देशविहीन हुनुको दुखाइ
सबैथोक छ
र म फिक्का छु
हेरिरहेछु त्यो निलो आकाश,
सम्झिरहेछु साथीहरु
बाटो-घाटो, र आफ्नो समाज
आफ्नो पनमा रमाएका ती मनहरूलाई
मलाई आजसम्म बाँच्न प्रेरित गर्ने ती क्षणहरुलाई
त्यसैले,
म चाहन्छु म पतन हुँ
तर, म चाहन्न
ती मेरा सम्झनाहरुको हत्या होस्,
म माटो सम्झँदै
बाटो काटिरहेको छु,
यसो ठेश लागे पनि हुने
‘आइय्या आमा’ भन्ने थिएँ,
कसैले मेरो भाषा नबुझे पनि
अव्यक्त मनको कुरा प्रस्फुटन हुने थियो
सायद !
जमातबीचको एक्लोपनको पनि
अन्त्य हुन्थ्यो कि !
एकैछिनको लागि भए पनि ?
म
म एक्लो छु ,
हराइरहेछु, डराई रहेछु
दुखाइरहेछु मन
देशविहीन हुनुको पीड़ा
खोजीरहेछु आफन्तहरूलाई
खोजिरहेछु आफ्नोपन
देशफिर्तीका आशाहरू
बुनिरहेछु सपनाहरू,
विस्थापित भूटानी समाजको पुनःनिर्माण !