द्रष्टव्यः
मदन दुलाल
अमेरिका
आँगनलाई
नाच्न नजान्नेले देख्ने — टेढो नै हो
मूर्खलाई अर्ती — विष नै हो
बाँदरलाई हिरा — तुच्छ नै हो
र
सुँगुरलाई स्वर्ग — बेकार हो
[ प्रचलित कु- प्रचार ]*
———————————
यद्यपि
सत्य यो हो कि
निकालिदिएको हो दलदलबाट पृथ्वी — वराहले
वराह:-
[ त्यहि बेकारि सुँगुरको प्रथम संस्करण ]
डढाइदिएको हो अहङ्कारको राज्य तुच्छ बाँदरको पुच्छरले
पुच्छरः
[अपमानको एउटा बिम्ब]*
फेरिदिएको हो
रत्नाकरलाई वाल्मीकिमा
र
अङ्गुलिमाललाई अहिंसकमा
विष समान अर्तीले
अर्तीः-
[ समानुभूतीको भाव ]*
दुनियाँको लागि टेढो आँगनले नै त हो
सिद्धार्थलाई माथि उचालेको
——————————————-
नगरेको भए अज्ञान बीजारोपण आँगनले
सिद्धार्थ कहाँ बुद्ध बन्थे होला र…..?
नगरेको भए बाँदरत्वको अपमान
सायदै दन्किने थियो सुनौलो लङ्का
नगरेको भए अर्ती मूर्खलाई
लेखिन्न थियो अनुष्टुप छन्द
र
अङ्गुलिमाल सायदै बन्ने थियो सन्त
———————————
सृष्टीको प्रचुरता दृष्टिमा छ
यसर्थ,
बदलौं
के?
दृष्टि
जस्तो दृष्टि उस्तै सृष्टी यसै कहां भनिएको हो र?