दोधार
राकेश काफ्ले
आइओवा, अमेरिका
कला, गला अनि साहित्यको खेती मौलाउने मलको भारी बोकेर हिँड्दा-हिँड्दै झमक्कै रात पर्छ । निन्द्रादेवीले पनि यहीँ आराम गर, यात्रा अझै लामो छ भन्दै मथिङ्गलमै गाँजिन् । सिर्जनारूपी बिरुवा मौलाउने मलको भारी सिकूवामा बिसाएर दैलामा खड़ा भै नरम स्वरमा सोधेँ,”बास पाइन्छ हजुर ?”
किन नपाउनु नि बास ! साँझको पाहुना देवता सरह भन्छन्, आउनुहोस् भित्र ।
खाना मेजमानसँग खाइयो कल्पनामै, त्यसपछि “ल यी दुई पलङ (औँलाले देखाउँदै) जुनमा सुत्न मन लाग्छ सुत्नुहोस् । अहिलेलाई थाक्नु भएको होला आराम गर्नुहोस् । भोलि कुरा गराैंला ।
पहिलो पलङ झलमल छ। डनलपको फोम डसना, सिरानी उस्तै… कुनै राजकुमारको पलङभन्दा कम छैन । सिरानी पल्टाएँ…लक्ष्मी मतिर हेरेर मुसुक्क हाँसिन् । आँखा झिम्काउँदै भनिन्, “आऊ मलाई भोग र भाग्य बनाऊ। फेरि यहाँ त मान सम्मान र इज्जत मिल्छ । यो सबैले स्वीकार्नै पर्ने विस्तरा हो ।”
लेखनाथ पौड्यालको एउटा पुरानो कविताको सम्झना आयो:
म को हुँ, कहाँ छु कहाँ के छ हाल ?
लिएको छु के काम कस्तो छ चाल ?
सवै यो विचारूँ … ।
सस्तो बेसाहाले पखाला लाग्छ भन्थे छिमेकी कार्की बा, त्यो पनि सम्झिएँ । सस्तो सुविधा र चिप्ला कुराका पछाडि हत्तपत्त नलाग्ने मेरो बानी छ किन भने यसको परिणाम प्रतिकूल हुन्छ नै ।
मेरो आँखा दोस्रो पलङमा परे यही बेला । सात ठाउँ दुलो परेको धुसा, देवकोटाका केही पुस्तकहरू-मुनामदन, लक्ष्मी निबन्ध सङ्ग्रह र केही अन्य पुस्तक थाक लगाई बनाएको सिरानी । सिरानीमा रहेको मुना-मदनभित्रका मदन पानी पानी भन्दै आँखाबाट साउनको झरीझैँ आँसु झार्दै मुख प्याक-प्याक गर्दै थिए । म त्यो पलङ देखेर केहीबेर त आफैँ पनि द्रभिभूत भएँ नै तर म समालिएँ तुरुन्तै ।
मलाई चाँडो सुत्नु छ, भोलि सूर्यको किरणसँगै सिर्जना मौलाउने मल बोकी निकै लामो यात्रा गर्नु छ । म दोधारमा परेँ…। एक पलङबाट लक्ष्मीले खिस्स हाँस्दै आँखाको चालले निमंत्रण दिन्छिन्, अर्को पलङमा मदन बैतर्णी तारिदिए हुन्थ्यो भन्दै टुलु- टुलु आँसु झार्दै मलाई हेर्छन्…!
सुत्न त सुत्नै पर्छ तर सुत्ने कुन पलङमा ?
म निकै लामो समयसम्म दोधारमा परेको देखेर निन्द्रादेवीले फेरि घिचूकमा पक्क हानिन्…म बेहोश भएर लड़ें ।
“बिहानी भयो उठ अनि सिर्जना मौलाउने मल बोकी यात्रा सुरु गर …यो यात्रा धेरै लामो छ ।” सिरानीमुनि रहेका मदनले कानमै आएर चिचियाएपछि म झसङ ब्यूँजिएँ ।
म को हुँ, कहाँ छु कहाँ के छ हाल ?
लिएको छु के काम कस्तो छ चाल ?
सधैँ यो विचारूँ … ।