देशमाथि अराजक कविता
मनोज बोगटी
दार्जीलिङ्ग, भारत
फुटाइदे मिरजाफर
त्यसको अन्धो आँखा
मूर्ति त हो त्यो।
बॉंदरहरू
गान्धीजीको गाउँ खोज्दै पसेका छन्
नाथुरामको गाउँ।
रामनाथुको गाउँ
धूपको धुवॉंले निस्सासिबस्छ।
आँखा फुटेपछि सकिन्छ
मूर्तिको देख्ने नाटक।
त्यसपछि जतिनै चलोस् आतङ्कीहावा
देशनै भॉंच्चियोस् ठ्वाक्कै
त्यसलाई के।
त्यसै पनि त्यसको बाइफाले दृष्टिदोष
गर्भवती भइबस्छ।
देशभरि चलाइएको राजनैतिक बलात्कारलाई
जबसम्म पूजा गर्छ पाखण्डवादले अनि
जबसम्म त्यसको सुरक्षाको निम्ति द्रौपदीले साड़ी खोल्छ
देश भासबाट उठ्दैन।
र छुँदैन गान्धीको जनै।
देश र वेद्को यो शीतयुद्धलाई
बॉंदरहरूले घॉंटी निमोठ्न सक्तैन।
फुटाइदे, त्यसको बहिरो कान
माटो त हो त्यो।
गर्भनिरोधकहरूको आवाजभित्र
सधैँ हराइपठाउने वेद्को वाणी
बॉंझो बन्दै गइरहेको छ।
वेद्लाई थाहा छैन
प्यान्टीको सुर्काउनी
कुन कम्पनीको उत्पादन हो।
वेद् र ब्रह्मको कोत्रे अनुहारलाई
किन कुनै कम्पनीले फेसियलफेसिलीटी स्पोन्सर गर्दैन?
शाहजहॉंले काटेको हातले बनाउँछ
टेस्टट्यूव बेबी।
-जसले टेक्तैन लुते लठ्ठी।
बूढ़ो
लौरोले जीउ थेग्न नसक्नेगरी उभिएको छ
आफ्नै नामको बद्नाम चोकमा।
फुटाइदे त्यो चश्मा
जसमा लागेको छ बारूदको धुवॉं।
अब बिना आतङ्क बॉंच्नु छैन हामीलाई
हगी टिस्टा?
फुटाइदे त्यो माटोको आदर्श
जसले बोक्न सक्तैन माटोकै मर्यादा।
अब कस्सैलाई मर्यादित् बॉंच्ने हक छैन
अब कस्सैलाई विशिष्ट बॉंच्ने अधिकार छैन।
पत्यार लागेन?
एसएमएस माग्नुहोस् त
देशका बॉंदरहरूलाई!