देवकोटाको सम्झनामा (पुन:प्रकाशित)

लेखक

भक्त घिमिरे
पेन्सिल्भिनिया, अमेरिका

‘ऊ कालो बादलबाट झरेको थियो र,
सधैं ओझेलपारि-छायाँभित्र बसेको छ,
उसभित्र हामी ईश्वर देख्छौं?
कि केवल भिखारी ?’’

-लक्ष्मीप्रसाद देवकोटा *सौजन्य- स्पाइनी बाब्लर डट ओ.आर.जी.*

देवकोटाका कृतिहरूको एउटा केस्राबाट उद्धृत यो कवितांशले नै उनका सम्पूर्ण गुणहरूलाई दर्शाउँछ । उनी मानवतावादी थिए, न्यायप्रिय थिए र थिए समानताका निम्ति विद्रोही पनि ! एउटा विशेष भोजमा पहिले झुत्रे लुगा लगाएर आउँदा भित्र जान नदिने आयोजकहरूको व्यवहारप्रति खुल्ला व्यंग गर्न देवकोटाले आफूले लगाएका लुगामा त्यहाँको भोज परिकार दली खिल्ली उडाएको ऐतिहासिक प्रसंग पनि छ कतै।

सन् १९०९ को १२ नोभेम्बरका दिन काठमाडौं-डिल्ली बजारका तिलमाधव देवकोटा र उनकी दोस्री श्रीमती अमर राज्यलक्ष्मीका साइँला छोराको रूपमा जन्मेका लक्ष्मीप्रसाद देवकोटा साँच्चै लक्ष्मीका प्रसाद त बनेनन् तर सरस्वतीका प्रसाद बनेर हामी सबैका मन-मन्दिरलाई सुसज्जित बनाइदिए। नामको शब्दार्थबाटै विरोधाभास शुरु भएका देवकोटाको जीवन पनि अनेक विरोधाभासबाट गुज्रियो । उनी नेपाल सरकारका मन्त्रीसमेत बनेर पनि सधैं सधैं अभावग्रस्त जीवन भोगे र अन्त्यकाल पनि उनले अभावकै ब्यहोरे तर, उनीसित सरस्वतीको वर्दान यति बलियो रह्यो कि आफ्नो देशमात्र नभई संसारलाई ब्यूझाउने शक्ति उनमा प्रवेश गर्यो। मानव प्रियता र समानतामुखी प्रस्तुतीमार्फत उनले संसारलाई निद्राबाट उठाइदिए ।

‘कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो,
कुन सामग्री पूजा गर्ने साथ कसोरी लाने हो?
मानिसहरूको काँध चढी कुन देवपुरीमा जाने हो?
हाडहरूको सुन्दर खम्बा, मांसपिण्डका दीवार,
मस्तिष्कको सुनको छाना, इन्द्रियहरूको द्वार…
नसा-नदीका तरल तरङ्ग, मन्दिर आफू मपार!’,

यात्री कविताको यो अंश उनका यस्तै कृतिहरूको एउटा नमूना हो। आज हामी तिनै लक्ष्मीलाई सम्झँदै छौं ।
दरबार हाई स्कूलको शिक्षा सकेपछि उनले विज्ञान शिक्षामा पारंगत हुने विचार गरे। सन् १९२८ मा उनले त्रिचन्द्र क्याम्पसबाट आईएससीको परीक्षा पनि उत्तिर्ण गरे। यसपछि सन् १९२९ मा उनी कलाशिक्षाको स्नातक गर्न पटना विश्वविद्धालयतिर लागे। सन् १९३४ मा कलासाहित्यमा स्नातक गरेपछि उनी अंग्रेजी साहित्यमा स्नाकोत्तर गर्न लागिपरे। तर अनेकौं प्रयासले पनि यसमा उनी सफल हुन सकेनन्।

देवकोटाले १५ वर्षको कलिलो उमेरमै मनदेवी चालिसेसित सन् १९२४ मा विवाह गरिसकेका थिए जसबाट पाँच छोरी र चार छोरा जन्मिए। आफ्ना सन्तान र श्रीमतीलाई उनी असाध्य माया गर्थे, जसको कारण असामयिक कालले उनकी एउटी छोरी र दुईटा छोरालाई टिपेर लगिदिएपछि उनी वैराग्यमा जीवन बिताउन थाले।
सन् १९३० मा निकै प्रबुद्ध र चेतनशील व्यक्तिहरूको एउटा समूहले एउटा पुस्तकालय खोल्ने निर्णय गर्यो। यो निर्णयमा देवकोटालाई पनि सही गर्न भनियो। यही निहुँमा पछि यस समूहका केहीलाई राणाशासकहरूले देशनिकाला गरे भने देवकोटालगायत केहीलाई सय रुपयाँ जरिमाना गरी फेरि यस्तो कार्य कहिल्यै नगर्ने शर्तनामा गराइयो। राणाहरूको यस कदमले देवकोटालाई पनि दीर्घकालीन रूपमा राजनीतिमा धकेलिदियो।

सन् १९४८ मा नेपाली साहित्य परिषद्ले आयोजना गरेको प्रथम राष्ट्रिय कविता महोत्सवमा अध्यक्षता गर्दै देवकोटाले गतिलो वक्तव्य दिएर राणाहरूलाई झापट हाने। यस महोत्सवको लगत्तै उनी वनारसबाट प्रकाशित नेपाली कंग्रेसको मुखपत्र युगवाणीको सम्पादनका निम्ति त्यतारित लागे। राणाहरूले देवकोटाको यस कदमलाई देशविरोधी कृयाकलाप सञ्चालन गर्न नेपाल बाहिर गएको अभियोग लगाइदियो। उनको घर र सम्पत्ति राणा सरकारले जफत गर्यो। उनले घर छोडेको तीन महिना पनि नबिती उनको दोस्रो पुत्र कृष्णप्रसादको मृत्यु भयो। त्यसपछि लगत्तै उनका जेठा छोरा प्रकाश उनीसँगै वनारस पुगे।

सन् १९५१ मा प्रजातन्त्र पुनर्स्थापना हुनुभन्दा केही अघिमात्र देवकोटा नेपाल फिरे। यसपछि कविक्ञ्जमा केही विद्धार्थीलाई ट्यूशन पढाएर उनले परिवारको भरनपोषण धान्न थाले। यद्धपि वनारसबाट पस्कने गरेका लिखित साहित्य प्रकाशन र समानताको उनको लडाइँलाई उनले कहिल्यै रोकेनन्। यसैबीच सन् १९५५ मा एकजना पूर्णबहादुर नाम गरेका व्यक्तिको नेतृत्वमा कवि देवकोटा, बालकृष्ण सम र सिद्धिचरण श्रेष्ठको प्रतिनिधि मण्डलले दिल्लीमा आयोजित जनसम्मेलनमा भाग लियो।

यसरी नै सन् १९५६ को अप्रिल महिनामा कावा प्रतिष्ठानद्वारा मासिक साहित्यिक पत्रिका ‘इन्द्रेणी’-को प्रकाशन शुरु भयो जसको प्रकाशन समितिमा कवि देवकोटाले अध्यक्षता गरेका थिए। सन् १९५६ मै दिल्लीमा २३ देखि २९ दिसम्बरसम्म एशियाका लेखक-कविहरूको सातदिने सम्मेलन भयो जसमा देवकोटाले नेपाली टोलीको नेतृत्व गरे। यसरी काम गर्ने क्रममा देवकोटाले आफ्नै अनेकन कृति र आफ्ना समकक्षीका कृतिहरू अंग्रेजीमा अनुवाद गरेर इन्द्रेणीका दोस्रोदेखि सातौं अंकसम्म लगातार प्रकाशित गराए। त्यसबेला उनले अनुवाद गरेका कविताहरू नै युगसम्मत र कालजयी बनेर अहिलेसम्म रहेका छन्।

यही अन्तरालमा सन् १९५८ अक्टोबर ७ देखि १३ सम्म सञ्चालित अफ्रिकी-एशियाली लेखक-कविहरूको सम्मेलनमा पनि देवकोटाले नेपाली प्रतिनिधि टोलीको नेतृत्व गरे। यस्ता सम्मेलनलबाट आएका शान्ति र न्यायमुखी निष्कर्षहरूको कार्यान्वयनपक्षमा जोड दिएर देवकोटाले नेपाली साहित्यको परिचायक टिप्पणी गर्दै संसारका अनेकन साहित्यिक हस्तीहरूको मन खिचेर धेरै मित्रहरू बनाए।

यही क्रममा उनी रशियामा छँदा र नेपाल फिर्तीको लगत्तै देवकोटाले अंग्रेजीमा धेरै निवन्धहरू लेखे जसमा नेपालका अनेकन राष्ट्रिय तथा साहित्यिक सवालहरू उनले उठाएर यिनलाई विश्व परिवेशसापेक्ष र तुलनात्मक बनाउनमा बल दिए।

सन् १९५७ को जुलाई २२, शुक्रबारका दिन स्थापित नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका संस्थापक सदस्य देवकोटा त्यसको अर्को साता शुक्रबारदेखि सोही वर्ष नोभेम्बर १४ सम्म डाक्टर के आई सिंह नेतृत्वको अल्पकालीन सरकारमा शिक्षामन्त्री पनि बने। उनको मन्त्रित्वकालमा उनले नेपाली भाषालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको बनाउनमा गतिलो भूमिका खेले। देशभरि विद्धालयहरू खोलेर तत्कालीन शैक्षिकस्तरमा उनले नयाँ आयाम सृजना गरे त्रिभूवन विश्वविद्धालयको स्थापना पनि उनकै कार्यकालमा भयो।

यसरी हाम्रो साहित्यिक श्रीवृद्धिका मूल आधार, मानवता र समानताका लागि साहित्यिक नमूना प्रस्तुत गर्ने नेपाली साहित्यका मूल अभिभावक, क्यानसर रोगबाट पीडित देवकोटाले सन् १९५९ को १४ सेप्टेम्बरका दिन सारा साहित्यिक फाँटलाई टुहूरो बनाएर आर्यघाटमा जीवन बिसाए। उनको बचाउका लागि त्यसबेला कोही खडा भएऩ, नेपालीहरूको औसत आयु नपुगी नै उनी बिते। जीवनको शैसवकालदेखि नै देवकोटा लेखनमा सक्रिय बनेका थिए। दश वर्षकै उमेरमा उनले एउटा कलात्मक विचार प्रस्तुत गरेका थिए, जसमा संसारलाई पीडा-दर्दको पोखरीको रूपमा दर्शाइएको छ।

‘‘भाइ,
यो संसार पीडाहरूको सागर हो,
स्वार्थी नबन।
हामी सबै एकदिन मर्नु पर्नेछ…’’,

यिनै वाक्यांश हुन् देवकोटाले त्यसबेला लेखेका कवितांशका हरफहरू। प्रार्म्भिककालीन उनको साहित्य अलिकति अंग्रेजी साहित्यका रोमाण्टिक हस्तीहरूबाट प्रभावित थियो। ह्विलियम वर्ड्सवर्थ, किट्स, शेली, चार्ल्स, हाज्लित र सर वाल्टर स्कोटहरू उनका साहित्यिक आदर्श थिए। यद्धपि, देवकोटालाई लर्ड टेनिशनको मुलायम शैलीले पनि प्रभाव नपारेको भने होइन। तर, देवकोटालाई प्रभाव पार्ने अंग्रेजी साहित्यकर्मीहरूको यही सूची पर्याप्त पनि होइन। सन् १९२७ मा उनले लेखेको गीति-नाटक ‘सावित्री-सत्यवान’ संस्कृतको मूलस्रोत शास्त्रीय कथाबाट प्रभावित मानिन्छ। संस्कृत साहित्यको प्रशंसा गर्दै उनले कवि कालिदास र अरूहरूप्रति कृतज्ञता दर्शाएका छन्। यसरी नै कवि रविन्द्रनाथलगायतका भारतीय समकक्षी साहित्यकारहरूको पनि उनले प्रशंसा गरेका छन्।

विभिन्न परिकार तथा शैली-शिल्पका कारण उनका कृतिहरूले ‘कालजयी’ विशेषण पाए। अनेकौं कवितासँगै उनले खण्डकाव्यहरूको नदी नै बर्षाएका छन् नेपाली साहित्यको खेतीमा। नाटिका, एकांकी, निवन्ध, लघुकथा र उपन्यास समेत उनको साहित्यिक अभ्यासमा समेटिएका छन्। बालसाहित्यमा पनि उनको योगदान कम छैन। यसका साथै अनुवाद साहित्यमा उनको योगदानलाई उछिन्ने अहिलेसम्म कोही देखापरेको छैन। उनीद्वारा नेपालीबाट अंग्रेजीकृत र अंग्रेजीबाट नेपालीकृत साहित्यले उनलाई प्रथम अनुवादकको उपाधि पनि दिलाएका छन्। संस्कृत साहित्यबाट प्रभावित भएर उनले लेखेको कृतिका रूपमा साकुन्तल महाकाव्यलाई लिइएको छ जसमा महाभारत र पद्म पुराणका पात्रहरू समावेश छन्। शैली-शिल्प, कल्पनाशक्ति, मानवता र समानताको दृष्टिले उनका समकक्षी बालकृष्ण समलगायतकाहरूको तुलनामा देवकोटा तीन कदमअघि मानिएका छन्। यद्धपि कुरा साहित्यको जति गरे पनि नेपाली झ्याउरे लयमा सुगठित उनको मुनामदन खण्डकाव्यको तुलनामा कुनै साहित्यिक कृति देखा परेको छैन।

लेखनकार्यमा उनको तिब्रता यति द्रूत गतिमा बग्थ्यो कि साकुन्तल महाकाव्य तीन महिनामा लेखी सिध्याएकोमा पुष्कर शमशेर जबराले उनलाई ३० दिनको म्याद दिएर अर्को महाकाव्य लेखेर बुझाउने चुनौती दिएका थिए-देवकोटाले १० दिनमै सुलोचना महाकाव्य लेखेर जबराको चुनौतीलाई जवाफ दिए । कुञ्जिनी खण्डकाव्य त झन् उनले एकदिनमै सिध्याएर लेखकीय रफ्तार स्तम्भ खडा गरिदिएका थिए। आफ्नो जीवनको अन्त्यकाल तिर मृत्युले घेरिरहेको थाहा पाएझैं गरी उनले सन्तभवन अस्पतालबाट आफ्ना मित्रलाई सम्बोधन गर्दै लेखेका छन् –

‘‘मृत्यु मेरैअघि उभिएको छ,
म आकाशमा समूह-
गणहरूको खोजी गर्दैछु तर,
एउटै देख्न सकिऩँ, म स्वयंलाई
शान्ति दिन सकिरहेको छैन।
यदि उठ्नसक्ने भए,
म आफूसँगै मेरी प्रियसी र
बबुराहरूलाई पनि मार्नेथिएँ।’’

आफ्ना सन्तान र श्रीमतीलाई धर्तीमा अनाथ छोडेर जान उनलाई कति कठिन भयो, उनी कति भक्कानिएका थिए भन्ने उनको यस अभिव्यक्तिले प्रष्ट पार्नसक्छ।
जीवनको अन्त्यकालमा तिक्तता महसुस गर्दै उनले आफैंलाई एउटा भिखारीको रूपमा पनि तुलना गरेका छन्। उनको भिखारी कविताको नमूना पात्रस्वरूप उनले आफैंलाई तुलना गर्नु नेपाली राष्ट्रियताको लागि लज्जाबोधको कुरा थियो । तथापि तत्कालीन शासकहरू राष्ट्रियता, जातीयप्रेम, न्याय, समानता र मानवताप्रति प्रेमको सट्टा घृणा गर्दथे, त्यसर्थ उनीजस्ता साहित्यकारको संरक्षणमा कोही पनि लागेन जसको परिणाम उनले जीवनलाई बिसाउनु नै पर्यो सन् १९५९ मा । भनिन्छ, सबै साहित्यिक कृतिको दहन भए पनि ‘‘मुनामदनलाई चाहिं सुरक्षित राखिदिनू है’’, भन्ने उनको आग्रह थियो। उनको यही आग्रहअनुसार आज्ञापालक भएर मात्र होइन, उनीप्रति साँच्चो श्रद्धा दर्शाउन सारा नेपाली जनगणले, सारा नेपालीभाषीहरूले आजसम्म उनलाई आस्थाका मुहान सम्झिरहेका छन् । हामी पनि सोहीअनुरूप गर्दैछौं। तर तीथि-मितिको सम्झना र गणनाले मात्र केही हुँदैन है, समयमै सबैले होश राखेस् !!

सहयोग सामग्री-

-अंग्रेजीमा लेखिएका देवकोटाका जीवनीसम्बन्धी अनेकन अन्तर-सञ्जाल,
– www.literature.wnso.org
-केही नेपाली कृति तथा कृतिकारहरूको संक्षेप इतिहास
-www.spinybabbler.org

Leave a Reply

Your email address will not be published. Required fields are marked *