतले युवाहरू पछि लाग्छन् भन्ने कुरा हाइ स्कुलको घटना मार्फत केलाएकी छन् । यस्ता विभिन्न कुरा देखाउँदै उपन्यास अघि बढ्छ। बिका चाँदनीकी दिदी अमेरिका आएको केही महिना भित्रै बिहे गर्न चाहन्छे । तर घरमा कमाउने ऊ मात्र छ। बिस वर्षीय बिकाको कुरा सुनेर गौरी र उनका छोराछोरीहरू आश्चर्यचकित हुन्छन्। चाँदनीकी दिदी बिहे भएर जान्छे । आमा गौरीले कुनै काम नपाएको र परिवारको कमाउने एक्लो सदस्य नै नभएपछि  घरको आर्थिक अवस्था बिग्रन्छ। बिका सँगै अपार्टमेन्ट सराई पनि हुन्छ ।

पृष्ठ ३१ मा उल्लेख गरिए अनुसार चाँदनीलाई सुरुवातमा मोडल या नायिका बन्ने रहर हुन्छ । ऊ अभिनय सिक्न महिनाको शुल्क खर्चालु भएका कारण तिन महिना पछि छाडी दिन्छे । ऊ यस्तो अनुभूत गर्छे, क्यामरा होइन जीवनमा अभिनय गर्न चाहन्छु ।

चाँदनीलाई नर्स एड र सी पी ए कोर्स गर्न टेक्निकल कलेजले अवसर दिन्छ। ऊ स्कुलपछिको समय त्यही कोर्स गर्न लागि पर्छे। त्यो समय उसलाई मानव जीवन सहज छैन यदि कोही निश्चल, इमानदार र शुद्ध मनले सोच्छ भन्ने पनि लाग्छ ।अकासमत उसलाई त्यस मालामा चमत्कार छ झैँ लाग्छ। चाँदनी कलेज बसमा कसैले बोलेको सुन्छे। ऊ त्यसलाई जवाफ फर्काउँछे । तर ऊ जोसँग कुरा गरी रहेकी थिई त्यो निर्जीव थियो, चाँदनी आश्चर्यमा पर्छे – सम्झन्छे त्यो कसरी सार्थक भयो ? उसलाई एकाएक यस्तो लाग्न थाल्छ, म मान्छेको मस्तिष्क पढ्न र जनावरसँग कुरा गर्न पनि सक्छु । चाँदनीमा देखिएको यो दैविक शक्ति हो ।

पृष्ठ ४३ हाइ स्कुल ग्र्याजुएट चाँदनीका लागी आमा गौरीले गाडी किन्दिएको प्रसङ्ग आउँछ ।तर त्यो समय गौरी बेरोजगार थिइन, यहाँ लेखकले उपन्यासको प्लटका क्रममा चुकेको भन्न सकिन्छ।एक दिन चाँदनी आफ्नी बहिनी चेत्नाले दिएको माला लगाएर घरबाट निस्कन्छे। यो त्यही माला हो जुन चेत्नाले नजिकैको स्ट्रिटमा भेटेकीथिइ।

उपन्यास विकास हुँदै जाँदा चाँदनीलाई रातमा सुताउन कोही आउँछ। उसको निधार छाम्छ । सपनामा ऊ कहिले पाथीभरा माँ देख्छे ।कहिले शिवजीको मूर्ति देख्छे । यसरी उसलाई दैविक शक्ति मिले जस्तो अनुभूत गर्न लाग्छे । बाल्यकालमा अमेरिका प्रवेश गरेकी चाँदनी स्कुल सकेर कलेज धाउँछे । त्यो समय उसको सोसल मिडियामा ओरिगन स्टेट बस्ने कबिरसँग सम्पर्क हुन्छ। तर ऊसँग पनि प्रेम सम्बन्ध लामो जाँदैन ।

चाँदनीको गुज्राँती केटो गोपालसँग प्रेम हुन्छ। दुवैसँगै घुम्ने, खाने डुल्ने गर्छन् । तर उसमा पनि यौन आशक्ति देख्छे । उसको नियत ठिक नलागेकै कारण छुटिन पुग्छे । गोपालसँग आफू एक्लै विचार, अठोट र निर्णय लिई छुटिँदा ऊ धेरै रुन्छे । त्यो समय उसको आफ्नै आँसुसँग संवाद हुन्छ जुन पाठकलाई कलात्मक लाग्छ । यसरी चाँदनीको अध्ययन एकतिर छ अर्कातिर ऊ रुद्राक्षको माला लगाएर हिँड्छे । कति दैविक शक्तिले देखाएको इसारा, उसको सपनामा देखिएका कुरा यथार्थमा पनि प्रकट हुन्छन् ।

पछि ऊ नेपाल घुम्न जान्छे । शरणार्थी शिविर र पाथीभरा मन्दिरको पनि दर्शन गर्छे । अमेरिका फर्कन्छे । बहिनी चेतना बिरामी पर्दा ऊ दैविक शक्तिले उसको शरीरमा पसेको राक्षस हटाउन सफल बन्छे  । लन्डनको यात्रामा निस्किएकी चाँदनीको फ्रेन्च युवकसँग भेट हुन्छ। ऊ विभिन्न अपेक्षाले साथी बनाउन नजिक पर्छ । चाँदनी पढ्नमा तेज, चलाख, र साहसी युवती भएकाले ऊ एलेक्सको एक रातसँगै बिताऊँ भन्ने नियत बुझ्छे ।छुट्टिने बेला उसले दिएको साथ सम्झिएर गालामा चुम्बन गर्छे र हात हल्लाउँदै अमेरिका फर्कन्छे।

 चाँदनी बेजिनिस एनालिस्टको काम नेभेडा स्टेटमा बसेर गर्छे । त्यसपछि बिहे गर्नका लागी च्याट मार्फत मानक नयाँ युवकसँग खोजी गर्छे ।उसको मानकसँग सम्पर्क हुन्छ। ऊ क्यालिफोर्निया बसेर व्यवसाय गर्छ । पृष्ट १५५ पहिलो अनुच्छेदमा, चाँदनी डेटिङ एपमा पहिलो पल्ट आफ्नो लागी केटा खोज्दै छे भनिएको छ । तर उसको यस अघि पनि दिल-मिल भन्ने इन्डियन साइटमा प्रयाससँग च्याट गरी सेकेको देखाइएको छ। त्यसैले यसलाई एक प्राविधिक त्रुटि मान्न सकिन्छ।

मिड फिक्सन भनिएको यस उपन्यासमा केही कल्पना र केही स्वैरकल्पना देख्न पाइन्छ । समग्रह उपन्यास आजका आजको युवा पिँडीको कथा हो । सोसल मिडिया, अनलाइनमा भेट र प्रेम सम्बन्ध विकास हुने पछि अनलाइन मै सम्बन्ध टुक्रिने वर्तमान साइबर युगको कथा हो । चाँदनीको जीवनको उतार चढाव हेरि दि रेन इन चाँदनी स्काइ अर्थात् घाम लागेको आकाशमा पानी परि रहेछ शीर्षक साँच्चै सार्थक लाग्छ। सुमित्रा पोख्रेल स्वयमले प्रकाशन गरेको पहिलो उपन्यास, सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ। १६९ पृष्ठको पुस्तक तेह्र वटा शीर्षकमा विभाजित छ।

उसका जीवनमा मुख्यतः तिन पुरुष आउँछन् कबिर,  गोपाल र मानक । उपन्यासको अन्त्यसम्म तिनै जनासँग सम्बन्ध टुटेको छ, सम्पर्क छैन । सन् २०२० को अन्त्य देखि कोरोना भाइरस आएपछि मानक सम्पर्क विहीन बन्छ।अकासमत हराएको प्रेमीको रिसले चाँदनी उसको स्न्याप च्याट र फोन नम्बर डिलिट गर्न थाल्छे तर दिमागबाट उसलाई तत्काल हटाउन सक्दिन ।

अन्त्यमा चाँदनी आफूसँग दैविक शक्ति भए पनि घर परिवारका कुरामा समय नदिएकोमा पश्चात्ताप गर्छे । यसै सन्दर्भमा ऊ भन्छे, दैविक शक्ति भएको सुपर हिरो कस्तो हुन्छ थाहा छैन तर त्यो आफ्नै बहिनी चेतना हो। ऊ यही भाव महसुस गर्छे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *