धनवीर काका र बुख्याँचा
भक्त घिमिरे
पेन्सिलभेनियाँ, अमेरिका
मलाई थाहा छैन, धनवीर काकासित
राष्ट्रियता थियो-थिएन,
लाग्छ धनवीर काकालाई राष्ट्रियता भनेकै
के हो शायद थाहा थिएन !
तर, धनवीर काकासित एउटा गजबको
‘देश’ नामक भूगोल थियो,
हो ! काकाको छातिभित्र
‘साँध’, ‘सिमाना’हरुको खूब घमण्ड थियो ।
राष्ट्रियता भनेको भोक, अन्याय र,
दमनको त्रासदी हो कि ?
जाति, भाषा र सांस्कृतिक चिनारी ?
निर्बोध शठहरुको अचेत दम्भ हो कि
भूगोलको शान-मान र साँध हो राष्ट्रियता ?
शायद, मलाईजस्तै काकालाई पनि थाहा थिएन
वास्तवमै के हो राष्ट्रियता ?
काकालाई थाहा थिएन- भूगोलको साँध
रातो रगतले कोरिएको हुन्छ-
त्यसभित्र कैयौं निमुखा
रैती र सिपाहीहरुको बलिदान हुन्छ !
पाखा बारीमा पर्खाल उठाएझैं
खेतमा पानी थाम्न आली लगाएझैं
हरेक देशका सिमाना तोक्न
छेउ-छेउमा मान्छेका लाशहरु
लमतन्न ओछ्याइएको हुन्छ !
ऊ त्यो भारत, यो भूटान,
अमुक बर्मा, पाकिस्तान,
उता अमेरिका, कता जापान-
देश देशको अंश-बण्डाबाट उब्जिने
मानिसभित्रको घृणित परिकल्पनाले
सधैं सधैं भनिरहन्छ-
म हिन्दू, त्यो हो मुसलमान !
यिनै मानिसहरु घरी घरी व्याख्या गर्छन्-
हाम्रो, मात्र हाम्रो राष्ट्रियता
अरु सबैको भन्दा आदिम र महान् !
धनवीर काकासित पनि एउटा
यस्तै दमित कुण्ठाभित्रको भूगोल थियो,
त्यो भूगोलमा अधीन गर्ने एउटा बुख्याँचा थियो !
धनवीर काकाको चेतनाले बुख्याँचाको दरबारमा
कथित विष्णु उमार्न सक्यो तर,
आफैंमाथि दमन गर्ने किच्चकको नाश गर्न,
बिराट दरवारको गुप्तवासबाट एउटा ‘बल्लभ’ जन्माएर
त्यो अमूर्त भुलोकको
‘भद्रपुर’ नजिकै किच्चक-बधसम्म पुऱ्याउनै सकेन !
बिराटका गाइ चोर्ने कौरवहरुको दोहन गर्न
काकाको चातुर्यले एउटा बृह्नला जन्माएर-
उत्तरकुमारको सारथी बनाउनै सकेन !
लखनऊ र पटनातिर भैंसी व्यापारको
निकासी/पैठारी गर्ने पशु दलालले
राँगा-भैंसी चिन्न सेतो/रातो रंगले
भैंसीका ढाडमा अंकछाप लगाएझैं
आफ्ना रैतीहरुलाई अंक तोकेर भाग लगाउने
त्यो कबिलायी नाइकेलाई धनवीर काकाको राजभक्तिले
समानता र सभ्यताको पाठ पढाउनै सकेन !
जिन्दगीभरि खुशामद गरेपछि दरबारले एक दिन
काकाको आङ्मा पनि एउटा बढेमानको छाप ठोक्यो-
र, भन्यो-तैंले दयाको भीक्षा मागिस्-
भीक्षादानमा मैले तँलाई आजदेखि
यो माटोको गन्ध सुँघ्ने अधिकार दिएँ !
अँ हो ! त्यही माटोको गन्ध सुँघ्न पाउने
अधिकार-पत्रको रूपमा
धनवीर काकासित एउटा चिर्कटो थियो-नागरिकता
तर, त्यस चिर्कटोले किन हो-
धनवीर काकाको राष्ट्रियता कहिल्यै बकेन !
धनवीर काका मस्त निद्रामा छँदा एकरात
त्यही चिर्कटो दिने एक हातले तलवार उज्याउँदै
अर्को हातले उनको घाँटी अठ्याएर सोध्यो-
खोइ, तेरो राष्ट्रियता के हो ?
तुरुन्तै प्रमाणित गर्-तबमात्र तैंले
फोक्सोभरि सास फेर्न पाउलास् !
धनवीर काका सधैं सधैं देशलाई राजाको सम्पत्ति ठान्थे
आफूलाई धनवीर काका उही राजाको दास-प्रजा मान्थे
दरबार ‘बैकुण्ठ’, राजा ‘विष्णुको अवतार’ हो भन्ने
काकालाई आखिर त्यही अवतारी दरबारले
किन त्यज्य ठान्यो मलाई थाहा छैन !
देशलाई राजा अनि राजालाई देश बुझ्ने धनवीर काका
त्यो भूगोललाई महादेउ थान भन्थे
शोषणलाई दान भन्थे !
दमनलाई धर्म र निरीहतालाई राजभक्ति भन्थे !
खुशी हुँदा काका त्यो माटोलाई फलामे बाकस,
दुःखी हुँदा त्यही माटो लाई ‘चिहान’ भन्थे
आज न बाकस भयो त्यो भूगोल
न त अस्थी बिसाउने चिहान नै !
कहिले घिउजस्तो लयालु हुने त्यो भूगोल
धनवीर काकाको लागि कहिले
प्याजको रागजस्तो आँशु झार्ने पीरो हुन्थ्यो !
बलियो भोटे ताल्चा लागेको त्यो
‘फलामको बाकस’भित्र गुम्सिएको जीवन
धनवीर काकालाई कस्तो लाग्थ्यो मलाई थाहा छैन !
तर, काका एकान्तमा उभिएर बिहान बेलुकी
त्रसित मुद्रामा बारीको डिलतिर
आँखा पोख्थे त फेरि कहिले
काकीको, मेरो र बहिनीको अनुहारमा
पालै-पालो मलिन आँखाले हेर्दै पिल्पिलाउँथे !
काकाको अनुहार पढेर बुझिन्थ्यो-
उनलाई ज्ञान थिएन किन ?
राष्ट्रियताको मोल यति धेरै महँगो हुन्छ !
आज काकाका सन्तानमध्ये
एउटा अमेरिकामा छ जो-
नायग्रा फल्स र लिबर्टी टावरलाई
आफ्नो आस्थाको विम्ब ठान्छ ।
अर्को केनाडामा छ जो त्यहाँको
सन्त जोसेफ ओरेटरी अफ् माउण्ट रोयलमा
सधैं धाउँछ- गएर निधार ठोकाउँछ !
अझै अर्को अष्ट्रेलियामा छ,
यसरी नै एउटा न्यूजिल्याण्डमा,
एउटा डेन्मार्क, एउटा यूके
एउटा निदरल्याण्ड र एउटा
नरवेमा बस्छ-
नरवेमा बस्नेले वर्षको आधा समय
सूर्यास्तै नहुने-आधा समय सूर्य नदेखिने
आश्चर्यको बयान गर्छ ।
त्यतिमात्र होइन,
काकाको एउटा सन्तान भारतमा छ
जो, काँशीलाई आफ्नो पुर्खाको उद्गम थलो ठान्छ
ऊ बद्री-केदार जान्छ र जिउँदै स्वर्ग जाने सिँढी खोज्छ-
अर्को एउटा नेपालको पशुपतिनाथमा
श्रद्धाले शिर टेकाउँछ र नेपाली नै
विश्वलाई सभ्यता सिकाउने महामानव दाबी गर्छ ।
उता बाबुको बिँडो थाम्न
भूटानमै छुटेको एउटा भाइ
बेलाबेला ताक्छाङ गुम्बा जान्छ,
किचु ह्लाखाङ धाउँछ र
दरबारको कृपामा पाएको
‘अलौकिक राष्ट्रिय खुशीयाली’को विज्ञापन गर्छ-
भूगोलका अरु कुनामा बस्ने दाजुभाइसित
ऊ कहिलेकाहीं कुराकानी त गर्छ तर,
त्यहाँको ‘विष्णु अवतार’ले हजार वृन्दाहरुको
निर्मम बलात्कार गरेको कुरा सुन्नै मान्दैन !
ऊ सधैं दरबारको पैरवी गर्छ,
बुख्याँचालाई अलौकिक, पवित्र मान्छ-
होइन भन्दिएमा आफ्नैहरुलाई वैरी ठानेर ऊ
बरु बोलचाल नै बन्द गरिदिन्छ !
कहिले बलवीर, त कहिले दानवीर
कहिले हुकूम सिंह त कहिले आशबहादुर हुँदै
आज विल्कुल नयाँ भूगोल र नयाँ परिवेश भोग्न
दीर्घ सुस्केरा लिएर हवाइमार्गबाट समुद्र तरेका
धनवीर काकासित अहिले पनि नागरिकता नामको
एउटा चिर्कटो खल्तीमा छ-
तर, काकाको मनमा देश छ-छैन; राष्ट्रियता छ छैन
मलाई थाहा छैन !
थाहा छैन मलाई-
किनकि मैले काकाको छाति सुम्सुम्याउँदै
खिन्नताले ४० ठाउँ खुम्चिएको
उनको कोमल मनमा चियाउन पा’ छैन,
राष्ट्रियता खरिद्न नसकेको अपराधमा
काकाका ढाडमा डामिएका चोटहरु छाम्न पा’ छैन !